20131216

नेकपा–माओवादीले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको औचित्य सकिएको घोषणा, २०४७ सालको अवस्थामा फर्किएको भन्दै अब आफूहरु जनबिद्रोहमा जुट्ने दाबी


नेकपा–माओवादीले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको औचित्य सकिएको घोषणा गरेको छ । ललितपुरको कुपण्डोलमा एक सातादेखि चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा माओवादीले २०६२ सालमा भारतको नयाँदिल्लीमा भएको १२ बुँदे सहमति र २०६५ मंसिरमा भएको विस्तृत शान्ति सम्झौताको औचित्य सकिएको बताएको हो । पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन वैद्यले अब गोलमेच सम्मेलन मार्फत नयाँ शीराबाट सहमतिको खोजी गर्नुपर्ने बताए । वैद्यले संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेस–एमाले लगायतका दलहरुले दुई तिहाइ बहुमत ल्याएकाले मुलुक २०४७ सालको अवस्थामा फर्किएको भन्दै अब आफूहरु जनबिद्रोहमा जुट्ने दाबी पनि गरे । एकीकृत माओवादी सडकमा आए कार्यगत एकता हुनसक्ने भन्दै वैद्यले त्यसका लागि एमाओवादीबाट विजयी सभासदहरुले राजिनामा गर्नुपर्ने र समानुपातिकतर्फको सूची बुझाउने नहुने शर्त अघि सारे । पत्रकार सम्मेलनमा उनले गत मंसिर ४ गतेको निर्वाचन बिथोल्ने क्रममा देशका विभिन्न ठाउँमा भएको बम बिष्फोटको आफूले जिम्मा
लिने पनि बताए ।


काशिराम तिवारी हत्याका मुख्य दोषी एमाओवादी समानुपातिक उम्मेदवार पक्राउसाढे तीन वर्षअघि वीरगन्जमा गोली हानी मारिएका काशिराम तिवारीको हत्या प्रकरणका एक प्रमुख अभियुक्त सियाराम प्रसाद कुशवाहा सोमबार चितवनमा समातिएका छन्। उनलाई पर्सा प्रहरीले चितवनबाट पक्राउ गरेको पर्साका एसपी धिरज सिंहले जानकारी दिए।
फिरोज ‍भिनने सियाराम विश्व हिन्दु युवा संघका अध्यक्ष काशिराम तिवारीको हत्या प्रकरणमा दोषी मानिएका तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु शाहका स्वकीय सचिव थिए। उनी अहिले पनि प्रभु शाहको एकदमै निकट छन्।
तिवारी हत्याको पन्ध्र महिनापछि पर्सा प्रहरीले तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री शाह, घटनामा पक्राउ परेका अमन र शाहका स्वकीय सचिव सियारामबिरुद्ध अभियोजनपत्र तयार गरेको थियो। त्यसपछि शाहले मन्त्री पदबाट राजिनामा गरेका थिए। शाह भट्टराईका विश्वासपात्र र मधेसमा माओवादीका प्रमुख नेता हुन्।
शाहविरुद्ध प्रहरीले तयार गरेको मुद्दा पर्सा महान्याधिवक्ताको कार्यालयले फिर्ता गरेको थियो। शाहको नाम हटाएर अमन र सियारामलाई मात्र दोषी करार गरेर अभियोजनपत्र तयार गरेपछि अदालतले बल्ल मुद्दा प्रक्रिया अघि बढाएको थियो।
२०६७ असार १२ गते वीरगन्जको अशोक बाटिकामा गोली हानी तिवारीको हत्या भएको हो। उनले त्यसअघि वीरगन्जमा माओवादी आमहड्ताल प्रतिकार गर्न हिन्दु युवा संघका तर्फबाट नेतृत्व गरेका थिए। एमाओवादी देशव्यापि रुपमा गरेको आमहडतालको प्रतिरोध वीरगन्जबाट सुरु भएको थियो। तिवारी नेतृत्वको जुलुसले एमाओवादीका कार्यकर्ताले खाना खाने मेसमा आक्रमण गरेर सामान तोडफोड गरेको थियो। त्यसपछि देशका विभिन्न भागमा एमाओवादी आमहड्तालबिरुद्ध प्रतिकारका घटना हुन थालेका थिए।
सोमबार पक्राउ परेका २८ वर्षीय फिरोज एमाओवादीको समानुपातिक उम्मेदवार हुन्।
पर्सा प्रहरीले पक्राउ गरेका अमन कुशवाहाले तत्कालीन मन्त्री शाह र उनका स्वकीय सचिव सियारामसँग बसेर गरेको योजनाअनुसार दुई लाख रुपैयाँ नगदको सम्झौतामा आफूले बाइक चलाएको र पछाडि बसेका सियारामले तीन गोली हानेर तत्कालीन हिन्दु युवासंघका अध्यक्ष तिवारीको हत्या गरेको बयान दिएका थिए। त्यसैलाई आधार मानेर तीनैजनाविरुद्ध प्रहरीले अभियोजन पत्र तयार गरेको थियो। अमनले प्रभुले नै गोली चलाउन अह्राएको बयान दिएको प्रहरी अधिकारीहरूले बताएका थिए।
पर्सा प्रहरीले तत्कालीन मन्त्री शाहबिरुद्ध पक्राउपूर्जी जारी गरेको थियो। पर्सा प्रहरीका तत्कालीन प्रमुख एसपी रमेश खरेलले शाहलाई पक्रन पूर्जी जारी गरेका थिए।
तत्कालीन भूमिसुधार तथा ब्यवस्थामन्त्री साहमाथि तिवारी हत्याको अभियोग लागेपछि उनकै मन्त्रालयका एक सहसचिवले पैसा दिएर मुद्दा सामसुम पार्न खोजेको पीडित परिवारले बताएका थिए।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सहसचिव नगेन्द्र झाले आफूलाई नगद ८ लाख रुपैयाँ दिएर 'हत्यारा चिन्दिनँ' भन्न लगाएको काशीकी पत्नी बबिता तिवारीले बताएकी थिइन्। 'मलाई उहाँले घरमै बोलाएर पैसा दिनुभो,' सञ्चारकर्मी, अधिकारकर्मी र अधिवक्ताहरूका अघिल्तिर तिवारीकी पत्नी बबिताले भनेकी थिइन्, 'मेरो पतिको हत्यारा को हुन् मलाई थाहा छैन भन्नू भनेर पनि सिकाउनुभो।'
तिवारीको हत्या हुँदा झा पर्सामा प्रमुख जिल्ला अधिकारी थिए। झाले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईसँग उनीहरूको भेट गराइदिने वचन पनि दिएका थिए।
'उहाँलाई भेटेर म हत्यारा चिन्दिनँ भन्नुस्, म मालपोतमा जागिर पनि लगाइदिउँला,' झालाई उद्धृत गर्दै बबिताले भनेकी थिइन्, 'हामीले सकेको सहयोग त गरिहाल्छौं नि।' पैसा बोकेर ल्याए पनि प्रधानमन्त्रीलाई भेट्न नगएको उनीहरूले बताएका थिए।
स्रोतका अनुसार त्यसपछि पर्सा प्रहरीका तत्कालीन एसपी रमेश खरेल र आइजिपी रवीन्द्रप्रताप शाहलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रभु शाहबिरुद्ध प्रहरीको मुद्दा फिर्ता लिएर सहयोग गरिदिन आग्रह गरेका थिए। आइजिपी शाहले मुद्दा अगाडि बढिसकेको हुँदा त्यसमा केही गर्न नमिल्ने जवाफ दिएर बालुवाटारबाट निस्किएका थिए।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक