(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20181114

देवता नमान्ने, पितृ नमान्ने, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज नमान्ने, जुन अवस्था यहाँ बनाइएको छ यो नै देश मेट्ने अभियानको थालनी हो

– देवप्रकाश त्रिपाठी
माओवादीका नाममा एक समय देशमा आँधी–बेहरी चल्दा प्रधानमन्त्रीजस्तो गरिमामय पदीय जिम्मेवारी हात पार्न सफल प्रचण्ड र बाबुराम भट्टराईहरू नेपालले विकास र समृद्धि हासिल गर्न नसक्नुको मुख्य कारण हाम्रो देशको धर्म, संस्कृति र परम्परा हो भन्ने गर्दछन् । इसाई मसिनरीद्वारा सञ्चालित गोर्खाको एक विद्यालयको उत्पादन बाबुराम भट्टराईले त नेपाल पछाडि पर्नुको मुख्य कारण नै सनातन हिन्दू धर्म, परम्परा र संस्कृति भएको घोषणा पटक–पटक गर्दै आएका छन् । त्यसैले के कुनै देशको मौलिक धर्म, परम्परा र संस्कृति नै देश पछाडि पर्नुको कारण बन्ने गर्छ त ? के आफ्नो धर्म–संस्कृति परित्याग गर्दैमा, विदेशी धर्म–संस्कृति अपनाउँदैमा वा धर्मनिरपेक्षतासहितको सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति अवलम्बन गर्दैमा कुनै मुलुक विकसित र समृद्ध बन्न सक्छ त, भन्नेजस्ता प्रश्नहरूमा गम्भीरतापूर्वक विचार–विमर्श
गर्नुपर्ने भएको छ ।
यदि आफ्नो मौलिक धर्म, परम्परा र संस्कृतिको रक्षा गर्ने मुलुक गरिब हुन्थे भने संसारका सबैभन्दा गरिब मुलुकको कोटिमा डेनमार्क, लक्जेमबर्ग, स्वीडेन, बेलायत र नर्वेजस्ता देशहरू पर्नुपर्दथ्यो । आधुनिकताको नाममा विदेशी धर्म, परम्परा, संस्कृति र पद्धति अपनाएकै आधारमा समृद्धि प्राप्त हुन सक्थ्यो भने यतिबेला विश्वको धनाढ्य मुलुकको रूपमा कङ्गो स्थापित हुनुपर्ने थियो । कङ्गोले आफ्नो मौलिक धर्म, संस्कृति र परम्परा परित्याग ग¥यो । बेलायती इसाई मसिनरीहरूले धर्मान्तरण गराउँदै जाँदा आधुनिकता र क्रान्तिकारिताका नाममा त्यसलाई स्वीकार गर्दै कङ्गोली जनता अघि बढे । कङ्गोसँग पर्याप्त खेतीयोग्य जमिन छ, जलस्रोतमा धनी देशका रूपमा पनि कङ्गोलाई लिइन्छ । वनजङ्गलमा समृद्ध मानिने कङ्गोमा युरेनियम, हीरा, सुन, तामा, कोबाल्ट र तेलखानीहरू रहेका छन् । प्राकृतिक स्रोतसाधनले सम्पन्न कङ्गोसँग सङ्घीय संरचनासहितको लोकतान्त्रिक गणतन्त्र पनि छ । यी सबै ‘अवयव’हरूले सुसज्जित कङ्गो विश्वको सबैभन्दा गरिब देशको रूपमा रहेको छ, किन होला प्रचण्ड–बाबुराम ?
राजनीतिक प्रणाली सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्र, विदेशीको साथ–सङ्गत र पराया धर्म–संस्कृतिको अवलम्बन गरिँदा–गरिँदै पनि प्राकृतिक स्रोतसाधनसम्पन्न कङ्गोको प्रतिव्यक्ति आय अमेरिकी डलर चार सय अठसठ्ठी मात्र किन छ र ऊ विश्वको सबैभन्दा गरिब मुलुक किन बन्यो प्रचण्ड–बाबुराम ? भन्न सकिएला, त्यहाँका विशिष्टताहरूको अध्ययन गरेर मात्र समस्या पहिचान गर्न सकिन्छ । तर, समग्रतामा हेर्दा कङ्गोले भोगिरहेको वर्तमानभन्दा धेरै भिन्न वर्तमान हामी भोग्दै छैनौँ । कङ्गो मात्र होइन, अफ्रिकाका सबै मुलुकले आफ्नो मौलिक धर्म, संस्कृति र परम्परा छोडी विदेशी धर्म–संस्कृति अपनाएका छन् । आफ्ना भाषालाई पन्छाउँदै अङ्ग्रेजी, फ्रेन्च र पोर्चुगिजजस्ता भाषालाई सरकारी कामकाजको भाषा बनाएका छन् । यति सब गरिसकेपछि विश्वका गरिब नागरिकको पहिचान पनि अफ्रिकीहरूले नै बनाएका छन् । संसारका सबैभन्दा गरिब दश मुलुकमध्ये पाँचवटा अफ्रिकाका मात्र छन् । कङ्गो, मोजाम्बिक, युगाण्डा, इथियोपिया र तान्जिानिया सबैले आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा र भाषा छोडेर पराया धर्म–संस्कृति अपनाएका छन् ।
एथियोपियाले सरकारी कामकाजको भाषाचाहिँ आफ्नै मौलिक भाषा बनाएको छ । दक्षिण अफ्रिकासहित अफ्रिकी महादीपका अधिकांश मुलुकले आफ्नो धर्म छोडेर इसाई धर्म अपनाएका छन्, उनीहरूको मौलिक संस्कृति, परम्परा र धर्म विशेष ढङ्गले संरक्षण गर्नुपर्ने तहमा पुगेको छ । अधिकांश अफ्रिकी देशहरूले भाषा पनि विदेशी नै अपनाएका छन् । मोजाम्बिक र अङ्गोलाले पोर्चुगिज तथा सेनेगल, ¥वाण्डा, मरिसस, मालावी, मदागास्कर, आइभरीकोष्ट, ग्यावोन, क्यामरुन र बेनिनले फ्रेञ्च भाषा प्रयोगमा ल्याएका छन् । त्यस्तै, बोत्स्वाना, घाना, केन्या, लेसोथो, नामिबिया, नाइजेरिया, तान्जानिया, युगाण्डा र जाम्बियाले चाहिँ अङ्ग्रेजीलाई आधिकारिक भाषा बनाएका छन् ।
अफ्रिकाका सबै मुलुकले आफ्नो मौलिक धर्म, संस्कृति र परम्परा छोडी विदेशी धर्म–संस्कृति अपनाएका छन् । आफ्ना भाषालाई पन्छाउँदै अङ्ग्रेजी, फ्रेन्च र पोर्चुगिजजस्ता भाषालाई सरकारी कामकाजको भाषा बनाएका छन् । यति सब गरिसकेपछि विश्वका गरिब नागरिकको पहिचान पनि अफ्रिकीहरूले नै बनाएका छन् । संसारका सबैभन्दा गरिब दश मुलुकमध्ये पाँचवटा अफ्रिकाका मात्र छन् ।
यसरी आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र स्वाभिमान मेटेर विदेशी संस्कृति भित्र्याउँदा पनि कुनै अफ्रिकी मुलुक समृद्ध बनेका छैनन् । बरु अहिले पनि सर्वाधिक अशान्त, अस्थिर र गरिब मुलुकको रूपमा तिनले आफ्नो पहिचान राखेका छन् । प्राकृतिक स्रोत, विदेशी सङ्गत, विदेशी धर्म–संस्कृति र प्रजातान्त्रिक प्रणाली अपनाएकै आधारमा कुनै मुलुक समृद्ध बन्न सक्थे भने अहिले विश्वका सर्वाधिक धनाढ्य एवम् सभ्य मुलुकको कोटिमा अफ्रिकाका यिनै (उल्लिखित) देशहरू परेका हुन्थे, होइन र ?
कुनै पनि मुलुकको स्वाभिमान, पहिचान र अस्तित्व मेट्न सबैभन्दा पहिले त्यहाँको धर्म, संस्कृति, परम्परा, भाषा र राष्ट्रियता एवम् राष्ट्रिय एकताका आधारहरूको पहिचान गरी नामेट तुल्याउनुपर्ने हुन्छ । सिङ्गै अफ्रिकी महादीपलाई आफ्नो काबुमा लिन पश्चिमाहरूले यस्तै रणनीतिक चाल चलेका हुन् । दक्षिण अफ्रिकालाई गोराहरूले आफ्नो जालमा पार्नुअघि त्यहाँको मौलिक धर्म, परम्परा, संस्कृति, रीतिरिवाज र चाडपर्व विस्थापित गरिदिएका थिए । बुरुण्डी र रुवाण्डादेखि अफगानिस्तानसम्म उनीहरूले अपनाएको नीतिको अध्ययन गरियो भने पर्याप्त समानता भेटिन्छ । धर्म परिवर्तनको व्यापक अभियान चलाउने, बहुसङ्ख्यकका विरुद्ध अल्पसङ्ख्यक समुदायलाई मोर्चाबद्ध तुल्याउने, आधुनिकता, मानवअधिकार र टे«ड युनियन अधिकारका नाममा आफ्ना एजेण्डाहरू बोकाउने र अस्थिरता एवम् अराजकताका बीच आफ्नो भूमिका स्थापित गर्ने चालबाजी अन्य मुलुकहरूमा जसरी गरिएको थियो ठीक त्यही रणनीति नेपालमा पनि अवलम्बन गरिएको हो । विदेशी खुराकमा जीविका चलाउन थालेपछि हामीभित्रैका कैयन मान्छे अराजक र सबै मूल्य–मान्यता भङ्ग गर्ने गरी अनुशासनहीन बनेका छन् । देवता नमान्ने, पितृ नमान्ने, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज नमान्ने, जुन अवस्था यहाँ बनाइएको छ यो नै देश मेट्ने अभियानको थालनी हो । देश मेट्नु भनेको सिमाना मेट्नु मात्र होइन, मन–मनबाट देश मेटिएपछि सिमाना मेट्न कुनै ठूलो बल लगाइरहनुपर्दैन । मनमा देश बाँच्यो भने सिमाना सुनिश्चित नभए पनि देश बाँचिरहन्छ भन्ने दृष्टान्त प्यालेस्टेनीहरूले स्थापित गरिसकेका छन् ।
नेपालमा नेपाल मेट्ने नियोजित प्रयास धेरै अघिदेखि गरिएको भए पनि २०६३ (वि.सं.) को परिवर्तनसँगै त्यसका निम्ति भएका सङ्गठित र योजनाबद्ध प्रयासहरू सतहमा देखापरेका हुन् । नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको आधार भनेका अनौठो भूगोल (हिमाल, पहाड र तराईको बनोट) प्रतिको ममता (१), सगरमाथा (२), हिन्दूराष्ट्र (३), नेपाली भाषा (४), राजसंस्था (५), टोपी (६), बुद्ध र लुम्बिनी (७), राष्ट्रिय राजनीतिक दल (८), क्षेत्री, ब्राह्मण र नेवारको विस्तारित बसोवास (९), मौलिक संस्कृति, रीतिरिवाज र परम्परा (१०), तथा नेपाली राष्ट्रिय सेना (११) हुन् । २०६३ (वि.सं.) को परिवर्तनपछि नेपाल र नेपाली राष्ट्रियता एवम् राष्ट्रिय एकताका आधारहरू योजनाबद्ध रूपमा छिमल्ने प्रयास हुँदै आएका छन् । जुन राजाले देशको स्थापना गरे तिनै राजाका वंशज (उत्तराधिकारी) ले राज गरेको विश्वमा एउटै मात्र मुलुक नेपाल थियो र, सबै जाति, भाषिक, क्षेत्रीय र धार्मिक समुदायले साझा संस्थाका रूपमा राजसंस्थालाई स्वीकार गरेका थिए । त्यसैले राजसंस्था नेपालको पहिचान तथा राष्ट्रिय एकताको आधार बनेको थियो, त्यसलाई सिध्याइयो ।
नेपालीहरू राजाबाट प्रजातन्त्र सुरक्षित राख्न नसकेकोमा चिन्तित थिए, राजसंस्था अस्तित्वमा रहिन्जेल नेपाल मेट्न मुस्किल हुने निष्कर्ष निकालेर बसिरहेका विदेशीहरूले नेपालीको यही चिन्तासँग आफूलाई एकाकार गरे । नेपालीहरू प्रजातान्त्रिक अधिकार सुरक्षाका लागि राजासँग लडिरहँदा विदेशीहरू राष्ट्रियता सिध्याउने कपटी उद्देश्यका साथ राजाविरुद्धको सङ्घर्षमा सामेल भएका थिए । त्यस्तै विश्वको एक मात्र हिन्दूराष्ट्रको रूपमा नेपालको पहिचान स्थापित भएको थियो । विश्वले नेपाललाई चिन्ने सगरमाथा र बुद्धभूमिका रूपमा त हुँदै हो, त्यसबाहेक हिन्दूराष्ट्रका रूपमा हाम्रो बेग्लै विशिष्टता स्थापित भएको थियो । किराँत र बौद्ध धर्म नेपालको मौलिक धर्म हुन् । तथापि, नेपालभित्र तराई, पहाड र हिमाल जोड्ने सबैभन्दा प्रभावकारी सूत्र पनि हिन्दुत्व नै हो र, हिन्दूराष्ट्रप्रतिको गौरवभाव हिमाली, पहाडी र तराईवासीहरूमा समतुल्य थियो, रहनेछ । नेपालको विश्व पहिचान र नेपाली राष्ट्रियताको बलियो आधार मेट्न यसलाई हिन्दूराज्यबाट धर्मनिरपेक्षमा रूपान्तरण गरियो ।
नेपाली राष्ट्रिय एकताको अर्को आधार नेपाली भाषा हो, सङ्घीय राज्य प्रणाली थोपर्ने क्रमसँगै प्रदेशहरूलाई कामकाजको भाषा तय गर्न पाउने अधिकार निश्चित गरिएको छ । यही संवैधानिक अधिकारमा टेकेर दुई नम्बर भनिने प्रदेशले त्यहाँबाट नेपाली भाषा मेट्ने निरन्तर प्रयास गरिरहेको छ । देशका पचास प्रतिशतभन्दा बढी जनताको मातृ भाषाको रूपमा रहेको नेपाली नबुझ्ने नेपाली धेरै कम (अर्थात् दुई प्रतिशतभन्दा पनि कम) मात्र रहेका छन् । अफ्रिकी मुलुक घानामा सबैले बोल्ने र बुझ्ने आफ्नो भाषा हुँदाहुँदै आन्तरिक द्वन्द्वका कारण घाना आज अङ्ग्रेजीलाई आधिकारिक भाषा बनाउन बाध्य भएको छ । आफ्नो अस्वीकार गर्ने तर पराया योजनामा रमाउनेहरूले नेपालमा नेपाली भाषामाथि निरन्तर प्रहार गर्नुको मूल कारण पनि नेपाली राष्ट्रियतालाई लुलो बनाउनकै लागि हो भन्नेमा द्विविधा राखिरहनु नपर्ला ।
देवता नमान्ने, पितृ नमान्ने, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज नमान्ने, जुन अवस्था यहाँ बनाइएको छ यो नै देश मेट्ने अभियानको थालनी हो । देश मेट्नु भनेको सिमाना मेट्नु मात्र होइन, मन–मनबाट देश मेटिएपछि सिमाना मेट्न कुनै ठूलो बल लगाइरहनुपर्दैन । मनमा देश बाँच्यो भने सिमाना सुनिश्चित नभए पनि देश बाँचिरहन्छ भन्ने दृष्टान्त प्यालेस्टेनीहरूले स्थापित गरिसकेका छन् ।
नेपाली राष्ट्रियताको एउटा अर्को आधार टोपी पनि हो । पूर्वका राई–लिम्बूको साकेला नृत्यमा होस् या गुरुङले रोदी नाच्दा होस् या मगर र नेवारले आफ्नो सांस्कृतिक परम्परा प्रस्तुत गर्दा होस् या सुदुरपश्चिमवासीले देउडा गाउँदा होस् सबैले आ–आफ्ना रैथाने (जातीय) पोसाकका साथ शिरमा नेपाली टोपी पहिरिएका हुन्छन् । यसले नेपाली टोपी नेपाली राष्ट्रियताको पहिचान भएको पुष्टि गर्दछ । तर, दुई नम्बर भनिएको प्रदेशमा नेपाली टोपी बर्जित गर्ने घोषणा भएको छ । यतिसम्म कि प्रदेश सभामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले समेत नेपाली पोसाकका साथै टोपी प्रयोग गर्न नपाइने भनिएको छ । यसलाई नेपाली राष्ट्रियता मेट्ने नियोजित चालका रूपमा बुझ्न मिल्ने कि नमिल्ने ?
राष्ट्रिय एकता र राष्ट्रियताको अर्को आधार राष्ट्रिय राजनीतिक दलहरू हुन् । दलहरूले देशका कुना–कुनासम्म आफ्नो साङ्गठनिक सञ्जाल विस्तार गर्ने र राष्ट्रिय एजेण्डाहरू पुऱ्याउने काम गर्ने हुनाले राष्ट्रिय राजनीतिक दलहरूलाई राष्ट्रिय एकताको आधार मानिएको हो । तर, २०६३ को परिवर्तनपछि जाति एवम् क्षेत्रीयतामा आधारित समूहलाई प्रोत्साहित गर्ने कार्य हुँदै आएको छ । राष्ट्रिय राजनीतिक दलहरूलाई कमजोर तुल्याइनु भनेको यसर्थमा यहाँ नेपाली राष्ट्रियता एवम् राष्ट्रिय एकतालाई नै कमजोर तुल्याउने प्रयासका रूपमा बुझ्नुपर्ने हुन्छ । राष्ट्रियताको अर्को आधार राष्ट्रिय सेना हो, २०६३ को परिवर्तनयता विकास निर्माणका नाममा अर्बौंको योजना–परियोजना सेनालाई जिम्मा लगाएर सैन्य नेतृत्वको ध्यान राष्ट्र र राष्ट्रियताबाहेकका विषयतिर मोड्ने नियोजित प्रयास भइरहेको राष्ट्रियता र राष्ट्रिय एकतामा आइपरेका सङ्कटका विषय सेनालाई सचेत नतुल्याउने तर अर्बौंका आयोजना सम्पन्न कुनै विलम्ब नगर्ने जुन चाल यहाँ चलिरहेको छ, यसमा शङ्का गर्नु नपर्ने अवस्था हुँदै होइन । सेनालाई मूल कर्तव्यबाट च्यूत गराउनु भनेकै राष्ट्रियता र राष्ट्रिय एकता कमजोर तुल्याउने प्रयत्न हो भन्ने बुझ्नुपर्दछ ।
नेपालको एकीकरण र यसको ऐतिहासिक विकासक्रममा सबै नेपालीले कुनै न कुनै रूपमा योगदान पुऱ्याएका छन् । मगर, गुरुङ, क्षेत्री, ब्राह्मण, राई, लिम्बू, थारू, यादव, दलित राजवंशी, मैथिल ब्राह्मण, नेवार र तामाङलगायत सबै जातिले नेपालको एकीकरणमा विशिष्ट ढङ्गले आफूलाई सहभागी गराएका थिए । क्षेत्रीहरूको नेतृत्वदायी भूमिकामा मगर र गुरुङले यो देशका निम्ति अधिक रगत बगाएका छन् भन्न कञ्जुस्याइँ गर्नुहँुँदैन । काठमाडौं उपत्यकाका नेवार र पूर्वी नेपालका राई–लिम्बूहरूले बेग्लै ढङ्गले नेपालको एकीकरणलाई सघाएका हुन् । तर, विस्तारित बसोवासका कारण क्षेत्री, नेवार र ब्राह्मणहरूले राष्ट्रिय एकतामा पृथक् देन दिएका छन् । देशमा हरेक व्यापारिक नाका र केन्द्रमा नेवारहरू पुगेका छन् । हाल कायम गरिएको ७५३ राजनीतिक संरचना (गाउँ तथा नगरपालिका) मा नेवार, क्षेत्री र ब्राह्मणको बसोवास रहेको भेटिन्छ । यसले पनि राष्ट्रियता र राष्ट्रिय एकतामा विशिष्ट योगदान पुऱ्याइरहेको छ ।
ताप्लेजुङको ब्राह्मणको वैवाहिक सम्बन्ध कञ्चनपुरमा हुनु या झापाको क्षेत्रीले बैतडीका क्षेत्रीसँग पारिवारिक सम्बन्ध जोड्नु या डोटी र इलामका नेवारबीच वैवाहिक सम्बन्ध कायम हुनु भनेको पनि राष्ट्रिय एकतामै योगदान पुऱ्याउनु हो । यसरी अन्य जातिले पनि योगदान नपुऱ्याएका होइनन्, क्षेत्री, ब्राह्मण र नेवारको बसोवास अलिक ज्यादा विस्तारित भएकोले योगदान पनि उनीहरूकै बढी ठहरिन पुगेको हो । तर, २०६३ को परिवर्तनपश्चात् क्षेत्री र ब्राह्मण समुदायलाई एक्ल्याउन अनेकौँ नियोजित प्रयास हुँदै आएका छन् । नश्ल, वर्ण, धर्म, वेशभूषा, भाषा, संस्कार, संस्कृति, परम्परा, सोच, बसोवास, रहनसहन, समस्या र समाधानसमेत नमिल्ने मधेसी र जनजाति समुदायबीच एकताको नारा दिनु तथा देशको सबैभन्दा समृद्ध मानिने नेवार समुदायलाई जनजातिमा रूपान्तरण गर्नु भनेको क्षेत्री, ब्राह्मण, ठकुरी, दशनामीलगायतका समुदायविरुद्ध मोर्चाबन्दी गर्नु हो । यसप्रकारको मोर्चाबन्दीले राष्ट्रियता एवम् राष्ट्रिय एकता दुर्बल तुल्याउने र गृहयुद्धको स्थिति पैदा गर्ने निश्चित छ ।
बुरुण्डी र रुवाण्डमा झैँ अफगानिस्तानमा जसरी बहुसङ्ख्यकविरुद्ध अल्पसङ्ख्यकलाई मोर्चाबद्ध गरी गृहयुद्धको विजारोपण गरिएको थियो, ठीक त्यस्तै अभ्यास नेपालमा पनि गर्न खोजिएको हो ।
बुरुण्डी र रुवाण्डमा झैँ अफगानिस्तानमा जसरी बहुसङ्ख्यकविरुद्ध अल्पसङ्ख्यकलाई मोर्चाबद्ध गरी गृहयुद्धको विजारोपण गरिएको थियो, ठीक त्यस्तै अभ्यास नेपालमा पनि गर्न खोजिएको हो । अफगानिस्तानको बहुसङ्ख्यक पस्तुन (साठी प्रतिशतभन्दा बढी) विरुद्ध अल्पसङ्ख्यक समुदायलाई उचालेकै शैलीमा नेपालको ठूलो समुदायका विरुद्ध अल्पसङ्ख्यक समुदायहरूलाई मोर्चाबन्दी गर्नु भनेकै नेपाली राष्ट्रियता र राष्ट्रिय एकता बिथोल्न खोज्नु हो । यसबाहेक हाम्रा परम्परागत संस्कृति, सामाजिक एवम् पारिवारिक मूल्य–मान्यताहरूलाई ध्वस्त बनाएर विदेशी संस्कृति र परम्परा अनुकूलताका प्रावधानहरू कानुनमा समेत समेटिएका छन् । नेपाल मेट्न भइरहेका यसप्रकारका षड्यन्त्रप्रति नेपाली जनता अनभिज्ञ रहेको मान्ने हो भने पनि नीति निर्माण तहमा रहेकाहरू जगैदेखि नेपाल भत्काउने नियोजित खेलमा सामेल भइरहेका छन् ।
विश्वमा राष्ट्रियता र राष्ट्रिय एकताका आधारहरू बलियो र अधिक रहेको मुलुकका रूपमा नेपाललाई लिइन्थ्यो । कुनै बेला स्टालिनले सोभियत सङ्घको राष्ट्रिय एकताको आधार नभेटेपछि उनले रसियन भाषालाई एकताको आधार बनाउन सबै पन्ध्रवटै राज्यमा अनिवार्य गरिएको थियो । सबैको साझा भाषाको रूपमा रसियन भाषालाई विस्तार तथा विकास गर्न स्टालिनले गरेको प्रयास सन् १९८६ मा मिखाइल गोर्वाचेवले अन्त्य गरिदिएपछि सोभियतसँग टुक्रिएर पन्ध्र राज्यमा विभाजित भएको तथ्यलाई हामीले भुल्नुहुँदैन । नेपालमा २०६३ को परिवर्तनपश्चात् नेपाली राष्ट्रियता तथा राष्ट्रिय एकताका आधारहरूलाई जसरी ध्वस्त पारिँदै छ । यदि एकताका आधारहरूको पुनरोत्थान गर्न समयमै सकिएन भने भोलिको पुस्ताले नेपाललाई युगोस्लाभिया या सुडान र इथियोपियालाई झैँ पढ्नुपर्नेमा शङ्का गरिरहनुपर्ने छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक