20150107

केपी ओली को यो अडान लाई सलाम छ ! खबरदार एमाले काङ्रेस हो छबिलाल र देश टुक्र्याउन खोज्ने बिदेशी दलालहरुसँग नझुक, नचुक ! अब के नै दिन बाँकी छ र झुक्छौ ??

 ‘सबै सम्म भूभाग मधेसवादी दललाई चाहिने भए सबैका आँगन पनि सम्म हुन्छन्, त्यो पनि चाहियो भन्नुहोला, अनि छिमेकमा विहार र उत्तर प्रदेश पनि सम्मै छन् त्यो पनि दाबी गर्नुहुने हो कि ?’
 - एमाले अध्यक्ष केपी शर्मा ओली
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमाले अध्यक्ष केपी ओलीले आफूहरुको मानमर्दन गरेको भन्दै एमाले नेता सहभागी हुने बैठकमा नजाने निर्णय
संविधानका विवादित विषयमा निर्णायक र अन्तिम छलफल गर्ने भनेर वार्तामा बसेका नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र मधेसवादी दलहरुको आजको बैठक सम्पूर्ण मधेस एक प्रदेशको कुराले
बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकको सुरुमै काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले राज्यको पुनःसंरचनाका सम्बन्धमा तपाइँको धारणा के हो भनी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई धारणा राख्न भनेका थिए । त्यसक्रममा अध्यक्ष महतोले तराईको कुनै पनि भूभाग पहाडमा मिलाउन नहुने बताएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यस्तो हुनै नसक्ने बताए । अध्यक्ष ओलीले अझ व्यङ्ग्यात्मक शैलीमा ‘सबै सम्म भूभाग उहाँहरुलाई (मधेसवादी दललाई) चाहिने भए सबैका आँगन पनि सम्म हुन्छन्, त्यो पनि चाहियो भन्नुहोला, अनि छिमेकमा विहार र उत्तर प्रदेश पनि सम्मै छन् त्यो पनि दाबी गर्नुहुने हो कि ?’ भनेपछि बैठकमा मधेसवादी नेताहरु उत्तेजित भएको बैठकमा सहभागी नेताले जानकारी दिए । बैठकपछि अध्यक्ष ओलीले सञ्चारकर्मीलाई भने– “तराईका भूभागलाई पहाडमा मिलाउनै हँुदैन भन्ने भनाइको कुनै तुक छैन, राज्यको पुनःसंरचना जनतालाई राज्यको सेवासुविधा सहज रुपमा उपलब्ध गराउन र राष्ट्रिय एकता अझ प्रबल बनाउनका लागि हो ।” जनताको बीचमा यो जात र त्यो जात अनि यो भूगोल त्यो भूगोल भनेर कलह मच्चाउने, अनि यहाँनिर गैरपहाडिया गाँउ छ त्यो यता पर्नुपर्छ भन्ने खालका कुराले उचित हुँदैन भन्दै ओलीले भने–“भूगोलका लागि राज्यको पुनःसंरचना हो भन्दै निहुँ खोज्ने ?” आफूहरुसँग संविधान निर्माणका लागि दुई तिहाइ बहुमत भए पनि सहमतिका लागि दिनरात नभनी अनवरत वार्तामा रहेको भन्दै अध्यक्ष ओलीले सहमतिका लागि नै उहाँहरु (विपक्षी) का अनावश्यक तर्क कुतर्क सुनिरहेका छौँ भने । कसैका अहङ्कारका निम्ति राज्यको पुनःसंरचना नहुने बताउँदै अध्यक्ष ओलीले भने–“छलफल तथ्य र तर्कका आधारमा राज्यको पुनःसंरचना गर्ने हो, पाखुरा सुर्केर हँुदैन ।” एमाओवादी र मधेसवादी दलहरुको व्यवहार हेर्दा संविधान जारी गर्न चाहन्छन् कि चाहँदैनन् भन्नेमा आफूलाई शङ्का उत्पन्न भएको जानकारी दिँदै अध्यक्ष ओलीले भने–“हिजोमात्र एमाओवादीले संविधानसभा दलको बैठक गरेर संविधानसभाभित्र भिडन्तका लागि तयारी गर्न निर्देशन दिए, मानसिक रुपले भिडन्तका लागि तयार होऊ भनेर निर्देशन दिए ।” संविधानसभा भनेको कुनै कुस्तीको अखडा होइन, त्यो त विचारविमर्श गर्ने, देशका हितमा छलफल, तर्क र बहस गर्ने थलो हो भन्दै उहाँले संविधान जारी गर्नका लागि निरन्तर वार्ता भइरहेका बेला देशभरि मोर्चाको गठन र विस्तार केका लागि भन्ने प्रश्न गरे । सभाध्यक्ष सुवास नेम्वाङले केही दिनअघि राजनीतिक दलहरूले संविधानका विवादित विषयमा सहमति ननिकाल्ने हो भने यसका लागि आफूले पहल गर्ने भनेपछि दलहरूबीच ती विषयमा सहमति जुटाउन भन्दै गहन रूपमा छलफल अगाडि बढिरहेको छ । यसै सन्दर्भमा आज दलहरु निर्णायक भनी बैठकमा बसेका थिए । बैठकबाट बाहिरिने क्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिमा नै संविधान जारी गर्नका लागि छलफल जारी रहेको र मङ्गलबार नेपाली काँग्रेससँग सकारात्मक छलफल भएकाले आज निष्कर्षमा पुग्ने आशा भए पनि त्यसो हुन नसकेको बताए । आफू काम परेर एकैछिन बाहिर गएको र फर्केर आउँदा त बैठकको वातावरण अर्कै भइसकेको जानकारी दिँदै अध्यक्ष दाहालले भने–“बैठकमा नेताहरुबीच घोचपेच भएकाले साथीहरुले रियलाइज नभएसम्म बैठक नबस्ने भन्नुभा रै’छ । हामी चारै पक्षका प्रमुख बस्यौँ र अर्काे बैठकमा यस बारेमा छलफल गर्ने कुरा भयो । अहिले सभामुख सुवास नेम्वाङले बोलाएको बैठकमा जानका लागि उठ्यौँ ।” सद्भावना पार्टीका अध्यक्ष महतोले बैठकपछि सञ्चारकर्मीलाई मङ्गलबार भएको सकारात्मक छलफलपछि आजको बैठकमा सहमति हुने माहोल बनेको बताउँदै भने–“बैठकको प्रारम्भमा मैले मधेसी मोर्चाका तर्फबाट प्रधानमन्त्रीको अनुमतिमा सङ्घीयताका सवालमा सम्पूर्ण तराईसँगै पूर्वी तरार्ईका झापा, मोरङ, सुनसरी तथा पश्चिम तराईका कैलाली र कञ्चनपुर मधेसको भूभाग हो, मधेस हो त्यसैले त्यो मधेस प्रदेश र थरूहट प्रदेश मै रहनुपर्छ भनेको थिएँ ।” अध्यक्ष महतोले आफूले उक्त कुरा राख्दा एमालेका अध्यक्ष ओलीले वार्ताको माहोल असहज हुने आपत्तिजनक शब्द प्रयोग गर्नुका साथै वेतुकको कुरा भन्दै सम्पूर्ण तराईलाई मधेसमा राख्नुपर्छ भन्ने सन्दर्भमा ‘विहार र युपी समेतलाई मधेस प्रदेशमा राख्ने हो कि’ भन्ने कुरा राखेपछि वार्ताको माहोल असहज बनेको बताए । पछिल्लो चरणमा संविधानका मुख्य चार अन्तरवस्तुका विषयलाई लिएर संविधानसभामा राजनीतिक दलहरू दुई ध्रुवमा विभाजित भएका छन् । एकातर्फ सत्तारूढ नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले) सहित पार्टीहरु छन् भने अर्काेतर्फ एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा मधेसी मोर्चा रहेका छन् । राज्यको पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा ती दुई मोर्चाका बेग्लाबेग्लै धारणा रहिआएका छन् । आ–आफ्ना मान्यताले माघ ८ मा संविधान जारी हुनेमा आशङ्का बढ्दै गएको छ । ती गहन विषयमा सहमति जुटाउन भन्दै द्विपक्षीय, त्रिपक्षीयलगायत कैयौँपटक बैठक बालुवाटारमा सम्पन्न भए पनि कुराको चुरो भने निस्किएको छैन ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमाले अध्यक्ष केपी ओलीले आफूहरुको मानमर्दन गरेको भन्दै एमाले नेता सहभागी हुने बैठकमा नजाने निर्णय गरेको छ। मोर्चाको बुधवार एक विज्ञप्ति जारी गर्दै ओलीले माफी नमागेसम्म एमालेसहितको बैठकमा आफूहरू नजाने निर्णय भएको बताएको छ। 'एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसीलाई होच्याउने काम गरेको भन्दै माफी नमागेसम्म एमालेसँग वार्ता नबस्ने निर्णय गरेका छौ,' सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दल र मधेसीम मोर्चाको बैठकमा एमाले अध्यक्ष ओलीले 'यूपी विहारलाई पनि मिसाउनु र यस्ता बेतुकका कुरा गर्ने भन्दै अपमानजनक कुरा शब्द्ध प्रयोग गर्दै मधेस र मधेसीप्रति अपमानजनक उक्त अभिव्यक्तिलाई मोर्चाले घोर भत्र्सना गर्दछ,' बैठकपछि मोर्चाद्वारा जारी विज्ञप्तीमा भनिएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष ओलीले मधेसी दलले सम्म भूमाग देख्यो भने मधेस प्रदेशमा राख्ने खोजेको भन्दै युपी र बिहार पनि मधेसमा मिसाउने भन्ने अभिव्यक्ति दिएका थिए। ओलीको यस्तो अभिव्यक्तिपछि रुस्ट मधेसवादी नेताहरू बालुवाटार बैठक बिना निष्कर्ष सकिएको भन्दै छोडेका थिए। ओलीको बालुवाटार अभिव्यक्तिको विरोधमा बुधबार साँझ सद्भाना पार्टीले ओलीको पुत्ला समेत जलाएको छ। सद्भावनाले ओलीको अभिव्यक्तिले सिंगो मधेसी समुदायलाई अपमानित गरेको भन्दै पुत्ला जलाएको हो।
हेर्नुहोस् विज्ञप्ति

ओलीले माफी नमागेसम्म एमालेसँग कुनै पनि छलफल हुन्न

- राजेन्द्र महतो, सदभावना पार्टी अध्यक्ष 

चार पक्षको बैठक करिब साढे नौ बजे बालुवाटारमा सुरू भयो। बैठकको सुरूमै एमाले अध्यक्ष केपी ओलीले एमाओवादी र मधेसी मोर्चा प्रति लक्षित गर्दै भने, ‘तपाईहरु मोर्चाबन्दी गर्ने? तपाईहरु आन्दोलनको कार्यक्रम बनाउने अनि संसदमा समेत आन्दोलनको तयारी गर्ने? आन्दोलनका लागि चना र दूध खाएर ताकत बनाउने हो? सहमति र सम्झौताको कुरा गर्ने हो भने पहिलो मोर्चा विघटन र तत्काल आन्दोलनका सबै कार्यक्रम फिर्ता लिनुहोस्।’ सुरूमा हामीले उहाँको कुरालाई त्यति गम्भीरतापूर्वक लिएनौं। गम्भीरतापूर्वक लिएको भए विवाद हुने थियो। त्यसपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ठट्यौलो पारामा ताकत बढाउन कुन बदाम खाने? काँचो बदाम खाने? भनी मजाक गरे। विषयमा कुरा मिलेपछि मोर्चाको आन्दोलन फिर्ता भइहाल्छ नि भन्नुभयो। त्यसपछि प्रधानमन्त्री सुशील कोइरालाले बुधबार एमाओवादी र मधेसी मोर्चासँग गरेको वार्ताले वातावरण सकारात्मक बनाएको बताउनु भयो। उहाँले सहमतिका लागि आफूहरुको तर्फबाट प्रस्तुत प्रस्तावमा के कति गर्न सकिन्छ भनी प्रस्ताव पनि राख्नु भयो। निर्धारित मितिभित्र संविधान जारी गर्नुपर्ने भनाइ राख्दै प्रदेश निर्माणको विषयमा मधेसका जिल्लाहरु झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई कसरी मिलाउने हो मिलाउनु पर्यो भनी प्रस्ताव राख्नु भयो। प्रधानमन्त्रीको प्रस्ताव पश्चात् एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्ना कुरा राख्दै वातावरण हिजोदेखि सकारात्मक दिशातर्फ उन्मुख भएको धारणा राख्नु भयो। प्रधानमन्त्रीले राखेको प्रस्तावमा प्रचण्डले मधेसका विषयमा अरुले भन्दा पनि मधेसका साथीहरुले नै आफ्ना कुराहरु राख्दा राम्रो भनी धारणा राख्न पर्यो भन्नु भयो। त्यसपछि मैले मोर्चाको तर्फबाट आफ्ना कुरा राखे। प्रधानमन्त्री कोइरालाले राखेका कुरामा मैले मधेसको कुरा संघीयता र राज्य पुर्नसंरचनाको विषयसँग सम्बन्ध राख्छ भने। मैले उहाँहरुको ध्यानाकर्षण गराउदै भने, 'जब अन्तरिम संविधान बन्दै थियो त्यतिबेला पनि यही कोठामा तत्कालीन माओवादीसहितको ८ दलले अन्तरिम संविधानमा हस्ताक्षर गर्दा सदभावना पार्टीको तर्फबाट म पनि उपस्थित थिए। अन्तरिम संविधानको ड्राफ्टमा संघीयतासहितको संविधान बन्ने प्रतिबद्धता जुन देखाइएको थियो त्यो संविधानमा हस्ताक्षर गर्ने बेला संघीयता शब्द काटेर दलका शीर्ष नेताहरुले हस्ताक्षर गरे। हामीले आपत्ति जनायौं। आन्दोलनको अजेण्डा संघीयता काट्न मिल्दैन भन्दै हामीले नोट अफ डिसेन्ट लेख्न बाध्य भएका थियौं। यो २०६३ पुस २९ गते रातिको घटना थियो। त्यसको विरोधमा संयुक्त मधेसी मोर्चाले पुस १० गते मधेस बन्द गरेका थियौं। विभिन्न विरोध गर्दागर्दै पनि सबै दलहरु मिलेर तत्कालीन संसदबाट माघ १ गते संघीयता बिना नै अन्तरिम संविधान पारित गरियो। माघ २ गते के भयो? मधेसमा र राजधानीमा नै संविधान जलाइयो र मधेसमा विद्रोह सुरु भयो। मधेस आन्दोलनका क्रममा दर्जनौं मधेसी सपुतहरु सहिद भए। आन्दोलनलाई शान्त पार्न त्यतिबेला गिरिजाबाबुले यही कोठाबाट सम्बोधन गर्नुभएको थियो। तर, संघीयताको मुद्दालाई सम्बोधन नगरी आन्दोलन रोकिँदैन भन्दा पनि उहाँले सम्बोधनमा त्यो विषय छुनु भएन। त्यसपछि पनि दश/बीस जना मधेसी जनता आन्दोलनमा मारिए। अन्तत्वगत्वा यही कोठामा (कृष्णप्रसाद) सिटौलाजीले सहमतिको ड्राफ्ट तयार पार्नु भएको थियो। त्यो सझौतामा स्वायत्त मधेस लगायत विभिन्न जातीय पहिचान सहितको अधिकार सम्पन्न प्रदेश हुने भनिएको थियो। त्यसको आधारमा गिरिजाबाबुले दोस्रो सम्बोधन गरेपछि मात्र आन्दोलन रोकिएको थियो। त्यो सम्झौतालाई फेरि हेलचेक्रयाई गरेपछि ६४ साल माघमा संयुक्त मधेसी मोचाले दोस्रो आन्दोलन सुरु गरे। त्यसपछि संघीयता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने, मधेसमा ४८.४ प्रतिशत जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुने भन्ने सम्झौता भयो। राज्यका सबै अंगमा समानुपातिक र समावेशी सहभागिता हुने जस्ता विषय सम्बोधनपछि आन्दोलन रोकिएको थियो। त्यो सम्झौता अनुसार कुरा अघि नबढेपछि ६४ फागुनमा अर्को आन्दोलन भयो। फागुन १६ गते फेरि अर्को सम्झौता भयो। त्यसमा प्रचण्ड र एमाले नेता माधवकुमार नेपाल साक्षी थिए। अधिकारसहितको स्वायत्त मधेस प्रदेश हुने लगायतका ८ बुँदे सम्झौता भएपछि मात्र संविधानसभाको निर्वाचन भएको थियो। राज्य पुर्नसंरचना र संघीयताको विषय त्यसै आएको होइन। जनताले लडेर र मरेर ल्याएको हुन्। मधेसमा प्रदेशको कुरा गर्दा त्यतिबेला गरिएको सम्झौता सम्झनु पर्यो। स्वायत्त मधेस प्रदेश भनेको समग्र मधेस एक प्रदेश भनिएको थियो। तर पछि फेरि मधेसको पश्चिम भागमा थरुहट आन्दोलन भयो र त्यसपछिको सम्झौता अनुसार मधेसमा थरुहट प्रदेशसहित दुई प्रदेश हुने सम्झौता भयो। आज आएर मधेसको भूभाग चाहे त्यो झापा, मोरङ, सुनसरी होस् वा कैलाली, कञ्चनपुर, चाहे चितवनको थरुहट इलाकामा पर्ने १२ गाविस त्यो मेचीदेखि महाकालीसम्मको भूभाग मधेस प्रदेश र थरुहट प्रदेशमा नै राखिनुपर्ने हो। मधेसको भूभागलाई अन्य प्रदेश वा पहाडी प्रदेशमा मिलाउन खोजिएको छ। त्यो उचित र मान्य हुँदैन। यो ठीक होइन। यो हाम्रो भनाइ र आग्रह हो। यति भनेपछि एमाले अध्यक्ष ओली अब त मैले नै बोल्नै पर्ने भयो भनी तम्सिहाल्नु भयो। उहाँले आक्रोसित हुँदै यस्ता कुतर्क गर्ने? समथर भूभाग देख्नै नहुने? सबै मधेस प्रदेशमा नै राख्नु पर्ने? यस्ता कुतर्क गर्ने भए जानुहोस्। समथर भूभाग सबै मधेसमा रहने हो भने के युपी र विहार पनि मधेसमा नै मिसाउने हो? यस्ता वेतुकका कुरा गर्ने भन्दै हपार्न थाल्नुभयो। उहाँको आपत्तिजनक र अपमानजनक अभिव्यक्तिका कारण माहोल विग्रियो। वातावरण थप असहज भयो। वार्ता भाडियो। त्यसपछि हामीले ठीकै छ यस्तो व्यवहार र अपमान गर्ने हो भने के को वार्ता गर्ने? त्यसको मतलब भएन भनी बैठक कक्षबाट निस्कियौं। त्यसपछि महेश आचार्य पछिपछि आएर हैन बसौं न भन्नुभयो। एमाआवादीका साथीहरुले पनि बसौ भने। तर, केपी ओलीले हैन हैन जाने भए जान दिनुहोस्। गएर के हुन्छ? केही फरक पर्दैन भन्दै बसे। त्यसपछि केहीबेरका लागि बाहिर गएका एमाओवादी अध्यक्ष प्रचण्ड आएर के भयो भनी सोधे। उहाँ पनि बाहिर हामी भएको ठाउँमा आएर कुरा गर्नुभयो। हामीले सबै बतायौं। उहासँग पनि अपमानजनक अभिव्यक्ति दिने ओलीजीले गल्ती महसूस गरी माफी माग्नु पर्छ भन्ने कुराभयो। माहोल बिग्रिसकेकोले के बैठक गर्ने भनी बैठक भएन। हामीहरु बालुवाटारबाट बाहिरियौं। त्यसपछि मधेसी जनअधिकार फोरम नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त मधेसी मोर्चाको बैठक बस्यो। उक्त बैठकले मधेस र मधेसी जनताको अपमान हुने अभिव्यक्ति दिने एमाले अध्यक्ष ओलीले माफी माग्नुपर्छ भन्ने निर्णय गरेको छ। हामी मधेसी मोर्चामा आबद्ध दलले निर्धारित मितिभित्र सहमतिको आधारमा संविधान ल्याउनुपर्छ र जनताका अधिकार सुनिश्चित गर्नु पर्छ भन्ने कुरामा दृढ छौ। तर, ओलीले आज व्यक्त गरेको अभिव्यक्ति केबल मेरो विरुद्धमात्र हैन। यो समग्र मधेस र मधेसी जनता प्रतिको अपमान हो। उहाँले गरेको अपमानको महसुस गरी माफी नमागेसम्म संविधान लगायतका विषयमा अरु सबै पक्षसँग हामी मधेसी मोर्चा वार्तामा बसेपनि एमालेसँग बार्तामा बस्न सक्दैनौ। (बालुवाटारमा बुधबार बिहान भएको तीन दल र मधेसी मोर्चाबीच भएको बैठकमा उत्पन्न विवादका बारेमा सेतापाटी संवाददाता बिष्णु बुढाथोकीसँग गरेको कुराकानीका आधारित/ source setopati)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक