20160504

‘सौ सौ चुहा खा के बिल्ली हजको चली’ भन्ने चर्चित हिन्दी उक्तिको चरितार्थ गराउँदै कमल नामक थापा लोकतान्त्रिक गणतन्त्रवादी बनेका छन् ।

जनवादी क्रान्तिको सपना देखाउँदै बाबुराम–प्रचण्डले एकथरि मानिसलाई जसरी उल्लू बनाए, कमल थापाले राजतन्त्र र हिन्दूराष्ट्र पक्षधरहरूलाई त्यसैगरी उल्लू बनाए !

Dev dai:: देवप्रकाश त्रिपाठी ::
संविधानसभाद्वारा संविधान निर्माणको विषयमा बहस प्रारम्भ हुँदा या संविधानसभाद्वारा संविधान जारी हुँदै गर्दा त्यस्तो संविधानको प्रवक्ता या व्याख्याता कुनै दिन कमल थापा बन्लान् भन्ने सोचिएको विषय होइन, संविधान जारी भएपछि हामी नेपाली सोही असोचनीय परिस्थिति व्यहोर्दै छौँ । सक्रिय राजतन्त्रसहित निर्दलीय पञ्चायती व्यवस्थाका व्याख्याता–प्रवक्ता रहिसकेका, ०५९ र ०६१ सालमा तात्कालिक राजाबाट चालिएको कदमको स्वागतकर्ता, समर्थक र ठेकेदारी प्राप्त अभियन्ता कमल थापाबाट हामीले सङ्घीय लोकतान्त्रिक, गणतन्त्रात्मक, धर्मनिरपेक्ष संविधानको व्याख्यान सुन्नु परिरहेको छ । राजतन्त्र पुनस्र्थापना, हिन्दूराष्ट्र र एकात्मक पद्धतिलाई प्रमुख राजनीतिक एजेन्डा बनाएर राप्रपा नेपाल नामक राजनीतिक दलका रूपमा दोकान खोल्ने कमल थापा
यति चाँडै निर्लज्ज ढङ्गले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष संविधानको प्रवक्ता र व्याख्यातामा रूपान्तरित हुने ठानिएको थिएन । कुन्नि कति वर्ष हिंसात्मक र अन्य आकारप्रकारका सङ्घर्ष गर्दै आएका दल तथा तिनका नेताहरूले संविधानसभाद्वारा जारी संविधान रक्षा र व्याख्याको जिम्मेवारी कमल थापालाई सुम्पने अनुमान पनि कुनै नेपालीले गरेका थिएनन् । कसैले नसोचेको, कल्पना र आशा नगरेको नियति हामी यतिबेला व्यहोर्दै छौँ । ‘सौ सौ चुहा खा के बिल्ली हजको चली’ भन्ने चर्चित हिन्दी उक्तिको चरितार्थ गराउँदै कमल नामक थापा लोकतान्त्रिक गणतन्त्रवादी बनेका छन् ।
जसले दशकौँदेखि लोकतन्त्रप्राप्तिको लडाइँमा आफूलाई समर्पित गर्दै आएका छन्, जसले गणतन्त्र र धर्मनिरपेक्षताको वकालत गर्दै आएका थिए र जो सङ्घीयताको पक्षमा उभिएका छन्, तिनलाई कैयन माइल पछि पार्दै कमल थापा धर्मनिरपेक्षतासहितको सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका हिमायती बनेका छन् । महान् क्रान्तिकारी प्रचण्ड र आफूलाई प्रजातान्त्रिक वामपन्थी बनेको दाबी गर्ने खड्गप्रसाद ओलीहरू कमल थापाका व्याख्यानमा मग्नमस्त छन्, आफूहरूबाट हुन नसकेको र नसक्ने काम गरेकोमा सम्भवत: उनीहरू कमल थापाप्रति कृतकृतज्ञ बनेका छन् । प्रचण्ड र खड्गप्रसादहरूले कुनै सभा–समारोहमा उभिएर वर्तमान संविधानलाई उत्कृष्ट दाबी गर्न सकिरहेका छैनन् । प्रचण्डहरूले संविधानप्रति आलोचनात्मक समर्थन रहेको धारणा प्रकट गरिसकेका छन् भने खड्गप्रसाद ओली वर्तमान संविधानलाई उत्कृष्ट सङ्ज्ञा दिनुअघि ‘पल्याकपुलुक हेर्ने’ गर्छन् । भरसक कुरा बुझ्ने मानिस नभएको मौका पारेर मात्र ओलीले संविधानलाई ‘उत्कृष्ट’ भन्ने गरेका छन् ।
नेपालको हितैषी, सहयोगी या शुभचिन्तक राष्ट्रका प्रतिनिधिसामु उपस्थित हुनुपर्दा प्रचण्ड र खड्गप्रसादहरू ‘संविधानमा भएका त्रुटि र कमी सच्याउँदै संशोधनमार्फत यसलाई राम्रो र बहुस्वीकार्य संविधानमा रूपान्तरित गर्न सकिन्छ भन्ने गर्दछन् । तर, अर्कै राजनीतिक उपग्रहका कमल थापा भने विश्वकै उत्कृष्ट संविधान बनाएको दाबी गर्दै देश–विदेश चहारिरहेका छन् । संविधानका अन्तर्वस्तुले विद्यमान संविधान उत्कृष्ट प्रमाणित गर्दैन, बरु संविधानको रूपमा बनेको र २०७३ असोज ३ गते जारी भएको यो दस्तावेजले देशको शान्ति, स्थिरता र विकासको नियोजन गर्ने तत्त्वगुण अङ्गीकार गरेको छ । विदेशी र अल्पसङ्ख्यकलाई खुसी तुल्याउन रचना गरिएको यो संविधानले बहुसङ्ख्यक नेपालीलाई उपेक्षा गरेको छ । स्थायी विवाद र झमेलाका पर्याप्त स्रोत रहेको संविधानलाई कमल थापाले ‘उत्कृष्ट’ संज्ञा दिँँदा यी थापालाई जान्ने–बुझ्ने सबैले ‘राजनीतिक ठग’ भनिदिने हुन् कि भन्ने चिन्ता पनि थपिएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा आयोजित मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित भएर कमल थापाले ‘विश्वको उत्कृष्ट संविधान बनाएको’ बताउँदा सम्मेलनका सहभागी मात्र होइन आमनेपाली जनतासमेत स्तब्ध भएका थिए । अब ब्रिटेन र अमेरिकालाई संविधानका पक्षमा ‘काउन्सिलिङ’ गर्ने ठेक्कासमेत यिनै थापाले पाएको देखियो । ब्रिटेन र अमेरिका पुगेर ‘संविधानबारे उत्पन्न भ्रम’ हटाउने प्रयास यिनले जसरी गरे, यसले कमल थापा माओवादीभन्दा क्रान्तिकारी, एमालेभन्दा राष्ट्रवादी र कांग्रेसभन्दा प्रजातन्त्रवादी बनेको अर्को भ्रम पैदा भएको छ । राजनीतिमा निष्ठा, इमानदारी, सिद्धान्त, विचार, दर्शन र मूल्य हुनुपर्छ भन्ने स्थापित मान्यतालाई चुनौती दिँदै अवसरवादको विश्वस्तरीय दृष्टान्त यी थापा बनेको महसुस आमनेपालीले गरेका छन् । यी तिनै थापा हुन् जसले एक समय सक्रिय राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाको पक्षमा जनमत बनाउने ठेक्का पाएका थिए । यी तिनै व्यक्ति हुन् जसले अस्ति भर्खर ०६१ सालमा राजाबाट चालिएको गैरप्रजातान्त्रिक कदमका पक्षमा वकालत गर्ने र शाही शासनलाई रक्षा गर्ने ठेकेदारी लिएका थिए । ठेकेदारीको पनि मूल्य, मान्यता र सीमा हुन्छन्, घर निर्माण गर्ने ठेकेदारले सडक निर्माणको ‘टेन्डर बिड’ गर्दैनन् र खाद्यान्न आपूर्ति गर्ने ठेकेदारले नहर निर्माणको ठेक्का लिन खोज्दैनन् । तर, कमल थापा हरेकको ठेक्का लिन अग्रसर हुन्छन्, यो अर्कै पक्ष हो कि उनले जसको पक्षमा ठेकेदारी गर्छन् त्यसको चकनाचुर हुने गर्दछ ।
पञ्चायती व्यवस्थाको ठेकेदारी धेरैले लिए, अरूले ठेक्कापट्टा लिइन्जेल कुनै न कुनै रूपमा पञ्चायत चलिरह्यो, कमल थापाले ठेक्का लिएपछि २०४६ सालमा पञ्चायती व्यवस्थासहित सक्रिय राजाको शासन गल्र्यामगुर्लुम ढल्यो । पछि पूर्ण संसदीय प्रजातान्त्रिक शासनकालमा कमल थापा ‘मुसा’ विशेषणबाट चिनिन्थे र यिनले जुन सरकारको पक्ष लिन्थे त्यही सरकार ढल्थ्यो । २०६१ सालमा शाही कदममार्फत स्थापित निरङ्कुशताको ठेकेदारी लिएपछि वर्ष दिन पुग्दा–नपुग्दै शाही शासन ढल्यो र गणतन्त्र घोषणासम्म हुन पुग्यो । कमल थापाले हिन्दूराष्ट्रको मुद्दा उठाएपछि हिन्दूराष्ट्रको पहिचान गायव भएर धर्मनिरपेक्ष नेपाल बनेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको धर्मनिरपेक्ष संविधान रक्षाको ‘ठेक्का पाएका’ कमल थापाले अब कति समय यसको रक्षा गर्न सक्ने हुन् यो जिज्ञासा र प्रतीक्षाको विषय भएको छ ।
नेपाललाई हिन्दूराष्ट्रको पहिचान दिनु उचित हो या होइन यो बहस–छलफलको विषय बन्नसक्छ । नेपालमा राजसंस्थाको औचित्य अझै छ या समाप्त भइसक्यो भन्ने विषयमा पनि छलफल हुनसक्ला । कमल थापाले ‘हिन्दूराष्ट्र’ र राजाकै नाममा आजको राजनीतिक हैसियत प्राप्त गरेका हुन्, तर अहिले राजसंस्था’ र ‘हिन्दूराष्ट्र’ पुनस्र्थापना होला कि भन्ने चिन्ता यिनमा बढेको आभास हुँदै छ । राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापित हुँदा आफ्नो एजेण्डा समाप्त हुने र एजेण्डासँगै राप्रपा नेपाल र आफू स्वयम्को औचित्य र हैसियत विघटन हुने कुराले सम्भवत: यी थापालाई पिरोलेको छ । त्यसैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष संविधानको रक्षा कमल थापाको प्राथमिकतामा परेको देखिँदै छ, उनको संसार दौडाहा वर्तमान संविधान रक्षाकै निम्ति भएको महसुस गरिँदै छ ।
नेपाली राजनीति मूल्य–मान्यताविहीन छ र यो देशमुखी नभई सत्तामुखी छ भन्न कमल थापाले फराकिलो ग्राउन्ड तयार गरिदिएका छन् । रसियाली क्रान्तिकालमा रासपुटिन नामक नेताले जसरी जारशाहीलाई सघाएका थिए नेपालमा कमल थापा रासपुटिनको भूमिकामा देखापरे । रासपुटिनले कम्युनिस्ट पार्टीको नेताको हैसियत प्राप्त गरिरहँदा उनी जारशाहीको सेवक भूमिका निर्वाह गर्दै थिए, कमल थापाले राजा र हिन्दूको एजेण्डा कानमा सिउरिएर धर्मनिरपेक्षता र गणतन्त्रवादीहरूको सेवा गरेका छन् । गत वर्ष बलजफ्ती संविधान जारी गर्न भएको प्रयासमा कमल थापाले आफ्नो गच्छेअनुसारको अड्चन पैदा गर्ने ठानिएको थियो । राप्रपा नेपालले संविधानसभा बहिष्कार गरेर संविधानको वैधतामाथि प्रश्न उठ्ने स्थिति बनाउला भनी गरिएको अनुमानविपरीत उक्त समूहले संविधान जारी गर्न माओवादीलगायतलाई सघाउँदा गाई चिह्नमा छाप ठोक्नेहरू स्तब्ध भएका थिए ।
अहिले कांग्रेस–कम्युनिस्टले नै संविधानप्रति पुनर्विचार गर्नुपर्ने स्तरको समर्थन र पक्षपोषण गरेर कमल थापाले सबैलाई स्तब्ध र चकित पारेका छन् । पार्टीको घोषित एजेण्डाअनुरूप क्रियाशील मन्त्रिमण्डलमा सहभागी आफ्नो समूहका एक नेतालाई ‘पार्टी लाइन फलो गरेको’ अभियोगमा ‘अनुशासनको कारबाही’ गरेर पनि कमल थापाले आफू खाँटी गणतन्त्रवादी, धर्मनिरपेक्षता र सङ्घीयताको पक्षपाति भएको सन्देश दिएका हुन् । उनी यतिबेला संविधानप्रति यसरी ममता दर्शाउँदै छन् कि विद्यमान संविधान कांग्रेस–कम्युनिस्ट अगुवाइको कुनै संविधानसभाले निर्माण गरेको नभई कमल थापा एक्लैको प्रयासमा बनेको सन्देश प्रवाहित हुन खोज्दै छ । जनवादी क्रान्तिको सपना देखाउँदै बाबुराम–प्रचण्डले एकथरि मानिसलाई जसरी उल्लू बनाए, कमल थापाले राजतन्त्र र हिन्दूराष्ट्र पक्षधरहरूलाई त्यसैगरी उल्लू बनाएका छन् । कथंकदाचित ‘हिन्दूराष्ट्र’ र राजसंस्थाको पुनर्वहाली भइहालेछ भने कमल थापाहरू गणतन्त्र र धर्मनिरपेक्षताकै पक्षमा उभिएलान् या रातारात रङ परिवर्तन गर्लान्, एउटा वितृष्णायोग्य पटाक्षेपको प्रतीक्षा गर्नुपर्ने भएको छ ।

 ***
फेसबुकमा अहिले यस्ता चिजहरु पनि ब्याप्त भेटिन थाले !






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक