20170324

राजधानीबाट प्युठानको स्वर्गद्वारीमा दर्शनका लागि गएका तीर्थयात्री चढेको जिप दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु

स्वर्गद्वारी दुर्घटनाः घरै रित्तियो

भिङ्ग्री–६ रुमाले भन्ने स्थानमा चालकसहित ९ जना सवार बा८च १५६१ नम्बरको जिप शुक्रबार सडकबाट करीब २ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा १ पुरुष र ५ महिलासहित ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका ३ जना घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्र्री लगिएकामा पछि बुटवल रिफर गरिएको छ। मृत्यु हुनेहरूमा ललितपुर महानगरपालिका–१४ तिसेदेवलका दिनेश बस्नेत तथा उनका छोरीहरू दीक्षा, पद्मा र दिया छन्। त्यस्तै सोही ठाउँका सुनिता श्रेष्ठ र सृष्टि खत्रीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ। दुर्घटनामा घाइते हुनेहरूमा सवारी चालक सरोज घले, सुशीला बराल र अमृता गजुरेल छन्।
 तिखिदेवल मन्दिर छेवैको पाँचतले घरवरिपरि शुक्रबार मान्छेको बाक्लो उपस्थिति थियो । त्यहाँ आएका सबै मानिसको अनुहार निन्याउरो थियो । रुवाबासी चलिरहेको थियो । केही परको अर्को घरको अवस्था पनि यस्तै थियो ।तिखिदेवल मन्दिरनजिकैको उक्त घरमा बस्थ्यो दिनेश बस्नेतको चारजनाको सुखी परिवार । तर
प्युठानमा शुक्रबार भएको स्कोर्पियो जिप दुर्घटनामा दिनेशको परिवारैले ज्यान गुमाएपछि दिनभर तिखिदेवल नै स्तब्ध बन्यो । दुर्घटनामा दिनेश, उनकी पत्नी र दुवै छोरीको मृत्यु भएको छ । मृतक दिनेशको घरनजिकैको घरमा उनका भाइ र आमा बस्छन् । करिब दुई सय मिटर दूरीमा दिनेशको ससुराली छ । दुर्घटनामा दिनेशकी जेठीसासूकी छोरी सृष्टि बरालको पनि निधन भएको छ । ललितपुर धापाखेलका पुराना बासिन्दा बस्नेतको परिवार तिखिदेवलमा बसाइँ सरेको हो । धापाखेलमा अझै पनि ठूलो बस्नेत बस्ती छ । ‘सोच्दै नसोचेको घटना भयो । उहाँहरू तिखिदेवलमै बसाइँ सरे पनि हामी सामाजिक कार्यमा नियमितजसो भेटिरहन्थ्यौं’, दिनेशका काकाका छोरा धापाखेलका मनोजले भने ।
दिनेश अस्ट्रेलियामा इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट अध्ययन गरी करिब एक दशकअघि फर्किएका थिए । स्थानीय स्तरमा प्रतिष्ठित छवि बनाएका दिनेश तिखिदेवल क्लबका अध्यक्ष र तिखिदेवल पार्टी प्यालेसका सञ्चालक हुन् । धनमाया बराल फाउन्डेसनका अध्यक्ष उनमा सामाजिक काम र धार्मिक कार्यमा विशेष रुचि थियो । ‘उहाँ धार्मिक काममा असाध्यै रुचि राख्नुहुन्थ्यो । पूजाआजा, पुराण र तीर्थयात्रामा उहाँसँगै श्रीमती पनि अगाडि सरिहाल्नुहुन्थ्यो’, दिनेशका पुरोहित मिलन अधिकारीले भने । ‘दिनेश स्वर्गद्वारी जाने कुरामा निकै उत्साही थिए’, उनले भने ।
दिनेश श्रीमद्भागवत पुराणकै लागि थाइल्यान्डसम्म पुगेका थिए । दिनेशकै पहलमा स्कोर्पियो भाडामा लगिएको थियो । चितवनमा एमबीबीएस अध्ययन गरिरहेकी दिनेशकी जेठी छोरी दीक्षा तेस्रो वर्षको परीक्षा दिएर बिदा मनाउन घर आएकी थिइन् ।
स्वर्गद्वारीबाट फर्किंदा छोरीलाई चितवनमा छाड्ने योजना बस्नेत परिवारको थियो । दीक्षा पढाइमा अब्बल थिइन् । जेम्सबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी उनले प्रसादी एकेडेमीमा विज्ञानमा प्लस टुतर्फ पनि विशिष्ट श्रेणी ल्याएकी थिइन् । उनले सरकारी कोटामा नाम निकाल्दै एमबीबीएस पढेकी हुन् । दीक्षाकी बहिनी दिया जेम्स स्कुलमै कक्षा चारमा पढ्थिन् । उनी पनि ‘फाइनल एक्जाम’ दिएर बसेकी थिइन् । ‘हामीले समाजका एकजना अगुवा र आदर्श परिवारलाई अनाहकमा गुमाएका छौं’, स्थानीय पूर्ण थापाले भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक