20140712

एमालेका स्वयंसेवकलाई शुक्रबार मध्यरातमा खानसमेत नदिई भृकुटीमण्डपबाट जबर्जस्ती निकालिएपछि !

फाइल फोटोमहाधिवेशन उद्घाटनदेखि मतगणना नसकिएसम्मका लागि भनेर तालिम दिइएका एमालेका स्वयंसेवकहरुलाई मतदान नहुँदै अपमानजनक रुपमा निकालिएको गुनासो आएको छ । कतिपय स्वयंसेवकलाई शुक्रबार मध्यरातमा खानसमेत नदिई भृकुटीमण्डपबाट जबर्जस्ती निकालिएपछि उनीहरु रुँदै
घर हिँडेका थिए । एमालेले महाधिवेशनको भित्री सुरक्षा घेराका लागि भनेर देशभरीका अगुवा कार्यकर्तामध्ये २ सय २५ जनालाई स्वयंसेवकका रुपमा छनोट गरी आवश्यक शारीरिक तालिमसमेत दिएको थियो । अनेरास्ववियुका पूर्वअध्यक्ष रुपनारायण श्रेष्ठले कमाण्ड गरेका स्वयंसवेकमा माधव नेपाल र केपी ओली दुबै पक्षका कार्यकर्ता थिए । स्वयंसेवकहरुलाई दुई छाक खान र एक जोडी ट्र्याकसुट बाहेक अरु केही नदिइए पनि पार्टीको महाधिवेशनको व्यवस्थापनमा खटिन पाउँदा उनीहरु दंग थिए । ‘तर मतदानको दिन बरिष्ठ नेता कमरेडले साह्रै अपमानजनक शब्द प्रयोग गर्दै हामीलाई निकाल्न लगाउनुभयो’ स्वंसेवकमा खटिएका आरआर क्याम्पसका पूर्वस्ववियु सभापति बालगोपाल उपाध्यायले भने । उपाध्यायले आफ्नो फेसबुक वालमा समेत माधव नेपालले स्वयंसेवकलाई ‘रातो लुगा लगाउने गुण्डाहरु’ भन्ने शब्दले अपमान गरेको गुनासो पोखेका छन् । स्वयंसेवकका कमाण्डर रुपनारायण श्रेष्ठले स्वयंसेवकहरुलाई कबुल गरिएबमोजिम मतगणनासम्म राख्न नसकिएकोमा आफूलाई दुःख लागेको बताए । ‘नेताहरुले भनेपछि मान्नैपर्‍यो’ श्रेष्ठले भने ‘हामीले उनीहरुलाई मतगणना सकिएपछिमात्रै घर जाने भनेर बोलाएका हौं’ । आफूहरुलाई राति खाना खाने बेलामा लाइन बस्न समेत नदिई अपमानजनक ढंगले निकालिएको स्वयंसेवक बिष्णु तारुकेले बताए । ‘माधव कमरेडले तपाईहरुलाई यहाँ खाना पनि छैन र ट्वाइलेट पनि छैन भन्दै बाहिर निकाल्न आदेश दिनुभयो’ उनले भने ‘साथीहरु खान समेत नपाई रुँदै बाहिरिनुपर्‍यो’ । उता माधव नेपाल पक्षले भने स्वयंसेवकको भेषमा ओलीको पक्षमा षडयन्त्र गरेकाले उनीहरुलाई दुवै पक्षको सहमतिमा बिहानै बाहिर निकालिएको दाबी गरेको छ । ‘स्वयंसेवकका नाममा ओलीको प्यानलको पक्षमा शंकास्पद गतिविधि गरेकाले निकालिएको हो’ नेपाल पक्षका नेता सोमप्रसाद पाण्डेले भने-’केही स्वयंसेवक पोशाकमै रातिसम्म बसेकाले उनीहरुलाई प्रहरी लगाएर निकालिएको हो’ । भित्रबाट निकालिएका स्वयंसेवकहरुले बाहिर सडकमा निस्किएर आ-आफ्नो गुटका नेताहरुको पक्षमा नाराबाजी गरेको उनले बताए । double-marriageमहिला हिंसा र बहुविवाहमा संलगन व्यक्तिलाई पार्टीका कुनै पनि कमिटीमा नराख्न माग गर्दै एमालेको महाधिवेशनस्थलमा टाँगिएको ब्यानर रातारात गायव पारिएको छ । उषाकिरण तिम्सिनालगायतका महिला प्रतिनिधिहरुको अगुवाइमा बन्दसत्र हल बाहिर टाँगिएको ब्यानर राति नै हराएको हो । पहिलोपटक महाधिवेशन प्रतिनिधि बनेका एमालेका युवा महिलाहरुले बहुविवाह गर्ने र महिला हिंसामा संलग्न रहेकाहरुलाई पार्टीका कुनै पनि कमिटीमा नराख्न अभियान चलाएका थिए । ‘तर रातारात हाम्रो ब्यानर गायब पारिएछ’ तिम्सिनाले अनलाइनखबरसँग भनिन् ‘दुईटी भाउजू राख्नेहरुले यस्तो गरेका हुन्’ । बहुविवाहवाला उम्मेद्वार तिम्सिनाका अनुसार बहुविवाहमा संलग्न केही व्यक्तिहरु यसपटक पनि एमाले नेतृत्वका लागि चुनावी मैदानमा छन् । त्यसमा एकजना बहुविवाह गर्ने महिलासमेत रहेको स्रोतले जनाएको छ । महिला हिंसामा संलग्न दाङका दुई प्रतिनिधि उत्तरकुमार ओली र मानवहादुर रावतको महाधिवेशन प्रतिनिधि भने खारेज भएको छ । त्यस्तै पत्नीमार्फत काउैकर्ता ठगेको आरोप लागेका पूर्वमन्त्री जीतु गौतमको उम्मेदवारी रद्द भएको छ । महिला हिंसाको विषय एनजीओ आइएनजीओले मात्र उठाइरहेकाले राजनीतिक दलहरुबाटै यसबारे आफ्नो धारणा नबनाएसम्म केही परिणाम नआउने भएकाले आफूहरुले यो अभियान चलाउन खोजेको तिम्सिनाले बताइन् । ‘तर हाम्रो अभियानबाट डराएका केही दाइहरुको षडयन्त्रणमा ब्यानर फालिएछ’ उनले भनिन् । एमालेमा बहुविवाह गर्नेलाई पार्टीले अनुशासनको कारवाही गर्ने गरे पनि तयो कर्मकाण्डीमात्र हुने गरेको महिला प्रतिनिधिहरुको आरोप छ । ‘कारवाही कर्मकाण्डी पाराको छ, केही समयपछि फेरि उसैलाई नेता मान्नुपर्छ’ एमाले महाधिवेशनकी सबैभन्दा कान्छी प्रतिनिधि सरिता श्रीषले भनिन् । अहिले उम्मेदवार भएकामध्ये चार/पाँचजना बहुविवाहका आरोपित रहेको स्रोतले जनाएको छ । उनीहरुको नाम भने महिला नेतृहरुले लिन मानेनन्-’हामीले प्रवृत्तिको विरोध गरेका हौं, व्यक्तिको होइन,’ एक महिला प्रतिनिधिले भनिन्- ‘यसमा मन्त्री भैसकेका मान्छेसमेत छन् ।’ नेकपा एमालेका पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म एक दर्जनभन्दा बढी एकै परिवारका सदस्य उम्मेवार बनेका छन् । यस्तो पारिवारिक उम्मेद्वारी माधव नेपाल र केपी ओली दुबैतिर देखिएको छ । अध्यक्षका प्रत्यासी माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डे खुल्लातर्फ केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै स्वतः बरिष्ठ नेता पदमा निर्वाचित भइसकेका झलनाथ खनाल र नेपाल प्यानलका सचिवका उम्मेदवार भीम आचार्य ज्वाइँ-जेठान हुन् । नेपाल प्यानलका उपाध्यक्ष उम्मेदवार राजेन्द्र पाण्डे र महासचिवव उम्मेदवार सुरेन्द्र पाण्डे सहोदर दाजुभाइ हुन् । अनुशासन आयोगका अध्यक्ष उम्मेदवार अमृतकुमार बोहोरा र पार्टी उपाध्यक्ष उम्मेदवार अष्टलक्ष्मी शाक्य पति-पत्नी हुन् । ओली प्यानलका उपमहासचिव उम्मेदवार शंकर पोखरेल र महिलातर्फ केन्द्रीय सदस्य उम्मेदवार सुजिता शाक्य पति-पत्नी हुन् । त्यस्तै कृष्णगोपाल श्रेष्ठ आफू उम्मेदवार नबने पनि पत्नी बिना र सालो बिनोद श्रेष्ठ दुबैलाई ओली प्यानलबाट केन्द्रीय सदस्य उम्मेदवार बनाउन सफल भएका छन् । ओली प्यानलबाटै केन्द्रीय सदस्यका उम्मेदवार महेन्द्रबहादुर पाण्डे र बिन्दा पाण्डे सहोदर दाजुबहिनी हुन् । नेपाल पक्षका उपाध्यक्ष उम्मेवार युवराज ज्ञवाली र ओली पक्षका केन्द्रीय सदस्य उम्मेदवार लक्ष्मण ज्ञवाली पनि सहोदर दाजुभाइ हुन् । ज्ञवालीका अर्का भाइ रामकुमार ज्ञवाली पनि केन्द्रीय सदस्यका दावेदार थिए, तर उनको प्रतिनिधिमा मनोनयन नै नभएकाले रोकिए । त्यस्तै अोली पक्षका केन्द्रीय सदस्य उम्मेदवार रविन्द्र अधिकारी र राजन भट्टराई ज्वाइँ-जेठान हुन् । अधिकारी राजनका बहिनी-ज्वाइँ हुन् । संयोग नै मान्नुपर्छ एमालेको आन्तरिक राजनीतिमा यी ज्वाइँ जेठान पहिलोपटक एउटै गुटमा छन् । । नत्र यी दुई सधैं अलग गुटमा हुने गर्थे । ओली पक्षका केन्द्रीय सदस्य उम्मेदवार बलराम बास्कोटा र सावित्रा भुसाल पनि पति-पत्नी हुन् । बास्कोटा खुल्ला र भुसाल महिला कोटामा उम्मेदवार बनेका छन् । नेपाल प्यानलबाट गोविन्द कोइरालाले खुल्लातर्फबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनकी पत्नी गौरा प्रसाई महिलातर्फबाट केन्द्रीय सदस्यको चुनाव लड्दैछिन् । नेपाल प्यानलबाटै नरेश खरेल खुल्लातर्फबाट केन्द्रीय सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । उनकी पत्नी पवित्रा निरौला खरेल महिला तर्फबाट केन्द्रीय सदस्यकी उम्मेदवार भएकी छन् । एकाघरका नाता नभए पनि एमालेका केही नेताहरु एकै खलकका छन् । सिन्धुपाल्चोकका अरुण नेपाल र सरेश नेपाल एकै खलकका दाजुभाइ हुन् । अरुण नेपाल माधव प्यानलबाट र सरेश ओली प्यानलबाट केन्द्रीय सदस्यका उम्मेदवार हुन् । रामेछापका कैलाश ढुंगेल र माधव ढुंगेल पनि एकै खलकका दाजुभाइ हुन् । उनीहरु दुवैजना ओली प्यानलबाट केन्द्रीय सदस्यका उम्मेवार छन् । ओली प्यानलबाटै केन्द्रीय सदस्यमा उठेका केशव देवकोटा र मनोज देवकोटा पनि एकैखलकका काका भतिज हुन् भने सोही प्यानलकी केन्द्रीय सदस्य उम्मेदवार गोमा देवकोटा केशवकी भाउजू हुन् । ओली प्यानलकै केन्द्रीय सदस्यका उम्मेदवार भानुभक्त ढकाल र रामेश्वर फुँयाल पनि अलि टाढाबाट ज्वाइँ-जेठान नाता पर्छन् । त्यस्तै सक्रिय राजनीतिबाट पहिले नै छाडिसकेका मोदनाथ प्रश्रितका छोरा डा. बिजय पौडेल पनि नेपाल पक्षबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् । -अनलाइन खबर

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक