20160119

६ जना उपप्रधानमन्त्रीसहितको ४० जनाको डफ्फा सरकारको काम सिंहदरवारको चौसठ्ठी परिक्रमा गर्नुमात्र हो र ??

- राजन कार्की
६ जना उपप्रधानमन्त्रीसहितको ४० जनाको डफ्फा सरकारको काम सिंहदरवारको चौसठ्ठी परिक्रमा गर्नुमात्र हो कि जनताप्रतिको जिम्मेवारी र तिनीहरुलाई सेवा दिने कर्तव्य पूरा पनि गर्नुपर्छ। अधिकारी बन्ने, अधिकारको प्रयोजन पार्टी र निजीकरणमा मात्र सिमित गर्ने हो भने यो निरंकूश राजकाज हो, यो राजकाजमा लोकतन्त्रका गरिमा र महिमाजस्ता विशेषता केही पनि छैन भनेर मान्दा फरक पर्दैन। लोकतन्त्रको बहुमूल्य मणि भनेको मानवीयता र लोकलज्जा हो। ओली डफ्फाको बैगुन भनेको भोली हो, मानवीयताबिहीनता हो। लोकलज्जा त यो ग्याङ्का कुनै सदस्यमा छँदैछैन। मूर्दा मानवीयता च्यापेर हल्ला मात्र गरेर चलायमान देखिने सरकारको उपस्थिति र सम्मान शून्य हुँदै गएको छ। गल्लीको सान्चा पहलमान र ओली सरकारलाई तुलामा राखेर जोख्ने हो भने कुनै घटबढ देखिदैन। अर्थात लोकतन्त्र र नेतातन्त्रको लूटराजमा परिणत भयो। जनताको शोषण झन बढी भएर गयो। भूकम्प गयो। यो प्राकृतिक बिपदा हो। भूकम्पको धक्काले ९ हजार मारिए, १५ हजार अपाङ्ग भएका छन्। यो बिपत्तिको सामना तत्काल सुरु गरेको भए अहिलेसम्म जनताको आङ् हलुका भइसकेको हुनेथियो। आमनागरिक तातोन्यानो गरेर यतिबिघ्न कष्टपूर्ण जीवनबाट मुक्त भइसकेका हुनेथिए।
नेपाल हाइटी बनिसकेको छैन। न त सिरियालीले आइएसआइएसको कहर र युद्धविभिषिकाबाट बच्नका लागि हारगुहार लगाउँदै युरोपीय मुलुकहरुमा शरणार्थीको जस्तो जीवनका लागि दौडादौड गरेका छन्। आफ्नो धरा र गराहरुमा भूकम्पले भत्काएका घरबासका थुप्रोले थिचेका आफन्तको सम्झना र आफ्नै मनलाई बलियो पारेर त्यही थलोमा पुनर्वास, पुननिर्माणका गर्छु भनेर जनता डेरा जमाएर बसेका छन्। राज्य इमान्दारिता र सक्रियतापूर्वक सघाउन छाडेर भाषण र सस्तो प्रचारमा लागेको छ। ९ महिना भयो भूकम्प गएको। सरकारले १५ हजार बााड्यो, धादिङका चेपाङले अझै पाएका छैनन्। सरकारले न्यानो कपडाका लागि भनेर १० हजार पठायो। बारपाक र लाप्राकमा समेत त्यो पुगेन। यीभन्दा बिकट गाउँहरु कति छन्, कति? त्यहाँका जनता बाँचेका छन् कि मरिसके, बाँचेका भए हिउँले, पुषे चिसोमा लपेटिएर कसरी बाँचेका होलान्? सरकारलाई अत्तोपत्तो छैन। कस्तो गैंडाको छालाजस्तो चेतनाहीन सरकार?
अर्थात सरकारमा बस्ने ओली टिम सिंहदरवारको छानामा सजाइएको फलामे चराजस्तो भएर र संवेदनहीन बनेर टुलुटुलु हेरेर बसेका छन्। शासक बर्गलाई पार्टी, पार्टी कार्यकर्ता, सत्ता, शासन र भ्रष्टाचार गर्न पाए पुग्यो। प्रशासन कस्तो छ भने एकल महिला वा बृद्ध मरेको १८ वर्षसम्म पनि तिनलाई बृद्धभत्ता बाँडिरहेको छ। सरकार जनताका लागि जनताको हो। यस्तो नैतिकहीनताको जब्बर जड बनेको प्रशासनलाई कसरी स्थायी सरकार भन्नु?
गाउँ सरकार यस्तो छ। नगर सरकार नगारा बजाएर जनता लुटिरहेको छ। राजधानीमा एउटा महानगर पनि छ। जुन महानगर भूकम्प, नाकावन्दी, कालोबजारले थिचिएका जनतातिर हेर्दैन, कुकुर कार्यक्रम लिएर आएको छ। कुकुरलाई बन्ध्याकरण गर्न ३ करोड छुट्याएर संसदलाई कार्यक्रमको जानकारी दिने महानगरले के गरेको यो भनेर पौष २९ गते एक अधिकारीलाई सोधेको त उनको जवाफ थियो– यो साठी, चालिसको खेलो हो। सिंगो महानगर साठी चालिसमा चलिरहेको छ।
पछि कुरो बुझियो, ६० प्रतिशत बिल मिलाएर खाने, ४० प्रतिशत खर्च गरेजस्तो गर्ने। राजधानीको महानगरको चित्र हो यो। योजना आयोगमा पार्टीगत सदस्य नियुक्त गरिसकियो। सत्ता बनाउने र टिकाउने प्रभावकारी दलका एक नयाँ योजनाविद बनेका पार्टी सदस्यले भने– सरकार त ८०, २० मा चलेको रहेछ। के भनेको यो भनेर सोध्दा– उनको जवाफ थियो, गाउँतहदेखि राष्ट्रिय स्तरका योजनासम्म ठूला पार्टीका संयन्त्र बनेका छन्। कर्मचारीले राजनीतिक संयन्त्रसाग मिलिभगत गरेर निकासा भएको बजेटको ८० प्रतिशत भाग शान्ति जय नेपाल गर्ने र २० प्रतिशत निश्चित क्षेत्रमा खर्च गर्ने। अनि के काम हुन्छ? कागजी घोडा दौडने देशमा कागजको विकास दौडिन छाडेका छैन।
अर्थात् देश भ्रष्टाचारको भाङ्मा लठ्ठ छ। भ्रष्टाचार चम्केको छ।
भूकम्प गयो, ७ खर्बभन्दा बढी सम्पत्ति सखाप पारेर गयो। यो सुनामीभन्दा कडा बज्रपात हो नेपालीका लागि। यो बज्रपातबाट उन्मुक्तिका लागि तत्काल पुननिर्माण प्राधिकरण बन्नुपर्थ्यो, ९ महिना लाग्यो। पुननिर्माण गर्न थालिहाल्नुपर्थ्यो, कार्यकारी नियुक्त भए पनि पार्टीगत स्वार्थलाई फिट गरिदैछ, कति समयलाग्छ भन्न सकिन्न। नक्सा चाहिन्छ भनियो, नक्साको खाका भर्खर सार्वजनिक भएको छ। २ लाख दिने भनिएको छ, त्यो कहिले दिने हो, यसै भन्न सकिन्न। अव त ६ खर्ब, ६० अर्व दिन्छु भन्ने दाताहरुसमेत आ–आफ्नै कूटनीतिक रणनीतिअनुसारका योजना अगाडि सार्न थालिसके। देश हाम्रो, कूटनीतिक राजनीति दाताको। बुद्धिबल निम्छरो भएपछि देश कमजोर हुन्छ। नेपालजस्तै कमजोर।
राज्यको सबैभन्दा ठूलो दुर्गुण भनेको असली भूकम्पपीडित को हो, आंशिक र सामान्य क्षतिवाला को को हुन्? यसको तथ्यांक नै छैन राज्यसँग। पहिले १५ र अहिले न्यानो कपडाका लागि भनेर १० हजार बितरण गरियो। गाडी चढेर आउनेले समेत लाम लागेर त्यो पैसा बुझे। पहिले ५ लाख घर ध्वस्त भयो भनियो, पैसा पाइन्छ भनेपछि पार्टी कार्यकर्ता र कर्मचारीतन्त्रको मिलोमतोमा ९ लाखको संख्या नाघिसक्यो। अर्थात् कर्मचारी र पार्टी कार्यकर्ताहरुले भूकम्पपीडितको नाममा राज्यलाई भ्रष्टाचारमय बनाएका छन्। यी कस्ता लोकतन्त्रवादी पार्टी हुन्, जसले कार्यकर्ताहरुलाई सामान्य नैतिक स्कूलिङसमेत गराउन सकेनन्। स्थायी सरकारका कर्मचारीतन्त्र कस्तो हो, जसले यथार्थ विवरण ९ महिनामा पनि संकलन गर्न सकेन। दुष्ट र संवेदहीन संस्कारले राजनीति र प्रशासन दुबै जनताका निम्ति सास्ती र सराप  बनेका छन्।
वामपन्थी सरकार, सर्वहारावादी सिद्धान्त बोकेका पार्टीहरुको नेतृत्वको सरकार, कहाँ हरायो तिनको यो सर्वहारावाद? कम्तिमा कम्युनिष्टले त कमजोर बर्गले भोगिरहेको आहतमा राहत बन्न सक्नुपर्थ्यो। छठदेवीको पूजा गर्न प्रधानमन्त्री रानीपोखरी पुगे, रामजानकी र पशुपतिनाथको पूजा गर्न राष्ट्रपति जनकपुर र पशुपति पुगिन्। लोकनायकहरुका पहिलो देवता लोक हुनुपर्थ्यो, तिनले दीनदुखी, पिडितजनको पूजा गर्नुपथ्यर्ोे। गरेनन्। १७ हजार मारेका जनयुद्धका नायकले भैंसी पूजा गरे, नरनारयणको खुट्टा ढोकेको ढोंग देखेका हामीले एमालेका नेतृत्व देशको सिंहासनमा पुगेपछि ढुंगामा देवता देख्ने पूर्वीय दर्शनमा रुपान्तर भएको देखियो। संविधानमा हिन्दूराष्ट्र राख्नु हुन्न भन्ने यिनै हुन्, नेपाल धर्मनिरपेक्ष गणतन्त्रका पक्षधर यिनै थिए। अव यिनीहरु कुन ईश्वरीय बरदानका लागि तपस्या गर्न थालेका हुन्, सावधान हुन जरुरी छ है। किनभने मान्छेका बली चढाएर नेता बनेकाहरुले मान्छेको पूजा गर्दैनन्। त्यसै पनि कम्युनिष्टहरुको राष्ट्रिय सीमा पनि हुादैन। भनिन्छ, व्यापारी र कम्युनिष्ट दुबै मुनाफाका लागि परिआए जुनसुकै खोल ओड्न तैयार हुन्छन्। कुर्नुपर्छ, कम्युनिष्टका अरु कुन कुन तमासा र नौटंकीहरु देखिने हुन्।
राजनीतिकरणको खिया लागेर देशका अंग प्रत्यङ्ग कसरी गलित भएर गएका छन् भन्ने यो ताजा उदाहरण हो। लोकतन्त्र पाएका लोकले आपतबिपतको पहाडले थिचेर ज्यान जोखिममा पर्दा पनि लोकनायक र लोकतन्त्रले संवोधन गर्न चाहेन।
अनि भूकम्पपीडितले कसरी राहत पाउँछन्? पीडितले पुषे चिसो र हिउँले कठ्यांग्रिएर मर्नु स्वभाविक हो।
लोकतन्त्रका नायकहरु अन्धा छन्, बहिरा र काना छन्। यिनीहरुमा विवेकहीनता छ। खोपडीमा स्वार्थ भरियो भने त्यो नेताले जनतालाई किराफट्याङग्रा मान्छ। स्वार्थपूर्ति नै राजनीति हो भन्ने ठान्छ। नेपालको सत्ता र प्रशासनले जसरी जनताको पीडामा पीडा थप्नेमात्र उल्टो काम गरिरहेको छ, यसले हिटलरीतन्त्रको सम्झना गराइरहेको छ। हिटलर बन्न गिलोटिनमा राखेर काट्नु पर्दैन, भूकम्पपीडित–कालोबजारपीडित–बेरोजगारीपीडितले जसरी जीवन गुमाइरहेका छन्, त्यो गिलोटिनभन्दा कम दर्दनाक छ र? यी सब परिदृश्य देख्ने कथित अधिकारकर्मी, नागरिक समाज, बुद्धिजीवी जो चुप लागेर बसेका छन्, तिनीहरु पनि कम दोषी छैनन्।
भुकम्प गयो, देशलाई भावनात्मक रुपमा जोड्ने अवसर थियो। राज्य र जनतावीच राम्रो सम्बन्ध बन्नसक्थ्यो, जनताको मनमा लोकतन्त्रको छाप पार्न सकिन्थ्यो। जनताले हाम्रा लागि लोकतान्त्रिक राज्य छ भन्थे। यो भनेको एकता र राष्ट्रियता बलियो पार्ने मौका पनि थियो। नाकावन्दी र कालोबजारी अन्त गर्दै सुसुप्त र कालाम्मे अराजक बन्दै गएको अर्थतन्त्रमा जीवन सञ्चार गर्न सकिन्थ्यो। कसलाई चासो छ र?
सरकार र प्रशासन चुक्यो, अवसर गुम्यो। सामाजिक न्याय, लोकतन्त्रको विशेषता मर्‍यो। जनतामा नकारात्मक भावनाको बृद्ध हुनगयो। राजनीति र सुशासनमा कलंक लाग्यो। जनताको मनमा प्रशासन भनेको पैसा नदिई काम नहुने र सरकार भनेको भाषण रहेछ भन्नै पर्‍यो। यस्तो भाषण सरकार लोकतन्त्रको भारमात्र हो।
भाषण पनि कस्तो– १५ घण्टा लोडसेडिङ भइरहेछ, एकैवर्षमा लोडसेडिङ मुक्त गराइदिन्छु। आधा सिलिण्डर ग्याँस लिन ३ दिन चौरमै सुतेकी सुत्केरीलाई बालाजु प्रहरीले निर्घात पिटेको दृश्य नदेख्ने प्रधानमन्त्री भन्छन्– अव साइकलमा, कााधमा सिलिण्डर बोकेर हिड्नु पर्दैन, घरघरमै ग्याँसको पाइप जोडिदिन्छु। यिनै सत्ताधारी नेताहरु साइकल चढेर मितव्ययिताका फोटो सेसन गर्छन् र एकैछिनपछि पजेरो चढेर हुइँकिन्छन्। ५ महिनादेखि मधेसी मोर्चासँग वार्ता गरिरहेका छन्, कहिल्यै वार्ताको निष्कर्ष निकाल्दैनन् र भन्छन्– छिटै नाका खुल्छ, हप्ता दिनमा खुल्छ, आजभोली नै खुल्छ। नखुले सहिन्न। भारत नम्बरी दुश्मन हो भनेको भोलिपल्टै प्रधानमन्त्री भारत भ्रमण जान तैयार हुन्छन्। बजार, उद्योग, लेनदेन सबै कालो न कालो भइसक्यो, सरकार सुकिलो बनेर हिडिरहेको छ। यस्तो सुकिलो, के सुकिलो?
भनिन्छ, साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ। सरकार त्यही गोरुजस्तै लाग्न थाल्यो, जो राजस्व लुटेर मिठो खान्छ र मिठो मिठो भाषण गरेर सपना बााड्छ।
ओलीजी, उखान टुक्का र सपना बाँडेर देश बन्ने भए उहिल्यै एमाओवादीले स्वर्ग बनाइसक्थ्यो, एमालेलाई मौका दिन्थ्यो र ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक