
आमा तपाईंको खबर पनि पाएँ
दाजु र भाईको माग पनि सुने
दिदी बहिनीका माग पनि सुने
श्रीमती छोरा छोरीका माग पनि मन मनै गुने
अमेरिकामा रुखमा फलेका डलर टिप्दा टिप्दा
आज दुबै हात पाखुरा करकरी दुखेका छन
शरीर थिलो थिलो भएको छ
थकाईले लखतरान भएर होला पटक्कै जाँगर छैन
रुखबाट टिपेका एक डोका डलर
अपार्टमेन्ट भित्र छरप्रस्ट छन
टपरी खुट्न ल्याइएका पातहरु जस्तै !
मिलाउन पनि पटक्कै जाँगर छैन आज
तल्लाघरे बिर्खे यहाँ आइपुग्यो
उसले सबै खबर सुनायो त्यहाँको !
दाजुलाई कार किन्ने पैसा
भाई बहिनीलाई ग्यालेक्सी र आइफोन
छोरा छोरीलाई ल्यापटप र आइप्याड
श्रीमतिलाई अमेरिकी स्टाइलका लत्ता कपडा
बाबालाई दश बिस लाख जती पैसा
यि र यस्तै सबैका मागहरु बिर्खेले बतायो
म दुई चार दिनमै पठाउने छु सब
न आत्तिनुहोला, केही दिन पर्खिनुहोला
अरु केही भएको छैन मलाई
मात्र रुखमा फलेका डलरका नोटहरु टिप्दा
यसो थकाई लागेको मात्र हो
मेरो कुनै चिन्ता नगर्नुहोला
किनकी म अमेरिकामा छु
हिंजो साँझको कुरा हो यसो भनेर मैले फोन राख्न खोजें
बाबाले भन्नुभयो - छोरा कुनै कुरा नछुटाएसनी पठाउन
मैले भने हस बाबा ! म छुटाउने छैन !
फोन राख्न नपाउँदै थकित म
भुसुक्कै निँदाएँछु
बिहान जाग्दा भोको पेटमा मुसा दौडिँदै थिए
फ्रिजमा राखेको बासी पाउरोटी चपाउँदै
फेरी म डलर फल्ने रुख तिर धाउँदै छु
मनका ब्यथा यसरी कवितामा गाउँदैछु !
- हाल अमेरिका
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक