20170515

नेपालले सीमासम्म सडक तथा रेल सञ्जाल जोड्न चीनसँग प्रस्ताव

नेपालले सीमासम्म सडक तथा रेल सञ्जाल जोड्न चीनसँग प्रस्ताव गरेको छ । चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधि मण्डलको टोलीका सदस्य भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायातमन्त्री ली जियाओ पेङसमक्ष प्रस्ताव राखेका छन् । सोमबार भएको भेटवार्ताका क्रममा मन्त्री लेखकले नेपालको सडक सञ्जाल र रेल सञ्जाल विस्तारमा समेत चिनियाँ लगानी भिœयाउनका लागि पहल गर्न आग्रह गरेका छन् । मन्त्री लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार भेटका
क्रममा  चिनियाँ मन्त्री पेङले ओबीओआर (वान बेल्ट वान रोड) मा हस्ताक्षरपछि नेपालको आर्थिक विकासमा नयाँ सुरुवात भएकामा खुसी व्यक्त गरेका थिए । मन्त्री लेखकको नेपालमा लगानी र ठूला परियोजनामा सहयोगका लागि सहमत चिनियाँ मन्त्रीसमक्ष प्रस्ताव राखेका थिए । ठूला परियोजनामा लगानीका लागि नेपालका तर्फबाट चीनका लागि राजदूत लीलामणि पौडेललाई सम्पर्क व्यक्ति तोकिएको छ । यसैगरी, चीनले यस परियोजनाका लागि अन्तर्राष्ट्रिय विभागका महाप्रबन्धकलाई स्रोत व्यक्ति तोकेको छ ।
यसैबीच, यही विषयमा छलफल गर्न ओबीओआरसम्बन्धी एक टोली नेपालमा आउने भएको छ । बेइजिङस्थित दूतावासका अनुसार ओबीओआरअन्तर्राष्ट्रिय व्यावसायिक उच्चस्तरीय भ्रमण दलको एक टोली आगामी २१ अगस्टमा नेपाल आउनेछ । व्यवसायीहरूको यस टोलीले २१ देखि २६ अगस्टसम्म नेपाल भ्रमण गर्नेछ ।
त्यस्तै, २५ अगस्ट काठमाडौंमा चीन–नेपाल व्यावसायिक सहकार्य शिखर सम्मेलनको आयोजना हुने भएको छ । चीनले क्रसबोर्डर रेल लिंकका लागि ८ बिलियन डलरसम्म लगानी गर्न सक्ने भएको छ । नेपालले चीनसँग यस विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका उपसचिव युगराज पाण्डेका अनुसार चीनसँग तिब्बतबाट काठमाडौंसम्मको ५ सय ५० किलोमिटर लामो रेल विस्तारका लागि प्रस्ताव गरिएको जानकारी दिएका छन् ।
नेपालले वान बेल्ट वान रोड परियोजनामा सहभागितासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको अवस्थामा नेपालमा चीनले रेल लाइन विस्तार गर्ने इच्छा देखाएको छ । ‘हामीले ओबीओआरमा सहभागी भइसकेपछि बेइजिङबाट रेल लाइन विस्तारका लागि सहयोग हुने अपेक्षा लिएका छौं,’ उनले भने ।
चीनसँग नेपाल रेलमार्गले जोडिएसँगै व्यापार, तथा पर्यटन विकासमा समेत ठूलो योगदान पुग्ने अपेक्षा लिइएको छ । नेपाल र चीनबीच विगत पाँच वर्षदेखि यस विषयमा छलफल भइरहेको भन्दै चीनले आठ वर्षमा सम्पन्न गर्नेगरी ७ देखि ८ बिलियन डलर सम्मको परियोजना सञ्चालन गर्न सक्ने उनले जानकारी दिए ।
उपसचिव पाण्डेका अनुसार नेपालले रेलवे विकासका लागि परियोजना प्रतिवेदन तयार गरिरहेको छ । तर, अहिलेसम्म चीनसँग कति सहयोग लिने भन्नेमा टुंगो लागिनसकेको उनले जानकारी दिए । यस परियोजनाअन्तर्गत  नेपालको सीमासम्म रेलमार्ग आइपुग्न ४ सय किलोमिटर रेलमार्ग चिनियाँ भूमिमा निर्माण गर्नुपर्ने हुन्छ । नेपाल–चीन सीमादेखि राजधानी काठमाडौंको दूरी १ सय ५० किलोमिटर छ ।
बेइजिङमा दुई दिनसम्म चलेको ओबीओआर सम्मेलनको उद्घाटनका क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङले सय बिलियन चिनियाँ युयान बढाउने घोषणा गरेका छन् । यससँगै नेपालजस्ता मुलुकले समेत फाइदा लिन सक्नेछन् ।
राजधानी लेख्छ  परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले यो घोषणा नेपालजस्ता छिमेकी मुलुकका लागि खुसीको खबर भएको बताएका छन् । चीनको यो सहयोगले भूपरिवेष्ठित र अल्पविकसित नेपाललाई विकसित मुलुकमा स्थापित हुन सहयोग पुग्ने उनले विश्वास लिएका छन् ।
‘नेपाल रेलवे र सडक मार्गमार्फत चीनसँग जोडिन चाहन्छ, त्यस्तै चिनियाँ लगानीसमेत बढाउन चाहन्छ,’ परराष्ट्रमन्त्री डा. महतले भने, ‘हामीले ठूला परियोजना एवं पूर्वाधार निर्माणका लागि चिनियाँ अनुदान र सुविधापूर्ण ऋण सहयोगको अपेक्ष गरेका छौं ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक