(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150124

नत्र काजी र बाबुको झगडा देशमा कहिल्यै सकिनेवाला छैन, चेतना भया

- रुद्र चूडाल
मेरो जन्मथलो लिम्बुवानतिर तपाईंका नानी कति जना हाउ ? भनेर कसैले सोध्यो भने छोरा छोरी कतिजना भनेर सोधेको बुझिन्छ | त्यहि कुरो काठमान्डूमा सोध्द्दा “नानी बाबु कति जना ?”  भनेर सोध्नु पर्ने हुन्छ | काठमान्डूमा छोरालाई बाबु र छोरीलाई नानी भन्ने चलन छ | ठाउँ अनुसारका आ आफ्ना बोली र बुझाइ हुन्छन | उता हाम्रो मधेशतिर चाहिँ बाबु भन्नाले ठुलोबडो मानिस भन्ने बुझिन्छ | हाम्रो गाउँ दर्बेशामा पंचायत कालमा एकजना प्रधानपन्च थिए बाबुसाहेब भन्ने ठकुरी | पछी उनलाई गोपालबाबु (गोपालमानसिंह राजभण्डारी) ले चुनाव हाराइदिए | राष्ट्रिय पंचायतको चुनावमा मात्रिकाबाबु (मातृकाप्रसाद कोइराला)लाई बद्रीबाबु (बद्रीप्रसाद मण्डल)ले हराई दिएका थिए | यसैगरि कांग्रेसमा पनि यस्ता बाबुहरू छन् | मोरंगमा बिपीबाबु, गिरिजाबाबु थिए | झापामा रामबाबु र भरतबाबु | उता सप्तरीमा नेपाल सद्भावना पार्टीका गज्जुबाबु थिए | पार्टीलाई पहाडवादी र बाहुनवादी भन्ने आरोप लागेको भए पनि नेकपा एमालेका माधवकुमार नेपाललाई उनको गाउँ रौतहटमा मधेशी समुदायले माधवबाबु भनेर इज्जत गर्छन | आफ्नो सन्तानलाई ठुलो मानिस बनाउने इक्षा राखेर होला मधेशी समुदायका कतिपय बाबुआमाले आफ्नो सन्तानको नामको पछाडी बाबु राख्छन | त्यसैले मधेशतिर लालबाबु, रामबाबु, गोकुलबाबु, नारायणबाबु, राजेन्द्रबाबु नामहरु प्रसस्त भेटिन्छन | नेकपा एमालेमै लालबाबु पण्डित मन्त्रि छन् | अर्का
लालबाबु यादव भर्खर सभासद भए |
तर यसको बिपरित काठमान्डौ र गण्डकी क्षेत्रमा भने ठुला बडालाई बाबु हैन काजी भन्ने चलन छ | त्यसैले होला गोरखाका एमाओवादी नेता नारायणकाजी श्रेष्ठलाई उनका पण्डितले नामको पछाडी काजी राखिदिएका | काठमान्डौमा क्षेत्री समुदायकोलाई काजी र ठकुरीलाई राजा भनेर चाकडी गर्ने चलन छ | खास गरिकन रणबहादुर शाहका अंगरक्षक  भीमसेन थापाले राजदरबार हत्याकाण्ड गरेर नेपालको सत्ता कब्जा गरेपछि भने खस समुदायको मानिस सबैलाई काजी भनेर चाकडी गर्ने चलन चलेको रहेछ | भीमसेन थापाले राजपरिवार खलक र विभिन्न जातजातिका ठुला भारदारको हत्या गरेर खसवादको जग बसाएका थिए | उनले आफ्ना नजिकका नातेदारहरु सबैलाई काजी बनाएर देशमा ३१ बर्ष तानाशाही चलाए | उनले बेबी किंग गीर्वाणयुद्ध वीरविक्रमलाई मात्र बाँकी राखेर राजपरिवार सबैको हत्या गरिदिएका थिए | कतिसम्म भने पृथ्वीनारायण शाहका भाइका छोरा, नातिहरुलाई समेत आँखा फुटाएर कैद गरे | त्यतिमात्र होइन तिनको सबै सम्पति हरण गरेर आफु र रंगनाथ पौडेलले बाँडेर लिए | यसैगरि युवराज सुरेन्द्रका अंगरक्षक जंगबहादुरले आफ्ना हजुरबा नाता पर्ने भीमसेन थापा र बुबा बालनरसिंह कुँवरले हत्या काण्ड गरेर स्थापित गरेको खसवादलाई पछि अर्को ठुलो हत्याकाण्ड गरेर निरन्तरता दिए |
भीमसेन र जंगबहादुरले गरेका हत्याकाण्डको प्रकृति भने अलि अलि फरक छ | भीमसेनले जात जातिका प्रतिनिधि भारदारहरुको र बेबी किंगका बुबा, ठुलोबुबा र काकाहरु सबैको हत्या गरेका थिए | तर जंगबहादुरले भने आफ्नै मामा र सजातीय खस समुदायका काजीहरुको ठुलो संख्यामा हत्या गरे |  भण्डारखाल पर्वमा उनले ठुलो सख्यामा बस्नेत काजीहरुको हत्या गरे | जंगबहादुरले भीमसेनले जस्तो बेबीकिंगका बुबालाई मारेनन् बरु नजरबन्दमा जन्मकैद गरेर राखे | भीमसेनले आफुलाई बनारसबाट फर्कदा सहयोग गर्ने काजी नरसिंग गुरुङ्ग र तिनका साना बच्चाहरु समेतलाई निर्ममतापूर्वक मारेका थिए | तर जंगबहादुरले भने गुरुङ्गहरुलाई हात लिएर आफुलाई कास्की र लमजुंगको श्री ३ महाराज भएको घोषणा गराए | खस प्रधानमन्त्री पदमा मात्र सीमित रहंदा एकदिन भीमसेन थापाको जस्तै दुर्गतिको मरण होला भन्ने डरले जंगबहादुरले आफ्नो परिवारलाई राजपुतमा परिणत गराए | त्यसपछि त राणाहरु सबै राजा महाराजा भए | तर अन्य खसहरुलाई भने काजी भनेर चाकडी गर्ने चलन चल्दै गयो |
भीमसेन र जंगबहादुरको उदय हुनु अघि काजी र मुलकाजी भन्ने शब्दले मन्त्री र प्रधानमन्त्री भन्ने अर्थ बुझाउथ्यो | खसलाई नै काजी भनेर चाकडी गर्ने चलन सम्भवत त्यसबेला थिएन | किन भने त्यो एउटा पद थियो र खस मात्र होइन मगर, गुरुङ्ग, नेवार, थारु, राजपुत लगायतका व्यक्तिले त्यो पद पाउने गरेको देखिन्छ | तर मधेशी,राई, लिम्बू र तामांगहरुले त्यो पद पाउने गरेको देखिदैन | काजी भन्ने शब्द काठमाण्डौ र गण्डकी क्षेत्रमा बढी प्रचलित भएको पाइन्छ | त्यसबेला मधेशतिर चाहि ठुलाबडालाई दीवान, चौधरी, खवास, उमराव, राय इत्यादि भनेको पाइन्छ | राजा प्रतापसिंह शाहले चौदण्डीका मधेशी राजाका खस स्वरुपसिंह कार्कीलाई दिवान( पधानमन्त्री ) पदमा नियुक्त गरेका थिए | भीमसेन थापाको पतन पछि रणजंग पाण्डे पनि दिवान पदमा नियुक्त भएको देखिन्छ | यिनी काजी दामोदर पाण्डेका छोरा भए पनि यिनले आफुलाई काजीको सट्टा दिवान भन्ने पद रुचाएको पाइन्छ | मुजफ्फरपुरका हाकिम चन्द्रसेखर उपाध्यायका सिफारिसमा यिनी काठमान्डौ छिर्न सफल भएर पनि हुनसक्छ यिनले आफुलाई काजी नभनेर दिवान भनेको | यिनले आफ्ना बुबा दामोदर पाण्डेको  हत्यारा काजी भीमसेन थापासंग बदला लिए र आफु दिवान भए |
यसरि इतिहास हेर्दा के देखिन्छ भने काजी भन्ने शब्दले बलमिच्याई, हिँसासँग अलिबढी नजिकको संबन्ध राख्छ | काजी (खसवादी)हरुलाई सबैभन्दा बढी मन नपर्ने कुरा संविधान नीति नियम र कानून हो | जसले संविधान, नीतिनियमका कुरा गर्छ त्यसलाई समाप्त पार्ने काजी( खसवादी)हरुले गर्दै आएका छन् | तत्कालिन राजा रणबहादुर शाहले संसदका ९५ जना भन्दा बढी भारदारले हस्ताक्षर गरी धर्मपत्र गरेपछि छोराकोलागि राजकाज त्यागेर हिडेको देखिन्छ | यसको अर्थ त्यसबेलाको संसद भारदारीसभाले राजा राख्ने र बदल्न सक्ने हैसियत राख्दो रहेछ | तर उनको अंगरक्षक भीमसेन थापाको राजनीतिक महत्वाकांक्षाले देशको  राजनीति जहानिया शासनमा परिणत भएपछि भने न संविधान न नियमकानून न संसद | भिमसेनको पालादेखि १३१ बर्ष सम्म नियमकानून बिना नै हुकुमी शासन चल्यो | त्यसपछि राणा प्रधानमन्त्री पद्मसमशेरले नेपालको पहिलो “नेपाल सरकारको वैधानिक कानून २००४” जारी गरेका थिए | तर त्यसको पालना कसैले गरेनन् | संविधानको कसैले पालना गर्नु त परै जावस बरु संविधान दिए वापत आफ्नो ज्यान असुरक्षित भएको देखेपछि पद्म समशेर गद्धी छोडेर भागे |
२०४७ सालको संविधान लागु भएपछी यताको अवस्था हेर्ने हो भने पनि हामीले धेरै कुरा बुझ्न सक्छौं | आफ्नो हुकुम चल्ने भए त्यसलाई मान्ने नत्र कुनै हालतमा नमान्ने प्रवृत्ति काजी प्रवृत्ति हो | २०४८ सालको निर्वाचनमा थोरै सिट आएको भन्दै हिंसाको राजनीति गर्ने काजी( माओवादी)हरु र त्यो संविधानलाई पूर्ण समर्थन नगरेर आलोचनात्मक समर्थन मात्र गर्ने काजी(एमाले)हरुको प्रवृत्ति यथार्थमा एउटै प्रवृत्ति हो | यी दुई काजीहरूले कार्यगत एकता गरेर २०४७को संविधान समाप्त पारे | कतिसम्म भने त्यो संविधान दिन ठुलो सहयोग गर्ने राजा बिरेन्द्रको परिवार र उनि पक्षका सबैको हत्या भयो | ज्ञानेन्द्रले गराएको निर्वाचनलाई छोड्ने हो भने २०५४ साल एता स्थानीय निकायको निर्वाचन नभएको मात्र १७ बर्ष भयो | १७ बर्ष भनेको थोरै समय होइन | त्यो बेलाको संविधानलाई सबैले मानेका भए र संसदले मात्र काम गर्न पाएको भए देशमा यो बेलासम्म जातीय, क्षेत्रीय सबै समस्या समाधान भैसक्ने थिए | त्यतिमात्र होइन संविधान पटक पटक संसोधन भइसकेको हुन सक्थ्यो | देशले बिकाशको तिब्र गति लियिसकेको हुने थियो | संसद बलियो भएर देशलाई संघियतामा लैजाने मात्र होइन राजा राख्ने, फाल्ने र युवराज घोषणा गर्नसक्ने सबै अधिकार यसबेलासम्म संसदलाई प्राप्त भैसक्ने थियो |
आफ्नो हक अधिकार माग्दा क्षेत्रीय र साम्प्रदायिक सदभाव नबिग्रीयोस भनेर गज्जुबाबुले आफ्नो पार्टीको नाम सदभावना पार्टी राखेका थिए | उनले संघियता नभई देश अगाडी बढ्न सक्दैन भन्ने गर्थे | तर गज्जुबाबुका कुरा काजीहरुले पत्याएनन् | काजीहरुले चरम मनपरी गरेर देश बिगार्न थालेको देखे पछि अन्ततः देशभक्त बाबुहरू एकजुट भै २०६३मा मधेश आन्दोलन गरे र अन्तरिम संविधानमा संघियता थपे |
बाबुहरुलाई सहन काजीहरुलाई कति गाह्रो हुन्छ भन्ने कुरा २०४६ यताका राजनीतक घटनाक्रमलाई नियाल्यो भने पनि हामीले सजिलैसँग बुझ्न सक्छौं | यसविचमा देउवा, थापा, चन्द, खनाल, दाहाल, अधिकारी, भट्टराई काजीहरू पटक पटक प्रधानमन्त्री भए र हटे | यी सबै काजीहरू प्रधानमन्त्री हुँदा र हट्दा प्राय सामान्य प्रक्रियाले काम गरयो | कुनै ठुलो बिद्रोह, बन्द, आम हड्ताल अशान्ति वा हत्याकाण्ड भएनन् | तर गिरिजाबाबु र माधवबाबु प्रधानमन्त्री हुँदा भने काजीहरुले देशलाई ठुलो सकसमा पारे | गिरिजाबाबुलाई प्रधानमन्त्रीबाट हटाउन अत्यन्त धेरै बन्द, हड्ताल, हिंशाको प्रयोग भयो | माओवादीकाजीहरु गाउँ गाउँमा कांग्रेशका गिरिजाबाबु पक्षधर कार्यकर्ता र प्रहरीको हत्या गर्दै हिड्थे भने एमाले काजीहरु संसद बहिस्कार र बन्द हड्ताल गर्थे | अन्ततः बिरेन्द्र हत्याकाण्ड गरेपछि मात्र गिरिजाबाबुलाई हटाउन उनीहरुले सफलता प्राप्त गरे | अघिल्लो संविधानसभाकालमा त्यस्तै मधेशी मोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका माधवबाबुलाई हटाउन ठुलो आमहड्ताल भयो | अन्ततः माधवबाबुले राजिनामा दिएपछि फेरी सरकार बन्न सकेन | ९ महिना पछि बल्ल प्रचण्डकाजीको सहयोगमा झलनाथकाजी प्रधानमन्त्री बने | यी दुवै बाबुहरुलाई विपक्षीले भन्दा धेरै आफ्नै पार्टीका काजीहरुले बढी सताएका थिए | गिरिजाबाबु प्रजातन्त्र बलियो बनाउने दृढतामा थिए भने माधवबाबु संघियता सहितको संविधान दिने जिम्मेवारीमा थिए |
पहाडीमूलको हुदैमा कोही काजी हुने र मधेशीमूलको हुदैमा कोही बाबु हुने पनि होइन | जस्तो अघिल्लो संविधानसभामा काजीहरुको धेरै चाकडी गरे वापत मधेशी र थारु बाहुल्य क्षेत्रबाट विजयकाजी गच्छदारलाई जनताले मोरंगमा हराए | उनीहरुले शेखरबाबु कोइरालालाई जिताए | त्यस्तै मधेशीहरुले उपेन्द्रकाजी यादवलाई हराएर पहाडी मूलका अमृतबाबु अर्याललाई जिताइदिए |
 देशले भएभरिका सबै प्रणाली र तरिका प्रयोग गरिसक्दा निकास आउन सकेको छैन | मधेशी जनताले समग्र मधेश प्रदेशकालागि गरेको बलिदानले ८ बर्ष नाघ्न लागिसक्यो | अब अहिले आएर  गिरिजाबाबुले मधेशीसँग हतारमा सम्झौता गरे भन्दै झलनाथ काजी उफ्रन थालिसकेका छन् | जबकी उनकै पार्टीका माधवबाबु त्यो सम्झौताका साक्षी थिए | मधेशका सबै जिल्लाबाट सबै मधेशी मात्र जितेर गए पनि काजीहरूले आधा भन्दा बढीलाई लोभ लालचमा पारि फेरी काजी बनाईदिन्छन् | त्यसकारण काजीहरुलाई ठिक नापारेसम्म प्रजातन्त्र र संघियताले काम गर्न सक्दैन भन्ने बुझ्नु पर्छ |
अब अहिले काजीहरुलाई रामबाबु यादव राष्ट्रपति र शुसिलबाबु कोइराला प्रधानमन्त्री भएको सहिनसक्नु भएको छ | त्यसको सट्टामा उनीहरु दुइजना काजीहरू राष्ट्रपति र प्रधानमन्त्री भएको हेर्न चाहन्छन् भन्ने कुरा बिगतका क्रियाकलापबाट बुझ्नु पर्छ | संघीय संविधानको चिन्ता कसैलाई पनि भएको होइन |
पहिले पहिले नेपाली कांग्रेश बाबु समर्थक पार्टी थियो | काजीहरू नेपाली कांग्रेशलाई अराष्ट्रिय तत्व सम्म भन्थे | अन्तत कांग्रेशलाई काजीहरुले आफ्नो पोल्टामा पारे | त्यसको बिकल्पमा मधेशी मोर्चा तयार भयो | त्यसलाई पनि काजीहरुले खाइदिए | कांग्रेशका पहाडीमूलका गिरिजाबाबु र मधेशी मोर्चाको नेतृत्व गरिरहेका थारु समुदायको बिजय गच्छदारलाई काजीहरुले आफ्नो पोल्टामा पार्न सफल भए | अब एउटै बिकल्प भनेको मधेशी समुदायको व्यक्तित्वको नेतृत्वमा बाबु समर्थक शक्तिको निर्माण हुनु हो | त्यसकारण अहिले जेपीबाबु गुप्ता, गोपालबाबु ठाकुर र मात्रिकाबाबु यादवको सहकार्यको घोषणाले काजीहरू नराम्रोसँग तर्सेको देखिदैछ | यी तिनैजना बाबुहरू काजीहरुको पार्टी कांग्रेश, एमाले र माओवादीबाट आएका हुनाले काजीहरुको भित्रिकुरा र षड्यन्त्र यिनीहरु बुझछन् | त्यसकारण काजीहरू तर्सेका हुन् | माओवादी काजी र एमाले काजीहरुले धेरै प्रयोग गरेर थाकेका बुढा पद्मरत्न तुलाधरले जेपीबाबु गुप्तालाई सम्झे | यी बुढालाई जेपीबाबुले मधेस तिरै डाकेर सप्तरीमा ६ महिना जति इज्जतसाथ राख्यो भने पनि संघीय संविधान बन्ने सम्भावना धेरै बढ्छ | समग्र मधेश प्रदेशको सम्झौता लागु नभएसम्म राष्ट्रपति र प्रधानमन्त्री बदल्न पाइन्न, बन्द हड्ताल गर्न पाइन्न भन्दै मधेशमा हुने खबरदारी सभाहरुमा सर्वमान्य नेता तुलाधर बुढालाई उभ्याउन सक्यो भने पनि काजीतन्त्रलाई नियन्त्रणमा ल्याउन सजिलो हुन्छ | अनि अर्को कुरा मृगको छाला ओढेर “म काजी होइन बाबु समर्थक हुँ, म मधेशी बाबुहरुको लागि मर्न तयार छु” भन्नेलाई पनि जेपीबाबुले सम्झाउन जरुरि छ | “तिमी मर्न पर्दैन, यो देशमा धेरै मान्छे मरिसके, केहि भएन | त्यसकारण मर्छु भन्दै हाम्रा अगाडी कृपया नआउ | पछाडी बस | तिमी मरेको देखेर त्यहि पीरले अरुपनि धेरै मर्लान |” जेपीबाबुले सम्झाउन जरुरि छ | नत्र काजी र बाबुको झगडा देशमा कहिल्यै सकिनेवाला छैन | चेतना भया |


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक