20160528

आफू देश बचाउन मियोको भूमिका पूरा गर्न तयार रहेको घोषणा गरे पूर्वराजा ज्ञानेन्द्र शाहले !

"राजतन्त्रको अन्त गरी मुलुक गणतन्त्रमा गएको एक दशक पुग्न लाग्दा पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन् । १२ बर्षमा खोलो फर्किन्छ भनेझैं उनले नवौं गणतन्त्र दिवसका दिन देश असफल भइसकेको ठहर गरेका छन् । र, आफू देश बचाउन मियोको भूमिका पूरा गर्न तयार रहेको घोषणा गरेका छन् । उनले आमूल परिवर्तनको नारामा खडा गरिएको नेपालभित्रको परिवर्तित सन्दर्भ अहिले आम मूल्यांकनको विषय बनेको बताएका छन् । देशका विभिन्न भूभाग र धर्मस्थलको यात्रा क्रममा देखेको–सुनेको कुराबाट देश निरन्तर जर्जर हुँदैछ र देशवासीहरू निरन्तर धर्मरमा पर्दै गएका छन्, उनले भनेका छन्, राष्ट्रको विद्यमान असफल अवस्था अन्त्य गर्न अन्तत: नेपाली जनता नै जागरुक हुनुपर्छ ।"

अन्नपूर्ण पोष्ट दैनिकसँग कुरा गर्दै पूर्वराजा शाह भन्छन्– आमूल परिवर्तनको नारामा खडा गरिएको नेपालभित्रको परिवर्तित सन्दर्भ अहिले आम मूल्यांकनको विषय बनेको छ । जनता नै सर्वोपरि हुन्– लोकसम्मति नै राष्ट्रियता, प्रजातन्त्र र समृद्धिको आधारस्तम्भ हो भन्ने नेपाली राजसंस्थाको ऐतिहासिक परम्परा र सनातनी प्रचलन हो । सुदृढ राष्ट्रियता– राष्ट्रको अखण्डता– राष्ट्रको अटल सुरक्षा तथा समावेशी प्रजातन्त्र र समन्वयकारी– सामाजिक एकता नै नेपाली राजसंस्थाको वैभव हो । परम्पराको त्यही राष्ट्रिय धर्म निर्वाह गर्दै आजभन्दा १० वर्षअघि मैले आफ्नो विरासतबाट विश्राम लिएको हुँ र अग्रगतिका निमित्त मार्गप्रशस्त गरिदिएको हुँ ।
परिवर्तनपछि बितेका १०–११ वर्षभित्र हुनुपर्ने कुरा केकति भए र नहुनुपर्ने तमासा, बितन्डा र विडम्बना केके भए ? नेपाली जनतामा त्यसको हेक्का हुनैपर्छ । समय, परिस्थिति, नियति र घटनाविधिले मान्छेको जीवनक्रममा पनि आरोहअवरोह आउँछन्– घामछाया पर्छन् । दशरथपुत्र रामले पनि बनबास जानुपर्‌यो र असम्भव सुनौला मृगको छलका पछि दौडिनुपर्‌यो, लंका प्रवासमा पुग्नुपर्‌यो । तर अन्त्यमा भगवान् रामचन्द्रले लंकामा विभीषण र लक्ष्मणको प्रस्तावलाई दुत्कार्दै भनेका थिए– सुनैसुनको राज्य भए पनि लंका मेरा लागि प्रिय छैन– म आफ्नै अयोध्या फर्कन्छु । मलाई मेरै अयोध्या स्वर्गभन्दा महान् छ । हो, हामीले पनि हाम्रो जीवनमा आफ्नो मातृभूमिप्रति त्यस्तै महानतम् भावना राख्नुपर्छ । हामी सबैमा त्यस्तै राष्ट्रप्रेम हुनुपर्छ ।
देशका विभिन्न भूभाग र धर्मस्थलको यात्रा क्रममा देखेको–सुनेको कुराबाट मैले अनुभव गरेको विषय हो– देश निरन्तर जर्जर हुँदैछ र देशवासीहरू निरन्तर धर्मरमा पर्दै गएका छन् । लोकतन्त्रले लोकको हित गर्नुपर्छ, जनताको जीउधनको सुरक्षा गर्नुपर्छ, समाजमा शान्ति र समृद्धिको स्थिति बनाउनुपर्छ अनि साँचो प्रजातन्त्रको आडमा सबै वर्ग, समुदाय र सिंगो राष्ट्रलाई समेटेर अघि बढ्नुपर्छ । तर ती सब राष्ट्रिय आदर्श आज किन भताभुंग हुँदैछन् ? प्रश्न सबैतिर यही छ ।
समय, परिस्थिति, नियति र घटना विधिले मान्छेको जीवनक्रममा पनि आरोहअवरोह आउँछन् । मलाई संविधानको होइन, राष्ट्रको विकट अवस्थाको चिन्ता छ ।जुनसुकै हैसियतमा पनि म जन्मभूमिलाई कर्मभूमि ठान्छु ।
राष्ट्र रहे हामी रहन्छौं र हामी ठीक ठाउँमा, ठीक ढंगले रहे राष्ट्र रहन्छ । त्यसैले राष्ट्र बचाउन, राष्ट्रियताको संवद्र्धन गर्न र सबै राष्ट्रवादीको दुःखदर्द हटाउन दूरदर्शी दृष्टि चाहिन्छ । सही, स्वच्छ र समन्वयकारी नेतृत्व चाहिन्छ । सबैको सर्वमान्य दरो मियो चाहिन्छ । जनताको आशा, भरोसा र आस्थाको पर्खाल उसै भत्काएर हुँदैन– त्यसमा जनताको अन्तर्मनको ज्ञान पनि बुझ्नुपर्छ । नेपाली जनताको मन कताकता यस्तैयस्तै कुराले आज खिन्न र खण्डित बन्दै गएको मेरो अनुभव छ । राष्ट्रिय गतिविधि निरन्तर ऊध्र्वगामी हुनुपर्छ– अधोगामी होइन । यसका निमित्त निरन्तर निश्चित गतिमा राष्ट्रिय विधिविधानको सञ्चालन हुनुपर्छ ।
तर प्रश्न उठेको छ– त्यो स्थिति आज किन अवरुद्ध छ ? बितेका १०–११ वर्षमा केकस्ता, केकति सरकार आए ? राष्ट्रको गहनतम जिम्मेवारी बहन गरेकाहरूले केके भने, केके गरे– त्यो कुरा हाम्रो अघिल्तिर छर्लंग छ ।
सदा स्वतन्त्र, सदा स्वाभिमानी र सदा पौरखी राष्ट्रका रूपमा चिनिएको नेपाल अहिले यस्तो कहालीलाग्दो अवस्थामा किन र कसरी ? भन्ने प्रश्न पनि जनस्तरमा व्याप्त छ । आफ्नो तालासाँचो आफैंले बलियो पारेर आफ्नो जोडजोगाउ आफैंले गर्नुपर्छ । क्षणिक स्वार्थपूर्तिका निमित्त हामी लहैलहैमा लाग्नु हुन्न– यो नेपालीहरूको पुख्र्यौली मान्यता हो । तर त्यस्ता राष्ट्रिय मान्यता र हाम्रो राष्ट्रिय अस्मिता आज कसरी मासिँदै गएको छ– सोचनीय छ ।
सबैका कानले राम्रो सुन्न पाउनुपर्छ र सबैका आँखाले राम्रो देख्न पाउनुपर्छ । तर देशभित्र र बाहिरबाट अहिले जे सुनिन्छ र नेपालमा जे देखिन्छ, त्यो कति राम्रो छ ? यो पनि यतिखेरको गम्भीर प्रश्न हो । नेपालको आकृति अग्लो छ तर स्थिति होचो छ अनि नेपालको प्रकृति असाध्यै राम्रो छ तर परिस्थिति निकै नराम्रो छ– यस्तो अभिव्यक्ति पनि मैले सुन्ने गरेको छु । नेपालले गति पाउनुपर्छ, नेपालले आफ्नो स्वतन्त्र स्वाभिमान बढाउनुपर्छ र हिमाल–पहाड–तराई–गाउँ–सहर सबैतिर बसोबास गर्नेहरूले सुख, शान्ति र समृद्धि पाउनुपर्छ तर विद्यमान अवस्था के त्यस्तो छ ? यो यतिखेरको मूल मार्मिक प्रश्न हो ।
राष्ट्रको श्रेष्ठ नीति राजनीति हो तर हाम्रो त्यो मूल नीति आज कसरी भूलको स्थितिमा छ– सबैले बुझ्दै गएको कुरा हो । राष्ट्रको नीति मान्यता र मौलिकता सदा स्पष्ट, खुलस्त र दुरुस्त हुनुपर्छ– त्यो त्यस्तो किन छैन ? त्यो कुरामा हामी सबैको सदा सचेष्टता रहनुपर्छ ।
राष्ट्रको विद्यमान असफल अवस्था अन्त्य गर्न अन्ततः नेपाली जनता नै जागरुक हुनुपर्छ– यो मेरो अन्तस्करणको धारणा हो । परिवर्तनशील समय–प्रवाह निरन्तर प्रतिफलमुखी हुनुपर्छ, समयको छालमा बग्ने तर ठीक ढंगले वारपार गर्न नसक्दा दुर्घटना निम्तिन्छ । मुलुकले गति लेओस्– विधिविधानले निकास पाओस् र सबै क्षेत्रमा निरन्तर विकास होस् भन्ने नै हाम्रो कामना हो– हामी सबैको भावना हो । 
तर बाटो कहाँ, कसरी बिराइयो र यस्तो अलमलमा किन पारियो, हाम्रो साझा चासोको कुरा यही हो अहिले । हेरौं, देखौं, सुनौं, बुझौं र समीक्षा गर्दै जाऔं– यो हाम्रो मानवीय स्वभाव हो तर सिंगो सबल राष्ट्र– सुदृढ राष्ट्रियता– सबैलाई एकत्रित र समुन्नत पार्ने सुन्दर प्रजातान्त्रिक शासनशैली हामीलाई चाहिन्छ । हाम्रो राष्ट्रिय आवश्यकता भनेको राष्ट्र र राष्ट्रवासीको सर्वोत्तम हित नै हो ।
राष्ट्र बलियो हुनुपर्छ, राष्ट्रले निश्चित विधिविधान र सुशासन पाउनुपर्छ र यसका निमित्त कुशल ढंगले राष्ट्र सञ्चालनको सुव्यवस्थापन हुनुपर्छ । अहिले तदनुरूप केही हुन नसक्नु दुर्भाग्यपूर्ण हो । हामी कसैको छलछाम र भ्रमजालमा पर्नु हुँदैन । कोही कसैको तुच्छ स्वार्थपूर्तिका निमित्त हामीले हाम्रो अस्तित्वलाई मास्नु हुँदैन । सबै नेपाली सुखी होऊन्– सबै नेपाली एकआपसमा मिलिजुली बसून्, रमाऊन् र हाम्रो राम्रो नेपाल अझ राम्रो बनोस्– हाम्रो कामना र चाहना यतिमात्र हो ।
संविधानका सम्बन्धमा
मलाई संविधानको चिन्ता होइन, राष्ट्रको विकट अवस्थाको चिन्ता छ । राजनीति गर्न भनेर विभिन्न पात्र र चरित्रहरूले मेरो नाम प्रयोग गरेको भन्दै मेरा शुभेच्छुकहरूले स्वाभाविक जिज्ञासा पनि राखेका छन् मसँग । म कुनै दल, व्यक्ति वा चरित्रको सूक्ष्म आकार होइन, मसँग समग्र राष्ट्रको सिंगो विचार छ । म सबै नेपालीलाई समभावका साथ माथि उठाउन मियो अवश्य बन्न सक्छु तर कोही कुनै दल वा व्यक्तिविशेषलाई माथि उठाउने कडी म बन्न सक्दिनँ । मेरो हैसियत त्यो होइन । जनतालाई दिएको आश्वासनप्रति जबाफदेही बन्ने दायित्व उनीहरूको हो । 
मेरो भ्रमण जनतासँग सामीप्य बढाउन र समयसन्दर्भको आत्मबोध गराउन सफल ।म सबै नेपालीलाई समभावसाथ माथि उठाउन मियो बन्न सक्छु ।
सबैको सहभागिता हुने, सबैको अन्तस्करणको मनोभाव बुझ्ने र कसैलाई निषेध नगरी भयरहित, स्वतन्त्र, निष्पक्ष रूपमा आफ्नै राष्ट्रिय अवस्थाअनुकूल नभएको संविधानप्रति मेरो पनि असहमति हुनु स्वाभाविक हो । संविधान कसका लागि, के कुराका लागि, कस्तो विचारको र कुन प्रकारको हुनुपर्छ भन्ने कुरा सबैले ख्याल राख्नुपर्छ । जनताका प्रतिनिधिद्वारा नै जनताको हित गर्ने र मुलुकको भलो गर्ने संविधान बन्नुपर्छ तर विगतमा त्यो तोकिएको समयमा किन बन्न सकेन ?
त्यसको सही समीक्षा पनि हुनुपर्छ । हाम्रो आफ्नो राज्यव्यवस्थाको सही बाटो हामी आफैंले बनाउनुपर्छ । आफ्नै मौलिकपन हाम्रो संविधानमा झल्किनुपर्छ ।
संविधान बनाएर राष्ट्र हार्नु हुँदैन । राष्ट्रको अस्मिता मर्नु हुँदैन । विभिन्न मत, धारणा, सिद्धान्त र विचार फरक हुनु बहुलवादी राजनीति, संस्कृति र पद्धतिको स्वाभाविक विशेषता हो । तर जहाँसम्म सिंगो राष्ट्रको धारणा र मान्यताको कुरा आउँछ त्यहाँनिर सबै मान्य, समन्वयपूर्ण र सामञ्जस्यको अवस्था रहनुपर्छ । मेरो मत, मान्यता र आदर्श भनेकै त्यही सर्वसम्मत राष्ट्रियता हो । देशका सबै जातजाति, वर्ग, समुदायलाई राष्ट्रको मूलधारमा ल्याउने र सबैको समान उत्थान गर्ने समावेशी विधिविधान हामी आफैँ मिलेर बनाउन सक्नुपर्छ ।
मेरो देश भ्रमण
जुनसुकै हैसियतमा रहेबसे पनि मैले आफ्नै जन्मभूमिलाई कर्मभूमि ठान्ने मान्छे हुँ । जस्तोसुकै परिस्थितिमा पनि म देशभक्तिमा नै आशक्ति राखेर आफ्नै मातृभूमिमा रमाउने मान्छे हुँ । आम नेपालीको दुःखसुख नै मेरो दुःखसुख हो । गर्वका साथ स्वाभिमानी स्वतन्त्र नेपाली भएर बाँच्ने र नेपालीत्वको दृष्टि बोकेर अघि बढ्न खोज्ने मेरो नानीदेखिको बानी हो । मलाई लाग्छ धेरैधेरै वीर पौरखी नेपालीहरू यही मान्यता राख्छन् । हिमाल, पहाड र तराईका विभिन्न भूभागको भ्रमण गर्ने त्यहाँका धर्मस्थलहरूमा पुगेर देवदेवीको दर्शन गर्ने तथा जनमनोभावना बुझ्दै समाजका विभिन्न वर्ग र समुदायका व्यक्तिविशेषसँग भेटघाट गर्ने नै मेरो देश भ्रमणको उद्देश्य हो ।
जनताको मन, मर्म बुझ्न एवं जनताका माझ जान मलाई कुनै निश्चित समय र अवसर चाहिँदैन । एक देशभक्त व्यक्तित्वको हैसियतमा जतिखेर पनि म जनतासँग नजिक रहन चाहन्छु । देशमा विभिन्न भूभाग र मठमन्दिरका द्वारहरू मेरानिम्ति सधैं खुला छन् । नेपाली जनतासँग सामीप्य बढाउने र समय सन्दर्भको आत्मबोध गर्ने काममा मेरो यस्तो भ्रमण फलदायी रहेको मैले अनुभव गरेको छु । मेरो देश भ्रमण बिल्कुल राजनीतिसँग लक्षित छैन, मलाई त्यस्तो राजनीति गर्नु पनि परेको छैन । मेरो भ्रमणको आशय कुण्ठित नेपाली समाज र समयसापेक्ष राष्ट्रिय सवालसँग गाँसिएको छ । यसलाई मैले पवित्र धार्मिक, विशुद्ध सामाजिक एवं राष्ट्रिय चिन्तनका रूपमा लिने गरेको छु ।
अब के ?
आजका अनेकौं पीडा, जर्जरता– व्यथा, वेदना र संकटग्रस्त तथा अन्योलग्रस्त अवस्थामा– हामीले निर्वाह गर्नुपर्ने राष्ट्रिय दायित्व के हो ? हामीले के गर्ने हो र हाम्रो गन्तव्य के हो ? यसबारेमा पनि हाम्रो स्पष्ट सोचाइ हुनुपर्छ । हामी पहिले नेपाली बनौं– नेपाललाई नै हामीले पहिले आफ्नो हृदयकेन्द्र बनाउनुपर्छ । हाम्रो देश नेपाल रह्यो भने नै हामीले ढुक्क भएर ‘हामी नेपाली’ भन्न सक्छौं । राष्ट्रियता– हाम्रा पितापुर्खादेखिको हाम्रो सम्पत्ति हो । हामीले त्यही नेपाली राष्ट्रियताको चुरो समातेर अघि बढ्नुपर्छ । आफ्नो जन्मभूमि नेपाललाई माया गर्ने त्यसप्रकारको सबल राष्ट्रियतालाई समात्दै हामीले हाम्रो सुदृढ राष्ट्रिय एकतामा जोड दिनुपर्छ । विभिन्न जातजाति, वर्ग, समुदाय, क्षेत्र, धर्मसंस्कृति, भाषाभेषका हामी सबै नेपाली त्यसप्रकारको राष्ट्रियतामा आबद्ध भएर एक ढिक्का हुन सक्यौं भने हाम्रो स्वतन्त्र स्वाभिमानी अस्तित्वमा कसैले आँच पुर्‌याउन सक्दैन ।
सुदृढ राष्ट्रियता र सबल एकतापछि हाम्रो निमित्त अर्को आवश्यक विषय हो– हाम्रो शान्ति र हाम्रो सुरक्षा । हामी सबै हाँसीखुसी बसौं, बाँचौं । हामी कोहीलाई अशान्ति र असुरक्षाले चिन्तित नपारोस् । हामी निर्भय भएर बाँचौं । परस्परमा नेपालीत्वको नाता बोकेर बाँचौं । नेपालीत्वको पहिचान हामीले हरहालतमा राख्नैपर्छ– हामीलाई फुटाएर, हामीलाई हाम्रो अस्तित्वबाट गिराएर र हाम्रो आफ्नो मौलिकताबाट हटाएर कोही अरूले आफ्नो कुत्सित लक्ष्य पूरा गर्न खोज्छ भने त्यसको प्रतिकार गर्न सक्नुपर्छ ।
विकास हामीलाई चाहिएको हाम्रो सर्वाधिक महत्त्वपूर्ण कुरा हो । विनाशका अनेकौं छिद्रहरूलाई टाल्दै हामीले राष्ट्रको विकासको गति अघि बढाउनुपर्छ । हामीले हाम्रो प्राकृतिक स्रोतसाधन एवं परम्परागत सीपको प्रयोग र उपयोग गरेर हाम्रो विकासलाई निरन्तरता दिनुपर्छ । नेपालको स्रोतसाधनमा आधारित हाम्रो विकास हामी नेपालीले नै खोजेको र रोजेको विषयमा केन्द्रित हुनुपर्छ । 
त्यसैगरी हाम्रो विकास गरिबी हटाउने– रोजगारी बढाउने र परावलम्बी अर्थतन्त्रबाट आफ्नो खुट्टामा उभिने खालको हुनुपर्छ । देशमा उद्योगधन्दा खुलून्– त्यसबाट हाम्रो आवश्यकताको परिपूर्ति होस् र हाम्रो अर्थतन्त्रमा टेवा पुगोस् भन्ने कुराको हेक्का हामीले राख्नैपर्छ । जल, जमिन, बन, जडीबुटी तथा खनिज स्रोतका अपार साधन भएको हाम्रो देशमा हामीले तिनै कुराको विकासमा आफ्नो जनशक्ति लगाउन सक्नुपर्छ । आत्मनिर्भर अर्थतन्त्रका निमित्त हाम्रो जोड रहनुपर्छ– सदा स्वतन्त्र, शान्त, सुन्दर र साहसको परिचय दिएर विश्व मानचित्रमा नाम कमाएको देश नेपाल– आर्थिक रूपले पनि सबल हुन सक्नुपर्छ । यसका निमित्त हामीले देशी –विदेशी लगानीको राम्रो संयोजन गर्न सक्नुपर्छ ।
शान्ति, विकास र समृद्धिका निमित्त तथा आफ्नो गौरवशाली इतिहासको निरन्तरताका निमित्त हाम्रो राजनीति, हाम्रो गृहनीति र हाम्रो कूटनीति स्पष्ट, खुलस्त र दुरुस्त बनाउनु सक्नुपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, बाटोघाटो, सिँचाइ, बन, जडीबुटी, पर्यटनजस्ता विविध क्षेत्रको विकासका निमित्त हाम्रा अघिल्तिर प्रचुर सम्भावनाहरू छन् । ती सब कुराको विकासका निमित्त पनि हाम्रो राजनीतिक पद्धति र हाम्रो योजनाबद्ध गतिविधिबीच सामञ्जस्य हुनु अति आवश्यक छ ।
यी सबैका लागि मुलुकमा सही, स्वच्छ राजनीति, स्थिर, स्वस्थ सरकार आजको आवश्यकता हो । विगतका अनेक अन्योल र अल्मललाई चिर्दै अब हामीले अँगालेको विधिविधानको निश्चित राजनीतिक शासकीय मार्ग स्पष्ट गर्नुपर्छ । के गर्दा हामी सही ठाउँमा पुग्छौं र हामीले पुग्नुपर्ने वास्तविक ठाउँ कुन हो ? हाम्रो स्पष्टता र दूरदर्शी दृष्टिकोण हुनुपर्छ । हतारमा र अहिले कोहीकसैको लहैलहैको लहरमा नपरी, भोलि पछुताउनु नपर्ने गरी, हामीले हामी सबैखाले शक्तिको संयोजनमा हाम्रो मार्ग निर्धारण– हाम्रो आफ्नै स्वविवेक र पारखबाट गरिनुपर्छ ।
युवाशक्ति नै राष्ट्रको त्यो मूल शक्ति हो जसबाट राष्ट्रको समृद्धिका लागि विशिष्ट योगदान हुनसक्छ । तर हाम्रो त्यो होनहार युवा जनशक्ति आज बिदेसिन बाध्य छ । रोजगारी, इलम र कामधन्दाका लागि विश्वका विभिन्न देशमा पलायन भएको छ । राष्ट्र निर्माणका खम्बा युवा समुदायलाई विदेश जान रोक्ने र गएकाहरूलाई फर्काउने अनि उनीहरूलाई स्वदेशमै रोजगारीका व्यापक अवसरहरू सिर्जना गर्नेतर्फ राज्यको गहन ध्यान जानु आवश्यक छ ।
आधाभन्दा पनि बढी संख्यामा रहेका हाम्रा महिला समुदाय अझै पनि विभिन्न बदनाम, अपहेलना र लाञ्छनाको भागी बन्ने अवस्था रहनु विडम्बनापूर्ण कुरा हो । महिला हिंसा, महिलामाथि हुने विभेद एवं पक्षपातको अन्त्य गरी उनीहरूलाई उपयुक्त शिक्षा, सीप र इलमका काममा संलग्न गराउनु जरुरी छ । त्यसैगरी समाजका अल्पसंख्यक समुदायको जीवनस्तरलाई माथि उठाउन पनि राज्यले विशेष पहल गर्नुपर्ने आवश्यकता हाम्रो अगाडि टड्कारो देखिन्छ ।
अन्त्यमा नेपाल अखण्डित रहोस्– स्वाधीन रहोस्– हिमाल, पहाड र तराई कतैका पनि कोही राष्ट्रिय भावधाराबाट वञ्चित नहोऊन् भन्ने कुराको ख्याल हामीले राख्नैपर्छ ।
(पूर्वराजा ज्ञानेन्द्र शाहसँग दमकस्थित हिमालय टी गार्डेनमा युवराज घिमिरेले गरेको साक्षात्कारमा आधारित)
- annapurnapost

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक