20140605

भोट दिउँ गधालाई ! - चट्याङ मास्टर

कसैले मेरो ढोका ढकढकायो 
खोल्दा घरमा नेता आयो
 
भैंसी जस्तो शरीर उसको, गलामा फूलको माला 
अघिपछि डन उसका कोही भतिजा कोही साला 
मलाइ एक्लै घरमा देखी नेता मुस्कुरायो 
मानौं जङ्गलमा स्यालले पायो एक्लो खरायो।
 
मैले हात जोड्नु अघि नेताले नै हात जोड्यो 
मैले सलाम गर्नु अघि उसैले पो सलाम ठोक्यो 
नसुनेको कहिल्यै नदेखेको बिपरित हुँदै आयो 
अड्कल काटें– चुनाव आयो, या त ऊ बहुलायो।
 
मैले पुरानै पाठ कण्ठ थियो सुनाएँ– 
स्वागत छ, सवारी होस्, लौ पाल्नुहोस् 
मेरो जे छ यहाँ सबै मनमाफिक तपाईंकै हो, 
जे चाहियो अर्पण छ, खुसीसाथ लैजानुहोस्।
 
यो सुनेर नेताजीले दुईटा दाँत देखाए 
त्यो देखेर सब डनहरूका पूरै बत्तिसी उदाए।
 
अनि नेता उवाच– 
के तपाइँलाई थाहा छ ?
मैले डाइरेक्ट लुट्न छोडी दिएँ 
इन्डाइरेक्ट यो मोड लिएँ 
चुनावमा उम्मेदवारी दिएको छु 
अहिले त म तपाइँलाई लुट्न होइन 
केवल भोट माग्न आएको छु ।
 
कति लुट्नु गाउँका झुपडीहरू?
कति घुकाउनु गाउँका कुकुरहरू?
योभन्दा त इन्डाइरेक्ट देशै लुटेर 
टिभीमा पत्रकारहरू बिच देखिन्छु बरु।
 
नेताजीको कुरा मलाई राम्रो लाग्यो 
आफ्नो सुरक्षाको आस जाग्यो 
सोचें– यसलाई त जसरी पनि जिताउनै पर्छ 
यसलाई गाउँबाट भगाउनै पर्छ 
ऊ सुहाउँदो चुनाव चिन्ह पनि रहेछ
गधा छापमा मत खसाउनै पर्छ।
 
नेताका लागि भोट माग्न मन लाग्यो मलाई
घर घरमा डुलेँ रोई कराई–
भोट दिउँ यो लिच्चड गधालाई 
जिताउँ जिताउँ हाम्रो नेतालाई।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक