- रामचन्द्र भट्टबाट
नक्कली फोन विश्वास गर्दा अमेरिकामा म ठगिए, म फँसे -कृष्ण भण्डारी
फेब्रुअरी १६ तारिख । बिहानको त्यस्तै
साढे ११ देखि पौने १२ को समय थियो । म घरमै थिएँ । मेरो मोबाइलमा कल आयो ।
फोन अएको नम्बर युनाइटेड स्टेट सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिस
(युएससिआइएस) को थियो । जुन नम्बर मैले पहिलेनै सेभ गरिसकेको थिए ।
उताबाट बोल्ने मान्छेले मेरो नाम भन्यो।
उसले मेरो ठेगाना, सोसल नम्बर सबै बतायो । त्यतिसम्म ठीकै थियो । सोधपुछकै
क्रममा उसले मलाई आफू पहिले बसेको राज्य जर्जियाबाट टेक्सस सरिसक्दा पनि
ठेगाना फेरिएको विषयमा किन जानकारी नदिएको भन्दै जिज्ञासा राख्यो । मैले
आफू विश्वविद्यालयको विद्यार्थी र रिसर्चमा काम गर्ने भएकोले
विश्वविद्यालयलाई जानकारी दिइसकेको बताए ।
उताबाट फोन गर्नेले ठेगाना सरेपछि समयमै
जानकारी दिनुपर्ने भन्दै अडान लियो । उसले युएससिआइएसको वेवसाइटमा तत्काल
जान र त्यो संबन्धि सूचना हेर्न अह्रायो । उसले तुरुन्तै ‘समयमा सूचना
नदिएकोमा क्षमाप्रार्थी
छु’ भन्ने व्यहोराको पत्र लेख्न लगायो ।
छु’ भन्ने व्यहोराको पत्र लेख्न लगायो ।
त्यो पत्रमा मैले लेखेको व्यहोरा पढ्न
लगायो । मैले पढिसकेपछि उसले भन्यो–‘शर्त सहित तिम्रो केस स्विकृत भयो । अब
व्याकग्राउण्ड चेक हुन्छ । त्यसको लागि तिमीले तत्काल चारहजार डलर धरौटी
तिर्नुपर्छ । तिमी अनुसन्धानबाट ठीक निस्कियौ भने तिमीले राखेको धरौटी
फिर्ता हुन्छ,’ उसले मलाई भन्यो । मलाई उसको कुराले शंका लाग्यो । ‘कतै
मलाई कुनै ठगले ठग्न त खोजिरहेको छैन ?’ मेरो मनमा यो प्रश्न उब्जियो ।
तर मैले पत्नीको टिपिएसको लागि बेलाबखतमा
सोधपुछ गर्नुपर्ने हुँदा सेभ गरिराखेकै युएससिआइएसको नम्बरबाट त्यो कल आएको
छ । अनि युएससिआइएसकै वेवसाइटमा पनि पनि जुन नम्बरबाट फोन आएको छ, त्यही
नम्बर भएपछि धेरै शंका गरिरहन मन लागेन ।
उसले मलाई नजिकको टार्गेट स्टोर गएर
चारहजार डलरको कार्ड किन्न अह्रायो । तर थपमा उसले भन्यो–‘यो बीचमा कुनैपनि
इलेक्ट्रोनिक्स डिभाइसको नजिक नजानु, कोहीकसैलाई यसबारेमा नबताउनु ।
बताएमा तिमी पक्राउ पर्छाै।’
मलाई लाग्यो–‘मैले ठेगाना फेरेको १०
दिनभित्र जानकारी नदिएर ठूलो गल्ती गरेँछु ।’ जे भएपनि मैले चारहजार धरौटी
राख्नुपर्नेनै भयो । मैले टार्गेटमा गएर पाँचसय दरका ८ वटा आइट्युन कार्ड
किने । मैले किनेका कार्डको नम्बर स्टोरको पार्किंग लटमा कारभित्रै बसेर
उनीहरूलाइ बताएँ।
‘ल तिमीसँग तिम्री श्रीमती पनि रहिछन्,
उनको पनि व्याकग्राउण्ड चेक गर्नुपर्छ । त्यसको लागि अर्को चारहजार डलर
चाहिन्छ, तुरुन्तै पठाउ,’ उसले भन्यो । मैले सोचे–‘मेरो व्याकग्राउण्ड
चेकमा कुनै समस्या छैन । किनकी म विद्यार्थी (आइ ट्वेन्टी भिसा) मा थिए ।
मेरी पत्नीसँग टिपिएस पनि छ । के समस्या छ र ?’ मैले फेरि श्रीमतीलाई समेत थाहै नदिई आइट्युन कार्ड किनेर उसलाई नम्बर दिएँ । उसले पत्नी पनि पास भएको बतायो ।
‘ए, तिमीहरुको त यही जन्मेको छोरा पनि रहेछ
। उसको पनि व्याकग्राउण्ड चेक गर्नुपर्छ । त्यसको लागि १२ हजार डलर जम्मा
गर्नुपर्छ । त्यो तुरन्तै पठाउ । नभए पक्राउ हुनेछेँ,’ उसले भन्यो । म
विद्यार्थी मान्छे । नेपालको जुम्लामा जन्मेको हुँ म । दुर्गम ठाउँमा
जन्मेको मैले बडो दुख गरेर चितवनको रामपुरस्थित कृषि तथा पशुविज्ञान अध्ययन
प्रतिष्ठानबाट बिएस्सी एग्री गरेको हुँ । छात्रवृत्तिमा जर्जियाको स्टेट
विश्वविद्यालयबाट डिग्री सकेर हाल टेक्ससको लबकस्थित टेक्सस टेक
युनिभर्सिटीमा पिएचडी डिग्री गर्दैछु ।
विश्वविद्यालयले दिएको थोरै समय रिसर्च काम
गरेर बस्छु म । पहिलेनै ८ हजार डलर दिइसकेको छु । मसँग १२ हजार डलर थिएन ।
टेलिफोनमा उसले बताए अनुसार मैले १२ हजार नतिर्ने हो भने छोरालाई
छाड्नुपर्ने र आफू पत्नी सहित जेल जानुपर्छ । अमेरिकामा बस्ने म जस्तो
विद्यार्थीसँग तत्काल १२ हजार जम्मा गर्न त्यति सजिलो छैन । मैले
श्रीमतीलाई यो कुरा बताए । यसअघि ८ हजार तिर्दा मैले उनलाई जानकारी दिएको
पनि थिइन ।
मैले अब रकम तिर्न नसक्ने बताए । फोनमा
कुराकानी गर्नेमध्य आफूलाई फाइनान्स अफिसर भन्ने एकजनाले बैंकमा गएर
‘पर्सनल लोन’ आवेदन गर्न सुझाव दियो । ‘तिम्रो बैंक अफ अमेरिकामा खाता
रहेछ, त्यही गएर पर्सनल लोनका लागि आवेदन गर,’ उसले भन्यो ।
म बैंकमा गए । तर मेरो खाता भएको बैंकमा
पर्सनल लोनको व्यबस्था रहेनछ । त्यसपछि क्रेडिट युनियनमा पनि गएँ । मलाई
कुनै पनि क्रेडिट युनियनले पत्याएनन् । त्यसपछि उताबाट सोध्यो–‘कुन गाडी छ
?’ मैले टोयोटा भनेपछि गाडीको डिलरमा गएर ऋण लिन भन्यो । टोयाटाको डिलरले
पनि मलाइ रकम दिएन ।
म हत्तु हैरान भए । उनीहरुले मसँग भएका
क्रेडिट कार्डहरुबाट व्यालेन्स ट्रान्सफर गरेर नगद निकाल्न भने । त्यसरी
गर्दा पनि मसँग उनीहरुले भने अनुसार १२ हजार डलर पुगेन । ‘पछि त फिर्ता
भैहाल्छ नि’ भन्ने आशाले साथीभाईहरुसँग हार गुहार गरेर बल्ल १२ हजार जम्मा
गरेँ । त्यो रकम पनि आइट्युन कार्ड मार्फत उनीहरुलाइ पठाए ।
म अहिले बुझ्दैछु । म नमज्जाले उनीहरुको
मुर्गा बन्दै र पासोमा फँस्दै गएको रहेछु । १२ हजार उनीहरुको हातमा परेपछि
मेरो र श्रीमती व्याकग्राउण्ड चेकमा पास भएको बतायो । उनीहरूले थपमा अब
नेपालको व्याकग्राउण्ड पनि चेक गर्नुपर्छ भने । ‘तिम्रो नेपालको
व्याकग्राउण्ड पनि चेक गर्नुपर्छ, त्यसो हुँदा थप १० हजार डलर तुरन्तै
जम्मा गर्नुपर्छ तिमीले,’ उसले भन्यो । मलाई त्यसरी फोन गर्ने भारतीय वा
अन्य मुलुकका आप्रवासी जस्तो लागेन । किनकी मेरो नाम उच्चारण गर्दा
उनीहरुलाई निकै अप्ठेरो परेको थियो । अमेरिकी जस्तै लाग्यो ।
मैले फेरि दुई दिन लगाएर १० हजार जम्मा गरे
। मेरो १० हजार र श्रीमतीको १० हजार तिरेँ मैले । कतिसम्म भने नेपालमा
मेरो परिवारसँग जग्गा लेनदेन संबन्धि विवाद रहेको र त्यो पनि बुझ्नुपर्ने
भन्दै उनीहरुले रकम मागे । मैले यस्तो विवाद हाम्रो हुँदै नभएको बताउँदा
वकिल भनिने एकजना मसँग फोनमै असाध्यै रिसायो ।
उसले ‘तँ ढाँट्छस्’ भन्दै गाली गर्यो ।
मैले फेब्रुअरी २४ तारिकसम्म उनीहरुलाई पटक पटक गरेर ४० हजार डलर पठाइसकेछु
। उनीहरूले अाइट्युन कार्ड टार्गेट, अफिस डिपोबाट किन्न भन्थे । उनीहरूले
अाफ्नाे एफिलियसन टार्गेट र अफिस डिपोसँगमात्र रहेको बताएका थिए । पछिल्लो
एक पटक भने मैले वालग्रीनबाट पनि अाइट्युन कार्ड किनेको थिए ।
मैले आइट्युन कार्डमार्फत रकम पठाएपछि मेरो
वरिपरिका सबै स्टोरमा कार्ड सकिए । उसले म बसेको ठाउँभन्दा एकसय २० माइल
टाढा मिडल्याण्डमा जान अह्रायो । तर त्यहाँ पनि कार्ड रहेनछ ।
अन्तिममा उसले मेरा लागि अलिकति सजिलो
बनाइदिने भन्दै मनीग्रामबाट रकम पठाउन भन्यो । म मनीग्रामको बाहिर पुगेपछि
उनीहरुबीच सल्लाह भयो र फेरि भन्यो–‘ल मनीग्रामबाट नगरौँ । बैंक खाताबाट
पठाउ ।’ मलाई फोन गर्ने, कुरा गर्ने कार्यमा तीनजना थिए ।
उनीहरुले भ्लादिमिर ब्रोडस्की नाम गरेको
व्यक्तिको बैंक अफ अमेरिकामा रहेको खाता नम्बर दिए । मैले यो खातामा दुई
पटक गरेर १६ हजार पाँचसय डलर राखिदिए । उनीहरुले
जब फोन गर्थे मोबाइलको व्याट्री फुल राख्न भन्थे । अरु समयमा फोनको स्विच
अफ गर्न र अनुसन्धान गरिरहेको हुँदा पुलिस, आफन्तसहरुसँग यसबारेमा कुरै
नगर्न भनेर धम्काउँथे ।
पटक पटक मैले आइट्युन कार्ड, बैंकमा जम्मा
गरेर ५७ हजार डलर उनीहरुलाई बुझाएछु । मसँग रहेको भनेको चारहजार डलरमात्र
हो । बाँकी सबै क्रेडिट कार्ड, साथीहरुसँग ऋण लिएर उक्त रकम तिरेको हुँ । यतिको रकम तिरिसकेपछि म अन्यौलमा परेँ । मलाई न दिन भोक, नत रात निद्राको अवस्था रह्यो । के गर्ने, कसो गर्ने भन्ने भयो ।
फेब्रुअरी २६ तारिक आइतबार मैले
न्यूयोर्कका कानुन व्यबसायी बासु फुलाराको नम्बर पत्ता लगाए । मैले उहाँलाई
सबै वास्तविकता बताए । ‘तपाई नराम्रोसँग ठगिनुभयो । यो स्काम हो ।
कहिल्यैपनि युएससिआइएसले त्यसरी फोन पनि गर्दैन र रकम पनि माग्दैन,’ उहाँले
भन्नुभयो ।
म नमज्जासँग ठगिएछु । अमेरिकामा पनि
यस्तोगरि ठगी हुँदोरहेछ बल्ल बुझ्दैछु । उनीहरुले भने अनुसार व्याकग्राउण्ड
चेकमा पास भएपछि रकम फिर्ता हुने आशामा रकम थप्दैगएँ । साथीभाई,
आफन्तहरुसँग एकसाताको भाकामा लिएको रकमले महिना दिन नाघ्यो । मसँग कुनै
उपाय छैन यतिखेर । कानुनी उपचारका लागि मैले सिक्रेट सर्भिस, पुलिस
डिपार्टमेन्ट, युनिभर्सिटी लगायत सबै ठाउँमा निवेदन दिएको छु । तर मलाई
ठग्ने, फँसाउनेहरु नियन्त्रणमा आउँछन् कि आउँदैनन् केही पत्तो छैन ।
मैले पछिल्लो दुई पटक बैंक खातामा बुझाएको
१६ हजार पाँचसय डलरलाई ट्रयाक गरेर युएस सिक्रेट सर्भिसले अनुसन्धान थालेको
छ । मलाई झिनो आशा छ त्यसबाट मलाई ठग्नेहरुको केही पत्ता लाग्छ कि ? म
ठगिनुको कारण हो–सेभ गरेकै नम्बरबाट फोन आउनु । अनि युएससिआइएसको
वेवसाइटमा गएर हेर्दा पनि त्यहाँ फोन आएकै नम्बर थियो । उनीहरुले मेरो सबै
विवरण गरेपछि कसरी विश्वास नगर्नु मैले ? म
डुबे । विद्यार्थी मान्छे । मैले कहिले ५७ हजार कमाएर साथीहरु,
क्रेडिटकार्डको तिरिसक्नु ? मेरो जीवन अमेरिकामा डामाडोल हुने अवस्थामा छ ।
(भण्डारीसँग रामचन्द्र भट्टले
गरेको कुराकानीमा अाधारित । भण्डारीले अाफूमाथि यस्तो घटना भएको दावीका
अाधारमा यो लेखिएको हो । यस्तै प्रकृतिका घटनामा अमेरिकामा प्रायः धेरै
नेपालीहरूलाइ परिरहेका छन् । जनचेतनाका लागि हामीले प्रस्तुत गरेका हौ - Himalaya khabar)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक