20180328

प्रचण्डले कुन बेला के गरिदिने हो र त्यसले कस्तो प्रकारको दुर्घटना निम्त्याउने हो भनेर एमाले कित्ता झस्किए !

प्रचण्डले ‘पचास प्रतिशत भाग’ दाबी गरेपछि एमाले नराम्रोसँग झस्कियो !
भारत भ्रमणमा जानुअगावै पार्टी एकीकरण भएको घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष तत्परता लिनुभएपछि सम्बद्ध दलभित्रै यसलाई अर्थपूर्ण मानिएको छ । चैत २३ देखि २५ गते (२०७४) सम्म भारतको भ्रमणमा रहने निश्चित भएपछि प्रधानमन्त्री ओलीले प्रचण्ड र माधवकुमार नेपालसँग छलफल गरी एकतालाई टुङ्गोमा पुऱ्याउन बनेका दुई कार्यदललाई विशेष निर्देशन दिनुभएको थियो । आफू भारत
जानुअगावै पार्टी एकीकरण भइसकेको हुनुपर्छ भन्दै ओलीले सम्बद्ध कार्यदलहरूलाई निर्देशन दिएअनुसार एकता प्रक्रियाले तीव्र गति लिएको र दुवै कार्यदलहरूले यसै साताभित्र एकीकरणको अन्तिम खाका (रूप) तयार गरी निर्णयार्थ पार्टी एकताको निम्ति गठित उच्चस्तरीय समितिमा प्रस्तुत गर्ने बताइएको छ ।
पहिले केपी ओली प्रचण्डसँगको एकताप्रति उत्साहित नरहनुभएकोे ठानिन्थ्यो । चुनावपछि ओलीले पार्टी एकतालाई भन्दा सरकार गठनलाई उच्च प्राथमिकतामा राखेको माओवादी ठहर थियो । त्यसैले माओवादीले ‘पहिले पार्टी एकता, त्यसपछि मात्र सरकार’ भन्ने कार्यनीति लिएको थियो । केपीको क्रियाकलाप र नियतमा आशङ्का भएपछि प्रचण्डले ‘देश र जनताका निम्ति कुनै पनि बेला छलाङ मार्न सकिने’ सार्वजनिक घोषणा गर्दै एमालेविरोधीहरूको मोर्चा बनाइन सक्ने चेतावनीसमेत दिनुभएको थियो । प्रचण्डको चेतावनीपश्चात् केपी ओली गम्भीर हुनुभएको र केही चरण प्रचण्डसँग विशेष संवाद भएपछि कार्यदलहरूलाई सक्रिय तुल्याइएको थियो ।
तर, संसद्मा विश्वासको मत लिने र राष्ट्रपति निर्वाचित गर्ने कार्य सम्पन्न भइसकेपछि केपी ओलीबाट पार्टी एकीकरणलाई प्राथमिकता नदिने अनुमान गर्न थालिएको थियो । यद्यपि, अनुमानविपरीत ओलीको तत्परतामा एकता प्रक्रियाले तीव्रता पाएको छ र साङ्ठनिक संरचना तथा विधानको प्रारूपसमेत यसैबीचमा तयार भइसकेको छ । कार्यदलले तयार गरेको विधान तथा साङ्गठनिक संरचनासम्बन्धी प्रतिवेदन एकता संयोजन समितिमा प्रस्तुत भएपछि साताभित्रै दुई कम्युनिस्ट पार्टी एक हुने विश्वास गरिएको छ ।
प्रधानमन्त्री ओली भारतको भ्रमणमा जानुभन्दा पहिले नै पार्टी एकीकरण गर्न हतारिनुलाई दुवै कम्युनिस्ट पार्टीभित्र रोचक र अर्थपूर्ण मानिएको छ । कतिले भारत जाँदा ‘शक्तिशाली’ भएर जाने इच्छाका कारण ओली एकताका निम्ति हतारिएको अनुमान गरेका छन् भने कतिपयले चाहिँ ‘अहिले नै एकता नगरिए भारतमा रहेका उहाँका पुराना मित्रहरूले एकताप्रतिकूल जान बाध्य पार्न सक्ने त्रासका कारण’ हतारिएको हुन सक्ने अनुमान गरेका छन् । ज्ञातव्य छ, केही वर्षअघिसम्म ओलीको भारतसँग मित्रवत् सम्बन्ध रहेको विश्वास गरिन्थ्यो र, अझै पनि पुरानो सम्बन्धले कुनै न कुनै रूपमा काम गर्न सक्ने ठानिन्छ । हो, यस्तै विश्वास गर्नेहरूले भारत जानुअगावै पार्टी एकता गर्ने कुरालाई अर्थपूर्ण मानेका हुन् ।
यसरी पार्टी एकताका निम्ति केपी शर्मा ओलीले विशेष तत्परता लिनुभएपछि मौकाको फाइदा उठाउन माहिर मानिने प्रचण्डले पार्टीका सबै पदहरूमा ‘आधा अंश पाउनुपर्ने’ दाबी गर्नुभएको छ । यसअघि पार्टीको सबै तहमा एमालेको सत्तरी तथा माओवादीको तीस प्रतिशत प्रतिनिधित्व रहने औपचारिक समझदारी बनेको थियो । एकपटक कार्यदलमा सहमति बनिसकेको भए पनि ‘केपीलाई एकता अपरिहार्य भएको बुझेपछि’ प्रचण्डको बोली फेरिएको छ । जहाँ माओवादी बलियो छ त्यहाँको समितिमा माओवादीकै प्रतिनिधि अधिक रहनुपर्ने र एमाले बलियो भएको ठाउँमा मात्र एमालेको प्रतिनिधित्व ठूलो सङ्ख्यामा हुनुपर्ने भन्ने माओवादी नेताहरूको भनाइ छ । त्यसैले खास अवस्थामा ‘चालीस–साठी’ या ‘तीस–सत्तरी’ जुन अनुपातमा समायोजन हुने निर्णय गरिएको या समझदारी बनेको भए पनि निरपेक्ष ढङ्गले अनुपात तोक्न माओवादी अनकनाएको छ ।
यसैक्रममा प्रचण्डले ‘पचास प्रतिशत भाग’ दाबी गरेपछि एमाले नराम्रोसँग झस्किएको छ । यसरी अचानक प्रचण्ड बक्री हुनुलाई वामपन्थीहरूले नै रहस्यमयी मानेका छन् । प्रचण्डले कुन बेला के गरिदिने हो र त्यसले कस्तो प्रकारको दुर्घटना निम्त्याउने हो भनेर एमाले कित्ता यतिबेला झस्किएको बुझिन्छ । यदि प्रचण्डले पचास प्रतिशत भाग लिने अडान कायम राखे भने एमाले–माओवादीबीच एकता नहुने निश्चित मानिन्छ, तर चालीस प्रतिशत अंश पाउन पचास प्रतिशत दाबी गरेको हुन सक्ने पनि एमालेका कतिपयले ठानेका छन् ।
घटना र बिचारका अनुसार यसरी प्रचण्डले ठूलो भाग खोज्नुमा एमालेकै वरिष्ठ नेता वामदेव गौतमको मुख्य भूमिका रहेको बताइन्छ । यतिबेला वामदेव गौतम केपी ओलीप्रति अत्यन्त क्रूद्ध बन्नुभएको छ र ओलीविरुद्ध प्रचण्डलाई उचाल्न गौतमले आफ्नो सबैभन्दा धेरै समय खर्चने गर्नुभएको बताइन्छ । गौतमको उक्साहटले कतै पार्टी एकतालाई नै क्षति पुऱ्याउने हो कि भन्ने आशङ्का उत्पन्न भइरहेका बेला प्रचण्डले आधी अंश दाबी गर्दा पार्टी एकतामै गम्भीर अड्चन पैदा हुने आशङ्का उत्पन्न भएको छ । तर, प्रचण्डलाई लगाम लगाएर भए पनि एकताचाहिँ गरिछाड्ने दृढता पार्टीको दोस्रो पुस्ताका नेताहरूमा देखिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक