(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20141105

मोदीलाई पनि झुकाउन सक्ने हाम्रो नेपालमा कत्रो तागत रहेछ ?

  - रुद्र चूडाल
“भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण एसियाका ठूला नेता हुन् | १२ वर्ष भ्रमणमा प्रतिबन्ध लगाए पनि अमेरिकासंग उनी कहिल्यै झुकेनन् | अन्ततः अमेरिका नै झुक्यो र उनलाई भीसा दिएर स्वागत गर्यो | त्यस्ता मोदीलाई पनि झुकाउन सक्ने हाम्रो नेपालमा कत्रो तागत रहेछ ? एक बर्ष भित्रै फरि दोस्रो पटक उनी पशुपतिनाथ आएर झुक्दैछन् | त्यति मात्र होइन उनी यसपालि सीता माता जानकीको जन्म थलो जनकपुर र बुद्धको जन्म थलो लुम्बिनीमा पनि झुक्दैछन् | उनी हाम्रो थलोमा आएर झुक्न बाध्य पनि छन् | किनभने तिनै सीता र बुद्दको नाम लिएर उनले गत चुनावमा बिहार र उत्तर प्रदेशबाट भोट मागेका थिए | त्यसैबाट भोट पाएर उनी दक्षिण एसियाका ठूला र विश्वको चर्चित नेता बन्न पुगेका छन् |” मैले फेसबुककालागि लखेको यो स्टाटस धेरै फेसबुक मित्रहरुले मन पराएको देखेपछि यसलाई पुरा लेखको रुपमा अगाडी   बढाउन मन लाग्यो | मैले माथि उल्लेख गरेका पशुपतिनाथ, जनकपुर र लुम्बिनी नेपालका प्राचीनकालदेखि शक्तिका स्रोत हुन् | त्यहि स्रोतको कारण विगतमा विशाल नेपाल निर्माण भएको थियो | त्यत्रो भारत, पाकिस्तान, बंगलादेश अंग्रेजहरुले क्वाप्पै खाँदा नेपाल खान सकेनन् | हामी नेपालीले कसैसंग झुक्नु परेको थिएन | सुगौलीको सन्धिमा लुम्बिनी र जनकपुर खाएर पनि फिर्ता गर्न अंग्रेजहरु
बाध्य भए | खान सकेनन् | त्यसैले त पशुपतिनाथले रक्षा गरुन् भन्ने चलन उहिल्यै देखि चलेको रहेछ | दक्षिण एशीयाकै प्रमुख शक्ति भएरै होला नेपालको पशुपतिनाथमा दक्षिण भारतका पुजारी रहने गरेका | नत्र त ऊ बेलाको जमानमा यातायात थिएन उनीहरु बर्षौ यात्रा गरेर पशुपतिनाथमा पुजारी बन्न किन आइरहन्थे होला र ? 
नेपालका शक्तिका स्रोत मध्ये अर्को प्रमुख शक्तिको स्रोत मुस्ताङको मुक्तिनाथ पनि हो | यही मुक्तिनाथमा दर्शन गर्न आउँदा बनारसका मिश्र बाहुनहरू गोरखा दरबारमा उहिल्यैदेखि बास बस्ने गरेका पाइन्छ | बनारस युगौंदेखि हिन्दुहरुको धार्मिक मात्र होइन विद्याको प्रमुख थलो पनि थियो | त्यस्तो ठाँउका ठूला घरानाका मिश्र परिवारलाई पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्न आउँदा-जाँदा खान, बस्न दिएर स्वागत गर्ने अवसर पाएको गोरखा दरबारले पछि अर्याल बाहुनहरुलाई हटाइ मिश्रहरुलाई राजगुरु बनायो | यही मिश्र घरानाका श्रीहर्ष मिश्रले पृथ्वीनारायण शाहलाई ब्रतबन्धमा मन्त्र सुनाएका थिए | त्यति मात्र होइन उनले पृथ्वीनारायण शाहलाई पटना, इलाहवाद र बनारसको भ्रमण गराएका थिए | श्री मिश्रले पृथ्वीनारायण शालाई केटी खोजेर विवाह पनि गरिदिए | त्यसबेला मधेशी सेन राजाहरु बाहेक बाइसी चौविसी अरु पहाडी राजाहरुलाई मधेशी राजपूतहरुले छोरी दिंदैनथे  | किनभने मधेशी राजपूत धनी हुन्थे | पाहाडमा हावापानी नमिल्ने भएर पनि हुन सक्छ | यिनै मिश्रको प्रभावको कारण मकवानपुरका राजाले पृथ्वीनारायणलाई छोरी दिए |
मकवानपुरका राजाले उचित दाइजो नदिएको भन्दै श्री मिश्रले पछि गोरखपुरका धनी राजपूत दयाराम सिंहकी छोरी विवाह गराइदिए | कुनै कुनै इतिहासकारहरुले बनारसका राजपूत  अहिमानसिंहकी  छोरी नरेन्द्रराज्य लक्ष्मी भएको कुरा पनि लेखेका छन् | सबैतिरबाट भाग्यले साथ दिदै आएको पृथ्वीनारायण शालाई पाटनका प्रधानहरुले इ.सं. १७६४ मा राजा बनाए | पृथ्वीनारायण शाहलाई उनीहरुले नेवारकी छोरी पनि विवाह गराइदिए | यस अघि मधेशको ठूलो भूभागमा फैलिएको देश मकवानपुरले उनलाई राजा बनाइसकेको थियो | त्यसबेला मकवानपुर मधेशको ठूलो भएता पनि आर्थिक रुपमा कमजोर थियो | बंगालका मुगलहरुलाई हात्तीहरु र बर्षको १२ हजार रुपियाँ दिनु पर्दा मकवानपुर टाट थियो | त्यसकारण बंगाल अंग्रेजको नियन्त्रणमा गएको मौका छोपी त्यहाँका एकथरी भारदारहरुले गोरखाको सहायता लिई विद्रोहीहरुको दमन गरी पृथ्वीनारायण शाहलाई राजा माने | 
यसैगरी पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह शाहको पनि गोरखपुर कै मधेशी राजपूतकी छोरी राजेन्द्र लक्ष्मीसँग विवाह भयो | दरबारमा पकड बलियो बनाइराख्न चाहने पाटनका प्रधानहरुले पुर्व मन्त्री वीरनरसिंहकी छोरी मैजुरानीको प्रातापसिंह शाहसंग विवाह गराई दिए | अंग्रेजहरुले पश्चिम भारतमा मुगल बादशाहरुलाई नियन्त्रण गर्दै लगे पछि पश्चिमी नेपालका हिन्दू राजपूत राजाहरुले पनि नेपालका राजालाई महाराजा हिन्दूपति मान्ने क्रम बढ्दै गयो | यसरी पृथ्वीनारायण शाह नेपालको महाराजा बनेको ४० वर्ष भित्र मै नेपाल पूर्वमा टिस्टादेखि पश्चिममा काँगडा र दक्षिणमा मधेशको ठूलो भूभागमा फैलिएको थियो | पृथ्वीनारायण शाहले नेपाल हिन्दूहरुको प्रमुख स्थान भएको घोषणा गर्दै काठमाण्डुबाट फिरंगीहरुलाई निष्काशन गरेपछि नै हिन्दू राजपूत राजाहरु नेपालका राजालाई महाराजा मानेर एकीकृतहुन बाध्य हुदै गएको देखिन्छ | किन भने अंग्रेजहरुले मुसलमानको शासन हड्पे पछि आफ्नो राजा फिरंगीसँग चाहिं नझुकोस भन्ने हिन्दूहरुको चाहना हुन्थ्यो | 
यसरी नेपाल प्राचीनकालदेखि हिन्दू र बुद्द सभ्यताको प्रमुख थलो भएकोले फिरंगीहरुबाट बच्न बिशाल नेपाल पुनर्स्थापित र विस्तार भयो | गोरखाले हतियारको बलबाट नेपाल एकीकरण गरेको हो भन्ने हाम्रा इतिहासकारहरुले दावी त गरेका छन् तर उनीहरुले तथ्यलाई पूर्ण ढाकछोप गर्न चाहिँ सफल भएको देखिदैन | संसारमा कहिं पनि कुनै तानाशाह स्थापित भयो भने सबै भन्दा पहिले उसले आफ्ना नातागोता दाजुभाइ दिदीबहिनी पोस्छ, सम्पन्न बनाउछ | नातागोता नभए पनि कम्तिमा आफ्ना सहयोगीहरुलाई शक्तिशाली नबनाउने तानाशाह त संसारमा हुँदैहुन्नन् | तानाशाह आफैले त्यो कार्य गरेन भने पनि उसका चाकडीबाजहरुले नै त्यो काम सम्पन्न गर्छन् | तर पृथ्वीनारायण शाह त आफै शक्तिहीन थिए | उनले गोरखाका कुनै पनि खस मगरलाई उच्च पदमा नियुक्ति दिएको देखिदैन | खस मगरलाई त के उनले आफ्ना भाइ भतिजाहरु समेतलाई कहींकतै उच्च पदमा नियुक्ति दिलाएको देखिदैन |
 पाटनले आफुलाई राजा बनाएपछि पृथ्वीनारायण शाहले साहिंला भाइ दलमर्दन शाहलाई आफ्नो प्रतिनिधिको रुपमा पाटनमा राखेका थिए | तर कीर्तिपुरमा भएको दोस्रो आक्रमणबाट पाटनेहरु रिसाएर उग्र भइ उनलाई राजा पदबाट निष्कासित गरिदिए | उनीहरुले प्रतिनिधिका रुपमा रहेका दलमर्दन शाहलाईनै मुकुट पहिराएर राजा बनाइदिए | किनभने त्यति बेला किर्तिपुर पाटन अन्तर्गत थियो | खसहरुको लहै लहैमा लागि आफ्नै राज्यमा आक्रमण गर्ने भनेर पृथ्वीनारायण शाहलाई दोषी ठहराइयो | पछि उनी काठमकाठमाडौँका राजा भएपछि भने उनका गुरु श्रीहर्ष मिश्रले धेरै सम्झाइबुझाई गरे पछि मात्र पाटनका प्रधानहरुले फेरी पृथ्वीनारायणलाई राजा मानेका थिए | उनका अर्का भाइ दलजित शाहको नेतृत्वमा गएको फौजले सिन्धुली गढी र आसपासका भूभाग जितेको भनिएको पढ्न पाइन्छ | तर वास्तवमा त्यसो भएको भए, उनले जितेको ठाँउमा राजा नभए पनि प्रान्तपाल भएर बस्न पाउनु पर्थ्यो | तर उनी पृथ्वीनारायण राजा भइन्जेल वरिपरी घुमेका मात्र देखिन्छन् कुनै उच्च पद पाएको देखिदैन | बरु पृथ्वीनारायणको निधन भएको १३ दिन नपुग्दै भतिजा बहादुर शाह सहित उनी नजरबन्दमा परे | श्री हर्ष मिश्रका छोरा राजगुरु गजराज मिश्र नया राजा प्रतापसिंह शाहलाई आशिर्वाद दिन बनारसबाट काठमाडौँ आएका बेलामा श्री मिश्रले उनीहरुलाई नजरबन्दबाट मुक्त गराइदिए | सिन्धुलीमा बिद्रोही दबाउन लडाकुको माँग भए पछि खस मगरको टोलीको नेतृत्व दिएर उनलाई त्यहाँ पठाइएको चाहिँ सत्य हुन सक्छ | माहिला भाइ किर्तिमहोद्धम शाहले मकवानपुरमा राजा बन्न रहर गरेका थिए | यदि गोर्खाले मकवानपुर जितेको भए उनी राजा नभए पनि प्रान्तपाल त अवश्य हुने थिए होलान् | तर मकवानपुरमा त्यहींका राजाका पूर्व सल्ल्हाकार दिनानाथ उपाध्याय नै सर्वेसर्वा थिए | अर्का कान्छा भाइ सुरप्राताप शाहको नेतृत्वमा भक्तपुरमा गोर्खाली फौजको आक्रमण भएर जितेको भनिएको छ | तर भक्तपुर नेपालमा गाभिए पछि यिनी उपत्यका निष्काशनमा परे | भक्तपुरमा निर्दोष मानिसको धेरै मृत्यु भयो | त्यसकारण सुरप्रतापको काजी पद खोस्नु पर्छ भनेर २ महिनासम्म नेपाल दरबारमा छलफल चलेपछि काजी पद नखोस्ने तर निष्कासन गर्ने निर्णय भएको देखिन्छ | 
यसरी सरसर्ती हेर्दा पृथ्वीनारायण शाह कुनै तानाशाह वा एकात्मवादी जस्ता देखिदैनन | तर पृथ्विनारायण शाहलाई उपत्यकाले राजा बनाए पछी भने उनलाई हिन्दूपति मानेर सबैले आफ्नो स्वसासन कायम राख्दै नेपालसंग एकिकृत भएको प्रष्ट देखिन्छ | टाढा टाढाबाट नेपालमा एकीकृत हुन चाहनेहरुले आफ्ना विद्रोही दबाउन सैन्य सहयोग माग्ने गरेका र नेपालले खस मगर सम्मिलित लडाकु फौज त्यसतर्फ पठाउने गरेको कुरा चाहिँ सत्य हो | अब खस मगर लडे भन्दैमा गोर्खालीले जितेको भन्नु त भएन नि | किन भने त्यसबेला सबैका लडाकु खस मगर नै हुन्थे | जस्तो काठमाडौँका राजा जयप्रकाश मल्लका सेनापति जयन्त राना मगर थिए | उता भक्तपुरमा परशुराम थापा सेनापति थिए | चौदण्डीका मधेशी राजाका सेनापति स्वरुपसिंह कार्की थिए | यसैगरी मकवानपुरका मधेशी राजा दिग्बन्धन सेनका सेनापति कनकसिंह बानियाँ थिए | अवधका मुगल नवाबले बुटवलमा आई खस मगर सैन्य भर्ना गर्थे | पंजावको लाहोर (हाल पाकिस्तान)मा समेत खस मगर लडाकु भर्ना गर्ने चलन भएको देखिन्छ | जस्तै नालापानीमा नेपाल अंग्रेज युद्द सकिए पछि बलभद्र कुंवर लाहोर गइ खस मगर सैन्य कम्पनीको नायक भएका थिए | अब त्यसबेला चलन नै त्यस्तै थियो |
चौदण्डी राजाका सेनापति स्वरुपसिंह कार्की प्रतापसिंह शाहको पालामा दिवान(प्रधानमन्त्री) पदमा नियुक्त भएका थिए | उनको जस्तो यति ठूलो पद गोरखाका खसहरुले यसअघि पाएकै थिएनन् | गोरखाका कुँवर र बस्नेतहरुले चौदण्डी जितेका भए यी कार्कीले नेपाल दरबारमा यति ठूलो पद पाउँथे होलान् ? राजेन्द्रलक्ष्मीको पालामा सर्वजीत रानामगर मूलकाजी(प्रधानमन्त्री) भएका थिए | यिनी कहाँका थिए भन्न सकिएन | तर यिनलाई गोरखाका खसहरुले षड्यन्त्र गरी राजेन्द्रलक्ष्मीसंगै यौन सम्बन्ध राखेको आरोप लगाई हत्या गरिदिए |
नेपालको इतिहास वास्तवमा के हो व्यापक अनुसन्धान नगरी यसै विश्लेषण गर्न गाह्रो छ | तर यसै हेर्दा विशाल नेपाल एकीकृत हुनमा जनकपुर, लुम्बिनी र काठमाडौंको हिन्दू बुद्द राष्ट्रियताले काम गरेको चाहिँ प्रष्ट देखिन्छ |
यसैवीच अंग्रेजहरु नेपालमा हस्तक्षेप गरेर भाँड्न नसके दक्षिण एसियाबाटै भाग्नु पर्ने दिन आउने स्थिति देखेर हिन्दू बुद्द मार्गीहरुसँग डराइरहेका थिए | किनभने अवध उनीहरुको कब्जामा आएपनि त्यस अन्तर्गतका पश्चिम नेपालका हिन्दू राजपूत राजाहरुले फिरंगीहरुलाई कर नतिर्ने भन्दै धमाधम नेपालमा एकीकृत भैरहेका थिए | 
यता नेपाल दरबारमा बस्नेतकी छोरी रणबहादुरलाई विवाह गराएर गोरखाका खसहरु नेपालको भारदारी सभामा छिर्न सफल भएका थिए | यही नाताबाट भारदारीमा छिरेका किर्तिमानसिंह बस्नेतले भीमसेन थापालाई रणबहादुरको अंगरक्षक बनाइदिएका थिए | यिनै अंगरक्षक थापाले ठूलो दरबार हत्याकाण्ड गराए | त्यो हत्याकाण्डमा रणबहादुर शाह , उनका नेवारनी आमा पट्टिका दाजुभाइ बिदुर शाह र शेरबहादुर शाह लगायत देशका ठूला भारदारहरु सबैको हत्या भयो | बनारसबाट फर्केको २ वर्ष पछि हत्याकाण्डको पूर्व सन्ध्यामा मात्र रणबहादुरलाई मुख्तियार पदमा नियुक्त गर्नु, पाल्पाली राजाकी छोरी विवाह गरौला भनी रणबहादुरलाई फकाएर बनारसबाट ल्याएर अन्तमा आफ्नै भाइ नयनसिंह थापाकी १२ बर्षकी कलिली छोरी त्रिपुरासुन्दरी विवाह गराइदिनु, रणबहादुरको हत्या पछि त्रिपुरासुन्दरीलाई मात्र बाँकी राखेर अरु सबै तीनवटी रानीलाई सती पठाउनु, पृथ्वीनारायण शाहका भाइका राजनीतिसँग असम्बन्धित निर्दोष छोरा नातिहरुलाई अन्धा बनाउनु र तिनको सम्पत्ति हरण गरेर रंगनाथ पौडेल र भीमसेन थापाले बाँडेर लिनु, प्रतिमान रानामगर, प्रबल राना, नरसिंग गुरुङ, भिम खवास (थारु), त्रिभिवन प्रधान खवास ( नेवार ) लगायत सबै जातजातिका ठूला भारदारहरुको हत्या गर्नु, त्यतिले नपुगेर तिनका २ वर्ष देखि १५ वर्ष सम्मका निर्दोष छोरानातिहरुको हत्या गर्नु जस्ता घृणित कार्य भीमसेन थापाले गरेको देखिन्छ | 
त्यसबेलाको समाजमा फलानाको छोरा, फलानाको नाति भने पछि समाजले उसलाई मान्थ्यो | ती साना बच्चा ठूला भएपछि समाजले तिनलाई मान्छ र आफ्नो सत्ताकोलागि चुनौती बन्लान् भन्ने डरले भीमसेन थापाले ती निर्दोष बच्चाहरुको हत्या गरेको देखिन्छ | राजधानीमा ठेउलाको महामारी सर्छ भन्ने बहाना बनाइ  खस, बाहुन र नेवार बाहेक अन्य जातिका धेरै मानिसलाई उपत्यका निष्कासन गरिएको पाइन्छ | भिमसेन थापाले हत्याकाण्ड गरिसके पछि नेपाल दरबारमा साढे ३ वर्षका राजा गिर्वाणयुद्द विक्रम शाह, थापाकी भतिजी १३ वर्षिया महारानी त्रिपुरासुन्दरी र बस्नेत रानी पट्टिका ५ वर्षका रणदत्त शाह मात्र बाँकी थिए | यसरी भीमसेन थापाले राजपरिवार र विभिन्न जातजातिका ठूला भारदारको हत्या गरी देशमा खसवादको जग बसाए |
रणबहादुरले बस्नेतकी छोरी शूवर्णप्रभासँग विवाह गरे पनि उनले महारानीको दर्जा नपाउनु, रानीको दर्जा मात्र पाउनु, तिनीपट्टिबाट जन्मेको जेठा छोरालाई राजा बनाउन सबै भारदारहरुले नमान्नु तर उता मधेशी मिश्र बाहुनी कान्तिवतीले महारानीको दर्जा पाउनु र उनका छोरा गिर्वाणयुद्दलाई राजा घोषित गर्न ९५ भन्दा बढी भारदारहरुले हस्ताक्षर गरेर धर्मपत्र गर्नु जस्ता घटनाको विश्लेषण गर्दा रणबहादुर हत्याकाण्डअघि नेपाल दरबारमा गोर्खालीहरुको प्रभाव सून्य देखिन्छ | 
भीमसेन थापा बनारसबाट रणबहादुर शाहलाई फकाइफुल्याई काठमाडौँ लिएर आँउदा मधेशको सीमानासम्म अंग्रेज फौज उनलाई सुरक्षा दिएर आउनु, काठमाडौँ आएपछि अंग्रेज विरोधी दामोदर पाण्डे लगायत देशका ठूला भारदार सबैको हत्या गर्नु, अंग्रेजका ठूला विरोधी तर नेपाल अधिराज्यलाई स्वीकार गरेर बसेका पाल्पाली र गढ़वाली राज परिवारको हत्या गर्नु, अंग्रेज विरोधी कुमाउका प्रान्तपाल दामोदर पाण्डेका छोराको हत्या गर्नु, बनारसमा बसेर नेपाल एकीकरणमा सक्रिय भूमिका खेलिरहेका राजगुरु गजराज मिश्रलाई हटाइ रंगनाथ पौडेललाई राजगुरु र परराष्ट्र मन्त्री बनाउनु, अंग्रेज विरोधी र मकवानपुर नेपालमा मिसाउने दिनानाथ उपाध्यायलाई हटाइ तिनको सट्टामा रंगनाथ पौडेलका भाइ श्री कृष्ण पौडेललाई कलकत्ताको वकिल बनाउनु सबै संयोग मात्र हुन सक्तैन | ती सबै अंग्रेजहरुलाई खुशी पार्न भीमसेन थापाले गरेका राष्ट्रघाती कार्यहरु भएको बुझ्न सकिन्छ 
अंग्रेजको आडमा नेपालको सत्ता गोर्खालीले कब्जा गरेपनि आखिर अंग्रेजले मागे जति भीमसेन थापाले दिन सकेनन् | त्यो हत्याकाण्डले विशाल नेपाल अत्यन्त कमजोर भयो | चारै तर्फ भीमसेनको विरोध भएको देखेपछि अंग्रेजले पनि नेपाल खाने दाउले चारै तर्फबाट आक्रमण गर्यो | अन्ततः भीमसेन थापा तिनै पहिले आफुले निकालेका राजगुरु गजराज मिश्र र दिनानाथ उपाध्यायको छोरा चन्द्रशेखर उपाध्यायको शरणमा परे | आफ्ना बाबुहरुले र आफुले अनेक कुटनीति गरेर जोडेको नेपालको उनीहरुले पनि माया गरे | मलाई पहाड मात्र भए पनि बचाई दिनु भनी भीमसेन थापाले आग्रह गरेका थिए | पूर्व पश्चिम र तराइ मधेश गरेर नेपालको दुइतिहाई भूभाग काटेर अंग्रेजलाई दिएर भए पनि उनीहरुले सुगौलीको सन्धिमा हस्ताक्षर गरी नेपाल बचाए | युगौंदेखिको शक्तिको स्रोत लुम्बिनी र जनकपुर अंग्रेजहरुले खान सकेनन् र केही वर्ष भित्रै नेपाललाई फिर्ता गरिदिए | 
भीमसेन थापाले खस तानाशाही चलाएर नेपालको भारदारी सभालाई आफ्नो परिवारमा मात्र सीमित राखे | उनले आफ्ना बुबा र भाइलाइ पाल्पाको प्रान्तपाल बनाए | सबै महत्वपूर्ण ठाउहरुमा आफ्ना भाइहरु, भाइका र आफ्ना ससुराली खलक, भाइका छोराहरुका ससुराली खलक, आफ्ना छोरीज्वाईंहरुलाई नियुक्ति दिलाएर श्वशासन खोस्दै खसवादलाई मजबुत बनाउँदै बहुभाषिक र बहुसांस्कृतिक नेपालको खिल्ली उडाए | उनैको पदचाप पछ्याउदै गोरखामै जन्मेका जंगबहादुरले कोतपर्व र भण्डारखाल पर्व गराएर खसवादलाई निरन्तरता दिए | उनी पनि भीमसेन जस्तै सुरुमा युवराज श्री ५ सुरेन्द्रको अंगरक्षक भई दरबार छिरेका थिए | जंगबहादुर भीमसेनले गराएको दरबारहत्याकाण्डका नाइके बालनरसिंह कुँवरका छोरा थिए | भीमसेन र आफ्ना बाबुको पतन देखेका जंगबहादुरले सबै भन्दा पहिले खसको सामाजिक मर्यादा बढाउनु आवश्यक ठाने | त्यसकारण उनले आफु भारतीय राजपूतको सन्तति भएको भन्दै राणा थर लेखाएर राजपूत परिवारसँग बिवाह गर्न पाउने लालमोहर प्राप्त गरे | त्यसपछि आफु र आफ्ना सन्तानको राजपूत परिवारसँग बिवाह गराए | यसैगरी गुरुङहरुलाई हात लिएर आफुलाई लमजुँग र कास्कीको श्री ३ महाराज भएको  घोषणा गराए | बिस्तारै समयक्रममा सबै जनताले उनलाई श्री ३ महाराज भनिदिए र खसवाद ( गोर्खाली राष्ट्रवाद ) बलियो भएर गयो |


अब यहाँनिर हामीसंग दुइवटा इतिहास छन् I एउटा युगौं देखिको श्वशासन युक्त संघीय नेपालको हिन्दू बुद्द  राष्ट्रवादमा आधारित गौरवमय इतिहास र अर्को अंगरक्षकहरु भीमसेन थापा र जंगबहादुरले स्थापना गरेको खसवादी हिंसा र षड्यन्त्रमा आधारित गोर्खाली इतिहास | आम नेपालीलाई विद्यालयमा गोर्खाली इतिहास घोकाइएको र पढाइएको छ |
गलत इतिहासले राष्ट्रलाई गलत दिशा तर्फ धकेल्छ भन्ने कुरा नेपाली(गोर्खाली) सेनामा जागिर सुरु गरेका, गोरखाको विद्यालयमा शिक्षक बनेका र गोरखामा पहिलो गुरिल्ला तालिम लिएका र पछि भारतमा भूमिगत बसेर हिंसा र षड्यन्त्रको राजनीति गर्ने प्रचण्ड र गोरखामै जन्मे हुर्केका बाबुराम भट्टराई, उनीहरुको पार्टी एवं तिनकै आडमा पुनर्स्थापित भएका एमाले, कांग्रेशहरुले देशलाई संविधान दिन नसकेको अवस्थाबाट पनि हामी  बुझ्न सक्छौं | 
अब हाम्रो भूमिमा आएर झुक्ने र नेपाललाई माया गर्ने मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो देशको कुन इतिहासलाई बुझेका होलान् ? त्यसमा भने हामी सबै सचेत र जागरुक भइ हामी नेपालीको वास्तविक परिचय खुलाउने बेला आएको छ | किन भने हामीलाई माया गर्नेले हामीलाई चिन्नु पनि त अत्यन्त जरूरी हुन्छ नि होइन र ?
-   -  रेडियो नेपालका पुर्व बरिष्ठ सम्पादक श्री चूडालले नेपालको इतिहासमा स्नातकोत्तर गर्नुभएको छ |

पृथ्वीनारायण शाह र उनको पीडा !

धेरै मानिसहरुलाई पृथ्वीनारायण शाहले सैन्य बल बाटै सबै नेपाल एकिकृत गरेको हो भन्ने भ्रम रहेको पाइन्छ तर वास्तवमा त्यति सजिलै बल प्रयोग गरेर नेपाल निर्माण भएको छैन !

- रुद्र चूडाल 

आम नेपालीलाई बल प्रयोग गरेर नेपाल रेकिकरण भएको हो त्यसैले बल
प्रयोग गरे मात्र हक अधिकार पाइन्छ भन्ने भ्रम रहेको पाइन्छ । अठारौँ सताब्दिमा पनि हाम्रो देश नेपालमा यस्तै भ्रम रहेको थियो । साना साना टुक्रे देश हरु थिए । उनीहरु लडाईं झगडा गरिरहन्थे । खस र मगर जाति लडाइं गर्ने जातिका रुपमा चिनिन्थे र टुक्रे देशहरुले उनीहरुको माध्यमबाट आफ्नो राजसत्ता जोगाउने गर्थे । यस्तो चरित्रको कारणले धेरै मानिसहरुलाई पृथ्वीनारायण शाहले सैन्य बल बाटै सबै नेपाल एकिकृत गरेको हो भन्ने भ्रम रहेको पाइन्छ । तर वास्तवमा त्यति सजिलै बल प्रयोग गरेर नेपाल निर्माण भएको छैन । कतिपय ढाकछोप गरिएका एतिहासिक तथ्यहरुलाई राम्ररी केलाएर हेर्न सक्यो भने वास्तविकता बिलकुलै फरक देखिन्छ । एउटा सानो १२ हजार घरधुरीको देश गोरखा र कुनै जात वर्ग विशेषको देश भक्ति र वीरताले मात्र नेपाल एकीकरण भएको कदापि हुँदै होइन । नेपाल एकीकरण अभियानमा देशका सबै जातजाति भाषाभाषी
काठमाडौं उपत्यका, पहाड र मधेशको ठूलो भूमिका छ । राम्ररी खोजी गर्ने हो भने सबै जातजातिहरुले नेपाल एकीकरणमा खेलेको भूमिकाको गौरवमय तथ्यहरु फेला पार्न सकिन्छ । र सबै जात जातिले गौरवका साथ आफूलाई नेपाली भन्ने र राष्ट्रिय भावनाले ओतप्रोत हुने तथ्यहरु फेला पार्न सकिन्छ ।

त्यसबेलाको देखिएको चलन अनुसार बाहुनले लेखपढको काम गर्ने, राजाको सल्लाहकार हुने, र पौरोहित्य गर्ने, जैसीले ज्योतिष सम्बन्धी काम गर्ने, राजपूत( ठकुरी ) राजा हुने, खस र मगरले सेनामा भर्ति भैइ लडाई गर्ने । यसै गरी अन्य जातका पनि काम विभाजन गरिएका हुन्थे । केही गरी आफुलाई राजा मन परेन भने अन्य देशबाट राजपूत खोजेर ल्याएर राजा बनाउने चलन थियो । काठमाडौंका जनताले राजा बनाउनु भन्दा ४ बर्ष पहिले नै पाटनका प्रधानहरुले पृथ्वीनारायण शाहलाई राजा बनाएका थिए । तर उनले उपत्यकामा लगाएको नाकाबन्दी फुकाउने लगायत विभिन्न बिषयमा कुरा नमिले पछि आफु राजा चाहिँ बन्ने तर ललितपुरमा नबस्ने सर्त राखे । उनले भाई दलमर्दन शाहलाई आफ्नो प्रतिनिधिको रुपमा ललितपुरमा राखेका थिए । पाटनका प्रधानहरुले पृथ्वीनारायण शाहका नाममा पैसा समेत निकालेका थिए । तर कीर्तिपुरमा १७६४ सेप्टेम्बरमा आक्रमण गरेको घटनापछि पाटनवासीहरु रिसाएर पृथ्वीनारायण शाहलाई पदच्युत गरी प्रतिनिधिका रुपमा पाटन बसेका उनका भाइ दलमर्दन शाहलाई नै राजा बनाइदिए ।
तत्कालीन अवस्थामा पहाडका सबै जातजातिका आ-आफ्नै देश थिए । तमुवान मगरातमा राजपुतहरु धेरै वर्ष पहिले नै छिरी सकेका हुनाले त्यहाँ छुट्टा-छुट्टै अस्तित्वका चौबिसी भनिने देशहरु थिए । उता सुदुर पश्चिमतिर पनि राजपूत धेरै भएकाले राजाको खाँचो थिएन । त्यसैले त्यहाँ बाइसी भनिने टुक्रे देशहरु थिए । ताम्सालिंग क्षेत्रलाई भने काठमाडौं उपत्यकाका र मकवानपुरका राजाहरुले हेर्ने गरेका थिए । तर उनीहरुले त्यस क्षेत्रमा बाहुनहरूको राजदूत एवं पण्डितका रुपमा र खस, मगरहरूको रक्षकका रुपमा बस्ती बसाएका थिए । काठमाडौंका राजा जय प्रकाश मल्लले नुवाकोटमा जयन्त रानालाई सेना नायक बनाई तैनाथ गराएका थिए । छोरा शंखमणि रानालाई नुवाकोट जिम्मा लगाई जयन्त राना काठमाडौँ आएको मौका पारेर पृथ्वीनारायण शाहलाई नुवाकोटवासीले राजा बनाएका थिए । जयप्रकाश मल्लका अर्का सेना नायक काशिराम थापा थिए । यिनी काभ्रेपलान्चोकका बगाले थापा थिए । जयप्रकाश मल्लले गोर्खालीहरुका हातबाट नुवाकोट फिर्ता लिने उद्देश्य राखी यिनै थापाको नेतृत्वमा खस र मगरको १३ सय जतिको सैन्य दल तयार गरेका थिए । तर यिनले नुवाकोट फिर्ता गर्न सकेनन् । ठूलो खर्च गरेर १३०० खस मगर सेना तयार पारेर दिँदा समेत नाथे ६०० घर धुरीको नुवाकोट फिर्ता लिन नसकेको आरोपमा जय प्रकाश मल्लले काशिराम थापा र उनका ७ जना सहयोगीलाई मार्न लगाए । राजा मल्लको यस्तो अविवेकी नीतिबाट काठमाडौं उपत्यका वरिपरिका खस र मगरहरु रिसाए । यो घटनापछि उनीहरु पनि भित्र-भित्रै गोर्खाली राजालाई नेपालको राजा बनाउने रणनीतिमा लागेका थिए । तर काशिराम थापाका भाई परशुराम थापा भने भक्तपुरका राजा रणजित मल्लको सेना नायक भई अन्तिम सम्म लडेको पाइन्छ ।
उता खुम्बुवान, लिम्बुवानमा भने राजपूत थिएनन् । त्यतातिर भने राई लिम्बूहरुका आ-आफ्नै शक्तिशाली जातीय सरदारहरु थिए । त्यो बेलाको जमानामा आफ्नो क्षेत्रमा जतिसुकै शक्तिशाली भए पनि गैर राजपूतले आफूलाई राजा घोषित गर्न हुँदैनथ्यो । तिनले बाहुनलाई दूतका रुपमा, खस मगरलाई रक्षकका रुपमा, नेवारलाई व्यापारीका रुपमा र अन्यलाई जात अनुसारको कामका लागि राखेको देखिन्छ । लिम्बुवानमा भने मधेशका माडवारीलाई पनि व्यापारको लागि राखेको देखिन्छ । राईका त बीस भन्दा बढी फरक फरक भाषा भएका हुनाले उनीहरुका राज्य पनि बीस भन्दा धेरै थिए भन्ने अनुमान गर्न सकिन्छ । राज्य फरक भए पछि आवत जावत र सम्पर्क कम भएर भाषा फरक पर्दै जाने हो । आफ्नो क्षेत्रमा राजपूत नभए पछि उनीहरुले चौदण्डी, विजयपुरका मधेशी सेन राजाहरुलाई आफ्नो राजा मान्दै आएका थिए । अझ पूर्व तिर सिक्किम र भुटानमा चाहिँ भोटे राजा थिए । तिनले समेत बाहुनलाई दूतका रुपमा, खस मगरलाई रक्षकका रुपमा र नेवारलाई व्यापारीका रुपमा आश्रय दिएर राखेका देखिन्छ ।
उता मधेशतिर पनि सबै जातका जातीय सरदार(मुखिया) हुन्थे । सेन राजाहरुले थारु, खस र मगरलाई सेनामा राख्ने गरेका पाइएको छ । अवधका नवाबले समेत बुटवलमा आई पाल्पातिरका खस र मगरलाई सेनामा भर्ति गरी लिएर जाने गरेका थिए । मधेशमा राजपुतहरुको संख्या धेरै भएता पनि युद्द जित्न सजिलो हुने भएकाले बाइसी, चौबिसी जस्ता साना साना टुक्रे देश थिएनन् । पाल्पा, मकवानपुर, चौदण्डी र विजयपुर, ठुल्ठूला देश थिए । सेन राजाहरु मगरसँग वैवाहिक संबन्ध राखेर पाल्पामा स्थापित भएका राजपूत भएता पनि मधेशसँग बढी घुलमिल र लगाव भएका हुनाले मधेशी जस्तै थिए र उनीहरु गर्मी महिनामा मात्र पाहाडमा बस्ने, अरुबेला मधेश तिरै बस्थे । त्यसैले उनीहरु मधेशी राजाका रुपमा चिनिन्थे । पाल्पाका राजा धेरै जसो बुटवलमा र चौदण्डीका राजा अम्बरपुर(सिरहा,सप्तरी)मा बस्ने गरेको पाइएको छ । मधेशी राजाहरुका विश्वास पात्र सल्लाहकार भने पहाडी बाहुन भएको देखिन्छ । मकवानपुरका राजाका विश्वासपात्र सल्लाहकार दिनानाथ उपाध्याय दाहाल थिए । उता चौदण्डीका राजाका विश्वासपात्रहरु भने खार्पाली पोख्रेल बाहुनहरू थिए । तर काठमाडौं उपत्यका(तत्कालीन नेपाल)का राजाहरुका सल्लाहकार र पण्डित चाहिं मधेशी मैथिल बाहुनहरू थिए ।
यता पृथ्विनारायण शाहका खास सलाहकार र गुरु पनि मधेशी बाहुन नै थिए । श्रीहर्ष मिश्र अत्यन्त बाठा, दूरदर्शी र निपुण राजनीतिज्ञ थिए । यी मिश्रको बनारसमा समेत ठूलो मौजा र घरखेत थियो । पृथ्वीनारायण शाह गोरखाको राजा हुने बित्तिकै बनारस यात्राको सम्पूर्ण चाँजो पाँजो यिनै बाहुनले मिलाएका थिए । पढे-लेखेका कुमाई, पूर्विया, मधेशी बाहुन, ज्योतिषी जैसी, नेवार वैद्य, सुरक्षा दलका खस मगरहरु र भरिया समेत गर्दा सय जनाको टोली लिएर पृथ्वीनारायण शाहले बनारसको यात्रा गरेका थिए । बनारस मात्र होइन पृथ्वीनारायण शाहले पटना र प्रयाग(इलाहावाद) को पनि यात्रा गरेका थिए । पृथ्वी नारायण शाहसँग जाने यात्रीहरु मध्ये बाहुनका जाँघमा धोति र काँधमा पछेउरा, अरुलाई लवेदा सुरुवाल, कम्मरमा पटुका, सबैलाई छालाका काने जुत्ता, अंगरक्षकहरु खस र मगरलाई धनुकाँड, तरवार, भाला, सबैका कम्मरमा खुकुरी र बाटोमा खान बस्न समेतको व्यवस्था गर्नुपर्ने भएकोले ठूलो खर्च चाहिएको थियो । त्यो रकम १२ हजार घर धुरी जनसंख्या भएको गोरखाबाट लिएर जान हैसियत नपुग्ने थियो । र सुरक्षाका दृष्टिकोणले पनि धेरै पैसा बोकेर हिँड्न सम्भव नहुने हुनाले पृथ्वीनारायणका गोरखपुरमा रहेका ससुराली र यिनै श्रीहर्ष मिश्रले खर्चको चाँजो-पाँजो मिलाएको अनुमान गरिएको छ । पृथ्वीनारायण शाहका ससुरा दयाराम सिंह गोरखपुरका ठूला जमिनदार राजपूत थिए । बनारसमा केहि समय तिनै मिश्रको घरमा बस्ने व्यवस्था मिलाइएको इतिहासकार बाबुराम आचार्यले अनुमान गरेका छन् (ऐ. पृष्ठ १२५ बा.आ.) । त्यहाँबाट नै पृथ्वीनारायण शाहले भारतको राजनीतिक अवस्था सबै बुझेका थिए । त्यसकारण उनी सबै पहाडी भूखण्डका टुक्रे देशहरु र मधेशका देशहरु एकजुट हुनुको विकल्प नभएको संदेश लिएर फर्केका थिए ।
सिन्धुलीको लडाईंमा नेपाली फौजले अंग्रेजलाई पराजित गरेपछी चाँडै नै पहाड मधेश सबैतिर पृथ्वीनारायण शाहको कृति फैलियो । “न्याय नपाए गोर्खा जानु विद्या हराए हराए काशी जानु” भन्ने उखान सुनिरहेका जनता अब गोरखाकै राजालाई नेपालको राजा बनाउने अवसर आएको देखि खुशी भए होलान् भन्ने अनुमान गर्न सकिन्छ । काठमाडौंका जनता र सबैतिर बाट आग्रह भएपछि पृथ्वीनारायण शाहले ज्योतिषी कुलानन्द ढकाललाई राजगद्दीमा बस्ने साइत हेर्न हुकुम गरे । यसरी जैसीको साइत बमोजिम पूर्णातिथि, स्थिरवार, स्थिरनक्षत्र र स्थिर लग्न पारी २६ सेप्टेम्बर १७६८ मा पृथ्वीनारायण शाह काठमाडौंका जनताको भावनाको सम्मान गर्दै परम्परा अनुसार कुमारीको रथको यात्रा चलाई विधिपूर्वक कुमारीको दर्शन र प्रसाद ग्रहण गरी नेपालको राजगद्दीमा बसे ।
गोरखाका राजाप्रति जनताको अपार समर्थन देखेर कुनै प्रतिकार नगरी उनी ललितपुरतिर लागे । पृथ्वीनारायण शाहका सल्लाहकार श्रीहर्ष मिश्रले काठमाडौं एकीकृत भैसकेको १० दिन भित्रै लालितपुरका प्रधानहरुसँग वार्ता गरी किर्तिपुरको जस्तो घटना अब नदोहोरिने वचन दिँदै पृथ्वीनारायण शाहलाई पुनः राजा मान्न आग्रह गरे र ललितपुरका प्रधानहरुले पनि पृथ्वीनारायण शाहलाई पुनःस्थापित गर्न सहमति जनाए । (ऐ.पृष्ठ ३५२ बा.आ.)
चौदण्डीका राजा र भारदार बीचको झगडाले त्यहाँका राई सरदारहरु दिक्क भएका थिए । खुम्बुवानका राई सरदारहरु धेरै पहिलेदेखि नै असल राजपूत खोजी गरी राजा थाप्न लालायित थिए । चौदण्डीका जनताको त्यही चाहनाको प्रतिनिधित्व गर्दै बाहुन दूत हरिनंद पोख्रेल र खस अफिसर स्वरुपसिंह कार्कीको टोली काठमाडौं आयो । उता विजयपुरमा पनि राजा र भारदार बीचको झगडाले अन्योल छाएको थियो । सिक्किमका भोटे राजाले यसै कमजोरीको फाइदा उठाउँदै इलाम पाँचथरका केही भू-भाग कब्जा गरिसकेका थिए । त्यसकारण आफ्नो रक्षाका लागि बलियो राजपूत नभेटे फिरंगी या भोटेको चंगुलमा परिने डर उनीहरुलाई थियो ।
यसरी पृथ्वीनारायण शाह नेपालको राजा भएको थाहा पाउने बित्तिकै पूर्वतिर एकीकरणको साह्रै राम्रो माहोल बन्यो । पूर्वबाट धमाधम पठाइएका बाहुन दूतहरुलाई भक्तपुरले सहमति नजनाएसम्म धैर्य गर्न पृथ्वीनारायणले आग्रह गरे । भक्तपुर एकीकृत भएपछि उनले दुतहरुसँगै पूर्वतिर आफ्ना कार्यकर्ता खटाए । ती कार्यकर्ताले खुम्बुवान, लिम्बुवानमा र मधेशमा त्यहींका खस, मगर र खवास(थारु)हरुको सहयोग लिई छिटफुट बिद्रोहीहरुलाई दमन गरी नेपाली राज कायम भएको अनुभूति गराए । पृथ्वीनारायण शाह नेपालको राजा भएको ५ वर्ष भित्रमै पूर्वी तराई, खुम्बुवान, लिम्बुवान एकीकृत भै नेपालको सिमाना मेची नदीसम्म पुग्यो । सिक्किमले पनि कब्जामा लिएको लिम्बुवानको भूभाग फिर्ता दियो ।
पृथ्वीनारायण शाहलाई चौदण्डी र विजयपुरका जनताले पनि राजा माने रे, ललितपुरका प्रधानहरुले पनि फेरि दलमर्दनलाई हटाएर उनैलाई राजा बनाए रे भन्ने सुनेपछि तनहुँका राजा कामारिदत्त सेन ईर्ष्याले भुतुक्क भएका थिए । यसरी आफु सरहको छिमेकी राजपूतको हेर्दा-हेर्दै त्यत्रो उन्नति भएको सहन नसकी डाहाले उनी मानसिक रुपमा विक्षिप्त हुन थालिसकेका थिए । यसै बीच पृथ्वीनारायण शाहका सेना तनहुँ कब्जा गर्न आउँदै छन् भन्ने हल्ला चलेपछि तनहुँका जनता पनि नेपालसँग मिल्नु पर्छ भन्ने पक्षमा देखिए । आफ्नो देश गुमेको देख्नु भन्दा मर्नु जाति सम्झेर राजा कमारिदत्त सेनले आत्महत्या गरे । कमारीदत्त सेनले आत्महत्या गरेपछि तनहुँ, लमजुङ् र कास्की समेतले गोरखाका राजालाई नेपालको महाराजा मान्न सहमति जनाए । तर लगत्तै केही महिना पछि नै गोरखाका खसहरुको अहङकारी दुर्व्यवहारका कारण तिनीहरुले नेपालबाट अलग भै स्वतन्त्र रहने घोषणा गरे ।
सिन्धुलीको लडाइ जितेर पृथ्वीनारायण शाह काठमाडौंको राजा भएपछि गोरखाको प्रतिष्ठा एकै पटक ह्वात्तै बढ्यो । सँगसँगै त्यहाँका जनताको पनि मान र सान बढ्ने नै भयो । त्यसकारण पृथ्वीनारायण शाहको दर्शन पाउन, आफ्नो पनि राजा भइदिन आग्रह गर्न वा सम्पर्कमा रहन बाहिरबाट आएकाहरु गोरखाका खस मगरहरुको चाकरी गर्दथे । त्यसले गर्दा उनीहरु अत्यन्त चढेका थिए । उनीहरु काठमान्डौको धन दौलत भोग्न पाएर विलासी हुँदै गएका थिए । गोरखा भन्दा बाहिरका अरु जातिलाई त परै जावस खस मगरलाई समेत उनीहरु मान्छे गन्दैन थिए । पूर्वको एकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने खस स्वरुपसिंह कार्की लगायतका महत्वपूर्ण भारदारहरूलाई समेत उनीहरु बेवास्ता गर्दथे । उता नेपालमा एकीकृत भै सकेका तनहुँ, लमजुंग र कास्कीले गोरखाली खसहरुको अहङ्कारकै कारण अलग्गिने निर्णय गरे पछि पृथ्वीनारायण शाह निकै चिन्तित भए । काठमाडौं दरबारमा पूर्वका स्वरुपसिंह सिंह कार्की, र पश्चिम रिसिंगका ब्रजनाथ पौडेल आदि सम्मिलित अगोर्खाली गुट बलियो हुँदै गएको थियो । आफ्ना निकटका भारदारहरु पनि टाढिँदै गएको र आफु एक्लो भएको पृथ्वीनारायण शाहले अनुभव गर्न थाले । गोर्खाली र अगोर्खाली बीचको द्वन्दले उनी निराश भएको देखिन्छ । निकटका सल्लाहकार र आफुलाई माया गर्ने गुरू श्री हर्ष मिश्रलाई पनि उनले अङ्ग्रेजसंग वार्ता गर्न कलकत्ता पठाइसकेका थिए । आफ्ना भाइहरु पनि सबै कोही राज्य पाइएन, कोही भाग पाइएन भन्दै टाढा टाढा हुँदै गएका थिए । एक थरीले उचालेर भाइ महोदमकिर्ति शाह मकवानपुरको राजा हुने षड्यन्त्र गर्दै थिए ।
कान्छा भाइ काजी सुरप्रताप शाह भक्तपुर पाइएन भनी घुर्की लगाउँदै चौबिसी राज्यतिर गएका थिए । भक्तपुर नियन्त्रणमा लिने क्रममा सुरप्रताप साहको सैन्य दलले ठूलो धनजनको क्षति गराएको हुनाले पनि पृथ्वीनारायण शाह उनीसँग रिसाएका थिए । आफुले प्रतिनिधि बनाई लालितपुरमा राखेका भाइ दलमर्दन शाहले यस अघिनै धोका दिइसकेका थिए । अर्का भाई दलजित शाह प्रातापसिंह शाहलाई हटाएर बहादुर शाहलाई नेपालको उत्तराधिकारी बनाउनु पर्छ भन्ने गोर्खाली गुटको नेतृत्व गरेर हिँडिरहेका थिए । आफुले कुन उद्देश्यले नेपाल एकीकरण थालेको थियो त्यसको विपरित गोर्खाली भा-भारदारहरुको चरित्र बिग्रेको देखेर पृथ्वीनारायण शाह निकै चिन्तित भए । आफ्नै भाइभारदारहरुले यसो गर्न थालेपछि अरुले त असहयोग गर्ने नै भए । काठमाडौं बसिरहेमा अवस्था अझै बिग्रने र नेपाल फेरि टुक्रने डर उनलाई भएको हुन सक्छ । त्यसपछि उनले काठमाडौं छोड्ने निर्णय गरे र गोर्खालीको हुल लिएर नुवाकोट गए । त्यहाँ उनले सबै लोभी, अहंकारी र महत्वाकांक्षी भएका गोरखाका भारदारहरूलाई दुई दिनसम्म अर्ति-उपदेश ( दिव्यउपदेश) दिए । उपदेश दिँदादिँदै उनी धेरै थाकेका थिए । उनलाई ज्वरोले सतायो र आफूलाई त्रिसुली देवीघाट लैजान भने र ९ दिनसम्म घाटमै बिरामी भएर उनले देह त्याग गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक