20180328

१४ बिगाहा जग्गा दान ! परिवार सुकुम्बासी !!

झापा / कुनै समय गाउँकै धनी, अथाहा जग्गा जमिन भएको अनि सम्पन्न व्यक्तिका  रुपमा परिचित थिए झापा बिर्तामोडका डोमालाल राजवंशी । उनी डोमालाल राजवंशी रंगशालाका जग्गा दाता पनि हुन् । उनका परिवार अहिले सुकुम्बासी भएर दयनीय जीवन बिताइरहेका छन् भन्दा तपाईँलाई पत्यार नलाग्ला । डोमालाल राजवंशीले रंगशाला निमार्णका लागि देवी गुठीका नाममा १४ बिगाहा जग्गा दान दिएका थिए । जग्गा
दान दिएकै कारण अहिले त्यो रंगशाला डोमालाल राजवंशी रंगशालाका रुपमा चिनिन्छ । तर तिनै दानवीरका परिवार अहिले सुकुम्बासी भएका छन् ।
बिर्ताबजारदेखि झण्डै एक किलाेिमटर दक्षिण–पश्चिम लस्करै बनिएका सुकुम्बासी बस्तीको बीचमा डोमालालका नाति भिमबहादुर र छविलाल सानो घर बनाएर बसेका छन् । डोमालाल राजवंशीका दुई छोरा गजेन्द्र र दिपेन्द्रको मृत्यु भैसकेको छ । ९० वर्षीया छोरी  सम्पती राजवंशी पनि कष्टपूर्ण जीवन बिताइरहेकी छिन् । जसलाई खान लाउन दिने र स्याहार गर्ने कोही छैन ।  अनि डोमालालका नाति भिमबहादुर र छबिलाल अहिले बिर्तामोडमै भारी बोक्ने भ्यान चलाएर गुजारा चलाइरहेका छन् । 
भिमबहादुर आफ्नो परिवारको पेट पाल्न भाडामा लिएको तीन चक्के भारी ओसार्ने भ्उान चलाउछन् । उनी भन्छन्, ‘दिनभरि  भ्यान चलाएर कहिले २ सय, कहिले ३ सय कमाई हुन्छ, कहिले त्यो पनि हुँदैन, अनि त्यही कमाईले भ्यानको भाडा दैनिक ६० रुपैयाँ तिरेर एक–दुई केजी चामल र सागसब्जी बोकेर घर जान्छु, बचत त के हुन्छ र आजकल मान्छेहरुले सिटी रिक्सा र अटो खोज्छन् भ्यानमा त कमाई नै छैन, परिवार पाल्न नि गाह्रो छ ।’ परिवारको गुजारा चलाउन भिमबहादुरकी श्रीमतीले पनि सघाउँछिन् । उनी नजिकैको बिर्ताबजारमा चप, ढुङरी, पकौडा बनाएर बेच्छिन् । दुई जनाको कमाईले खान लाउन पनि धौधौ हुने गरेको भिमबहादुरको भनाई छ । 
डोमालालका अर्का नाति छविलाल पनि अर्काका घरमा मजदुरी गरेरै गुजारा चलाउँछन् । छविलाललाई पनि छोराछोरी पढाउन र घर खर्च टार्न धौधौ नै पर्ने गरेको बताउँछन् । 
डोमालालकी छोरी सम्पती अहिले ९० वर्षकी पुगेकी छिन् । बुढेसकालले थलिएको अवस्थामा उनको स्याहार गर्ने कोही छैन । तर हातमुख जोड्नलाई उनी सागसब्जी लिएर बजारमा लगेर बेच्ने गर्छिन् ।
 
डोमालाल राजवंशीको योगदान झापाको खेलकुदको विकासका लागि अतुलनीय छ । उनले दिएको १४ बिगाहा जग्गामा रंगशाला त निर्माण भयो नै, यही रंगशालाले केही राष्ट्रिय खेलाडीहरु पनि उत्पादन गर्यो । तर जसले यत्रो योगदान दियो, तर यही मैदानमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताहरु आयोजना भइरहँदा आयोजकले ती दानवीरका योगदान बिर्सिएका छन् । भर्खरै यही फागुन २८ गते मोफसलकै सर्वाधिक पुरस्कार राशीको तेस्रो झापा गोल्डकप यही मैदानमा सम्पन्न भयो ।  गोल्डकप आयोजनाका लागि सहयोग गरेका व्यक्ति, पूर्व खेलाडीसहित दर्जनाैँ सम्मानित भए । 
थोरै पैसा सहयोग गरेका व्यक्ति सम्मानित भैरहँदा ४ तिर फर्काइएका माइकबाट निस्किएका आवाज रंगशाला पछाडि घरमा बसिरहेका डोमालालका नाति भिमबहादुरसहित तिनका परिवारका सदस्यको कानमा पुग्दा उनीहरुको मन कटक्क खायो । त्यो सम्मान कार्यक्रममा रंंगशालाका जग्गादाता दानवीरका परिवारको सम्मान त परैको कुरा नाम समेत लिन जरुरी ठानेनन् आयोजकले । दानवीर डोमालाललाई एक पटक पनि सम्झिन आवश्यक ठानेनन् । जग्गा दाता स्वर्गीय डोमालाल राजवंशीका नाति भिमबहादुर आफ्नो बाजेले गरेको योगदानको कदर नहुँदा र सम्बन्धित पक्षले बिर्सिँदा मन खिन्न हुने बताउँछन् ।
यहाँका स्थानीय निकाय, फुटबल आयोजक परिवार, अनि देवी गुठी जसको नाममा जग्गा छ उनीहरुले नै स्वर्गीय दानवीर डोमालाल राजवंशीको योगदान बिर्सिँदा दानवीर राजवंशीका परिवारसहित अन्य दानवीरको पनि अवमूल्यन भएको छ । 
आफ्नो भावि सन्ततिको भविष्यको ख्याल नगरी १४ बिगाहा जग्गा दान दिने दानवीरको बेवास्ता तिनका परिवाको अवस्था प्रतिको वेवास्ता, तिनै मैदानमा ठूला प्रतियोगिताहरु आयोजना हुँदा जग्गादाताको नामसमेत नलिनु र उनका परिवारले त्यो मैदानमा पसेर प्रतियोगिता हेर्न टिकट काटेर हेर्नुपर्ने कति ठिक हो ?

- शुष्मा राजवंशी/उज्यालो 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक