20150914

किरात र लिम्बुवानबीच जुहारी : किरात स्वीकार्य हुँदैन : लिम्बुवानवादी नेता


अरूण पूर्वको ९ जिल्लालाई लिम्बुवान प्रदेशको दाबी गर्दै आएका लिम्बुवानजन्य संगठन र किरात प्रदेश हुनु पर्नेबीच जुहारी सुरू भएको छ। किरात प्रदेशको संविधानमा उल्लेख हुनुपर्ने भन्दै किरात राई यायोक्खा लागि परेको छ। केही दिन यता धरानमा गतिविधिसमेत बढाएको छ। आइतबार मात्रै प्रचार स्वरुप धरान–२४ को चिण्डे डाँडामा पुगेर किरात राज्यको झण्डात्तोलन गरे। यता लिम्बुवान कब्जा कार्यक्रम गर्दै किरात याक्थुङ चुम्लुङ २० दिन अघिदेखि भानुचौकमा अड्डा जमाएको छ। जातीय संगठनको हक हितको लागि कार्य गर्ने दुबै संस्थाहरुको
दाबी आ–आफ्नै छ। किरात राई यायोक्खाले असोज २ गते धरानको भानुचौकमा बृहत जनसभा गर्ने भएको छ।
त्यो कार्यक्रमको प्रचारप्रसार अहिले किरायाले तिब्र पारेको छ। अवको संविधानमा किरात राज्य हुनु पर्ने माग उनीहरुको छ। त्यसमा उनीहरुले करिव १७ वटा जिल्लालाई समेट्नु पर्ने माग राखेको छ। त्यसमा सिन्धुली, रामेछापलाईसमेत समेट्नु पर्ने किरायाका केन्द्रीय उपाध्यक्ष तिलक राईले बताएका छन्।
यता लिम्बुवान कब्जा कार्यक्रम मार्फत गोलबद्ध भएको ८ वटा पार्टीहरुले लिम्बुवान संर्घष समिति बनाउँदै लिम्बुवान प्राप्तिको आन्दोलन छेडिरहेको छ। अहिले जसरी किरात राज्य मागको कुरा आएको छ त्यसलाई उनीहरुले तीनदलीय मानसिकताबाट ग्रसित भएको र त्यही दलहरुले लिम्बुवान आन्दोलनलाई तुहाउनको लागि खेल खेलिरहेको आरोप संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिग्देन मिराकले लगाएका छन्।
उनले तेस्रो चरणको लिम्बुवान आन्दोलनको घोषणा सभामा सोमबार भने ‘यो सिंहदरबारीया सोच हो। किरात प्रदेश हामीलाई स्वीकार्य हुदैन। र, यो माग सफल हुँदैन, हार हुन्छ।'
यता अरुण पूर्वको ९ जिल्ला र उता १७ भन्दा बढी जिल्लालाई समेट्नु पर्ने मागले आन्दोनल तुहाउने खेलको रुपमा लिम्बुवानवादी नेताहरुले बुझ्न थालेका छन्। ‘हामीलाई किमार्थ स्वीकार्य हुदैन। हामीले ऐतिहासितालाई ध्यानमा राखेर आन्दोलित भइरहेका हौं।' मोर्चामा सम्मिलित एमाओवादी निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष मुक्सामहाङ मेन्याग्बोले भने।
लिम्बुवान संर्घष समितिले लिम्बुवानको प्रस्तावित खाका नै भानुचौकमा प्रस्तुत गर्दै कब्जा कार्यक्रमलाई चरणबन्द्ध बनाइरहेको छ। यो तेस्रो चरण अन्तर्गत आजैबाट तेह्रथुमको बसन्तुपुरमा खबरदारी सभा, भोली झापाको केर्खामा खबरदारी सभा र भदौं ३० गते मोरङको पथरीमा खबरदारी सभा गरिरहेको छ।
भदौं २९ गतेबाटै लिम्बुवानमा थातथलो खुलेकाहरुसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने भएको छ। असोज १ गतेदेखि ३ गतेसम्म लिम्बुवानमा चक्काजाम गर्ने समन्वयकारी संस्था किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङ्देनले बताए।
लिम्बुवानबादी आन्दोलन संविधान जारी भए पनि नटुंगिने चेतावनी दिएका छन्। ‘हामी सयौं वर्षसम्म आफ्नो पहिचानको लडाई लड्ने छौं।' उपाध्यक्ष मेन्याग्बोले भने। आजै किरात राज्यको माग गर्दै किराया र पत्रकारबीचमा मैत्रीपूर्ण फुटबलसमेत भइरहेको छ। किरात राज्यको मागले संशकित बनेको लिम्बुवानवादी नेताहरुले किरात राज्यको परिकल्पना गर्न नसकिने तर, आफूहरुको सदैब किरात राज्यप्रति असहमति रहदै आएको बताएका छन्। - भोजराज श्रेष्ठ, धरान, source setopati.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक