20131116

सुरक्षालगायत निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक सबै तयारी पूरा : प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती

   
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सुरक्षालगायत निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक सबै तयारी पूरा भएको र निर्वाचनमा भाग नलिने पक्षले पनि मतदातालाई अवरोध नगर्ने भनेकाले निर्धक्क भएर मङ्सिर ४ गते भोट खसाल्न सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ । 
    “लोकतन्त्रमा विरोध गर्न पाईन्छ अवरोध गर्न पाईदैन, निर्वाचनमा भाग नलिनेले पनि मतदानका लागि मतदातालाई अवरोध गर्दिन भनेकाले ढुक्कसाथ मतदान गर्न आग्रह गर्दछु,” रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त उप्रेतीले भन्नुभयो । 
    उहाँले आज राति १२ बजेबाट  दल र उम्मेदवारले प्रचार गर्ने अवधि सकिएर निर्वाचनको मौन अवधि सुरु हुने भएकाले अब मतदाता परिचयपत्र वा नभए नागरिकलगायतका सरकारी प्रमाणपत्र लिएर सहज ढङ्गले मतदान केन्द्रमा मत खसाल्न जान १ करोड २१ लाख ४७ हजार मतदातालाई तयार हुन पनि आग्रह गर्नुभयो ।     प्रमुख आयुक्त उप्रेतीले दुई लाखभन्दा बढी सुरक्षाकर्मीसहित चार लाखभन्दा बढी जनशक्ति निर्वाचनका क्रममा देशभर खटिएको र १८ हजार ४८५ मतदान केन्द्रमा जनशक्तिसहित मतपेटिका, मतपत्र र परिचयपत्र पुग्ने काम भएको बताउँदै
नेपाली जनताकै तागतले ल्याएको परिवर्तनलाई संस्थागत गर्न यो संविधानसभा निर्वाचन ऐतिहासिक रुपमा सफल हुनेमा आफू ढुक्क भएको बताउनुभयो ।
    “सबै किसिमले सबै तयारी पूरा गरेका छाँै, सुरक्षाको पनि राम्रो प्रबन्ध छ मतदाताहरु आ–आफ्नो क्षेत्रमा जाने घुइँचो लागेको छ, हामी ठूलो यज्ञ पूरा गर्न तयार छाँै लोकतन्त्र संस्थागत गर्न,” प्रमुख आयुक्त उप्रेतीले भन्नुभयो । उहाँले मतदाताले मतदान केन्द्रमा पुगेर सही र बदर नहुने ढङ्गले मत खसाल्न पनि विशेष आग्रह गर्नुभयो । 
    प्रमुख आयुक्त उप्रेतीले आयोगले तस्बिरसहितको स्थायी परिचयत्र दिने प्रयास गरेको भएपनि त्यो हुन नसकेर एक हप्ताको अवधिमा १ करोड २१ लाख तस्बिरसहितको अस्थायी परिचयपत्र तयार हुनु पनि प्रशंसनीय काम हो भन्दै  यसक्रममा भएका काममा आयोगनै जवाफदेही हुने बताउनुभयो ।
    निर्वाचनको मिति नजिकिँदै जाँदा भएका हिंसात्मक र आगजनीलगायतका घटनाले मतदातामा भय उत्पन्न भएको र त्यस्तो अवस्थामा कसरी मतदातातलाई सुरक्षा व्यवस्थामा आश्वस्त गराउनुहुन्छ भन्ने प्रश्नमा प्रमुख आयुक्त उप्रेतीले डर, त्रास, आतङ्क फैलाउने र मानव भएर मानवमाथि आक्रमण गर्ने कुकर्म गर्नु राम्रो होइन भन्नुभयो ।
    “डर, त्रास र आतङ्क फैलाउने व्यक्ति र आतङ्कवादीलाई सरकारले कानुनको दायरामा ल्याउनुपर्छ, नागरिकले पनि त्यस्तो कामको तिरस्कार गर्नुपर्छ, त्यस्तो काम राष्ट्रघाती झैँ हुन्छ र त्यसमा क्षमा दिनुपर्छ भन्ने छैन,” एक अर्को प्रश्नमा प्रमुख आयुक्त उप्रेतीले भन्नुभयो । 
    उहाँले अपाङ्ग मैत्री चुनाव बनाउनका लागि प्रयास भएको तथा उनीहरुका लागि सवारीमा सहजीकरण गर्दै केही स्थानमा अपाङ्ग मैत्री मतदान केन्द्रको व्यवस्था गरिएकोसमेत बताउनुभयो । सो अवसरमा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले संविधानसभा निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन राजनीतिक दलले गरेको प्रतिबद्धता प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई हस्तान्तरण गर्नुभयो । 
    सो प्रतिबद्धतापत्रमा निर्वाचनमा खलल पु¥याउने कुनै किसिमको जर्वजस्ती गर्ने डर, त्रास उत्पन्न गराउने हिंसात्मक गतिविधि नगर्ने, आचारसंहिता पूर्णरुपमा पालना गर्ने, धाँधलीरहित निर्वाचनमा प्रतिबद्ध रहने र गरिएका प्रतिबद्धता उल्लङ्घन गरेमा कानुनबमोजिम सजाय भोग्न तयार हुने जस्ता कुरा समावेश छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक