20180104

कमल थापाले गाई बेचेर खाए, राजा र जनतालाई धोखा दिए, १५ अर्बको खेलमा मलाई मन्त्रीबाट बर्खास्त गरियोः: दिलनाथ गिरी

कमल थापाको जीवनमा यो अन्तिम मन्त्री हुने अवसर हो । त्यहि भएर उहाँले यो धन्दा चलाउन खोज्नुभएको छ । प्राबिधिक कारणबाट यो सरकार फागुनसम्म चल्ने भएकाले प्रचुरमात्रामा फाइदा लिएर राजनीतिबाट बिदा लिनुहुन्छ ।

**************
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय पार्टीको हैसियत गुमाएको कमल थापा नेतृत्वको राप्रपा बुधवारदेखि चुनावी हारको समिक्षा गर्न केन्द्रीय समिति बैठकमा जुटेको छ ।  तर, यो बैठकमा कमल थापापछिको बरिष्ठतामा रहने गरेका नेता दिलनाथ गिरीलाई भने ‘इन्ट्री’ छैन । उपप्रधानमन्त्री समेत रहेका थापासँग मन्त्रिपरिषद् बैठकमै विवाद गरेको भनेर शहरी विकास मन्त्रीबाट फिर्ता बोलाइएका गिरीलाई
केन्द्रीय समिति बैठकमा पनि प्रवेश गर्न दिइएन । केन्द्रीय समिति बैठक चलिरहेका बेला अनलाइनखबरसँग बानेश्वरमा कुरा गर्दै गिरीले आफूलाई मन्त्रीबाट हटाउनुको रहस्य खोल्दै भने, ‘१५ अर्बको खेलमा ममाथि झेल भयो ।’ उनको दाबी छ कि शहरी विकास मन्त्रालयका अर्बौंका ठेक्का आफू अनुकुल दिएर पैसा उठाउने कमल थापाको योजनामा बाधक बनेपछि हटाइएको हो । आफूलाई हटाउन केही ठेकेदार र बिचौलियाले कमल थापालाई आर्थिक ढाडस दिएको गिरीको दाबी छ । तर, थापाले एकाएक उनलाई मन्त्रीबाट मात्र होइन, पार्टीबाटै निकाल्ने गरी बैठकमै प्रवेश नदिएपछि हामीले उनलाई यसको कारण बुझ्न खोज्यौं । प्रस्तुत छ, गिरीसँग गरिएको कुराकानीः
तपाईलाई मन्त्रीबाट हटाउनुको कारण कमल थापासँग क्याबिनेट बैठकमा भएको विवादमात्रै कारण हो कि अरु केही छन् ?
मेरो बर्खास्ती मन्त्रिपरिषदमा भएको सामान्य विवादका कारण मात्र होइन । त्यो चाहिँ एउटा परिघटना मात्र हो । मैले हट्नुपर्ने विषयबस्तु त्यहाँ थिएन । तर, पार्टी अध्यक्ष कमल थापाको अभिष्ट पूरा गर्ने सन्दर्भमा मैले गलत काम गर्न मानिन । चुनावमा पैसा उठाउनू र त्यो पैसा कोषाध्यक्ष उद्धब पौडेललाई दिनू भन्ने उनको निर्देशन थियो । मैले मन्त्रीको ओहोदामा बसेर पैसा उठाउने काम गर्न सकिन ।
पछि कमल थापाले नै मन्त्रालयबाट हुने आर्थिक कामहरु राज्यमन्त्री कुन्ति शाहीलाई दिनुस् भन्नुभयो । मैले उहाँलाई दिएँ । तर, पैसा उठाउने काम मबाट हुँदैन भन्ने कुरालाई उहाँले इगो बनाउनुभयो । यस्तै यस्तै धेरै कारण छन्, जसले गर्दा उहाँले मलाई बर्खास्त गर्न लगाउनुभयो । यसमा धेरै ठूला ठूला चलखेलहरु भएका छन्, ती चलखेललाई अनुकुल बनाउन मलाई बलिको बोको बनाउन खोजिएको हो ।
ती ठूला चलवखेलहरु के हुन्, जनतालाई बताउनु पर्दैन ?
शहरी विकास मन्त्रालय भनेको प्राबिधिक खालको मन्त्रालय हो । सडक बनाउने, भवन बनाउने, बिभिन्न शहर बनाउने, स्मार्ट सिटी, नयाँ सहरहरु निर्माण गर्ने हाम्रो मन्त्रालयको कार्यक्षेत्र पर्ने रहेछ । यहाँ अर्बौं होइन, खर्बका योजना छन् । प्राबिधिक कुराहरुको विषयमा मैले चासो दिन चाहिनँ । सिद्धान्तगत रुपमा काम भयो कि भएन भन्ने मात्र मैले चासो दिएँ । तर, ती योजनाहरुमा अनैतिक ढंगबाट, व्यक्तिगत अभिष्ट पूरा गर्ने कुरामा मैले रोकेको हो । त्यहीँबाट मविरुद्ध षडयन्त्र शुरु भएको हो । बिचौलिया, ठेकेदारहरुले कुन मन्त्री निकाल्ने र ल्याउने भन्ने निर्णय गर्दारहेछन् । म त्यस खेलको शिकार भएँ ।
अहिले त्यही मन्त्रालय कमल थापाले लिनुपर्ने कारण त्यहि हो ?
बाहिर चर्चा यहि छ, कमल थापाले मलाई हटाएर शहरी विकास मन्त्रालय किन लिए ? त्यहाँ अबौर्ंका आयोजनाहरुबाट कमिसन लिने र आफू अनुकुल ठेकेदारलाई काम दिने योजना रहेछ । मैले त्यो योजनामा सहयोग गर्न सकिन । कमल थापा अहिले आफैं आउनुको कारण यहि हो । अहिले नै पाइपलाइनमा १५ अर्बको ठेक्का छ, त्यसमा मैले गलत गर्न मानिन ।
पार्टीलाई चुनावमा आर्थिक संकलन पनि गर्नु भएन रे नि ?
म आर्थिक विषयमा अलि टाढै रहने मान्छे । मैले आर्थिक सञ्चालन गर्न सक्दिन भनेर असमर्थता जनाएकै हो । कसरी पैसा उठाउने भन्ने भन्ने राज्यमन्त्री कुन्तिकुमारी शाहीलाई जिम्मेवारी दिएको हुँ । कति पैसा उठाउनुभयो उहाँलाई नै सोध्नुस् ।
तर सरकारबाट मात्र होइन, तपाईलाई त पार्टीबाटै हटाइएको जस्तो छ । चुनावको समिक्षा गर्ने बैठकमै तपाईलाई उहाँले प्रवेश दिनुभएन होइन ?
पहाडतिर एउटा रतुवा भन्ने जनावर हुन्छ । उसले आफैं आवाज निकाल्छ र आफ्नै आवाजसँग तर्सिन्छ । अहिले कमल थापा त्यस्तै रतुवाको रुपमा देखिएका छन् । आफैं कारवाही गर्ने, आफैं तर्सिने ढंगले बैठकमा समेत मलाई नबोलाउनू भनेछन् । किनकी कमल थापा र मेरो संगत त ४८ वर्षदेखिको हो । कहिल्यै नराम्रो सम्बन्ध रहेन । म त कमल थापालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर हिँडेको मान्छे हुँ ।
चुनावको पराजयको समिक्षा गर्न तपाई निकालिनुभयो त ?
राप्रपा चौथो शक्ति भएपछि अब या त दोस्रो वा तेस्रो स्थानमा पुग्ने लक्ष्य लिएर हिडेका हौं । संविधान निर्माण अघिसम्म जनताले हामीलाई विश्वास गरेका पनि थिए । संविधान निर्माण गरिसकेपछि हामीले जनतालाई धोखा दियौं । कमल थापाजी सत्ताको फोहोरी खेलमा नग्न ढंगले उत्रिनुभयो । एजेण्डा छाडेर राष्ट्रपति उपराष्पटिको प्रस्तावक समर्थन गर्ने काम भयो । आवश्यकता पर्दा राजतन्त्र र हिन्दू राज्य पनि छाड्न सक्ने कुरा आयो । कमल थापाले गाई बेच्यो, हिन्दू बेच्यो, राजा बेच्यो भन्ने कुरा पनि आए । कमलजीको नेतृत्वमा सत्तामा नगई नहुने, उहाँ बाहेक अरु मन्त्री हुन नपाउने र सबै आर्थिक निर्णय उहाँले नै गर्नुपर्ने खालका गतिबिधिलाई जनताले राम्रोसँग हेरे ।
कमल थापाको नेतृत्वमा यो राप्रपा भन्ने दल पारिवारिक क्लबका रुपमा र भजन मण्डलीलाई मात्र लिएर हिँड्ने रहेछ भन्ने मतदाताले बुझे । जसको सजाय अहिलेको निर्वाचनमा हामीले भोग्नुपरेको हो । मैले चुनाव लगत्तै पराजयको नैतिक जिम्मेवारी लिएर कमलजीले राजीनामा दिनुपर्छ र हामी मन्त्री भएकाहरुले पनि राजीनामा दिनुपर्छ भन्दा उहाँलाई ठूलो चोट पुग्यो । बादशाह नांगै भए पनि आहा कति सुहाएको भन्नुपर्ने अवस्था अहिले राप्रपामा छ ।
तपाईको मतलब कमल थापाले एजेण्डा छाडे, राजालाई पनि धोखा दिए भन्ने हो ?
कमल थापाले राजालाई पनि धोखा दिए, जनतालाई पनि धोखा दिए । यसको साक्षी त म आफैं छु नि ।
कमल थापाले आफ्नो व्यक्तिगत अभिष्टका लागि मात्र राजतन्त्र र हिन्दूत्वको कुरा गरेका हुन् । उनले पार्टीमा आफूलाई चुनौति दिने र असहमत राख्नेलाई टिक्न दिँदैनन् ।
हाम्रो गाउँतिर एउटा कुरा प्रख्यात छ, अन्नबाली पाक्ने बेला मुसाले सात बिहेसम्म गर्छ ।  किन गर्छ भन्दा अन्नपानी स्टोर गर्नका लागि बिहे गर्छ । जब बाली स्टोर गरिसक्छ, त्यसपछि एकएक गर्दै श्रीमतीहरु निकाल्छ । त्यहि ढंगबाट कमल थापाजीको चरित्र अघि बढेको छ ।
अब तपाई के गर्नुहुन्छ त ?
यति नांगो रुपमा कमल थापा आइसकेपछि त्यहाँ बसेर केही अर्थ छैन । यो पार्टीमा उनीबाट तमाम साथीहरु पीडित छन्, कसैको पनि भविष्य सुरक्षित छैन । म जस्तो ४८ वर्षसम्म कमल थापासँग निरन्तर साथमा रहेको मान्छे सुरक्षित रहन सकिनँ भने अरु को सुरक्षित होला ? कमल थापाबाट साथीहरु आतंकित छन् । अब मेरो काम भनेको प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादी, पशुपति शम्सेर राणाको राप्रपा प्रजातान्त्रिकसँग बसेर छलफल गर्छु । हामी एकजुट भएर अघि बढ्न नयाँ ढंगले जान्छौं । विवेकशील साझा, नयाँ शक्ति पार्टीहरुसँग पनि छलफल गर्छौं । वृहत छलफल गरेर मुलुकलाई तेस्रो शक्ति दिनुपर्छ ।
मुलुकमा अब तीन दलको अस्तित्व हुन्छ । एउटा वामपन्थीहरु, एउटा प्रजातान्त्रिक र अर्को कन्जरभेटिभ । कन्जरभेटिभको नेतृत्व गर्नेगरी हामी अघि बढ्छौं ।
कमल थापाको जीवनमा यो अन्तिम मन्त्री हुने अवसर हो । त्यहि भएर उहाँले यो धन्दा चलाउन खोज्नुभएको छ । प्राबिधिक कारणबाट यो सरकार फागुनसम्म चल्ने भएकाले प्रचुरमात्रामा फाइदा लिएर राजनीतिबाट बिदा लिनुहुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक