(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20161018

कूटनीतिको भुमरीमा प्रधानमन्त्री दाहालको कथनी र करनी


- राजकुमार रेग्मी

प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा हुन् उनका स्वकीय सचिव प्रकाश दाहाल । यी बाबुछोरा हालै औपचारिक सरकारी भ्रमणमा भारतको गोवा गएका थिए । गोवामा जेजे भयो, त्यस आधारमा स्वदेश फर्कनासाथ प्रकाश दाहालको स्वकीय सचिव पदको जागिर जानुपर्ने हो । अलि संवेदनशील प्रधानमन्त्री थिए भने गोवाबाटै प्रकाशलाई पुष्पकमलले जागिरबाट बर्खास्त गर्दै स्वदेश
फर्काइदिन्थे होलान् ।
प्रकाशले प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा चीनका राष्ट्रपति सि जिनपिङको त्रिपक्षीय भेटबारे एउटा यस्तो खबर बाहिर ल्याए जसले ठूलो तरंग ल्यायो । अचानक भएको भनिएको सो भेटमा आफ्ना पिता प्रधानमन्त्रीले नेपाल–भारत–चीन त्रिदेशीय सहकार्यको प्रस्ताव राखेको र सो प्रस्तावलाई भारत र चीनका दुवै नेताले स्वीकार गरेको कुरा प्रकाशले सार्वजनिक गरे ।
बडो स्वादिलो र खँदिलो कुरा थियो यो ! यो खबरले एकथरी नेपालीलाई निकै उत्साहित तुल्याइदियो । तर, त्रिदेशीय सहकार्य असाध्यै जटिल अन्तराष्ट्रिय विषय हो भन्ने ती उत्साहि महानुभावहरुले हेक्का राखेनन् । त्रिदेशीय सहकार्य नगर्ने पक्षमा भारत रहेकोे तथ्य पनि उनीहरुले बिर्सिए । चीनले नेपाललाई सडक र रेल सञ्जालले जोड्यो भने त्रिदेशीय सहकार्यको बाध्यात्मक बातावरण बन्छ भन्ने बुझेको भारतले चीनसँग सहकार्य गर्न नदिन नेपाललाई छिर्के लगाएर पछारेको दृष्य पनि तिनले बिर्सिए ।
सबै कुरा बिर्सिएर सबैजनाले एउटा दृष्य मात्र देखे– तीन देशका सरकार प्रमुख कुराकानी गरेर बसेको । तस्विर नै बोलेपछि कसको के लाग्छ र ! तस्बिर खिचिएको थलोमा चिनियाँ राष्ट्रपति जिनपिङ र नेपालका प्रधानमन्त्री दाहालले यति मिनेट वार्ता गरेको, त्यसको यति मिनेटपछि भारतीय प्रधानमन्त्री मोदी वार्ताथलोमा प्रवेश गरेको, थलोमा ‘अचानक’ भेट भएपछि तीन नेताबीच यस्तायस्ता कुरा भएको भन्ने गुलियो बान्कीको खबर पुत्र प्रकाशले सार्वजनिक गरे ।
तर, खण्डन
तीन नेताको सो भेट औचपचारिक थिएन र भेटमा त्रिदेशीय सहकार्यको सहमति भएको थिएन भनेर भारतीय विदेश मन्त्रालयले खण्डन ग-यो । खण्डन निकै कडा थियो । कडा खण्डनको आवश्यकता यसकारण थियो कि त्रिदेशीय सहकार्य मात्र होइन, दक्षिण एसियाका कुनै पनि मुलुकसँग चीनले सहकार्य गर्न हुँदैन भन्ने भारतको धारणा छ । यो धारणा विपरित चीन–नेपाल मिलेर भारतसँग सहकार्य गर्ने प्रस्ताव भारतका लागि कुनै हालतमा मान्य हुने विषय नै होइन । त्यसकारण भारतले तत्कालै खण्डन ग-यो ।
यसबाट (भारतको तर्फबाट) एउटा कुरा प्रष्ट भयो– तीन नेताबीच सामूहिक भेट भएको हो तर त्रिदेशीय सहकार्यको कुरा भएको होइन । सो भेटमा के कुरा भयो त ? त्यसको बिवरण भारत र चीनले बाहिर ल्याउन किन आवश्यक ठानेनन्, उनीहरुको विषय हो तर प्रधानमन्त्री पुत्र प्रकाशले विवरण बाहिर ल्याए । विवरण पत्याइनसक्नु थियो । जसको खण्डन भारतले गर्यो ।
(भारतको तर्फबाट) एउटा कुरा प्रष्ट भयो– तीन नेताबीच सामूहिक भेट भएको हो तर त्रिदेशीय सहकार्यको कुरा भएको होइन ।
तीन देशका कार्यकारी प्रमुखबीच भएको भेटको बिवरण गलत रुपमा एउटा देश (नेपाल)का प्रमुखको सचिवालयबाट आधिकारिक रुपमा बाहिर गयो ।
यो अवस्थामा प्रधानमन्त्री दाहालका सामु दुईटा अवस्था आयो । एक– भारतले झैं वार्ताको विवरणको खण्डन गर्ने । दुई– आफ्नो सचिवालय (छोरा) को तर्फबाट औपचारिक रुपमा बाहिर ल्याइएको बिवरणमा अडेर बस्ने ।
खण्डन गर्दा छोरा अप्ठेरोमा पर्ने, उनलाई स्वकीय सचिव पदबाटै हटाउनुपर्ने अवस्था आउने । खण्डन नगरेर अडेर बस्दा सो अनौपचारिक वार्ता सम्बन्धमा भारत र नेपालको दावी फरक देखिने । प्रधानमन्त्री दाहालले भारतको खण्डनलाई स्वीकार गर्छन् कि पुत्र प्रकाशले जारी गरेको विवरणलाई सही भन्छन् ? यो उत्सुकताको समाधान भयो उनी काठमाडौं उत्रिएपछि । उनले पुत्र प्रकाशले जारी गरेको बिवरणलाई साथ दिए । पुत्रको जागिर जोगियो ।
भारतले यो विषयमा तत्काल धेरै माथापच्ची या आपत्ति गर्ने छैन, किनभने नेपालको तर्फबाट आफ्नो विपरित धारणा सार्वजनिक भएको प्रकरणलाई उसले प्रधानमन्त्री दाहालको पुत्रमोहको समस्याका रुपमा हेर्न सक्छ । बुझिएकै कुरा हो– दाहाललाई धेरै अप्ठेरोमा पार्न चाहँदैन भारत ।
सामान्य विषय होइन
वार्ता तीन पक्षको हुने तर तीनमध्ये नेपालले यो विषयमा वार्ता भएको थियो भन्ने, भारतले त्यो विषयमा वार्ता भएको होइन भन्ने अनि तेस्रो चीन चाहिँ चुपचाप बस्ने ! विचित्र अवस्था सिर्जना भएको छ ।
त्रिदेशीय सहकार्यको विषयमा कुराकानी भएको थियो कि थिएन भन्ने अब चीनको टिप्पणीपछि मात्र यकिन गर्न सकिने भएको छ । अनुमान गर्न गाह्रो छैन– चीनले यो विषयमा टिप्पणी नै गर्ने छैन ।
प्रधानमन्त्री दाहालले भारतको खण्डनलाई स्वीकार गर्छन् कि पुत्र प्रकाशले जारी गरेको विवरणलाई सही भन्छन् ? यो उत्सुकताको समाधान भयो उनी काठमाडौं उत्रिएपछि । उनले पुत्र प्रकाशले जारी गरेको बिवरणलाई साथ दिए ।
तर, एउटा कुरा निश्चित हो– दाहालले तीन नेताको भेटमा त्रिदेशीय समझदारीको कुरा निकालेछन् । दाहाललाई थाहा छ– त्रिदेशीय सहकार्यको पक्षमा भारत छैन, नेपाललाई पनि चीनसँग सहकार्य गर्न दिने पक्षमा भारत छैन । यति कुरा थाहा हुँदाहुँदै पनि दाहालले किन त्रिदेशीय सहकार्यको कुरा उठाए ?
यसलाई दुई ढंगले बुझ्नुपर्छ –
पहिलो– नेपाल त्रिदेशीय सहकार्यको पक्षमा छ । त्रिदेशीय सहकार्यले नेपाल सहित पूरै दक्षिण एसिया लाभान्वित हुनसक्छ तर भारतको ‘छिमेक नीति’ले यस्तो सहकार्य निषेध गर्छ । राष्ट्रिय हितकै लागि दाहालले यो कुरा उठाए । अनौपचारिक कुराकानीमा उठाएको भए पनि देश–देशको सम्बन्धमा उच्च तहमा हुने कुराकानीले अर्थ राख्छ ।
दोस्रो– दाहालले ‘लीप सर्भिस’ अर्थात् बोल्नका लागि बोलिदिएका हुन् कि ? चीनसँगको व्यवहारमा नेपालले कथनी र करनीमा आकाश पातालको फरक गर्न थालेको प्रष्टै देखिन्छ । बोल्ने एकथोक गर्ने अर्काेथोक ! मुखले चिनियाँ राष्ट्रपति नेपाल आउ भन्ने, व्यवहारमा भारतको बुई चढेर म्याउँ गर्ने दाहालको शैली देखिन्छ । मोदीको आडमा बसेर ‘त्रिदेशीय सहकार्य गरौं’ भन्नुको अर्थ चीनलाई जिस्काउनु पनि हुनसक्छ ।
त्रिदेशीय सहकार्यबाट नेपालले ठूलो लाभ लिनसक्छ भन्ने प्रष्ट छ तर यसका लागि नेपाल असंलग्न हुनुपर्छ भन्ने पनि दाहालले अवश्य बुझेका होलान् । भारतको काखमा बसेर त्रिदेशीय सहकार्यको कुरा गर्नु छलकपट मात्र हो ।
त्रिदेशीय सहकार्य गर्ने हो भने पहिले दुई देशको सहकार्य हुनुपर्छ, चीनसँगको पारवहन सन्धी लगायतका विषयमा काम अगाडि बढाउन दाहाल तयार छन् ? नेपालसँग कनेक्टिभिटी बढाउने चीनको चाहना छर्लङग् भइसकेको छ, यसका लागि ठोस रुपमा अगाडि बढ्न दाहाल तयार छन् ?
साँच्चै त्रिदेशीय सहकार्यका लागि दाहालले हिम्मत गर्न सक्छन् ? सक्छन् भने उनले त्रिदेशीय सहकार्यका लागि भारत र चीनलाई ठोस प्रस्ताव पठाउनुपर्छ । सक्छन् यसो गर्न ? त्रिदेशीय सहकार्य गर्ने हो भने पहिले दुई देशको सहकार्य हुनुपर्छ, चीनसँगको पारवहन सन्धी लगायतका विषयमा काम अगाडि बढाउन दाहाल तयार छन् ? नेपालसँग कनेक्टिभिटी बढाउने चीनको चाहना छर्लङग् भइसकेको छ, यसका लागि ठोस रुपमा अगाडि बढ्न दाहाल तयार छन् ? उनी तयार बन्छन् भने मान्नैपर्ने हुन्छ– त्रिदेशीय सहकार्यको कुरा उनको मुखको कुरा मात्र होइन । नत्र, काठमाडौंमा उत्रिएर पनि भारतीय खण्डनका बावजुद त्रिदेशीय सहकार्यको वार्ता भएको थियो भन्नु पुत्रको जागिर जोगाउन गरिएको कसरत मात्र ठहर्ने छ ।
कोठाचोटाको कुरा
दाहाल र सि जिनपिङको ‘अचानक’ भएको भेट होटलको लवी थियो रे ! त्यहाँ उनले आधा घन्टा बिताए । चीनका राष्ट्रपतिले बिना काम आधा घन्टा लवीमा बस्नका लागि छुट्याएका रहेछन् ! अचम्मकै कुरा हो । त्यो लवीमा अचानक दाहाल पनि रहनु, अचानक भेट हुनु, अचानक मोदी आइपुग्नु, अचानक दाहालले त्रिदेशीय सहकार्यको कुरा उठाउनु… अचानकको यस्तो फेहरिस्त लामो हुनसक्छ । बुझ्न्पर्ने तथ्य के हो भने यो भेट अचानक थिएन ।
कोठाचोटा र लवीमा तीन देशका सरकार प्रमुख अचानक भेटिनु रमाइलो जोक्स मात्र हो तर यो रमाइलोको पृष्ठभूमि त्यसै सिर्जना भएको होइन । मोदीले दाहाललाई काखमा राखेको सन्देश र संकेत त्यसबाट गएको छ ।
यसको अर्काे पक्ष के हो भने त्यहाँ तीन देशका नेता हासो ठट्टा मात्र गरेर बसेनन् । त्यहाँ के कुरा भयो ? तीन देशका नेताबीच छलफल हुने समाचार पहिले नै बाहिर आइसकेको हो । त्यहाँ नेपालबारे कुरा भयो ?
भयो भने यो चिन्तालाग्दो विषय हो । दुई विशाल छिमेकीले नेपाली प्रधानमन्त्रीलाई उपस्थित गराएर नेपालबारे कुरा गर्छन् भने यो सामान्य विषय होइन । त्यस्तो कुराकानी कोठाचोटा या लवीमै किन नहोस्, ‘अचानक’ नै किन नहोस् । यसले नेपालको लाचार अवस्थाको प्रदर्शन गर्छ ।
अझ लाचारीको कुरा के भने प्रधानमन्त्री दाहालले यो भेटलाई अपूर्व उपलब्धी भने । दाहाल एकजना व्यक्ति मात्र होइनन्, उनी नेपाल देशका प्रधानमन्त्री हुन्, सारा नेपालीका प्रतिनिधि हुन् । विदेशमा कोठाचोटा या लवीमा कुनै देशका प्रधानमन्त्री–राष्ट्रपति ‘अचानक’ भेट हुनुलाई उनले उपलब्धी मान्न सुहाउँदैन । किनभने दाहाल स्वयं पनि सार्वभौम नेपालका प्रधानमन्त्री हुन् ।
बालबालिकाले खेलौना या पापा पाउँदा खुसी भएजस्तो, चर्चित फिल्म स्टार भेट्दा किशोरकिशोरीहरु रमाएजस्तो शैलीमा दाहालले प्रस्तुत हुन मिल्दैन । के हो ‘ढुंगा खोज्दा देउता भेटिएजस्तो’ भनेको ? कोठाचोटामा भारत–चीनका प्रमुख भेटिनु नेपाली प्रधानमन्त्रीका लागि देउता भेटिए सरह कसरी हुन्छ ? चिनियाँ राष्ट्रपति देउता हुन् भने भारतीय राष्ट्रपति चाहिँ महादेवता हुन् ? यो यति धेरै रमाउनुपर्ने विषय हो ?
विदेशमा कोठाचोटा या लवीमा कुनै देशका प्रधानमन्त्री–राष्ट्रपति ‘अचानक’ भेट हुनुलाई उनले उपलब्धी मान्न सुहाउँदैन । किनभने दाहाल स्वयं पनि सार्वभौम नेपालका प्रधानमन्त्री हुन् ।
कोठाचोटाको यो भेटबाट अर्काे अर्थ पनि लाग्छ– नेपालको बारेमा भारत र चीनले समान धारणा बनाउन प्रयास गरिरहेका छन् । भारत र चीनबीच आपसी द्वन्द्व चर्कंदै गएको भए पनि उनीहरुले नेपालबारे समान धारणा बनाउन प्रयास गर्न सक्ने प्रशस्त आधार छन् । जस्तो कि, नेपालमा अनमिन भित्रिएर नबाहिरिएसम्म नेपालबारे भारत र चीनले लगभग समान धारणा बनाएका थिए ।
आपसी द्वन्द्व भए पनि नेपालमा पश्चिमाहरुको प्रभाव रोक्न भारत र चीनले समान धारणा बनाउन सक्छन् । दुवै देशले नेपालमा स्वार्थको बाँडफाँड गर्न सक्छन् । यसो हुनु नेपालका लागि घातक हुनेछ ।
हवाई फायर
दाहालले जे उपलब्धी भयो भन्दैछन्, चिनियाँ राष्ट्रपति नेपाल ल्याउन जसरी आग्रह गरेको भनेका छन् त्यो फगत हवाई फायर मात्र हो । जसरी नेपाल र भारतको आआफ्नो स्वार्थ छ, त्यसैगरी चीनको पनि स्वार्थ छ । चीन र नेपालको स्वार्थ मिले मात्र सम्बन्ध बन्ने हो ।
– नेपालको राष्ट्रिय स्वार्थ चीनसँग कनेक्टिभिटी बढाउने हो, भारत निर्भरता घटाउने हो ।
 भारतको स्वार्थ नेपाललाई अझ कमजोर बनाउँदै आफूमा पूर्ण निर्भर बनाउने हो ।
– चीनको स्वार्थ नेपालमा दह्रो उपस्थिति जनाएर भारतीय बजारमा पहुँच बढाउने र भारतमाथि दवाब बढाउने हो ।
यी तीन स्वार्थमध्ये दाहालको रोजाई पहिलो अर्थात चीनसँग कनेक्टिभिटी बढाएर भारत निर्भरता घटाउने हुनुपर्ने हो । उनले यो राष्ट्रिय स्वार्थ परिपूर्तिका लागि त्रिदेशीय सहकार्यको कुरा उठाएका हुन् ? कि मुखले मात्र ठिक्क पारेका हुन् ?
निष्कर्षमा यसो भन्न सकिन्छ– ‘प्रधानमन्त्री दाहालले मुखले मात्र ठिक्क पारेका हुन्, नियत चाहिँ भारत निर्भर बन्दै जाने तथा चीनसँग दूरी बढाउँदै जाने हो ।’
यो निष्कर्षलाई गलत ठहराउनु प्रधानमन्त्री दाहालको दायित्व हो ।
- athaiprahar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक