20141007

बन्दुक बिसाए पछी धाक र धम्कीकै भरमा काङ्रेस एमाले लाई कर्कलो गलाए झै गलाउंदै आएका प्रचण्डको फेरी अर्को धम्की !

* सहमति पनि नगर्ने र प्रक्रियामा पनि जान हुँदैन भन्नु हलो अड्काएर गोरु चुट्नु जस्तै : माधव नेपाल
* मोहन वैद्यदेखि कमल थापासम्म सबैको सहमतिमा संविधान जारी गर्न कठिन :  केपी ओली
*  माघ ८ मा संविधान जारी हुँदैन भनेर अशुभ कुरा नबोल्न आग्रह गरे प्रधानमन्त्री कोइरालाले
 * प्रचण्ड नेतृत्वको संघीय गणतान्त्रिक मोर्चासहित पहिचान पक्षधर २२ दलले सोमबार संयुक्त मोर्चाबन्दीसहित दबावमूलक आन्दोलन घोषणा!
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस एमालेले बहुमतबाट संविधान ल्याउने प्रयास गरेमा एमाओवादीलगायतका शक्तिहरू संविधानसभा छोडेर सडकमा आउने चेतावनी दिएका छन्।
संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि बाइस दलको उपस्थितिमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो चेतावनी दिएका हुन्। दाहालले भने’त्यतिवेला सार्वभौम नेपाली जनताको बीचमा जानुको बिक ल्प हामीसँग बाँकी रहदैन।’ संवाद र सहमति अहिलेको मूल बाटो रहेको बताउदै दाहालले भने,’हिजो सहमति भन्नेहरु आज प्रक्रियामा जोड दिनुको कारण भारतको संसदमा टोपी साटासाट गरेको प्रवृत्ति जस्तै हो।’ प्रचण्ड नेतृत्वको गठबन्धनले संघर्षको कार्यक्रम घोषणा गरेपछि राष्ट्रपति रामवरण यादवलाई भेटन शितल निवास पुगेका एमाओवादी अध्यक्ष दाहालले कांग्रेस एमालेले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्न खोजेपछि

आफूहरुले संघर्षका कार्यक्रम घोषणा गरेको जानकारी गराएका थिए।
दाहालले भने’तीन मोर्चाले संयुक्त रुपमा घोषणा गरेको बिरोध कार्यक्रमको उद्देश्य पनि सहमतिको प्रक्रियामा आगामी माघ ८ गते भित्रै संविधान जारी गर्न सहज वातावरण सृजना गर्नु हो। असहज वातावरणमा पुगिन्थ्यो भने आन्दोलनका कार्यक्रम र आजको उपस्थिति पनि सहज हुँदैनथ्यो।’ सहमतिको बल कांग्रेस र एमालेको कोर्टमा रहेको पनि दाहालले प्रष्टयाए।

नयाँ संविधानका अन्तरवस्तुमा सहमति गर्न भन्दै दसैं छोडेर काठमाडौंमा बसेका नेताहरु सामान्य शब्दमा बिबाद गरेर अलमल्लिएका छन् । सहमति हुन नसकेका विषयलाई छलफलको क्रम जारी रहेको भन्ने कि ‘सहमति हुन नसकेको’ भन्ने भन्नेमा दलहरुबीच लामो विवाद भएको छ । संविधानसभाले दिएको दुई साताको समयसीमाभित्र विवादित विषयमा सहमति जुटाउन नसकेका दलहरुबीच प्रश्नावली बनाउने सहमति पनि जुटेन । प्रश्नावली बनाउन दलहरुबीच सहमति अनिवार्य छ । सहमति नजुटेपछि अन्तिम दिन मंगलबार संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक दुई पटक बस्यो । बैठकमा नेताहरु सहमति भएका र नभएका विषयलाई समेटेर प्रतिवेदन बुझाउन सहमत भए पनि भाषाको विवादमा अल्झिए । विहान बसेको बैठकमा छलफल लम्बिएपछि साँझ ५ बजे फेरि नेताहरु भेला भए । बैठकमा सभापति डा. बाबुराम भट्टराईले राज्यको पुनःसंरचना, शासकीय स्वरुप र न्याय प्रणालीसम्वन्धी समितिको प्रतिवेदनमाथि ‘छलफलको क्रम जारी रहेको’ भनी प्रतिवेदन प्रस्ताव गरे । तर, कांग्रेस-एमालेका नेताहरुले भट्टराईका शब्दलाई मन पराएनन् र बिबाद सुरु गरे । ‘छलफल यही शब्दको वरिपरि घुम्यो’ एक सभासदले भने-‘ नेताहरुको यस्तो पारा हेर्दा संविधान बन्ला जस्तो लाग्दैन ।’ छलफलमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमति हुन नसकेको भए अब प्रश्नावली बनाउन कति समय लाग्छ खुलाउनु पर्ने बताए । एमाले नेता माधवकुमार नेपालको भाषा पनि त्यही शैलीको थियो । तर, एमाओवादी अध्यक्ष प्रचण्डले सहमति भएका र नभएका मात्र भनेर प्रतिवेदन बुझाउनु पर्ने बताए । ‘फेरि समय थप्ने नथप्ने संविधानसभाले निर्णय गर्छ’ उनले भने-‘यसबारे केही बोल्नु पर्दैन ।’ जनजाति सभासदहरुले प्रक्रियामा कुनै हालतमा जान नदिने बताएका छन् । झण्डै तीन घन्टा लामो छलफलपछि राज्यको पुनःसंरचना, शासकीय स्वरुप र न्याय प्रणालीसम्वन्धी समितिको प्रतिवेदनमा ‘सहमति हुन नसकेको’ भन्ने शब्द राखेर प्रतिवेदन बुझाउने सहमति भएको छ । संविधानसभाको बुधबारको बैठकमा सभापति भट्टराईले प्रतिवेदन पेश गर्नेछन् । त्यसअघि विहान भट्टराईले सभाध्यक्ष सुवास नेम्वाङलाई प्रतिवेदन बुझाउने कार्यक्रम छ । ‘अब संविधानसभाले जे निर्णय गर्छ, त्यही गर्छ’ उनले भनेका छन् ।

संविधानका विवादित विषयमा सहमति जुटाउन मंगलबार बसेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति बैठकमा शीर्ष नेतावीच चर्को भनाभन भएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पहिचान पक्षधरको मोर्चालाई कम नआँक्न बैठकमा चेतावनी दिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले एमाले नेता माधव नेपाललाई ‘बहुमतको फूर्ती नलगाउन’ चुनौती दिए । बैठकमा कांग्रेस र एमालेका नेताहरुले प्रचण्ड नेतृत्वको मोर्चाको नियतमाथि नै प्रश्न उठाए । विपक्षीको मोर्चाबन्दी र आन्दोलनको घोषणाले सहमति बनाउने भन्दा अर्को पक्षलाई पनि मोर्चा बनाउन उद्दत्त गर्ने र मुलुकलाई द्वन्द्वतिर लैजाने कांग्रेस र एमाले नेताहरुले बैठकमा बताए । एमाओवादी अध्यक्ष प्रचण्डले भने तोकिएको समयमा नै संविधान बनाउन मोर्चा बनाएको जवाफ दिए । तर, बहुमतको बलमा पेल्न खोजे परिणाम राम्रो नहुने प्रचण्डको चेतावनी थियो । ‘हिजो २०४८ सालमा पनि हामी तेस्रो पार्टी थियौं र अधिकारको कुरा गर्दा दबाउन खोजियो’ उनले भने-‘अहिले पनि हामीलाई कम आँक्ने हो भने सडकमा जान्छौं र त्यसको परिणाम राम्रो हुन्न ।’ आफूहरुले जनयुद्ध सुरु गर्दा गुलेली चलाएर क्रान्ति हुँदैन भन्दै उपहास गरिएको स्मरण गर्दै प्रचण्डले अहिले पनि पहिचान पक्षधरहरुको आन्दोलनलाई त्यसरी कम नआँक्न प्रचण्डले बैठकमा आग्रह गरे । माओवादीले जनयुद्ध थाल्दा एमाले नेता केपी ओलीले गुलेली चलाएर क्रान्ति नहुने भन्दै व्यंग्य गरेका थिए । यद्यपि संविधान निर्माणमा बाधा पुर्‍याउन नभई सहमतिकै लागि जनदबाव सिर्जना गर्न मोर्चा बनाएको प्रचण्डले बैठकमा बताए । अझै पनि सहमतिको सम्भावना रहेको भन्दै उनले प्रक्रियामा गएर बहुमतले संविधान बनाउन खोजे स्वीकार्य नहुने बताए । प्रचण्ड नेतृत्वको संघीय गणतान्त्रिक मोर्चासहित पहिचान पक्षधर २२ दलले सोमबार संयुक्त मोर्चाबन्दीसहित दबावमूलक आन्दोलनका घोषणा गरेपछि कांग्रेस र एमालेका नेताहरु रुष्ट बनेका हुन् । मोर्चाले बहुमतको संविधान अस्वीकार्य हुने पत्रकार सम्मेलनमार्फत् घोषणा गरेको छ ।
 सम्वाद समितिको बैठकमा एमाले नेता माधवकुमार नेपालले प्रक्रियामा जानुको विकल्प नभएको बताए । सहमति पनि नगर्ने र प्रक्रियामा पनि जान हुँदैन भन्नु हलो अड्काएर गोरु चुट्नु जस्तै भएको नेपालले बताए । नेपालपछि बोलेका फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले नेपाललाई जवाफ दिँदै भने- ‘बहुमतको फुर्ति नलगाउनुस्, बहुमतबाट कसरी संविधान बनाउनुहुन्छ हामी पनि हेरौंला ।’ सहमतिका लागि अझै समय रहेको भन्दै गच्छदारले बहुमतका आधारमा संविधान बनाउन खोजे मुलुकमा दुर्घटना हुने चेतावनी दिए । उनले अघिल्लो संविधानसभामा पहिचान पक्षधरको बहुमत हुँदा कांग्रेस एमालेले प्रक्रियामा जान नमानेको भन्दा नेपालले हामीले हिजो प्रक्रियामा नजाऔं भनेका थियौं र ? भनी प्रश्न गरेका थिए ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले सहमतिको संस्कार स्थापित गर्न आयोजना गरेको चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरुले आ-आफ्नो असहमति दोहोर्‍याएका छन् । कोजाग्रत पूणिर्माका दिन वीपी कोइरालाले शुरु गरेको चियापानलाई निरन्तरता दिदै प्रधानमन्त्री कोइरालाले मंगलवार पार्टी कार्यालय सानेपामा चियापान आयोजना गरेका थिए । चियापानमा सहभागी हुन पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानका विवादित विषयमा सहमतिको प्रस्ताव लिएर आउन एमाओवादी अध्यक्ष प्रचण्डलाई चुनौति दिए । ओलीले पत्रकारहरुसँग भने-‘मुलुक एउटा व्यक्तिको एजेण्डामा हिँड्दैन, प्रचण्डजीले सहमतिको प्रस्ताव लिएर आउनुहोस्, हामी छलफल गर्छौं । होइन भने हाम्रो प्रस्तावमा आउनुपर्छ ।’ ओलीले मोहन वैद्यदेखि कमल थापासम्म सबैको सहमतिमा संविधान जारी गर्न कठिन रहेको भन्दै सबैलाई मान्य हुने प्रस्ताव लिएर आउन प्रचण्डलाई चुनौति दिए । एमालेकै अर्का नेता माधवकुमार नेपालले एमाओवादी सात वा आठ प्रदेशमा झर्नासाथ संविधानका विवादित विषयमा सहमति जुट्ने बताए । एमाओवादी अध्यक्ष प्रचण्डले भने पेलेर जाने हो भने भने संविधान नबन्ने दोहोर्‍याए । उनले आफूहरुले गर्ने भनेको आन्दोलन सहमतिका लागि दबाव दिन हो भने । प्रचण्डले भने-‘आन्दोलन रहर होइन । सहमतिका लागि दबाव दिनका लागि मात्र आन्दोलनको कुरा गर्नु परेको हो ।’ प्रचण्ड मोर्चाका अर्का नेता फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारले राज्य पुनःसंरचनामा छलफल हुँदै जादा प्रदेशको संख्यामा तलमाथि हुन सक्ने बताए । चियापानमा सहभागी नेताहरुलाई स्वागत गर्दै प्रधानमन्त्री कोइरालाले माघ ८ मा संविधान जारी हुँदैन भनेर अशुभ कुरा नबोल्न आग्रह गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक