20141230

डा. गोविन्द केसीलाई "पागल"सम्मको सङ्ज्ञा दिनुभएका माननीय राजेन्द्र पाण्डे र वंशीधर मिश्रलाई खुल्ला चिट्ठी ! ; डा.मधुर बस्नेत


महाशय !
हिजो मात्र भएको एउटा संसदीय समितिको बैठकमा डा. गोविन्द केसीको नेतृत्वमा नेपालको स्वास्थ्य क्षेत्र र विशेष गरी स्वास्थ्य शिक्षाको सुधार एवं पुनर्संरचनाको आन्दोलन र त्यस क्रममा मनमोहन लगायत निजी लगानीमा खोल्न खोजिएका विभिन्न "मेडिकल कलेज"हरुको "सम्बन्धन" रोकिएर चल्न नपाएको "गोरखधन्दा" को बारेमा बोल्दै यहाँहरु माननीय राजेन्द्र पाण्डे तथा माननीय डा. बन्शीधर मिश्रले डा. केसीलाई "पागल"सम्मको सङ्ज्ञा दिनुभएको सुनेर प्रतिकृयामा यो लेख लेखिएको छ।
यहॉ सवाल तपाईं/तपाईंका आसेपासे महोदयहरुको लगानी डुब्ला कि नडुब्ला, तपाईंका "पसल"को मापदण्ड पुग्यो या पुगेन भन्दा पनि समग्र देशकै स्वास्थ्य शिक्षा/सेवा अनि नीतिको समग्र विवेचना र पुनर्संरचनाको आवश्यकतामा बहस भैरहेको छ। डा. गोविन्द केसीका मागहरु त्यो गम्भीरता र उचाईबाट आएको हामीले बुझेका छौं।
हालको नेपालको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने संस्थाहरु अहिलेकै हिसाबले बेरोकटोक चल्दै जाने हो भने स्वास्थ्य सेवाको हिसाबले अधिकांश स्वास्थ्य सेवा प्रदान गर्ने संस्था र जनशक्ति लाईसेन्स प्राप्त क्रमश: मानव बधशाला र बधक (यस्तो गम्भीर शब्द/भयावह परिस्थितिको प्रक्षेपण गरेकामा माफी माग्न चाहन्छु तर, एक सचेत जिम्मेवार नागरिकका
हैसियतले ईतिहासको यो संवेदनशील घडीमा मुकदर्शक भएर मात्र बस्न सकिएन) हुने स्थितिमा पुग्न धेरै समय लाग्दैन भन्ने हाम्रो बुझाई छ!
"माननीय" राजेन्द्र पाण्डे ज्यु! तपाईंले नै भन्नु भएको रहेछ कि एउटा "सामुदायिक अस्पताल"मा डाक्टर टिकाएर राख्न कती गाह्रो रहेछ। (तपाइंकै अस्पतालमा किन डाक्टर टिक्न गाह्रो परेको रहेछ त विभिन्न सामाजिक सञ्जालमा त्यो अस्पताल छोड्नुभएका केही डा हरुले खुलासा गरी नै सक्नु भएको छ, त्यसैले अरु थप डा टिकाउन ती प्रतिकृया अवश्य पढ्नुहोला)। 
तर, तपाईंकै अनुभवले पनि त अहिलेको प्रणालीबाट उत्पादित बहुसंख्यक जनशक्ति देशको सेवा गर्न उतिसारो प्रशिक्षित रै'न रहेछ भन्ने सिद्ध गरेको रै'छ त। आफूलाई जनताको "मसिहा"नै ठानिटोपल्ने हजुरले दिनेश "चरी" मर्दा जति होहल्ला गर्नुभयो, आफ्नो लगानीको "मेडिकल कलेज" चल्न पाएन भनेर जुन होहल्ला र धाकधम्की देखाउँदै हुनुहुन्छ, खै त स्वास्थ्यक्षेत्रकै यत्रो भयावह परिस्थितिका बारे आवाज उठाउनु भएको?
अझैपनि केही समय पहिलेको साझा सवालमा फारममा कुखुरा उत्पादन गरेजस्तो "डाक्टर उत्पादन गरेर खाडी निर्यात गर्ने" भन्ने यहाँको लालबुझक्कड दिमाग उस्तै भएर यो चिल्लाहट गरिरहनु भएको हो भने त "पशुपतिनाथले यहाँ सँगै हामी सबैको (शक्ति जो तपाईंका हातमा छ) कल्याण गरुन्" भन्ने बाहेक के नै पो भन्न सकिएला र?
 अनि यी "पाण्डेजी" त खाँटी "राजनेता" परिगए, तर स्वास्थ्यमन्त्री नै भैसक्नुभएका अनि "डा." कै पगरी गुथ्नुभएका अर्का "माननीय" वंशीधर मिश्रज्यु को कोकोहोलो त झन् बुझिसाद्धे भएन! महोदय आजभन्दा झण्डै ११५वर्ष अघि संयुक्त राज्य अमेरिकामा अब्राहम फ्लेक्सनर को नेतृत्वमा प्रकाशित "मेडिकल एजुकेशन इन यूनाइटेड स्टेट्स एंड क्यानाडा" शीर्षकमा प्रकाशित रिपोर्ट (जुन  यहाँ उपलब्ध छ )पढ्नुस् र हेर्नुस् आज नेपालको स्थिति झण्डै त्यस्तै छ! 
अनि "नयाँ नेपाल" बनाउने जिम्मेवारी लिएर संविधानसभाको "माननीय सभासद्" जस्तो जिम्मेवार एवं गरिमामय पदमा बसेर "आफू र आफ्ना आसेपासे"हरुको लगानी डुब्न लाग्यो भन्दैमा डा. गोविन्द केसीले ज्यानकै बाजी लगाएर जबरजस्त रूपमा उठान गर्नु भएको समग्र स्वास्थ्यक्षेत्रकै पुनर्संरचनाको यो महान् बहसमा रचनात्मक ढंगले सहभागी हुनु त कता हो कता उल्टो "पागल"को संज्ञा दिन थाल्नुभएछ। 
अब डाक्टर साब भैसक्नु भएका "माननीय" महोदयलाई "पागल" शब्द प्रयोग गर्दा (त्यो पनि आम संचारको माध्यममा आउने गरी) राख्नु पर्ने होसियारीको बारे हामी जस्ता भर्खरका "ठेट्ना" चिकित्सकले सम्झाइराख्नु पर्ने त अवश्य होइन होला। तर याद गर्नुस् महाशय मानव ईतिहास यस्तै एकाध "पागल"हरुको दुरदृष्टि, त्याग र बलिदानले निर्माण गरेको छ न कि आफ्नो "लगानी"डुब्दा नीँदहराम भएर बर्बराउनेहरुको बर्बराहटले!
हो, व्यक्तिका रूपमा डा केसीका पनि आफ्नै केही मानवीय कमी कमजोरी होलान या यो महान अभियानका क्रममा केही सानातिना प्राविधिक त्रुटिहरु भए होलान तर त्यसको अर्थ यो होइन कि डा केसी र उहाँले थालनी गर्नु भएको यो महान अभियान नै "गलत" छ। 
डा गोविन्द केसीले जुन महान अभियानको थालनी गर्नु भएको छ, त्यो अभियानलाई त्यही उचाइबाट बुझेर सम्पूर्ण जागरुक नेपाली समाज त्यो अभियान पूरा गर्न होस्टेमा हैँसे मिलाउदै अघि बढ्नु आजको आवश्यकता हो।
कवि गोपालप्रसाद रिमालका हरफहरु सापटी लिएर भन्दा "एक जुगमा एक दिन एक चोटी आउँछ" भने झैं सिंगो नेपालकै एउटा सुनौलो ईतिहास र सुन्दर भविष्य निर्माण गर्न पाउने जुन ऐतिहासिक सुनौलो अवसर यहाँहरूको हातमा छ, आफ्ना व्यक्तिगत/समुहगत/दलगत स्वार्थभन्दा बिल्कुलै माथि उठेर त्यसलाई सदुपयोग गर्न सफल हुनुहोस् भन्ने शुभकामना छ। 
नयॉ नेपालको ईतिहासका गौरवशाली "नायक" बन्ने या "विद्रुप विदुषक" आगे मर्जी यहाँहरुकै किनकि एक्काईसौं शताब्दीका सचेत नेपाली जनताले ईतिहास निर्माण त ढीलो छिटो गर्ने नै छन्।
(लेखक बी पि कोइराला स्वास्थ्य विज्ञानं प्रतिष्ठान धरानमा  कार्यरत विशेषज्ञ चिकित्सक हुन्)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक