20141003

अन्यायी हरुको बढाईं छ सधैं खै न्याय के जित्छ र ? कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर !

- सुदीपभद्र खनाल 
डीभीले परदेसिएर रसिला जेठा विराना भए
लक्ष्मीका अभिप्रायले अरब गै कान्छा विराना भए
छोरी त्यो घरमै छ व्यस्त उ उतै रुन्छे बसी धर्धर
कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दसैको घर
को जाला अब भर्न खै शरदको मेला दसैंको भनी
बाट्ला पीङ र को मिलाई दितियाको हेर्छ त्यो चाँदनी
हामी उन्नत दास हौं समयका सँस्कारले वानर
कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दसैंको घर
पूर्खाको सुकिलो विरासत फुकी हामी बन्यौ वीर कि ?
मान्छेभित्र खडा पशुत्व नमरे मान्छे कहाँं हुन्छ छि:
बोको मानवनै बनेपछि कठै! यो सभ्यता के छ र
कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दसैको घर


राज्यैबाट बनाइयो विनसितैँ बागी कठै अन्तरे
गर्ने गोप्य लुकी सुराक तँ भनी त्यो मारियो जन्तरे
मर्नै वाध्य गरीब दीन छ अझै सम्झे दशै के छ र
कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर
कान्छी तस्कर जालमा उनिइँदा अत्तो न पत्तो छ त्यो
कान्छो वाध्य उ पारियो थल छुटी मुग्लान वासी छ त्यो
हाम्रो क्रान्ति यही विरासत उही उत्त्थान यो हुन्छ र ?
कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर ?
मामा प्रीय रहेन भानिज न त्यो प्यारो रह्यो आजको
पैसामै सबथोक विक्दछ भने मान्छे कहाँ सभ्य भो
बाँकी मूल्य रहेन आत्मिय सुक्यो अन्तर्यको सागर
कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर ?
मुद्दा भानिज हाल्छ जान्छ कसरी सम्झेर मामा घर
दाजू मर्दछ भाइ काट्दछ खसी मान्छे भयो दुच्छर
धेरै दैत्य र दानवी जग छ यो मान्नू दशैं के छ र
कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर ?
मागी न्याय मरे पिता अधमरा माता धरासन्न भै
सोझो संत सुली चढ्यो थरकिमा जाली बस्यो चोर गै
अन्यायी हरुको बढाईं छ सधैं खै न्याय के जित्छ र?
कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक