20170115

मुसा आतंक

हाम्रो गाउँमा अाजकल
एउटा मुसो बिराला खेलाउंदैछ !
मुसो खेलाउने बिरालाहरु
अाफै मुसोबाट खेलाईँदैछन !
बिरालाहरुको टाउकैमा चढेर
मुसो बिरालो जस्तो
र बिराला मुसा जस्तै बनेको
गाउँले हरु टुलु टुलु हेर्न बिबश छन !
अरु त अरु
गाउँलेलाई बर्सौँ सम्म झम्टिंदै दु:ख दिएको
बन बिरालो पनि
मुसाका अँगाडी अहिले निरिह बनेको छ । 


गाउँमा बर्सौं देखी मुखिया बनेका
गाउँले मुखिया बाको
धान खेतमा पसेर परार साल
धान बाली नस्ट गरेको मुसो
मुखिया बा लाई ॠणमा डुबाएर छोड्यो
मुखिया बा का छोरा
मुसाकै आतंकका कारण
घर बारी छोडेर हिँडने भए
 मुखिया बा पछि पलाएका
छोँटे मुखियाहरुलाई पनि
उसले पोहोर सालनै गर्नु गर्‍यो
अहिले पनि टाउकोमै टेकेर
गर्नु गरिरहेको छ !
जता पनि प्वाल पार्ने
काट्ने, बिध्वँश गर्ने उसले
 धनसारको सत्यानाश गर्‍यो
मकै बारी सत्यानाश गर्‍यो
गहिरी खेत त धजै धजा पार्यो
सत्यानाश मात्र गर्न माहिर उ
सत्यानाशै सत्यानाश गर्न जन्मेको उ
 परार साल देखी पोहोर हुँदै
अहिले सम्म आइपुग्दा
उसले मुखिया बा,
जिम्माल बा देखी हली दाई सम्म
गाउँका सबै सबैलाई हैरानी पार्न छाडेको छैन
अँगाडी एउटा नाटक गर्छ
पछाडि अर्को नाटक गर्छ
मुसोको नाटक बयान गरी साध्य छैन
 मुसो कहिले अाफै बिरालाको अभिनय गर्दै
चिं चिं को सट्टा म्याउँ म्याउँ गर्न खोज्छ
मुसो भए पनि उ आफूलाई बिरालो सम्झिन्छ
कहिले लुथ्रुक्क पर्छ
कहिले चिच्च्याउँदै चिं चिं गर्छ
उ चिं चिं गर्न थाले पछि
बिचरा लुते बिरालाहरु
झनै लुते हुन्छन, काँप्न थाल्छन !
उसले जे जे भन्छ त्यो सुन्छन
पोहोर साल कोदो बारी र गहुँ बाली
सत्यानाश पार्यो !
यस पाली मकै बारीको बिजोग
उ जसको खेत बारीमा पस्यो
सबैलाई सिध्यायो !
चिं चिं गर्दा पनि बिहान एउटा दिउँसो अर्कै
साँझ झनै अनौठो चिं चिं आवाज निकाल्छ !
बन बिराला देखी घर बिराला सम्म अाजकल
मुसो भन्दा तर्सिने भएका छन !
उसैको पछि पछि गएका छन !
यो मुसो देखेर गाउँलेहरु अचम्मित छन
उत्तिकै भयभित पनि छन
किनकी गाउँलेहरुलाई थाहा छ
मुसो जता पस्यो त्यतै बिताउँछ
गाउलेहरुलाई सताउँछ
बिरालाहरुको बाटो तताउँछ !
कठै मेरो गाउँ
पहिला बन बिरालाको आतंक
कहिले घर बिरालाको आतंक
कहिले स्यालको रजाइँ
कुखुराहरुको सत्यानाश !
अहिले मुसा आतंक
आतंकै आतंक मा बाँचेको छ मेरो गाउँ !
- रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक