20131216

पार्टीलाइ सहयोग गरेका, समानुपातिकमा परेकाहरुको नामावली पेश गर्न फेरी म्याद थप ! नियम कानूनको खिल्ली अझ कती उडाइने हो कुन्नी !?

उच्चस्तरीय राजनीतिक समितिको आग्रहमा निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा विजयी उम्मेदवारको नामावली पेश गर्ने समय पुस १० गतेसम्म थप गर्ने निर्णय गरेको छ । यसअघि आयोगले पुस ३ गतेसम्मका लागि समय तोकेको थियो ।  उच्चस्तरीय राजनीतिक समितिको सोमबार बिहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निवासमा बसेको बैठकले बन्द सूचीमा रहेका उम्मेदवारहरूको नाम पेश गर्ने अवधि एक हप्ता थप गर्न आयोगसमक्ष माग गर्ने निर्णय गरेको थियो । उच्चस्तरीय राजनीतिक समितिको बैठक लगत्तै दलका नेताहरु निर्वाचन आयोगको कार्यालय कान्तिपथ जानुभई प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलगायत अन्य आयुक्तलाई भेटी समय थप गर्न अनुरोध गर्नुभएको थियो । दलहरूको आग्रहपछि बसेको आयोगको बैठकले बन्द सूचीमा रहेका उम्मेदवारहरूको नाम पेश गर्ने अवधि पुस १० गतेसम्म थप गर्ने निर्णय गरेको जानकारी आयुक्त इला शर्माले दिनुभयो । दलका नेताहरूसँगको भेट लगत्तै सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रमुख आयुक्त उप्रेतीले प्रमुख दलहरुले दोस्रोपटक म्याद थपको अनुरोध गरेको हुनाले अन्तिमपटक म्याद थप गर्ने जानकारी दिनुभयो । प्रमुख आयुक्त उप्रेतीले भन्नुभयो–‘‘संविधानसभामा जान्न भन्ने दलसहित म्याद थपको अनुरोध लिएर आयोग आएकाले त्यसलाई आयोगले सकारात्मक रुपले लिन्छ, दलहरुले बुद्धिमतापूर्ण निर्णय गर्ने र संविधानसभाले चाँडै पूर्णता पाउनेमा आयोग ढुक्क रहेको छ ।” नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सबै दल मिलेर संविधानसभामा जाने वातावरण बनाउन सजिलो होस् भनेर म्याद थपको अनुरोध गरिएको र यो प्रयास सबै पार्टी संविधानसभामा जान सहमति खोज्ने प्रयासको परिणाम हो भन्नुभयो । उपसभापति पौडेलले एमाओवादीले उठाएको मागको विषयमा समितिमा वार्ता जारी रहेको र ती विषयलाई संविधानसभाको
बैठकमा समिति बनाएर जानुपर्ने विचार कांग्रेसको रहेको छ भन्नुभयो । यसैगरी, एमाओवादी नेता बोगटीले उच्चस्तरीय समितिमा आफूहरुको मागका विषयमा सकारात्मक ढङ्गले छलफल चलिरहेको र उच्चस्तरीय समितिमा म्याद थप गर्न सहमति भएपछि आफूहरु आयोगमा आएको जानकारी दिनुभयो । नेता बोगटीले भन्नुभयो–‘‘आफ्नो पार्टीले उठाएका माग सम्बोधन गर्ने विषयमा समितिमा छलफल जारी रहेको हुनाले म्याद थपको अनुरोध गरिएको हो, एमाओवादीे सूची बुझाउने भएरै यहाँ आएको हो ।” एमालेका नेता रघुजी पन्तले सबै पार्टी संविधानसभामा जान सहज होस् भनेर आफ्नो पार्टीले म्याद थप गर्न अनुरोध गरेको स्पष्ट गर्नुभयो । कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम नेपालका वरिष्ठ नेता भरतविमल यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको संयुक्त बैठकले निर्वाचन आयोगसँग एक हप्ताको समय थपका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । सोही निर्णय लिएर नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल र नेता रघुजी पन्त, नेपाली काँँग्रेसका उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला, एनेकपा (माओवादी) का नेता पोष्टबहादुर बोगटी र मधेसी जनाधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलगायतका नेताहरु आयोग पुग्नुभएको थियो । सात दलका नेताहरुद्वारा संयुक्तरुपमा हस्ताक्षरित निर्णयमा “दलहरुबीचमा सहमतिका लागि वार्ता र संवादको कार्य जारी रहेकाले समानुपातिक निर्वाचनका विजयी उम्मेदवारको नामावली पेस गर्ने समयावधि एकहप्ता थप गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने’’ उल्लेख छ । संविधानसभा सदस्य निर्वाचनको मतदान कार्य सकिएपछि भएका गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका एमाओवादी, मधेसी जनअधिकार फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका नेताहरूसमेत आयोग पुग्नुले संविधानसभाले छिट्टै पूर्णता पाउने सम्भावना पनि बढेको छ । यी दलले उच्चस्तरीय छानबिन आयोग गठन नभई समानुपातिकतर्फको बन्द सूची पेश नगर्ने र संविधानसभा नजाने धारणा राख्दै आएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक