20140514

सन् २०१५ को लागि झण्डै ५ हजार नेपालीलाई डिभी चिठ्ठा !

तपाईँलाई डिभी पर्‍यो ?

युएसए (USA) भनेको यु स्टार्ट अगेन अर्थात जीवनको पुरै नयाँ सुरुवात पनि हो - विजय घिमिरे 

४९९१ नेपालीलाई एकैपल्ट ग्रीनकार्ड !अमेरिकामा स्थायी बसोबास गर्न चिठ्ठा मार्फत पाइने डाइभर्सिटी भिसा (डिभी) पर्यो भनेर खुशीमा मात्र समय नफालौं। पर्याप्त तयारी नगरी आउँदा अमेरिकामा बसाइ कठिन हुन्छ। डिभी अमेरिकी सरकारले चिठ्ठा मार्फत दिने स्थायी बसोबास अनुमति मात्र हो। डिभी परेको छ भने तोकिएको प्रक्रिया पूरा गर्र्नेले करिब एक वर्षभित्र अमेरिकामा स्थायी बसाइ र ग्रिनकार्ड पाउँछन्। पाँच वर्षपछि अमेरिकी नागरिक बन्न दरखास्त दिन सकिन्छ। यो प्रक्रियाबाट आउने प्रायः नेपालीको प्रतिक्रिया हुन्छ, सोचेजस्तो रहेनछ, के गर्नु के गर्नु? अमेरिका पुगेपछि सबै आफैं ठिक हुन्छ, सजिलै काम पाइन्छ पैसा आउँछ भन्ने
सोच पालेर यहाँ आउँदा यसअनुसार नहुँदा निराश हुने बढी भेटिन्छन्। विशेष गरी नेपालमा जागिर गर्ने वा कम मेहनत गर्नेहरु सुरुमा बढी आत्तिएको पाइन्छ।  अमेरिका बस्ने आफन्त वा चिनजानकाबाट धेरै सहयोगको आशा पनि नगर्दा हुन्छ। 
अमेरिका ज्यादै धेरै अवसर भएको देश हो। तर, यो अवसर छोप्न कडा प्रतिस्पर्धा गर्नुपर्छ। नेपालमा गरेभन्दा बढी प्रतिष्पर्धा चाहिन्छ। कुनै विषय वा क्षेत्रमा दक्षता वा सीप भएकालाई अमेरिका सजिलो हुन्छ। होइन भने सामान्य काममा थोरै आम्दानीमा अल्झिनु पर्छ। सामान्य काम गरेर बढी आम्दानी गर्न बढी समय मेहनत गर्नुपर्छ। अंग्रेजी भाषा पनि कमजोर छ। कुनै विषयगत दक्षता पनि छैन भने सजिलै भनेजस्तो काम पाइँदैन। 
अमेरिकीहरुको जीवनस्तर निकै माथि छ। नेपालीको प्रतिव्यक्ति आम्दानी हालसम्म पनि वार्षिक एक हजार अमेरिकी डलरभन्दा कम छ। अमेरिकीको प्रतिव्यक्ति आम्दानी ४० हजार डलर हाराहारीमा छ। यसको सिधा अर्थ १ हजार र ४० हजार हुने बजारमा किन्न गएजस्तै हो। एक हजार हुनेले सस्तो र थोरै किन्छ। 
यसले पनि अमेरिका र नेपालको जीवनस्तरको फरक अनुमान गर्न सकिन्छ। यहाँ मोटर,  वातानुकुलित घर, २४ घण्टा तातो चिसो पानी, पर्याप्त खाना न्यूनतम आवश्कता हुन्। संसारका राम्रा सामान र नयाँ वस्तु सबै पहिले यही बजारमा आउँछन्। तर, यसअनुसार सुविधा उपयोग गर्ने खर्च जुटाउन आम्दानी पनि बढी नै चाहिन्छ। काम छैन भने आम्दानी ठप्प हुन्छ। त्यसैले यहाँ चाहिने आवश्यकता जुटाउन अनुशासित भई मेसिनजस्तो काममा लागि रहनु पर्छ। आम्दानी छैन 
भने फोन पनि हुँदैन। यहाँ एकपटक लेनदेन व्यवहार क्रेडिट बिग्रियो भने जीवन निकै कठिन हुन्छ। फोन, अपार्टमेन्ट लिनदेखि कार किन्नसम्म कठिन हुन्छ। 
सुविधा जुटाउन आम्दानी गर्नुपर्ने भएकाले यहाँ सधैँ व्यस्त बनाउँछ। नराम्रो पक्ष भनेको एकआपस बीच सामाजिक सहयोग सम्बन्ध भने यहाँ कमजोर छ। काम बढी फुर्सद कम भएकाले पनि कतिपय सम्बन्ध बचाईराख्न सहज हुँदैन। सम्बन्धभन्दा नियम कानुन आफ्नो बनाउनुपर्ने हुन्छ। 
अमेरिकामा नेपालीले दक्षदेखि सामान्य काम गरिरहेका छन्। तर, ठूलो संख्यामा नेपाली सामान्य काममै अल्झिएका छन्। सामान्य काम भनेको प्रति घण्टा ८ देखि १२ अमेरिकी डलरसम्मको काम हो। सातामा ४० घण्टा कामलाई फुलटाइम मानिन्छ। यस अनुसार औसतमा घण्टाको १० डलरको काम छ भने महिनामा १६०० डलर हुन्छ। यसमा कर कट्टी गर्दा झण्डै १४०० हातमा पर्छ। यो कमाइले अमेरिकामा बस्न र खान ठीक्क हुन्छ। पैसा बचाउन ओभरटाइम वा थप काम गर्नुपर्ने हुन्छ। उपभोग्य सामाग्री बेच्ने पसल, ब्युटी पार्लर, ग्यास स्टेसन (पेट्रोलपम्प), रेस्टुरेन्टमा सामान्य काम गर्ने थुप्रै नेपाली भेटिन्छन्। सुरुसुरुमा भारतीय 
व्यवसायी नेपालीका सबैभन्दा बढी रोजगारदाता हुन्। न्यूयोर्क, सानफ्रान्सिस्को लगायतका सहरमा ट्याक्सी चलाउने नेपालीको संख्या पनि सय भन्दा बढी छ। 
ट्याक्सी चलाउँदा आम्दानी सामान्यभन्दा निकै बढी हुन्छ। सुरुमा पाएको काम गर्ने केही पैसा वचत गरी सानो व्यवसाय सुरु गर्ने नेपालीले राम्रो प्रगति गरेका छन्। विभिन्न राज्यहरुमा व्यवसायमा जम्दै गरेका नेपाली पनि भेटिन्छन्। 
अमेरिकामा राम्रो काम पाउने प्राविधिक ज्ञान भएका डाक्टर, इन्जिनियर, नर्सहरुलाई भने सजिलो छ। विषयगत दक्षता भएकाले पनि योग्यताअनुसार काम पाउन ९ महिनासम्म पर्खनुपर्छ। अन्य विषयमा नेपाली विश्वविद्यालयको डिग्री छ भने पनि योग्यता अनुसारको काम पाउन कठिन हुन्छ। समय लाग्छ। यस्तो डिग्री भएर पनि सामान्य काममा धेरै नेपाली अल्झिएका छन्। अमेरिकामा काम पाउने मुख्य आधार भनेको चिनजान नै हो। विभिन्न सर्वेक्षणले पनि ६० प्रतिशत भन्दा बढी रोजगार सिफारिसका आधारमा भर्ने गरिएको देखाएका छन्। सानो पदमा छिर्ने र विस्तारै आफ्नो क्षमता र योग्यताले माथि पुग्न सकिन्छ। सम्पर्क विस्तार हुँदै गएपछि राम्रो र बढी सुविधा पाइने काम पनि पाइन्छ। अमेरिकी विश्वविद्यालयतवाट डिग्री, व्यवसायिक तालिम लिनु वा आफैँ व्यापार व्यवसाय गर्ने हो भने यहाँ बढी आम्दानी गर्न सकिन्छ। 
डिभी परेर परिवारसहित आउनेले यहाँ बस्नका लागि केही खर्च जोहो गरेर आउनु उपयुक्त हुन्छ। सामान्यदेखि योग्यताअनुसारको काम पाउन २ तीन महिना वा बढी समय लाग्न सक्छ। त्यसबेलासम्म खान बस्न खर्च समस्या नहोस्, त्यसअनुसारको खर्च जोहो गर्दा अरुमा भर पर्नु पर्दैन। अमेरिकामा परिवारसहित आउँदा एकजनाले मात्र कमाएर खर्च जुटाउन कठिन हुन्छ। दुई जना कमाउने सदस्य छन् भने एक जनाको आम्दनीले घरखर्च गरी बाँकी वचत गर्न सकिन्छ। 
स्कुल पढ्ने वा साना केटाकेटी छन् भने उनीहरुका लागि थप खर्चको चिन्ता गर्नु पर्दैन। बालबालिकाका लागि यहाँँ धेरै सुविधाहरु छन्। यहाँ सरकारी स्कुल पठाउँदा शुल्क तिर्नु पर्दैन। तर जहाँ बसेको छ, त्यही ठाउँकै सामुदायिक स्कुलमा पठाउनुपर्ने हुन्छ।  त्यसैले स्कुल राम्रो भएको स्थान हेरेर बसे पुग्छ। यस्तै न्यून आम्दानी हुनेका लागि बालबालिका लागि स्वास्थ्य पनि निशुल्क हुन्छ। बालबालिकाका लागि आफ्नो संस्कार कसरी दिने, यसमा भने सचेत हुनु पर्छ। स्कुल पठाएपछि नेपाली भाषाभन्दा अंग्रेजी बोल्ने हुन्छन्, यहीको संस्कारमा रमाउँछन्। अभिभावकलाई उचित नलाग्न सक्छ। 
बसाइसराइ सजिलो हुदैंन। त्यो पनि भाषा, संस्कृति छुट्टै भएको सात समुन्द्रपारिको देशमा बस्नु कम चुनौतीपुर्ण हँुदैन। प्रत्येक पाइलामा सिक्नु पर्ने चुनौती हुन्छ। त्यसैले प्राय बसाइसराइ गर्नेहरु भन्छन्, कयौं रातहरु रोएर बिताएँ। युएसए भनेको यु स्टार्ट अगेन अर्थात फेरि नयाँ शुरुआत भन्ने साँच्चै रहेछ भनेर स्विकार्ने धेरै छन्। अमेरिकामा स्थायी बसोवास नयाँ जीवन सुरुआत जस्तै हो। पहिलो समस्या भाषा हो। अंग्रेजी भाषामा दख्खल छैन भने पहिलो समस्या यही हुन्छ। भाषा पहिलो आवश्यकता हो। अंग्रजी बोल्न र बुझ्न कठिन भए काम पाउन पनि गाह्रो हुन्छ। यस्तो अवस्थामा अंग्रेजी भाषा सिक्नु राम्रो हुन्छ। भाषा जति बोल्दै गयो, उत्ति नै सिक्न सकिन्छ। भनिन्छ, कुनै भाषा सिक्नु छ भने बालक जस्तो बन। अर्थात बालकले जस्तो नलजाई सिक्दै जाँदा भाषा आउँछ। केही समय भाषा सिक्न जाँदा फाइदा नै हुन्छ। 
भाषापछि अर्को समस्या ड्राइभिङ हो। न्यूयोर्क सानफ्रान्सिस्कोजस्ता ठूला सहरबाहेक अन्य स्थानमा सार्वजनिक यातायात सुविधा पातलो छ। अमेरिकाले व्यक्तिगत सवारी साधनलाई बढावा नदिन सार्वजनिक यातायात प्रभावकारी बनाएको हो। मोटर न्यूनतम आवश्यकतामा जस्तै हो। यहाँ ड्राइभर राख्ने कल्पना पनि गर्न सकिदैंन। यो निकै महंगो पर्छ। सहरमा अपार्टमेन्ट लिएर बस्दा महँगो पर्ने, टाढा जाँदा सार्वजनिक यातायात पातलो हुँदा अप्ठ्यारो पर्छ। त्यसैले ड्राइभिङमा दक्षता अर्को चाहिने आवश्यकता हो। मोटर चलाउन जानेको छ भने सक्रियता बढ्छ राम्रो र बढी पैसा पाइने काम गर्न टाढा पनि जान सकिन्छ।
कुनै विषयमा सीप हुनु अर्को सकारात्मक पक्ष हो। राम्रो कुक, ब्युटीपार्लर सेवामा दक्ष लगायतका क्षेत्रमा सीप छ भने पनि बढी सुविधा पाइने काम पाइन्छ। चाख भएको विषयमा सिप सिकेर आउँदा राम्रो हुुन्छ। अमेरिका आएपछि कहाँ बस्ने यसका लागि राम्रोसँँग विचार गर्नुपर्छ। आफन्त र नेपाली समाजको सल्लाह लिँदा राम्रो हुन्छ। परिवारसहित आउने हो भने अपार्टमेन्ट सस्तो पाइने ठाउँ उपयुक्त हुन्छ। न्युयोर्क सानफ्रान्सिस्कोजस्ता सहरमा अपार्टमेन्ट महँगो पर्छ। स्कुल जाने बालबच्चा पनि सँगै छन् भने उपयुक्त स्कुल भएको ठाउँ हेर्नुपर्ने हुन्छ। ठूला सहरभन्दा बाहिर बस्दाको बेफाइदा निजी सवारी साधन आवश्यकता पर्छ। 
विदेशमा स्थायी रुपमा बस्दा केही समयसम्म मनमा थुप्रै विरोधाभास चलिरहन्छ। आफ्नो गाउँ ठाउँको साथी नातासम्बन्धको सम्झनाले सताइरहन्छ। नेपालमा दसैँतिहार जस्ता चाडको रमझम हुँदा यहाँ काममा जानुपर्ने बाध्यताले सताउँछ। नेपालको समयमा दसैँटिका लगाउने कि अमेरिकाको, यस्ता थुप्रै प्रश्नमा केही वर्षसम्म मनमा खेलिरहन्छन्। नेपालमा आफ्ना निकट परिवारमा जन्म, मृत्यु, विवाहलगायतका खबर सुनेर चित्त बुझाउनुपर्ने हुन्छ। कहिलेकाहिँ रातविरातमा आउने फोनको घण्टीले के नराम्रो समाचार सुन्नु पर्ला भनेर तर्साउँछन्। नेपालमा सरकारी जागिर छ वा राम्रो काम पाइरहेको छ भने त्यो छाडेर 
आउनुपर्ने हुन्छ। ग्रिनकार्ड लिने सरकारी कर्मचारीले राजिनामा दिनुपर्ने नियम मन्त्रिपरिषद्ले पारित गरेको छ। डिभी परेर आएपछि लामो समय नेपाल बस्न सकिदैंन। काममा विदा नमिल्ने, विभिन्न बिल तिर्नुपर्ने दायित्वजस्ता कारणले पनि लामो समय नेपाल बिताउन सकिदैंन। जीवन चलाउन काम मुख्य हुने भएकाले घुम्ने रमाइलो गर्ने निश्चित समय छुट्याउनुपर्ने हुन्छ। - setopati
*********************************************

सन् २०१५ को लागि भरिएको डिभी चिठ्ठाको नतिजा अनुसार झण्डै ५ हजार नेपालीलाई डिभी चिठ्ठा 

४९९१ नेपालीलाई एकैपल्ट ग्रीनकार्ड !
-किशोर पन्थी /न्युयोर्क
             अमेरिकाको ग्रिनकार्ड हात पार्न त्यती सजिलो छैन । विभिन्न तरिकाले अमेरिका छिरेका नेपालीहरुले एसाइलमदेखि विवाहसम्मका तरिका अपनाएर ग्रिनकार्ड हात पार्दै आएका छन् । अमेरिकामा एसाइलम फाइल गर्दै वर्षौंदेखि ग्रिनकार्ड कुरेर बसेका निराश नेपाली अनुहारहरु प्रसस्तै देख्न पाइन्छ । अमेरिका छिरेको १०/१२ वर्ष वितिसकेपनि ग्रिनकार्डको पर्खाई अझै सकिएको हुँदैन । अझ ग्रिनकार्डका लागि अदालतको झण्झटमा वकिलको शुल्क र अन्य रकमहरु बुझाउँदा ग्रिनकार्ड आर्थिक हिसाबले पनि निकै महँगो हुने गरेको छ । जीवनको महत्वपूर्ण हिस्सा वितिसक्दा पनि र हजारौं डलर खर्चिसक्दा पनि ग्रिनकार्ड प्राप्त गर्न नसकेपछि दशक लामो अमेरिका बसाईपछि नेपाल फर्कनेहरु पनि प्रसस्तै छन् ।
           विभिन्न माध्यमबाट अमेरिका छिरेका नेपालीहरुले प्राय एसाइलम, विवाह र रोजगारका आधारमा ग्रिनकार्ड प्राप्त गर्दै आएका छन् । यी सबै प्रकृयामा प्रायजसो समय र रकमको खर्च अप्रत्यासित हुने गर्छ । तर न रकम , न समय , न कुनै झण्झट खपेर नेपालमा नै बसीबसी ग्रिनकार्ड हात पार्ने भाग्यमानीहरु पनि प्रसस्त नै छन् । यसपटक यस्ता भाग्यमानीहरु ४ हजार ९ सय ९१ जना रहेका छन् । उनीहरुलाई अमेरिकाको ग्रिनकार्ड दिनका लागि अमेरिकाले छनौट गरेको हो डिभी चिठ्ठामार्फत  । गत हप्ता निस्केको डिभी चिठ्ठाको नतिजा अनुशार ४ हजार ९ सय ९१ जनालाई अमेरिकाले ग्रिनकार्डको बाटोमा लगेको छ । उनीहरु कुनै कारणले अयोग्य नठहरिएमा अमेरिका छिरेको एकदुईमहिनाभित्रै ग्रिनकार्ड हात पारिहाल्छन् । न त पर्खने झन्झट न त रकमकै खर्च । अनि अमेरिका आएर यहाँका विधी र कानुन पूरा गरेमा ५ वर्षमा अमेरिकाको नागरिक नै बनिहाल्छन् । अझ केही विशेष प्रकृयामा त अमेरिकाको नागरिक बन्नका लागि ५ वर्षपनि कुर्नुपर्दैन ।
         सन् २०१५ को लागि भरिएको डिभी चिठ्ठाको नतिजा अनुसार झण्डै ५ हजार नेपालीलाई डिभी चिठ्ठा परेपनि उनीहरुका दम्पत्ति र छोराछोरीसहित अमेरिका आउनेहरुको संख्या यो भन्दा धेरै हुने गर्छ । उनीहरुले पनि डिभी चिठ्ठा परेकै व्यक्ति सरह ग्रिनकार्डको सुविधा उपभोग गर्न पाउँछन् । त्यसैले तपाई वा तपाईका आफन्तहरुमध्ये कोही यो भाग्यमानीको सुचीमा पर्नुभयो कि ? एकपटक राम्रोसँग चेक गरिहाल्नुहोस् है । डिभीलोटरी डट स्टेट डट जीओभीमा गएरमात्र डिभी परे नपरेको थाहा पाउन सकिन्छ । यदि चिठ्ठा परेको भएमा तुरुन्तै यसको प्रकृया सुरु गरिहाल्नुपर्छ । किनभने डिभी परेपनि अमरिकाले वर्षेनी डिभीमार्फत ग्रिनकार्ड दिने कोटा पूरा भएमा अमेरिका आउने अवशर गुम्न पनि सक्छ ।
       अमेरिकाको केन्टकीमा रहेको केन्टकी कन्सुलर सेन्टरले डिभी चिठ्ठा भर्नेहरुको आवेदन स्वीकार गर्नुका साथै चिठ्ठा पर्नेहरुको रेकर्ड उपलब्ध गराउँछ । अध्यागमन र राष्ट्रियता ऐनको सेक्सन २०३ सी अनुशार डिभी चिठ्ठाको कार्यक्रम संचालन गरिएको छ । जस अन्तरगत अमेरिकामा थोरै संख्यामा आप्रवासीहरु रहेको मुलुकहरुबाट वार्षिक ५० हजारलाई यो भिसा उपलब्ध गराइदै आएको छ । गत हप्ता खुलेको डिभी चिठ्ठाको नतिजा अनुशार डिभी पर्नेहरुले आर्थिक वर्ष २०१५ भित्रै भिसा लिइसक्नुपर्ने हुन्छ , अमेरिकामा यो आर्थिक वर्ष सन् २०१४ को अक्टोबर १ मा सुरु भई सन् २०१५ को सेप्टेम्बरमा अन्त्य हुन्छ । सन् २०१५ को लागि विश्वभरीबाट १ करोड ४३ लाख ९७ हजार ७ सय ८१ जनाका आवेदनहरु परेका थिए । जसमध्ये ९३ लाख ८८ हजार ९ सय ८६ जनाका आवेदनहरुमात्र चिठ्ठा कार्यक्रममा समावेश हुन योग्य रहेका थिए । तिनै आवेदनबाट ¥याण्डम छनौटमा परेकाहरुको पहिलो सुची गत हप्ता प्रकाशित गरिएको थियो भने दोश्रो सुची ६ महिनापछि प्रकाशित गरिनेछ । सन् २०१३ को अक्टोबर १ देखि नोभेम्बर २ सम्म चिठ्ठा भरेकाहरुलाई मात्र चिठ्ठा कार्यक्रममा सहभागी गराइएको हो ।
            यसरी डिभी चिठ्ठा परेकाहरुले भिसाको लागि अन्तरवार्ता दिदा हाइस्कुलसम्मको वा सो सरहको शिक्षा हासिल गरेको प्रमाण वा कुनै पेशामा दुईवर्षसम्म काम गरेको वा तालिम लिएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको छ । छनौटमा परेकाहरुलाई यथाशीथ्र भिसाका लागि आवेदन प्रकृया अगाडि बढाउन अमेरिकाले आब्हान गरेको छ । अमेरिकामा कानुनी रुपमा बसोबास गरिरहेका व्यक्तिलाई डिभी चिठ्ठा परेको खण्डमा उनीहरुले ग्रिनकार्ड पाउने प्रकृयाका लागि सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिस ब्यूरोमा सम्पर्क गर्नुपर्ने हुन्छ । जब ५० हजार भिसाको कोटा पूरा हुन्छ , तब आर्थिक वर्षका लागि यो कार्यक्रम बन्द हुनेछ, बाँकीले भिसा पाउनेछैनन् । ५० हजारलाई मात्र भिसा दिनेगरी कार्यक्रम ल्याइएको सन् २००० देखिमात्र हो । यसअगाडि भिसाको कोटा तोकिएको थिएन । सन् २०१६ को डिभी चिठ्ठाको कार्यक्रमका लागि फारम भर्ने मिति छिट्टै सार्वजनिक गरिने जनाइएको छ । सन् २०१६ को लागि डिभी चिठ्ठा कार्यक्रममा सहभागी हुन चाहनेहरुले आगामी महिनाहरुमा विदेशमन्त्रालयको वेवसाइटमा भिसा पेज हेर्न सक्नेछन् ।
          गतवर्ष ठूलो संख्यामा नेपालीहरुलाई डिभी चिठ्ठा परेपनि यो वर्ष डिभी चिठ्ठा पर्नेहरुको संख्या केही घटेको छ । गतवर्ष ६ हजार ८२ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो तर यो वर्ष भने झण्डै एकहजारले घटेर ४ हजार ९ सय ९१ मा झरेको छ । अफ्रिकी मुलुकमा यो वर्ष सबैभन्दा बढी क्यामरुन र लाइबेरियाका नागरिकलाई परेको छ । क्यामरुनका ५ हजार र लाइबेरियाका ५ हजारले यो चिठ्ठा पारेका छन् । त्यस्तै इथोपियाका ४ हजार ९ सय ८८ जना र इजिप्टका पनि ४ हजार ९ सय ८८ जनालाई यो चिठ्ठा परेको छ । एसियामा भने सबैभन्दा धेरै डिभी चिठ्ठा पार्ने देशमा पहिलो नम्बरमा इरान देखिएको छ । यो वर्ष इरानका ४९ सय ९२ जनाले डिभी चिठ्ठा पारे भने एक नम्बरले पछि पर्दै दोश्रो नम्बरमा ४९ सय ९१ जना नेपालीले डिभी चिठ्ठा पारे । युरोपमा पनि डिभी चिठ्ठाको आकर्षण उत्तिकै छ । युरोपमा यो वर्ष युक्रेनका ४६ सय ७९, उज्वेकिस्तानका ४३ सय ६८ र रुसका ४१ सय ३ जनाले डिभी चिठ्ठा पारेका छन् । अमेरिकामा बंगालादेशीहरु धेरै आइसकेकाले गत साता खुलेको डिभी चिठ्ठामा बंगालादेशीहरुलाई सहभागी गराइएको थिएन । त्यस्तै ब्राजिल, क्यानडा, चीन कोलम्बिया, डोमेनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, हैटी, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकले पनि यो कार्यक्रममा भाग लिन पाएनन् ।
          गत वर्ष नतिजा प्रकाशित गरिएको सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो भने सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई , सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई र सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई यो चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए । २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई, सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई र सन् २००१ लागि भरिएको डिभी चिठ्ठामा जम्मा २४ जना नेपालीलाई चिठ्ठा परेको थियो । - Khasokhass


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक