20180511

राष्ट्रबादी "मेरे भाईसाब" ! नेपालको झण्डाको आकार र रुपरङ्ग पनि फेरिएछ नि ! तपाईंको नेपाली पोशाक फेरिएझैं !!

मोदीको स्वागतमा अरु सबै गरेको देखियो नेपालमा तर खुट्टा धोएको पानी खान बाँकी रह्यो । हुन त अर्को भ्रमणलाई बाँकी राखेका होलान !
फोटोहरु यसरी आफै समाचार बोल्छन !



********
भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमण भ्रमण मात्र होइन,  यहाँ भित्र बहुत कुछ खेल छ, झेल छ ! 
------------------------ रामप्रसाद खनाल----------------------------- 
हाम्रो गाउँ गुल्मी धरम्पानी मैनडाँडा, रून्जाकोट र मान्कोटको खर्याहा सँग जोडिएको र बिबिधताले भरिएको गाउँ हो । दमाई, कामी, सार्की, कुमाल, कुँवर, छेत्री, बाहुन सबै जात जाती मिलेर बस्ने यो गाउँ र यहाँ वरपर अचम्मको एकता र सदभाब छ । सबै मिलेर बस्छन, सुख दु:ख बाँड्छन ।  एकले अर्कालाई सम्मान पनि गर्छन् । कहिलै केही कुरामा खास समस्या आएको मलाई थाहा छैन ।

हाम्रो घर भन्दा अलिकती तल सार्की बस्ती छ । त्यहाँ एउटा ज्वाँगे टोल छ । ज्वाँगे बुढा बा र उनका छोरा साइँला जो मस्त रक्सी पिउने अनि रिस उठेको कोही छ भने गाली गर्ने गर्थे । भोली पल्ट जसलाई गाली गरेको उनकै घरमा गएर "बाराजु  हिँजो मैले रक्सी खाएका बेला तपाईंलाई बेस्सरी गाली गरेँ रे ! मलाई माफ गरिदिनुपर्‍यो" अनि जसले उनको गाली पाएका थिए उनले भन्थे "गर्ने बेलामा चिच्याई चिच्याई गाली गरिस अहिले माफी माग्छस" ज्वाँगे बुढा बा र उनका छोरा साइँला खुट्टा समाएर ढोग्थे र भन्थे "गाई खानी बाराजु, मैले जानी जानी गाली गरेकै होइन तपाईंलाई, रक्सी खाएका बेलामा एकाउन्न बाउन्न, मैले केही थाहा पाउन्न" भैगो भन्थे गाली पाउनेले माफी दिन्थे । त्यही बाटो माथि तिर गएर दुई घण्टा पछि रक्सी खाएर फर्किँदा फेरी गाली दोहोर्याउँथे, अनि फेरी गाली सुन्नेले यिनिहरुको "एकाउन्न बाउन्न, रक्सी खा बेला मैले केही थाहा पाउन्न" सबैले पचाउंथे ।

ज्वाँगे साईला त अझ रमाइला, रक्सी खाए, गाली गर्दै आए, जसलाई गाली गर्दैछन उ भेट हुना साथ अर्कोलाई गाली गर्या हो मैले तपाईंलाई होइन है भन्न भ्याउँथे । अझ त्यतिले नपुगेर आफ्नै श्रीमतिलाई गाली गर्दै जान्थे साइँला दाई । तिखुले सार्की बा र गैराका बोँगे बा को पनि 
कहानी उस्तै उस्तै थियो ।

नाकाबन्दीका बेला मोदी र भारतलाई गर्नु सम्म गाली गरेर प्रखर राष्ट्रबादी भएका सम्माननिय प्रधानमन्त्री केपी ओली चुनाव अघि सम्म भारतलाई सबक सिकाउने बताउँदै थिए । सोझा इमान्दार नेपाली जनताले केपी ओली जस्तो अडान भएको नेता भन्दै तारिफ मात्र गरेनन चुनाबमा अच्छा तरिकाले भोट पनि हाले, उनकै उखान टुक्कामा ताली बजाए, हाँसे, नाचे । चुनाबमा जिताए पनि । चुनाव जिते पछि  केपी ओलीको ताल हाम्रो गाउँका तिनै ज्वाँगे बुढा बा, साइँला दाई, बोँगे बा र तिखुले सार्की बा कै जस्तो देखियो । "एकाउन्न बाउन्न, रक्सी खा बेला मैले केही थाहा पाउन्न" को सट्टा केपी ओली ले अलिकती फेरेर भन्न थालेको आभास हुनथालेको छ कि "एकाउन्न बाउन्न, मैले के बोलेँ थाहा पाउन्न" ।

चुनाव जित्ना साथ प्रधानमन्त्री नबन्दै सुस्मा स्वराजलाई काठमाडौं बोलाएर केपी ओलीले के के बिन्ती चढाए सबैले देखेकै हो । त्यस पछि उनी आफै भारतको राजकीय भ्रमणमा गएर के के गरे, कसरी शरण परे त्यो पनि कसै बाट छिपेको छैन । अहिले एक महिना नबित्दै फेरी नेपाललाई मोदीमय नेपाल बनाउने र मोदीको चाकडीमा दुनियाँलाई शास्ती दिँदै जनकपुर देखी मुस्ताङ हुँदै काठमाडौं सम्म केपी महाराजले जे जे गरी बक्सिँदैछ यो छिमेकी देश भारतका प्रधानमन्त्रीको भ्रमण मात्र नभएर यहाँ भित्र बहुत कुछ खेल छ । भारतले लिन बाँकी सबै कुरा केपी ओलीको करकमलबाट लिन चाहन्छ भन्ने कुरा राजनीतिका सामान्य सिध्दान्त बुझ्ने जो कसैलाई पनि थाहा छ ।

एमालेका हरेक केन्द्रिय नेता र वास्तविक कार्यकर्तालाई सोध्नुस् केपी को हुन भनेर । सबैले भन्नेछन एमाले भित्रका जमाना देखीका प्रखर भारतबादी नेता हुन ओली । भारतको नजरमा एमाले भित्र धेरै भारतबादी भए पनि  केपी ओली भन्दा निकट मितज्यू अर्को कोही छैन भारतको, त्यो सत्य हो भन्ने कुरा २०५० सालको महाकाली सन्धी प्रकरण बुझ्नेहरुका लागि काफी छ । यदी महाकाली बिर्सिसक्नुभएको छ भने घनश्याम भुसाल, योगेश भट्टराई, रबिन्द्र अधिकारी, हरि रोक्का हुँदै बामदेब गौतम सम्मलाई सोध्नुस् स्पस्ट थाहा पाउनुहुने छ । यसो गुगल गरे पनि बहुत कुछ भेट्नुहुने छ ।

केपी ओली र भारतको सम्बन्धको कुरा गर्दा एउटा पुरानो गीत याद आउँछ:

सौ साल  पहेले मुझे तुम्से प्यार था
मुझे तुम्से प्यार था
आज भि हे और कल भि रहेगा !

ओली र भारतलाई कसैले छुट्याएर हेर्न खोज्छ भने त्यो दृष्‍टि दोश मात्र हो । यो सम्बन्ध अत्यन्त गाढा छ ।

हामीले भुल्नै नहुने एउटा कुरा के छ भने मोदी भारतका प्रधानमन्त्री हुन र उनले भारतीय हितका कुरा गर्छन् काम गर्छन् । जे जसरी भारतलाई फाईदा पुग्छ उनले गर्ने त्यही हो । नेपालका हितमा, नेपालको लागि फाईदा हुने कुरा गर्ने काम त नेपाली प्रधानमन्त्री को हो । नेपालीले मोदी सँग होइन ओली सँग आशा राख्नुपर्छ । अहिलेका ओली हुन वा पहिलेका अरु प्रधानमन्त्री जो सुकै हुन, खुलेर कुरा गर्ने, यसो गरौँ भनेर तर्क र अडान राख्न सक्ने, दुबैको लागि यसरी वीन वीन सिचुएसन हुन्छ, हुनसक्छ भनेर प्रस्तुत हुन नसक्नु, त्यस्तो भिजन भएको नेता प्रधानमन्त्री नेपालमा नहुनुनै नेपाली र नेपालको लागि दुर्भाग्यको कुरा हो । अहिले पनि हुने त्यही हो मोदी फर्माउछन, ओली डराउँछन । नेपालका लागि हातलाग्यो शून्य, भारतकालागी फाईदै फाईदा हुने हो । मोदी कम्ताका बाठा छैनन यिनले केपीलाई हात लिइसकेका छन ।              

यथार्थमा केपी ओली उखान टुक्का मास्टर हुन । बोल्ने हँसाउने कुरामा उनलाई उछिन्ने अरु कोही छैनन । मत उनको उखान टुक्का र प्रबचन शैलीको फ्यान हुँ । उनको जति तारिफ गरे पनि कम हुन्छ । आजकल म हाँस्यब्यग कार्यक्रम र मेरा थुप्रै कलाकार साथीहरुको अभिनय होइन केपी ओलीको भासण र अभिनय हेर्छु सुन्छु ।  उनी वास्तविक कलाकार हुन । जोक्कर हुन । यिनका अँगाडी कुनै जोक्कर टिक्न सक्ला जस्तो मलाई लाग्दैन । मह जोडीलाई केपी ओलीले धेरै पछाडि पारिसकेका छन । धुर्मुस र सुन्तली हँसाउन छोडेर सामाजिक काममा किन लागे भन्या बल्ल बुझिंदैछ । आफ्नो अस्तित्व जोगाए हाँस्य क्षेत्र छोडेर धुर्मुस र सुन्तलीले, राम्रो गरे । अब कुन दिन देखी शिवहरी पौडेल, किरण केसी, दीपक दीपा, जितु, माग्ने बुढा देखी, निरज, बल्छी, जिग्री सिग्री सबै केपीका अंगाडी लम्पसार परेर सकिएन प्रभु तपाईं सँग भन्ने हुन थाहा छैन ।

लेखेरै राख्नुस - यिनको उखान टुक्का र हाँस्यब्यङ्ग बाहेक मुलुकले केही पाउने छैन बरु बँचे खुचेको भारतलाई बुझाएर यिनी स्वर्ग प्रस्थान गर्ने छन । गिरिजा र शेरबहादुर भारतबादी हुन भन्ने कुरा कसलाई पो थाहा नहोला र तर केपी यिनिहरुका पनि बाउ निस्के । मोदीमय नेपाल हेर्दा त्यही देखिंदैन र ?? केपी ओलीले भनेझैँ चुला चुला ग्यास पनि पुग्न सक्छ, हावाबाट बिजुली निस्किन पनि सक्छ, पूर्व पश्चिम रेल, सुरुङ्ग मार्ग चल्न पनि सक्छ तर कौडी न सौडी बजार बजार दौडी गरेर ति सबै कुरा कसरी सम्भब छ अहिले ??

केपी ले आफ्नै अर्थमन्त्रीको स्वेत पत्र पढेकी पढेनन ? पढेको भए यस्ता हावादारी कुरा नगर्नुपर्ने हो । सिङ्गो राज्यले एउटा खेलकुद मैदान बनाउन सक्दैन, धुर्मुस र सुन्तलीले बस्ती बसाउने देखी खेलकुद मैदान सम्म बनाइदिनुपर्ने देशमा केपी ओलीका कुरा सुन्दा मैले मेरो गाउँका ति ज्वाँगे बुढा बा र उनका छोरा साइँला, अनि तिखुले सार्की बा र गैराका बोँगे बा लाई पनि झल्झली सम्झिरहेको छु । लाग्छ यिनले पनि उनिहरुले जस्तै मोदीलाई त्यही भाषामा उत्तर फर्काउँछन, पारा उही हो । तिम्रो राष्ट्रबाद, तिम्रो अशलियत थाहा नपाउनेहरु र तिम्रो आरती उतार्नेहरुको पो दया लाग्छ ! बिचराहरु देख्दा भन्न मन लाग्छ - दाश प्रथा - जिन्दाबाद जिन्दाबाद !! ओली राष्ट्रबाद - जिन्दाबाद जिन्दाबाद !!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक