20170206

उमेरमा कम्युनिष्ट, छिप्पिदै गएपछि धर्मपरायण हुने परम्परा ! : हामी किन असफल गन्तव्यतिर छौं ?

- राजन कार्की
निरन्तर राजनीतिक परिवर्तन भइरहेका छन्, देश र जनताको स्वास्थ्य परिवर्तन हुनसकेन । उँभो उक्लनु पर्ने हो, उँधो अर्थात ओह्रालो, असफल गन्तव्यतिर अग्रसर छौं । के भयो यो ?
०४६ सालमा ४० दिन आन्दोलन भयो, ६९ जना मारिएपछि बहुदल आयो । त्यही बहुदल बहदलीय कालरात्रि बन्यो । ०६३ सालको १९ दिने आन्दोलनबाट राजतन्त्र फालेर गणतन्त्र ल्याइयो, प्रजातन्त्रको नाम फेरेर लोकतन्त्र राखियो, हिन्दूधर्म फेरेर धर्मनिरपेक्ष घोषणा गरियो, भयो के ? ताउमा छटपटिएको माछो आगोमा परेजस्तो भयो । ०७२ सालमा ५ महिने मधेस आन्दोलन भयो, ६ दर्जन सहिद भए, भदौ ७ गते कैलालीम दुधे बालक र ७ प्रहरीलाई बली चढाइयो, स्थिति राजनीतिक महामारीका रुपम कायमै छ, जारी भएको संविधान पनि कार्यान्वयन हुनसकेन । न त भारतसँगको चिस्सिएको सम्बन्ध नै तात्न सक्यो । यिनै कारणले गर्नैपर्ने चुनावी वातावरण झन झन धमिलिदै जाँदो छ ।
मुद्दा राष्ट्रवादको छ । सत्तामा भएका कांग्रेस, माओवादी, राप्रपा लगायतका दलहरुलाई विदेशीका सामु लम्पसारवाद भनेर आरोप लगाउने काम र क्रम चलिरहेको छ । असाध्यै राष्ट्रवादी देखिएको एमाले, महाकाली सन्धिमा सही गरेर भारतले नेपालको सूर्य पश्चिमबाट उदाइदिने भयो भन्ने त्यही झालेमाले पार्टी हो । नयाँशक्तिदेखि अरु पुराना शक्तिहरु पनि भारतकै भात खाएर डकारिरहेका तत्व हुन् । चुनाव भइहाल्यो भने छान्ने यिनै मध्येकालाई हो । भर्खरमात्र निर्वाचन आयोगले नो भोट अर्थात कसैलाई मतदान गर्दिन भन्ने प्रावधान लागू नगर्ने भयो । मतदान गर्दिन भन्न पनि नपाइने भो । कस्तो बाध्यता ?
शायद हामी बुद्धका देशका ‘बुद्धुयोद्धा हौं’ । इतिहासमा घोडालाई खुवाउने रम पिलाएर प्रथम र दोस्रो विश्वयुद्धदेखि कारगिल र फकलेण्डसम्म विदेशीले हामीलाई लडायो । गोली र बम छातीमा थापेर वीरता कमाउने हामी आज पनि भारतीय गोर्खा, बृटिश गोर्खा, मलेसिया, हङकङ, सिंगापुरदेखि अमेरिकासम्म पनि सिपाही हुन कुदिरहेका छौं र खाडी मुलुकहरु त हाम्रो रोजगारी दिने माइवाप नै बनेका छन् । अर्काको लागि छाती थाप्ने जाति भएर हो कि रगत नै अर्काको लागि लड्ने बन्दै गएर हो, सुगौली सन्धिमा धोखा दिनेका सन्तानहरु अहिले पनि नेपाली जनता र जातिमाथि रजाइू गरिरहेका छन् र नेपाली जनता र जाति कागजी हक र अधिकारका लागि आफ्नै प्रतिनिधिका पाउमा टाउको रगडिरहेका छन् । हाम्रा जनप्रतिनिधि कस्ता छन् भने ९१ प्रतिशत जनप्रतिनिधिले संविधान जारी गर्छन्, त्यही संविधान कार्यान्वयन गर्न ९ प्रतिशत पनि प्रतिवद्ध भएर उभिन सक्दैनन् ।
लोकतान्त्रिक गणतन्त्र १२ वर्षे भइसक्यो, बोल्न चलमलाउन नसक्ने पक्षघातको रोगी भयो । यस्तो रोगी पद्धतिले नेपाल र नेपालीलाई निरोगी, स्वस्थ र तन्दुरुस्त कहिले बनाउला ? जनताको जीवनशैलीलाई संवोधन नै गर्न नसकेकाले यो पद्धतिप्रति नै ८० प्रतिशत आमनागरिक यो पद्धति हाूक्ने चालक नेतृत्वसँग खुस छैनन् । बाइरोडको बसका ड्राइभरले सेटिङ भएको होटल अगाडि यात्रु उतारेर खाना ख्वाउूछन् । आफू भित्र गएर तातो मासुभात खान्छन्, बाहिर यात्रुलाई बासीभात ख्वाएर पखाला चल्ने बनाउखछन् । हाम्रा नेतृत्वतहले लोकतान्त्रिक प्रणालीलाई त्यही बस यात्रा बनाइदिएका छन् ।
विज्ञानले आविस्कार गर्‍यो– चिनी रोगीलाई सुँगुरको बिष्ठाको इन्सुलेन्स हाल्नुपर्नेरहेछ । क्यान्सरको किरा मार्न बिच्छीलाई ठुँगाउने प्रचलन धेरै पुरानै हो । कोब्राको विष केमोथेरापीको जडी ओखती हो । नेपाली राजनीतिमा सुगर क्यान्सर भन्दा कडा महारोग लागेको छ– नैतिकहीनता, लोकलज्जाहीनता, चरित्रहीनता र भ्रष्टाचारको भाङमा लठ्ठिने गँजडीहरुको भीड । यही भीडले प्रशासनलाई समेत आफूजस्तै रङ्मा रङ्गाइसक्यो, साँचोमा ढालिसक्यो । जनमत जितेर जनबलका साथ संसद, सरकारमा पुगेका, कडा लोकसेवाको परीक्षा पास गरेर जागीर खाएका, हुलुक्क मुखबाट रगत छाद्नेगरी तालिम लिएर आएका सुरक्षाकर्मीहरु मध्ये जो आचारणमा छन्, ती थोरै छन् र छायाँमा छन् । जो मुख्य मुख्य पदहरुमा छन्, ती सबै गँजडीका भीडका निकम्मा लस्करमा लाम लागेका देखिन्छन् ।
यो चरित्रहीनहरुको गूजडी भीडलाई बेहोसीबाट होसमा ल्याउने, अचेतनबाट चेतनशील पार्ने, अविवेकीबाट विवेकी बनाउने, राष्ट्र र जनताप्रति जिम्मेवारीको महत्व जागृत गराउने ओखती आविस्कार हुनसकेन । त्यसैले नेपाल कृष्णभीरको बलौटे पहिरो बनेर दिनदिनै खस्किरहेको छ । इमान र जमान, पदीय जिम्मेवारीसहितको विश्वास जगाउन सकिएन भने प्रजाबाट नागरिक त भयौं होला, हामीलाई अहिले नै निर्णायक बनिसकेका अनागरिकले शासन गरेर घोषित पराधीन बनाउन धेरै कुर्नु पर्नेछैन । यस्तो मृत्यघण्टा जोडतोडले बजिसक्यो, नागरिक समाज, विद्वतबर्ग, अधिकारकर्मी, चेतनशीलहरु समयको कुन घटनाका लागि भद्रो हेरेर पर्खिरहेका छन् ? कि पराधीन हुनपाए हुन्थ्यो भन्ने मानसिकता विकास भएको त होइन ? किनभने आँखाले गलत देखिरहेका छन्, हुनुपर्ने केही नभइरहेको पनि थाहा छ, तर बोल्दैनन् । दबाब दिनुपर्ने, खबरदार गर्नुपर्नेहरु पनि पञ्चइन्द्रिय बन्द गरेर बसेपछि कूकाम बढ्छ नै । 
अन्यथा झिना मसिना मामिलामा सडक तताउनेहरु स्वाधीनता विदेशीकरण गरिदा पनि चुूइक्क बोल्दैनन् । शासन दुशासन भइसक्यो, तन्त्र विदेशी मन्त्रको उठबस गर्न थालिसक्क्यो । वीरका गाथामा गौरव गर्ने हामी, आफ्नै पहिचानको मलामी गइरहेका छौं । एउटा राजापाक्षले अराष्ट्रिय र आतंकी लिट्टेलाई लड्डु ख्वाइदियो, हाम्रा नेताहरु राजा र धर्म फालेर नाक फुलाउँछन्, विदेशी महाराजा र धर्म भित्र्याएर लोकतन्त्रको जामा लगाएर लोकलाई परलोक पुर्‍याइरहेका छन् । आतंकी र बिखण्डनवादीलाई संरक्षण दिइरहेका छन् । हुटिट्याउँ भनेका यिनै हुन् । जो साना खुट्टा भए पनि आकाश थामेको धक्कु लगाउँछ ।
‘अर्जुन’ भनेको आर्जन गर्नु हो । हाम्रा राजनीतिक, प्रशासनिक अर्जुनहरुले पैसा खुब आर्जन गरे, सत्ता र शक्तिमा लडिबुडी गरिरहेका छन् । तर जनविश्वास, जनसम्मान आर्जन गर्न सकेनन् । अर्काको इसारामा नाच्ने कठपुतली भइदिए । यी कठपुतलीहरुले भन्न, देखाउन सक्छन्– कुन जनताले लोकतन्त्र दिवस मनाए ? कुन जनता लोकतन्त्र जिन्दावाद भनिरहेका छन् ? मैले सुसेलेको र अरुले गाएको, मैले खुट्टा उचालेको र अरुले दगुरेको उस्तै हो भन्ने व्यक्ति प्रधानमन्त्री छन् । ४३ जनाको जम्बो मन्त्रिपरिषद बोकेर मन्त्रालय बेश्यालय बनेको देख्दैनन, भागबण्डा लगाएपछि सबै ठिक हुन्छ भन्ने गलत सोच राख्छन्, जनताले मागै नगरेको पहाड र मधेस छुट्याउने हुंकार गरेर लोकतन्त्रमाथि बलात्कार गरिरहेका छन् र निर्वाचनसमेत घोषणा गर्न सक्दैनन् । मनमरि कालो थुपार्नेले जति चुनावी गंगा नुहाए पनि के गर्नु ? राष्ट्रमुखी दृष्टि नै नभएका सत्तामुखी र सत्तासुखीले कहिल्यै पद्धतिलाई जनमुखी बनाउन सक्दैन । दु:ख यही हो र हामी यही राजनीतिक सराप भोगिरहेका छौं ।
हामीलाई थाहा छ– कानुनले सर्वस्वहरण गरेकाहरु निर्वाध घुमिरहेका छन्, राजनीतिकरण भएको कानुनले तिनलाई देख्दैदेख्दैन त्यही व्यक्तिसँग सरकारका अधिकारी कुम मिलाएर बस्छन् र चियर्स गरेर ह्वीस्की तान्छन् । जो घृणाका पात्र छन्, तिनीहरु जनताका शासक बन्छन्, जो ज्यानमारा भनेर थाहा छ, मन्त्री हुन्छन् । जो समाजविरोधी भनेर लाञ्छित छन्, अपराधी भनेर किटानी दाग लागेका छन्, तिनीहरु विधिनिर्माता बन्छन् । ७ करोडमा सांसद किनबेच हुने लोकतन्त्र खासा बजार हो कि पद्धति ? पद्धति हो भने लोकतान्त्रिक राष्ट्रिय चरित्र कस्तो निर्माण गर्दैछन्् हाम्रा पार्टीहरु ?
ताजा खबर माघ १८ गतेको । नेपाली नेल्शन मण्डेला भनेर चर्चा पाएका मोहनचन्द्र अधिकारी जो २०२८ साले कम्युनिष्ट राजनीतिका धुरन्धर नेता थिए । आजकल रुद्राक्षको माला जपेर जीवनको उत्तराद्र्धलाई सफल पार्दैछन् । उनैले घोषणा गरे– हिन्दुराष्ट्र पुनस्र्थापना नभए नेपाल रहदैन । प्रचण्डको भैंसी पुजन, नरनारायणदेखि रामदेवसम्मको पाउ पुजनमात्र होइन, ओली र विद्या भण्डारीको छठ, पशुपति दर्शन पनि अर्थपूर्ण छ । कांग्रेस त त्यसै पनि धर्म र राजा मान्ने पार्टी हो । उमेरमा कम्युनिष्ट, छिप्पिदै गएपछि धर्मपरायण हुने परम्परा देखिन्छ । हिन्दूधर्म पुनस्र्थापना हुन्छ कि के हो ? हिन्दुधर्म पुनस्र्थापना भयो भने सदाचारको पनि पुनस्र्थापना हुन्छ र नैतिकताको महत्वमा पनि पाइन चढ्छ, चम्किन थाल्छ । लोकतन्त्रमा नैतिकता नभएर अलिनो अनुमूति भएको हो, राष्ट्र र जनमुहार मलिनो हुँदै गएको हो ।
लोकतन्त्र नैतिकताको अभावमा हिंस्रक बनिसक्यो । नैतिकपतनको दलदलबाट उठ्न सके, शासन प्रशासनमा, कानुनव्यवस्थामा नैतिकता बलवान हुन्छ । दुस्चरित्रको त्याग भन्नु नै नैतिक हुनु हो । नैतिकताले लोकतन्त्रलाई जीवनशैली र राष्ट्रको जग जब्बर बनाउँछ । यही यथार्थको कसीमा हामी कता गइरहेका छौं, आत्ममिमांसा गर्न अवेर नगरौं । अवेर भयो भने पछि पछुताएर केही हात लाग्नेछैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक