20140204

केपी शर्मा ओलीले झलनाथ खनाललाई संसदीय दलको हर्ताकर्ता बन्न रोकेर मंगलबार मीठो बदला लिए

- गुणराज लुइँटेल 


एमाले नेता केपी शर्मा ओलीले पाँच वर्षअघि बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा पार्टी अध्यक्ष पदको प्रत्यासी हुँदा आफूलाई पराजित गर्ने अर्का नेता झलनाथ खनाललाई संसदीय दलको हर्ताकर्ता बन्न रोकेर मंगलबार मीठो बदला लिएका छन्। संसदीय दलको निर्वाचन परिणामपछि एमालेमा ओलीको प्रभावले औपचारिकतासमेत पाएको छ। सामान्यत: आफ्ना धारणा राख्दा रोचक प्रसंग र टुक्का समावेश गर्न सिपालु उनलाई धेरैले गम्भीर नभएको भनेर गल्ती गर्न सक्छन्। तर आफ्नो लक्ष्यमा यिनी प्रस्ट छन्। सर्वसाधारणले बुझ्ने भाषा प्रयोग गरेर आफूलाई सुन्न यिनले बाध्य पार्ने गरेका छन्। ओली यो पदमा आउनुपहिल्यै उनका सदयोद्धा कमरेडहरू माधवकुमार नेपाल र खनाल प्रधानमन्त्री बनिसकेका छन्। यसको अर्थ यो होइन कि ओलीलाई यो पदमा कुनै दिन पुग्छु भन्ने ज्ञान थिएन। उनलाई निकटबाट चिन्नेहरू सम्झिन्छन्- सिंहदरबारको भावी कुर्सीमा कसरी पुग्न सकिन्छ भन्ने सोच र रणनीति उनले एक दशकअघि नै बनाइसकेका थिए। त्यसका निम्ति आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिलाई पनि उनले बेलैमा पहिचान गरिसकेका थिए। र, अबका केही महिनामा यिनले आफ्ना सपना साकार पारे भने
कुनै अनौठो हुने छैन।
ओली निर्वाचित हुँदा सबैभन्दा घाटा वरिष्ठ नेता नेपाललाई भएको छ। आफैंले अध्यक्षमा पराजित गरेका ओलीले अहिले आफूलाई जित्दा खनाललाई जति अप्ठ्यारो परे पनि उनले त्यसलाई प्रदर्शन गरेका छैनन्। त्यसैले निर्वाचन परिणाम प्राप्त हुनासाथ उनले ओलीसँगै प्रेससामु जबाफ मात्र दिएनन् सहकार्यको प्रतिबद्धतासमेत गरे।
संसदीय दलको नेतामा ओलीले जितेसँगै पार्टीमा भने सहज पदीय बाँडफाँट भएको छ। अध्यक्ष खनालले पार्टी हाँक्नेछन् भने ओलीले संसदीय दलका गतिविधि अघि बढाउनेछन्। नेपाललाई पार्टीभित्र सबैले वरिष्ठ नेता मानेकै छन्। ओलीको विजयले उमेर र योगदानका हिसाबले उस्तैउस्तै भए पनि जिम्मेवारीमा पुग्न नसकेका नेताहरूमा रहेको हीनताको भावना घटाउनेछ।
पार्टीभित्र मतदान हुँदा विभाजित भएको एमालेको इतिहास छ। तर बुटवल महाधिवेशनयता भएका यस्ता मतदानलाई यसले आत्मसात् गर्न थालेको देखिन्छ। महाकाली सन्धिजस्तो संवेदनशील मुद्दामा मतदान नभएका कारण पनि अब यस्ता मतदानले पार्टी पंक्तिमा खासै ठूलो प्रभाव पार्दैनन्।
पहिले खनालले ओलीलाई हराए, अहिले ओलीले उनलाई हराएपछि बराबर भएको छ। त्यसैले यसलाई त्यति ठूलो प्रतिष्ठाको विषय बनाउने स्थिति रहन्न। पार्टी र संसदीय नेतृत्वबीचको समन्वयमा भने समस्या आउन सक्छन्।
अहिले ओलीलाई दलको नेता बनाउन सहयोग गर्ने अर्का नेता वामदेव गौतमलाई गुन लगाउने काममा पार्टीको भूमिका नकारात्मक हुन सक्छ। ओली र गौतमबीचको गठबन्धन टुटाउन प्रयास हुन सक्छन्। तैपनि ओली यस्तो स्थिति मिलाउन सिपालु मानिन्छन्।
आन्तरिक रूपमा केही असजिलो देखिए पनि ओलीको उदयले पार्टीलाई स्पष्ट सैद्धान्तिक अडान दिनेछ। एमालेले आफूलाई वामपन्थी पार्टीहरूको मूलधार हुँ भन्ने गरेको छ। त्यसका निम्ति ओलीको उदय सहायक हुन सक्छ। र, अतिवादी राजनीति गर्दै आएको एमाओवादीलाई हैसियतमा राख्न पनि उनी प्रभावी हुन सक्छन्।
एमालेलाई प्राय: राजनीतिक मुद्दामा ढुलमुले भएको आरोप लाग्ने गरेको छ। तर ओली कहाँनिर उभिन्छन् भन्ने सबैलाई स्पष्ट छ। उनी एमाओवादीका नजिक छैनन् तर कांग्रेसको निकट अवश्यै छन्। यसले संविधान निर्माण कार्यलाई सहज बनाउन सक्छ। ओलीको उदयले विशेष रूपमा एमालेभित्र समस्या भए पनि समग्रमा मुलुकलाई फाइदा हुनेछ।
ओलीलाई धेरैले समयमा ख्याल नगर्ने नेता हुन् कि भन्ने ठान्छन्। तर यिनले आफ्नो आवश्यकता परेको बैठकका निम्ति समय दिन पनि जानेका छन्। यिनमा आत्मविश्वास छ। स्वास्थ्यस्थिति प्रतिकूल हुँदा पनि उनले हिम्मत राखेको देखिन्छ।
पहिलोपटक यिनी गृहमन्त्री भएका बेला तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रशंसा गर्दै भनेका थिए, 'हाम्रा गृहमन्त्रीको मुखमा सरस्वती बसेको छ।'
संयोगले सरस्वती पूजाकै दिन यिनी संसदीय दलको नेता बनेका छन्। यो संयोगमात्र हो। तर धेरैले उनी आफ्नो काम राम्ररी गर्ने भएकाले संसदीय दललाई गति दिन सक्ने ठान्छन्। परराष्ट्र तथा उपप्रधानमन्त्री हुँदा पनि उनले सकारात्मक प्रभाव छाडेकै हुन्।
गृहमन्त्रीका रूपमा उनले भुटानी शरणार्थी मुद्दामा वार्ता गर्दा अंग्रेजीका कारण अप्ठ्यारो परेको ठानेपछि अर्कोपटक नेपाली भाषालाई माध्यम बनाएर उनीहरूलाई तर्कमा जितेको अनुभव पनि छ।
पार्टीभित्र ओलीका आलोचकले उनको 'मसल पावर' पनि चर्चा गर्छन्। तथापि उनले कार्यकर्तालाई संरक्षण गर्ने गरेकाले पनि यो आकर्षण रहेको अर्काथरी ठान्छन्। किनभने मसल पावर सबै दलका नेताले प्रयोग गर्न थालेका छन्।
उनलाई चिन्नेहरू भन्छन्- उनी कहिल्यै कार्यकर्ताको अन्तरविरोधमा खेल्दैनन् बरु तिनलाई सहयोग गर्छन्। यी यावत् गुणले उनलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याएको हो। - annapurna

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक