(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140813

आफूलाई जन्म दिने बाबुआमाको देहान्तपछिको काजकिरिया कति दिन गर्ने भन्ने विषयमा बडो जोडतोडले बहस सुरु !

 हिन्दु धर्ममा आस्था राख्‍ने केही पाका र प्रतिष्ठित व्यक्तित्वले आफ्नो मृत्युसंस्कार छोटो गर्न आफन्तसमक्ष इच्छा व्यक्त गरेका छन्। तेह्रदिने संस्कार खर्चिलो र आफन्तका लागि कष्टकर हुने भन्दै उनीहरूले बढीमा पाँच दिनमै आफ्नो मृत्युसंस्कार पूरा गर्न आग्रह गरेका हुन्। पूर्वमन्त्री हरिबहादुर बस्नेत मृत्युसंस्कार १३ दिन नै गर्नुपर्छ भन्ने पक्षमा छैनन्। उनले छोरा अनुपलाई लेखेरै दिएका छन्, 'धर्मशास्त्रले गर्नैपर्ने कुरा जतिसक्दो
छोट्ट्याएर गर्नू तर १३ दिन किरियापुत्री नबस्नू।' उनले तीन वा पाँच दिनमा किरिया सके हुने बताएका छन्। अनुपले पनि सोहीअनुसार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बस्नेतले ९० प्रतिशतभन्दा बढीले देखाउनका लागिमात्रै १३ दिने मृत्युसंस्कार गर्ने गरेको बताए। उनले भने, 'समाजलाई देखाएरमात्र केही हुन्न। जुन ढंगले बस्नुपर्ने हो त्यसरी नबसेपछि के अर्थ? विधि नटुटाई तीन दिनमा पिण्ड र दुई दिनमा अन्य काम सकिने तर्क आएका छन्, म त्यसमा सहमत छु।' अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वसहसचिव डिल्लीरमण आचार्य र पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यका ८३ वर्षीय बुबा दुर्गाप्रसाद र ७९ वर्षीया आमा इन्दिरा पनि १३ दिने मृत्युसंस्कार छोट्ट्याउनुपर्ने पक्षमा छन्। ६ छोरा र ६ छोरीका बुबा दुर्गाले भने, 'मैले मेरो जुठो तीन दिनभन्दा बार्नु पर्दैन र संस्कार पनि पाँच दिनमा टुंग्याउनू भनेको छु।' जेठा छोरा डिल्लीरमणले पनि बुवाको इच्छाअनुसार नै आफूहरूले गर्ने बताए। बुवाआमाको निधनपछि पाँच दिनमा काजकिरिया सक्ने विषयमा आफू र मधुरमणले सहमति जनाएको पनि उनले बताए। मृत्युसंस्कार छोट्ट्याउन क्रियाशील अभियन्ता शंकरप्रसाद पोखरेलले तीन दिनमा १० पिण्ड दिन मिल्ने बताएका छन्। उनका अनुसार पहिलो दिन एक, दोस्रो दिन चार र तेस्रो दिन पाँच पिण्ड दिन मिल्छ। त्यसैगरी चौथो दिन ११ औं दिनमा गरिँदै आएको काट्टो खुवाउने, शय्या दान गर्ने र पाँचौं दिन बाह्रौं दिनमा गरिँदै आएको सपिण्डीकरणको काम गर्न सकिने उनको भनाइ छ। यद्यपि, हिन्दू परम्परामा विश्वास गर्ने अर्को पक्ष यसको विरोधमा छ। राजधानीको गोठाटार बस्दै आएका इलामका खगेन्द्रनाथ शर्मा अधिकारीेले पनि छोराछोरीलाई मृत्युसंस्कार छोट्ट्याउन सुझाव दिएका छन्। ८० वर्षीय अधिकारीले भने, 'मैले त छोराछोरीलाई काम लाग्छ भने शरीर अस्पताललाई दिनू भनेको छु। छोराछोरीले मृत्युसंस्कार छोट्ट्याएर गर्नेमा सहमत जनाएका छन्।' तत्कालीन केन्द्रीय पञ्चायत प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक र २०१७ सालमा इलाम क्याम्पसका संस्थापक प्रिन्सिपल रहेका अधिकारीले पुरानो समयमा बनाएको बोझिलो संस्कार पछ्याइरहे आधुनिक युवा पुस्ताले अँगाल्नै छोड्ने तर्क गरे। उनले भने, 'मैले सामाजिक पक्षबाट संस्कार छोट्ट्याउनेमा सहमति जनाएको हुँ।' सेनाबाट जागिर सुरु गरेर विराटनगरस्थित हुलाक जिन्सी खानाको प्रमुखबाट निवृत्त भएका मेघप्रसाद उपाध्याय दाहालले त आफ्नो मृत्युसंस्कार तीन दिनमात्र गर्न चार पृष्ठको खुला चिठी नै लेखेका छन्। 'राजर्षी मनुले १६ संस्कार र अन्तिम संस्कार अन्त्येष्टि भनेका छन्। सत्रौं छैन तर २० भन्दा बढी संस्कारको अभ्यास ठगलीला हो', ७३ वर्षीय उनले भने, 'निधनपछि श्राद्ध हुन्न, जन्माउने, हुर्काउने बुबाआमा हुँदै श्रद्धाका साथ तृप्त पार्नुपर्छ, त्यही नै श्राद्ध हो।' भारतीय प्राध्यापक सिद्धान्तालंकार विद्यावाचस्पति विद्यामार्तण्यको कृ ति 'सत्य सनातन वैदिक धर्म प्रश्नोत्तर' अनुवाद गर्ने वेदका ज्ञाता दाहालले भने, 'मृत शरीर भष्म भएपछि घर फर्केर मानिस मरेका ठाउँमा हवन र स्नान गर्ने, शुद्ध हुने, शोक गर्ने र तेस्रो दिन जलाएका ठाउँमा गएर अस्थिशंचयन गरी घर आई स्नानपछि हवन गर्नुपर्छ।' पोखरेलका अनुसार दुई सयभन्दा बढी प्रतिष्ठित हिन्दू धर्मावलम् बीले आफ्नो मृत्युसंस्कार तीन वा पाँच दिनमा सीमित गर्न सहमति जनाएका छन्। पोखरेलले भने, 'यसबारे जनचेतना कार्यक्रम छिट्टै गरिनेछ।

काजकिरिया कति दिन ?

nisedhकामुलुकमा कतिपयले अहिले आफूलाई जन्म दिने बाबुआमाको देहान्तपछिको काजकिरिया कति दिन गर्ने भन्ने विषयमा बडो जोडतोडले बहस सुरु गरेका छन् । हिन्दू धर्म–संस्कृतिअनुरूप बाबुआमाको मृत्युपछि तिनका सन्तानले १३ दिन काजकिरिया गर्ने परम्परा रहिआएको छ । यो काजकिरियाकै आधारमा दाजुभाइहरूमा नजिक, टाढा, को, कति भन्ने प्रस्ट्याउनका लागि कतिले ‘हामी त १३ दिने’ पनि भन्ने गर्दछन् । तेह्रदिने भनेपछि छाक जुठै लाग्ने नजिकका रहेछन् भन्ने बुझिन्छ । हिन्दू धर्मावलम्बीमा पनि सबैमा १३ दिनको प्रचलन छैन । राई, लिम्बू, गुरुङ, मगरलगायत कतिपय जनजातीय समुदायमा बाबुआमाको मृत्युमा १३ दिन जुठो बार्ने चलन छैन । आ–आफ्नो परम्पराअनुरूप कसैले तीन दिन, पाँच दिन, कसैले तीन छाक बार्छन् । तर, यो पनि परम्पराअनुरूप फरक–फरक तरिकाले गरिन्छ । जस–जसले जुन तरिकाले गरे पनि पितृ बुझाउने कार्यचाहिँ सबैले गर्छन् । क्षेत्री, बाहुन र दलितको भने जन्मेदेखि मृत्युसम्म प्राय: सबै संस्कार एउटै हो । यी जातिमा छोरा प्रतिको अगाध चाहना पनि मृत्यु–संस्कारसँगै जोडिएको छ । जनजातिमा पनि मृत्यु–संस्कार आफ्नो प्रचलनअनुरूप प्राय: छोराले नै गर्छन् । तर, छोरी र ज्वाइँको भूमिका पनि त्यत्तिकै हुने गर्छ । कतिपय जातिमा ज्वाइँ नभई मृत्यु संस्कारको सुरुवात नै हँुदैन । यता लोकतन्त्रले जनजातिको सूचीमा पु¥याएका नेवार समुदायको मृत्यु–संस्कार पनि १३ दिनकै हुने गर्दछ । तर, गर्ने प्रक्रिया भने फरक छ । क्षेत्री, बाहुन र दलितले बाबुआमा जलाएपछि छोराहरूले घाटमै कपाल काट्छन्, नेवार समुदायमा १० दिनका दिन कपाल काट्ने चलन छ । यो पनि ठाउँअनुसार फरक छ, पहाडतिर प्राय: सोही दिन घाटमै कपाल खौरने चलन छ भने उपत्यका र तराईका कतिपय भागमा १० दिनमा मात्रै कपाल खौरिएर सेतो लुगा लगाउने चलन छ । कतिपय नेवार परिवारमा सबै छोराले कोरामा बस्नुपर्दैन । बाबुको मृत्युमा जेठो छोराले र आमाको मृत्युमा कान्छो छोरा कोरामा बस्ने गर्छन् । मधेसी र मारवाडी समुदायमा १३ दिन जुठोमा बस्ने चलन छ । जनजातिबाहेक सबैको मृत्यु–संस्कार प्राय: खोलाको छेउमा जलाएर गरिन्छ । जनजातिमा भने जमिनमुनि गाड्ने चलन छ । कतिले आफ्ना आमाबाबुको चिहानमाथि विभिन्न आकारका स–साना घर बनाएर तिनलाई विशेष बनाउने गरेको पनि देखिन्छ ।
मृत्यु–संस्कार भन्ने कुरा हामीकहाँ मात्रै होइन, विश्वमै आ–आफ्नो जातीय, धार्मिक र सांस्कृतिक परम्पराअनुरूप गरिने कुरा हो । परिवारको सदस्यको मृत्यु भएका दिन कतै मदिरासहितको भोजभतेर गरिन्छ, मृत्यु उत्सव बनाइन्छ भने कतै उक्त दिन घरमा चुलो बाल्न पनि मिल्दैन । धर्म, समुदायअनुरूपको प्रचलनमा कसैले हस्तक्षेप गर्न मिल्दैन भन्ने मान्यता राखिन्छ किनभने यो आ–आफ्नो संस्कारसँग जोडिएको कुरा हो । यसप्रकारको संस्कार कसले कति मान्ने कति नमान्ने भन्ने कुरा मानिसको स्वविवेकको कुरा हो, गर्नैपर्छ भन्ने कुनै करकाप गरेको पनि पाइँदैन । हिन्दू धर्म–संस्कार नुरूप बाहुन परिवारमा जन्मिएपछि बाबुआमाको काजकिरिया १३ दिन नै गर्नुपर्ने हो, तर नेता बीपी कोइरालाई उक्त संस्कार ठीक लागेन त्यसैले उहाँले बाबुआमाको किरिया गर्नुभएन । उहाँलाई बाबुआमाको क्रिया गरेन भनेर कसैले पानी काढेन, तेह्रदिनेहरूले कुलबाट टाढा गरेनन् । किनभने हिन्दूधर्म नै यस्तो धर्म हो जसको पालना नगरे पनि कुनै सजाय भोग्नुपर्दैन । यो स्वेच्छिक छ, हिन्दू धर्म–संस्कारमा स्वविवेकको भरपूर प्रयोग गर्न पाइन्छ । हिन्दूधर्म परम्पराअनुरूप बाहुनको छोराले लुगा फेरर खालीखुट्टा बाबुको लासलाई अन्तिम श्रद्धाञ्जलीस्वरूप दागबत्ती दिनुपर्नेमा एमाओवादी नेता प्रचण्डले कोटपाइन्ट र छालाको जुत्तामा सजिएर लालसलाम गर्नु भो । परम्पराविपरीत भयो भनेर केही आलोचना पाए पनि उहाँलाई त्यस्तो खासै फरक परेन । यस्ता केही नेताहरू छन् जसले आफ्ना बाबुआमाको काजकिरिया नगरेर भोलि आफ्नो किरिया पनि नगरे हुन्छ भन्ने सन्देश समाजलाई होइन तिनका सन्तानलाई दिएका छन् । समाज त त्यही गर्छ जो आफूलाई ठीक लाग्छ ।
मुलुक सङ्क्रमणकालमा छ, यो देशमा उठान गर्नुपर्ने र निक्र्योल निकाल्नैपर्ने मुद्दाहरू धेरै छन् । यस्तो बेलामा हिन्दूहरूको मृत्यु–संस्कार छोट्याउनुपर्ने कुरा आश्चर्यजनक रूपमा बहसमा ल्याउन खोजिएको छ । यो कसले ल्यायो ? यतिबेलै किन आयो ? खोजीको विषय भएको छ । आफूलाई जन्म दिने बाबुआमाप्रतिको श्रद्धा हो मृत्यु–संस्कार । यति मात्र नभई हिन्दूधर्ममा यसको आफ्नै महŒव छ । मरेपछिको संस्कार गर्दै जाँदा १० दिनपछि प्रेतबाट आत्मा बन्ने मान्यताबाट निर्देशित भएका कारण राम्ररी काजकिरिया नभएका या प्रेतबाट पितृमा परिणत हुन नपाएका आफन्तहरूले पुस्तौँसम्म सन्तानलाई दु:ख दिएका, सपनामा या कसैको आत्मामा आएर मैले खान पाइनँ, भड्किरहेको छु भनेका कारण वर्षौं पछि आफन्तले काजकिरिया गरेका घटना पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । यसप्रकारको वास्तविकता जे–जे भए पनि मृत्यु–संस्कार आफ्ना बाबुआमाप्रतिको श्रद्धासँज्ञगै एउटा विश्वास पनि हो । तर, अहिले हामी यस्तो कुरामा बहस गरिरहेका छौँ जहाँ आफ्ना बाबुआमा मरेको कल्पना गरिन्छ र १३ दिन दु:ख भयो भनेर तीन दिन मात्र दु:ख गरूँ भनेर योजना बनाइन्छ । दु:ख–सुख भन्ने कुरा महसुस गर्ने कुरा हो । बाबुआमाप्रति कुनै श्रद्धा नभएका मानिसले उनीहरू बाँच्दै पनि कुनै सुख महसुस नगरेका हुन सक्छन् । त्यसप्रकारका मानिसले तीन दिन मात्र किन, एक दिन पनि जुठो नबार्न सक्छन् । तर, यदि कसैले चाहन्छ भने त्यसमा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन । मृत्यु–संस्कार भन्ने कुरा सांस्कृतिक मात्र होइन, निकै संवेदनशील कुरा पनि हो । यो राज्यले नीति बनाएर लागू हुने या गरिने कुरा होइन । आ–आफ्नो परम्पराअनुरूप चल्ने कुरा हो । कतिपयले सरकारी कर्मचारीले १३ दिन छुट्टी बस्दा राज्यलाई घाटा भएको हास्यास्पद तर्क पनि दिएका छन् । कतिले चाहिँ छोराछोरीको व्यस्तताको कुरा उठाएका छन् । तिनै बाबुआमाले जन्माएर दु:ख गरी हुर्काएर पढालेखा बनाएर व्यस्त बन्न पुगेका छोराछोरीले आफ्ना बाबुआमाको काजकिरिया गर्न समय निकाल्न सक्दैनन् भने त्यस्ता छोराछोरीले जुठो नबारेकै राम्रो । अन्त्यमा, जे–जस्ता तर्क गरिए पनि नेपाललाई धर्मनिरपेक्ष बनाउन जसले भूमिका निर्वाह गरेका थिए तिनकै ‘ब्याक अप’मा सनातनी मूल्य–मान्यतालाई जरैदेखि नष्ट गर्न यो कुरा बाहिर ल्याइएको हो भनेर बुझ्न गाह्रो पर्दैन । अरू धेरै चलखेल त यो मुलुकमा पहिलेदेखि भएको थियो नै, मृत्यु–संस्कारमै हमला गर्न खोज्दा पनि चुपचाप बस्न सक्ने धैर्य पनि हामीलाई यही हिन्दूधर्मले नै दिएको हो । नत्र अन्य धर्म परम्परामा यसप्रकारको हमला हुन खोजेको भए अहिले कति धार्मिक प्रतिष्ठानहरूले फतवा जारी गरिसक्ने थिए अनुमान गर्न सकिन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक