(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140413

मुसा मार्न एके-४७ लिएर ननिस्किएको भए हुन्थ्यो मन्त्री लालबाबु पण्डितज्यू - सञ्जय घिमिरे

lababu
मन्त्रीज्यू, नमस्ते । सन्चै हुनुहुन्छ होला । 
खास विषयमा प्रवेश गर्नुअघि तपाईंलाई जानकारी दिउँ, म करबि सात वर्षदेखि अमेरिकमा बस्दै आएको एक नेपाली हुँ। यस्तो नेपाली, जसले आफ्ना जीवनका ३५ वर्ष नेपालमा र त्यसमध्ये करबि १५ वर्ष नेपालको पत्रकारितमा बिताएको छ। म नेपालको सरकारी कर्मचारी होइन र कहिल्यै थिइनँ पनि। तपाईंले विदेशमा बस्ने नेपाली सरकारी कर्मचारीका हकमा चाल्न लागेका कदमप्रति मेरो पूर्ण समर्थन छ। त्यसमा कुनै आपत्ति छैन। गुनासो वा सल्लाह यत्ति हो, सम्बन्धित मन्त्रालय वा विभागले कारबाही गरे पुग्ने विषयमा तपाईंले ठूलै हल्ला मच्चाउनुभयो। एक हजार जना कर्मचारीको हकमा एक करोडको हल्ला गर्नै पर्दैनथ्यो। यसरी मुसा मार्न एके-४७ लिएर ननिस्किएको भए हुन्थ्यो। खैर, तपाईंलाई लाग्यो होला, मुसाहरू कमजोर छैनन् र एके-४७ चाहिन्छ। यो तपाईंको सोचको म आदरपूर्वक कदर गर्छु। यहाँसम्म तपाईं र मेरोबीच कुनै मतभेद छैन। चित्त दुखेको कुरा के मात्र हो भने बोल्दै जाँदा तपाईंले मेरो र मजस्ता हजाराँै नेपाली, जो सरकारी कर्मचारी होइनन्, को भावनामा पनि चोट पुर्‍याउनुभयो। सामान्य प्रशासनमन्त्रीका हिसाबले आफूमातहतका कर्मचारीका हकमा तपाईं कडा हुनूस् वा नम्र, त्यो तपाईंको कुरा हो। तर, अन्य सामान्य नेपाली, जो जीवनका धेरै बाध्यता र थोरै रहरका साथ
विदेशमा बसिरहेका छन्, तिनका भावनाको ठेक्का तपाईं लिन सक्नुहुन्न। लिन पाउनुहुन्न पनि।
हो, म पनि सहमत छु, आमा र जन्मभूमि एउटै हुन्। तिनका प्रति धोका हुनुहुँदैन। धोका दिन पनि सकिँदैन। मान्नूस्, कुनै नेपालीलाई डीभी पर्‍यो, अमेरिका गयो र समयक्रममा अमेरिकाको नागरकिता लियो भने पनि ऊ 'नेपाली अमेरकिन' नै हुन्छ। त्यो नेपाली फुर्कोले उसलाई कहिल्यै छाड्दैन। तपाईं भने त्यो फुर्को चुँडाउने प्रयत्न गर्दै हुनुहुन्छ ? मसँग जोडिएको मेरो व्यक्तिगत पहिचान वा नेपालीत्वमाथि खेल्ने अधिकार कसैलाई छैन। मेरो आमालाई आमा भन्ने संवेदनशीलतामाथि तपाईंको तानाशाही चल्दैन। म अमेरिकामा किन छु ? यसबारेमा बताउन मलाई घन्टौँ तपाईंसँग बस्नुपर्छ। त्यतातिर नजाऔँ।
अहिले म विषयलाई तपाईंकै भनाइमा केन्दि्रत गर्न चाहन्छु। तपाईंले सार्वजनिक रूपमै भन्नुभएको छ, 'म त भिसा पाइएन वा डीभी परेन भनेर अनशन बस्नेहरूलाई, विदेशमा लगिदिएन भन्ने नेपालीलाई नेपाली नै ठान्दिनँ। ती अनशनकारीलाई त मैले पहिल्यै भनेको नारायणी नदीमा लगेर बगाइदिए पनि हुन्छ। तिनीहरू नेपाली होइनन्। तिनीहरू इतिहासमा नेपाली थिए, काममा नेपाली होइनन्।'
अब भन्नूस्, कसरी 'काममा नेपाली' होइनन् मन्त्रीज्यू ? म एनआरएनजस्तो ठूलो कुरा गर्दिनँ। सामान्य कुरा, मेरो जन्म ठाउँ कास्कीको देउरालीमा कुनै दैवीप्रकोप भयो वा कसैमाथि भवितव्य पर्‍यो भने लेखेर राख्नूस्, त्यहाँ तपाईं र तपाईंको सरकारभन्दा पहिले म पुग्छु। नेपालमा रहेकी मेरी आमा, बा बिरामी हुँदा तपाईंको सरकारले होइन, मैले उपचार गर्नुपर्छ।
मन्त्रीज्यू, दुई-चार हजार डलरको प्रोजेक्ट लिएर नेपाल भित्रिएको एउटा गोरालाई तपाईं फूलमाला लगाएर भित्र्याउनुहुन्छ। तर, परेमा आफ्नै माटोमा फर्केर ज्यान दिन्छु भनेर देश सम्झँदै बसेको नेपालीलाई नारायणीमा बगाउने कुरा गर्नुहुन्छ ? सोच्नूस् त! यसै पनि मान्छेलाई नदीमा बगाउने कुरा गर्नु घोर मानवाधिकारविरोधी कुरा हो। कुनै जिम्मेवार पदमा बसेको तपाईंजस्तो मान्छेले यस्तो वाक्य सही अवस्थामा प्रयोग गर्नै सक्दैन।
फेरि विदेशमा सामान्य नेपालीले पहुँच पाएकै पनि कति भएको छ र ? सन् १९९० अघि र त्यसयताका केही वर्षसम्म पनि अमेरिकमा खास गरी काठमाडौँका केही धनी, कुलीन व्यक्ति र तिनका छोराछोरीको मात्र पहुँच थियो। त्यो वर्गले आफू वा आफ्ना छोराछोरी अमेरिकमा रहेको कुरालाई सानको विषय बनाउँथ्यो। र, त्यसैलाई आफूभन्दा तल्लो वर्गलाई छुट्याउने एउटा आधार बनाउँथ्यो अनि समाजमा धाक लगाउँथ्यो।
अहिले त्यस्तो परिस्थति छैन। डीभी चिट्ठा होस् वा अन्य कुनै उपाय, मध्यम र निम्न वर्गले पनि अमेरिकामा सहज प्रवेश पाएका छन्। अब धनी र कुलीन वर्गले धाक लगाउने एउटा बाटो कमसे कम समाप्त भएको छ। मध्यम र निम्न वर्गले पनि थाहा पाएका छन् कि अमेरिक भन्दैमा त्यस्तो धाक लगाउनुपर्ने केही कुरा रहेनछ। केही वर्षअघिसम्म अमेरिकी सानमा आनन्द मानिरहेको त्यो वर्गलाई अब एक खालको छटपटी भइरहेको छ। र, ऊ आफ्नो इज्जतको नयाँ मापदण्ड खडा गर्न खोजिरहेको छ। त्यो वर्ग, अमेरिकमा धेरैजसो नेपालीले गररिहेको श्रमको टिप्पणी गर्छ र भन्छ, देशमै फर्किएर केही गर्नुपर्छ। आफ्ना छोराछोरी काठमाडौंको रातो बंगला वा लिंकन स्कुलमा राखेर पढाउन सक्ने हैसियत भएको त्यो वर्गलाई हिजोजस्तै आज पनि आफूलाई मानिदिने त्यही मध्यम र निम्न वर्ग चाहिएको छ। ऊ त्यसैको खोजीमा छ। कमसे कम तपाईं निम्न वर्ग खोजिरहने कुलीनहरूभित्र पर्नुहुन्न भन्ने मेरो विश्वास हो।
मन्त्रीज्यू, तपाईं अमेरिका आउनुभएको छ कि छैन थाहा छैन। यहा आउनुभयो भने देख्नुहोला, यो देश बाहिरबाट आएकाहरूले भरिएको र बनेको हो। तपाईं कम्युनिस्टहरूले आदर्श मान्ने चीनका ३८ लाख जनता यहाँ 'चाइनिज अमेरकिन' भइसकेका छन्। करबि २० लाख भारतीय 'भारतीय अमेरकिन' भएका छन्। त्यत्तिकै फिलिपिनोहरू र कोरयिनहरू पनि। तिनको प्रभाव हेर्नूस् त आज अमेरिकामा ! अमेरिकिमा सार्वजनिक स्थानमा चिनियाँ भाषामा जानकारी लेखिएको हुन्छ। कुनै चिनियाँ आज अमेरिका आयो भने उसले अंग्रेजी नबोलेरै पनि काम चलाउन सक्छ। आजको विश्वमा चीनका लागि चीनबाहिर बसेको जमात पनि एउटा ठूलो सम्पत्ति र शक्ति हो।
भारतको हैदरावादमा जन्मिएका सत्य नदेला माइक्रोसफ्टका प्रमुख कार्यकारी हुँदा सिंगो भारत गर्व गर्छ मन्त्रीज्यू। तपाईं त नदेला बन्न प्रयास गर्ने नेपालीलाई नारायणीमा बगाउने कुरा गर्दै हुनुहुन्छ। हाबर्ड विश्वविद्यालयमा नेपाली प्रोफेसर वा नासामा नेपाली युवा पनि नेपालका त्यस्तै गर्व हुन्। भन्नूस् न बरू, जहाँ गए पनि नेपालीको सान बढाउनुहोला। भन्नूस् न बरू, जहाँ बसे पनि आफ्नो पहिचान बिस्तार गर्नुहोला। भन्नूस् न बरू, जहाँ गए पनि तपाईंको मनमस्तिष्कबाट नेपालीत्व नहटोस्। बरू बोलाउनूस्, यसपालि कर्णालीमा बाटो खन्नुपर्‍यो, तपाईंहरू पनि आउनूस् भनेर।
दुःखका साथ भन्नुपर्छ नेपाल स्रोतसाधन नभएर होइन, तपाईंजस्तै मन्त्रीका सोचले गरबि भएको हो। आज अमेरिकी अफ्रिकी मूलका बाराक ओबामालाई राष्ट्र्रपति मान्न तयार हुन्छ, तपाईं नेपालीलाई नेपाली मान्न तयार हुन्नुहुन्न ? भगवान्ले कृपा गरून्, तपाईंको यो राष्ट्रवादले नेपाललाई एउटा शक्तिशाली राष्ट्र बनाओस्। तर, सम्भावना कम छ। आदर्शले मात्र संसार जितिँदैन मन्त्रीज्यू।
‌-क्यालिफोर्निया 
©नेपाल साप्ताहिक

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक