20140516

भारतको १६ औं लोकसभा निर्वाचनमा हिन्दूवादी भारतीय जनता पार्टी (बिजेपी)ले तीस वर्षको रेकर्ड तोड्दै एक्लैले बहुमत, नरेन्द्र मोदी प्रधानमन्त्री !

भारतको १६ औं लोकसभा निर्वाचनमा हिन्दूवादी भारतीय जनता पार्टी (बिजेपी)ले तीस वर्षको रेकर्ड तोड्दै एक्लैले बहुमत ल्याएको छ। ५ सय ४३ सदस्यीय लोकसभामा भाजपा एक्लैले २ सय ८३ सिटमा विजय हात पारिसकेको छ । नरेन्द्र मोदीको प्रधानमन्त्री उम्मेदवारीपछि आएको लहरले बिजेपीले नयाँ उचाई लिएको छ । यसअघि १९८४ मा इन्दिरा गान्धीको हत्यापछि भएको निर्वाचनमा राजीव गान्धीको नेतृत्वमा कांग्रेस आईले एक्लै बहुमत ल्याएको थियो । त्यसपछिको निर्वाचनमा कुनै एक दलले लोकसभामा बहुमत हासिल गर्न सकेको थिएन । लोकसभामा बिजेपी नेतृत्वको एनडीए गठबन्धनले ३ सय ३७ स्थानमा जित हासिल
गरेको छ । सत्तारुढ कांग्रेस आईले जम्मा ४३ स्थान जितेको छ । कांग्रेस नेतृत्वको यूपीए गठबन्धनले ५८ सिटमात्रै जितेको छ । यसैगरी आम आदमी पार्टीले ४ स्थान, अकाली दलले ४ र शिवसेनाले १९ सिटमा बिजय हासिल गरेका छन् ।
मोदीको अभ्युदयले दक्षिण एशिया र सिंगै विश्व राजनीतिमा नयाँ संकेत देखिएको छ । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशमा मोदी जनताबाट अनुदिन शक्तिशाली प्रधानमन्त्री बन्दैछन् । अमेरिकी अर्थतन्त्रको दबदबा बढेको गुनासो बढिरहेको भारतमा अमेरिकी प्रभावभन्दा अलग र स्वतन्त्र राजनीतिक आर्थिक विकासको सम्भावना एकातिर छ भने दक्षिण एशियामा पश्चिमा प्रभावमाथि धक्का लाग्न सक्ने देखिएको छ । रुस र भारतवीचको सम्बन्ध नजिक हुन सक्ने र बलियो भारत बन्न सक्ने धेरैले अनुमान गरेका छन् । रुसका पुटिनजस्तै मोदी दक्षिण एशियाका शक्तिशाली प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ । यद्यपि भारतीय वामपन्थीले मोदी सरकारले भारतीय कांग्रेसले अपनाएको आर्थिक उदारीकरण र अमेरिकी हेजिमोनीलाई नै निरन्तरता दिने आलोचनात्मक विश्लेषण गर्दै आएका छन् । गुजरातको महेसाणा जिल्लाको बडनगरमा १९५० सेप्टेम्बर १७ मा जन्मिएका ६३ वर्षीय नरेन्द्र मोदी भारतीय गुजराज राज्यमा चारपटक मुख्यमन्त्री बने । उत्तरप्रदेशको वाराणसी र गुजरातको बडोदराबाट चुनाव लडेका उनाले दुबै स्थानबाट चुनाव जितेका छन् । केशुभाइ पटेलको राजीनामापछि २००१ मा गुजरातको मुख्यमन्त्री बनेका उनले सन् २००२, २००७ र २०१२ मा तीनपटक गुजरातमा विधानसभाको चुनावमा बीजेपीलाई जीत दिलाए । सन् १९९० मा केन्द्रमा मिलिजुली सरकारको प्रयास भइरहेको थियो, उता १९९५ मा गुजरातको विधानसभामा भाजपाले दुई तिहाइ बहुमत ल्याएको थियो । त्यसताका सोमनाथदेखि अयोध्यासम्म रथयात्राको आयोजना भएको थियोे । त्यसमा आडवाणीका मुख्य सारथी नरेन्द्र मोदी थिए । किशोरावस्थामा मोदीले आफ्ना परिवारका सदस्यसँग चिया दोकानमा काम गरेका थिए । आमा बुबाका ५ सन्तानमध्ये तेस्रो सन्तान मोदीले रेल्वे स्टेशनमा चिया बेच्ने क्रममा आमा बुबालाई सघाएका थिए । स्कुलमा उनी औसत छात्र थिए । तर, वाद-विवाद र नाटकमा उनको विशेष रुची थियो । उनको रुची राजनीतिमा पनि थियो । मोदीले राजनीतिक विज्ञानमा स्नातकोत्तर र एमएस्सी उत्तीर्ण गरेका छन् । उनी कवि पनि हुन् । उनले गुजराती र हिन्दीमा कविता लेख्ने गरेका छन् । उनी पूर्णतः शाकाहारी हुन् । उनी हिन्दीमा धाराप्रवाह भाषण गर्छन् । साथै पछिल्लो समय अंग्रेजीमा पनि भाषण कला सिकेका छन् । मोदी १७ वर्षको हुँदा उनको विवाद १३ वार्षीया जशोदावेन चमनलालसँग भयो । उनीहरु केही वर्षसम्म सँगै रहे । कतिपयले उनीहरु सँगै नरहेको बताउँछन् । विवाहको केही समयपछि मोदीले घर छाडे । त्यसपछि उनको वैवाहिक जीवन लगभग समाप्त भयो । विधानसभाको चुनावमा मोदी आफ्नो वैवाहिक जीवनबारे मौन रहे । तर, उनले आफू अविवाहित रहेको बताएर कुनै पाप नगरेको बताउने गरेका छन् । मोदीको विचारमा विवाहित व्यक्ति भन्दा अविवाहित व्यक्ति भ्रष्टाचारविरुद्ध लड्न सक्छ । किनभने उसलाई आफ्नो पत्नी, परिवार र बालबच्चाको कुनै चिन्ता हुँदैन । तथापि उनले आफ्नो सपथपत्रमा जशोदावेनलाई आफ्नी पत्नीका रुपमा उल्लेख गरेका छन् । सामान्य मध्यम परिवारमा जन्मेका मोदी विद्यार्थी कालमा राष्ट्रिय स्वयंसेवक संघसँग जोडिएका थिए । पूर्णकालीन प्रचारक समेत बनेका थिए । लालकृष्ण आडवानीको साथमा रहेर भाजपाको महामन्त्री बनेका थिए । १९९८ देखि २००१ सम्म उनी भाजपाको महामन्त्री भए । त्यसपछि उनी गुजरातको मुख्यमन्त्री बने । विद्यार्थी हुँदा उनी राष्ट्रिय स्वयंसेवक संघमा नियमितरुपमा जाने गर्थे । यसैक्रममा उनी संघको प्रचारक बने । उनले प्रारम्भिक दिनमा भाजपाको राजनीतिलाई मद्दत पुर्‍याए । भारत-पाकिस्तान दोस्रो युद्धका बेला उनले स्वेच्छिकरुपमा सैनिकहरुको सेवा पनि गरेका थिए । मुख्यमन्त्री हुँदा उनले ल्याएको गुजरातको विकास योजना विशेष चर्चित रहेको छ । आतंकवादप्रति मोदी आक्रामक छन् । मुम्बई हमला लगायतका आतंकवादी हमलाका विषयमा उनी मनमोहन सिंहले नरम नीति अपनाएको भन्दै मोदीले आलोचना गर्दै आएको स्मरणीय छ । भारतको माओवादी हिंसाप्रति पनि मोदी आक्रामक मानिन्छन् । मोदीको आलोचना विशेष गरी गुजरातमा भएको हिन्दू-मुस्लिम दंगालाई लिएर गर्ने गरिएको छ । यही कारणले बीजेपीले उनलाई प्रधानमन्त्रीका उम्मेद्वारका रुपमा अगाडि सार्दा पार्टीभित्रैबाट केहीले उनका आलोतना समेत गरेका थिए । मोदीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दा मुस्लिम समुदायको भोट कम आउने डर केही बीजेपी नेतामा थियो ।

नयाँ शक्ति भनिएको अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी समेत चुनावमा पत्तासाफ भएको छ । आपले चार सिट मात्रै जितेको छ । मोदीविरुद्ध वाराणसीमा उम्मेदवारी दिएका केजरीवाल हारेका छन् । जयललिताको एआईडीएमकेले ३६ सिट जितेको छ भने पीश्चम बंगलामा ममता बेनर्जीको त्रिणमूल कांग्रेसले ३४ सिटमा जीत हात पारेको छ । मुलायम सिंहको एसपीले चार सिटमात्रै जितेको छ । ७ अपि्रलबाट सुरु भएर १२ मेसम्म ९ चरणमा सम्पन्न निर्वाचनमा ५१ करोड बढी भारतीय मतदानले आफ्नो मताधिकार प्रयोग गरेका छन् । भारतको चुनाव आयोगका अनुसार योपटक सबैभन्दा धेरै ६६.४ प्रतिशत मतदान भएको छ । सन् १९८४ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि भएको ६४ प्रतिशत मतदानको रेकर्ड समेत तोडिएको छ । यो चुनावमा कुल मतदाता ८१ करोडभन्दा बढी थिए, जुन युरोपेली संघको कुल जनसंख्याभन्दा बढी हो । यो पटकको निर्वाचनमा सबै उम्मेदवारलाई अस्वीकार गर्ने ‘राइट टु रिजेक्ट’को विकल्प समेत मतदातालाई दिइएको थियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक