20150531

अमेरिकी विदेशमन्त्री जन केरी आइतबार जिनिभाको बाहिरी भागमा साइकल दुर्घटनामा, केरीको खुट्टा भाँचिएको र उहाँ उपचारका लागि बोस्टन फर्कने तयारीमा !

John Kerry
 दुर्घटनामा पर्नु अघि र परिसकेपछिका विदेशमन्त्री जन केरी
 
अमेरिकी विदेशमन्त्री जन केरी आइतबार जिनिभाको बाहिरी भागमा साइकल दुर्घटनामा पर्नुभएको छ भने उहाँलाई खुट्टामा चोट लागेकाले उपचारका लागि स्विजरल्यान्डको एक अस्पतालतर्फ हेलिकप्टरमा लगिएको जानकारी अमेरिकी एक अधिकारीले दिएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जन कर्बीले उहाँ
आफ्नो साइकलबाट लडेको तर उहाँको होस नगुमेको बताउनुभयो । उहाँले विदेशमन्त्री केरीको अवस्था स्थिर रहेको बताउनुभयो । एपीले दिएको अर्को एक समाचारमा अमेरिकी विदेशमन्त्री केरीको खुट्टा भाँचिएको र उहाँ उपचारका लागि बोस्टन फर्कने तयारीमा रहनुभएको उल्लेख गरिएको छ । केरीको दुर्घटना स्विजरल्यान्डको सीमाबाट ४० किलोमिटर पर फ्रान्सको सिन्जयरमा भएको बताइएको छ । दुर्घटनाको एक दिन अगाडि उहाँले जिनिभामा इरानका विदेशमन्त्रीसँग पारमाणविक विषयमा वार्ता गर्नुभएको थियो । अमेरिकी विदेशमन्त्री केरीलाई उपचारका लागि जिनिभाको प्रमुख अस्पताल एचयुजीमा लगिएको थियो । उहाँ चढ्नु भएको साइकल फुटपाथमा ठक्कर खाएपछि उहाँ लड्नु भएको र उहाँको गाडीसँगै यात्रा गरिरहेका एक स्वास्थ्यकर्मीले उहाँको तत्कालै परीक्षण गरेको कर्बीले बताए । विदेशमन्त्री केरीको दाहिने खुट्टाको एक्स–रे लिइएको बताइएको छ । अमेरिकी विदेशमन्त्री केरी आफ्नो कूटनीतिक यात्रामा प्रायः साइकल चलाउनुहुन्छ । मार्च तथा मे महिनामा पनि विश्वका शक्ति राष्ट्र तथा इरानबीच स्विजरल्यान्डको लजानमा वार्ता हुँदा विश्रामको समयमा उहाँले निकैपटक साइकल चलाउनुभएको बताइएको छ । उहाँले शनिबार जिनिभा होटेलमा इरानी विदेशमन्त्री मोहमद जावेद जरिफसँग छ घण्टासम्म वार्ता गर्नुभएको थियो । उहाँहरु जुन ३० सम्म एक एकीकृत सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा हुनहुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक