(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20181210

अर्काको आङको जुम्रामाथी लाखौं उखान टुक्का फुराउने दिमागले पनि ,आफ्नो आङको चाहिँ भैंसी पनि नदेख्दो रहेछ !

- सन्तोष चिमरिया
म पनि जातले मान्छे ! जातले मान्छे भएर जन्मेपछि कहिलेकाही नुहाउनै पर्ने बाध्यता हुने रहेछ । बाख्रो जस्तो
आजिवन ननुहाई बस्न नमिल्ने ! अब बसाई काठमाडौंको छ । जाडो बढेको छ , पानी छोइसक्नु छैन । २३ कार्तिकमा भाईटिका थियो क्यारे । करले त्यो दिन नुहाईएको थियो । त्यसयता उस्तो कष्ट गरिएन नै भनम्न । मन सफा हुनुपर्छ भन्ने दर्शनको साहारा लिईयो । तर हिजो बुढीले भुइँमा ओछ्यान लगाई दिएपछि भने, दर्शनले काम गरेन । नुहाउनै पर्ने बाध्यता आइलाग्यो । यस्ता जाडोमा जोईको अंगालो छोडेर भुईमा एक्लै सुत्ने हिम्मत आएन । त्यसैले ,आज बिहानै ज्यान जोखिममा राखेर भएपनि लघु स्नान गरियो । कुरो यहाँसम्म त ठिकै थियो । तर लघु स्नान सकेर, बश्त्र धारण गरि नसक्दै,आफुले गरेको बिरगाथा कस्लाई सुनाउ, कस्लाई सुनाउ भएर आयो । भ्याट्टै नुहाएको तस्बिर राष्ट्रिय दैनिक र बिजुलीका पोल/पोलमा झुन्ड्याउन पनि अलि नसुहाउदो हुने । स्टाटस बनाई बनाई नुहाएको प्रचार गर्न पनि मनासिब नहुने ! फेरि कतै न कतै त जानकारी गराउनै पाए हुने जस्तो भएको छ आफुलाई । कस्लाई सुनाउ / कस्लाई सुनाउ भएर भित्रैबाट स्याँउ स्याँउ किरा परेजस्तो भको छ । चुप लागेर बस्न सक्ने स्थित नै छैन । अनि तल ओर्लिएर दुईचार जना सटरवाला छिमेकीलाई – ” सारै चिसो पानी,नुहाएको झन्डै मरिएन ” भन्दै सुनाईयो । यति भनेपछि बल्ल हाईसन्चो भयो र ज्यान पनि तात्न थालेर जाडो भाग्यो ।
मान्छे नाथुको जातलाई आफुले गरेका सानातिना काम पनि कम्ता महान लागेर आउदैनन भन्ने यो गतिलो उदाहरण हो । हुनत यो मेरो निजि अनुभव हो तरपनि हाम्रो राष्ट्रिय जिबनमा यस्ता घट्ना जतासुकै देखिएका छन । जाबो जाडोमा नुहाईयो भने त कल्लाई सुनाउ, कल्लाई सुनाउ हुने मान्छेको जातलाई , यसो सानातिना काम, काम परै छोड्नुस , काम गर्ने सोच मात्रै आयो भनेपनी डंका नपिटि हुँदैन ।
अब यो देश नै बिचित्रका प्रतिभाहरुको देश हो भन्दा फरक पर्दैन । यो पटक मात्रै होईन, उल्का उल्का सोच र बिचित्र कल्पनाशीलता भएकाहरू यहाँ सधैं दुईतिहाईमै हुन्छ्न । सगरमाथामा म्याराथन गराउने देखि रारा तालमा पैडी प्रतियोगिता गराउने उखर्माउलो सृजनशीलता भएका बायुहरु कतै जन्मिन नपाएर यहि जन्मिन आइपुग्छ्न । काकाकुलीको बस्तीमा पर्तिर मेलम्चीको पानी ल्याउन चौथाई शताब्दी लगाउने तर रेल र सेटेलाईट , स्विजैरलैंड र पानी जहाजको सपना देख्ने र देखाउनेहरु छानी छानी यतै जन्मिन्छ्न । अनि यीनका नबिनतम सोचहरु पोल/ पोलमा झुन्डिन्छ्न । जस्ले उ जस्तै प्रतिभा धेरै भएर उकुसमुकुस भएका प्रतिभावानहरुलाई प्रेरित गर्छ । अनि ती पनि उल्ला उल्का गर्नतिर लाग्छ्न । कोहि चौबीस घन्टा नाचेर भएर नि प्रतिभा प्रदर्शन गर्छ्न । कोहि जिब्रोले तालु छोएर प्रतिभा प्रदर्शन गर्छन । कोहि आईडिया फ्याक्छ्न । कोहि उड्न्ते भाषण छापेर दार्शनिक हुन खोज्छ्न । अर्थात जे जसरी होस, यहाँ दुईतिहाई दिने देखि दुईतिहाई पुर्याउने सबैलाई महान हुनु छ । भाईरल र फेमस हुनु छ ।
वास्तवमा यो देश नै फेमस र भाईरलहरुको देश हो । दार्शनिक र कविहरुको देश हो । गजलकार र मुक्तककारहरुको देश हो । गिनिज रेकर्डधारीहरुको देश हो भनम्न ! त्यसैले यहाँ को भन्दा को धेरै भाईरल, को भन्दा को फेमस भनेर दौड र भोटिङ चलिरहन्छ । जुलुस निस्किरहन्छ । हस्ताक्षर संकलन भइ रहन्छ । यस्तो बिचित्रको मुकुन्देल्याण्डमा मार्का मार्काका प्रतिभाहरु आपसमा दौडिएर एकाअर्कालाई जित्न खोजीरहेका हुन्छ्न ।
फेरि यो मनुवा प्रजातीलाई आफुले ,यसो एउटा कविता कोर्यो । हैट ! यसले त राष्ट्रिय पुरस्कार जित्न पर्ने जस्तो लाग्छ । यसो मुक्तक बजायो । हैट ! यो त बबालै भो जस्तो लाग्छ । यसो गजल बर्षायो । तुरुक्कै आँसु चुहाउने गरिको मार्मिक लाग्छ । यसो नयाँ युग भन्दै भाषण बजायो, यसो सौच बस्दा गित गुनगुनायो । साला ! आफ्नो कला ,गला र भाषण देखेर आफै तिनछक्क परिन्छ । एकदम असाधारण लागेर आउँछ । हैट ! मैले अहिलेसम्म किन नोबेल पुरस्कार पाईन जस्तो भान हुन्छ । आफुले गरेको कर्म अरुलाई हावा न चावाको लागोस तर आफुलाई अकबरी लाग्छ । कसलाई सुनाउ , कसरी आत्माप्रचार गरौं भनेर नयाँ नयाँ जुक्ती फुर्छ ।
कसैले पत्याएन, वा वा भनेने , आलोचना गर्यो भने , दोहोर्याएर आत्मा समिक्षा गर्न मन लाग्दैन, बरु यो मूर्ख
संसारले प्रतिभाको कदर गर्न जानेकै छैन जस्तो लागी दिन्छ । अनि संसार देखेर दिक्क लाग्छ । बिरक्त लाग्छ । साला नबुझ्ने बुद्धिजीबी नामका महामुर्खहरुलाई थला बसाइ दिउ जस्तो लाग्छ ।
तर जे भएपनि ज्याद्रो जात हो – मनुवा । अरुले नपत्याउदैमा चुपो लागेर बस्दैन यो जात ! बरु आफ्नो प्रतिभाको कदर आफै गर्न थाल्छ । आफ्नो महात्मे आफै फलाक्न थाल्छ । अनि आफैले आफैलाई
खादा लगाई माग्छ र मुसुक्क हाँस्छ । दोसल्ला ओडाई माग्छ र गमक्क फुल्छ । प्रमाणपत्र र तक्मा भिराई माग्छ र मखलेल हुन्छ । अनि गुड गभर्मेन्सको अवार्ड थापेर , अहंकारी मुद्रामा थला पार्ने धम्की दिन्छ । धन्न ! यो नोबेल पुरस्कार भन्ने जिनिस आफैले आफैलाई टक्र्याउन नमिल्ने रहेछ । नत्र हाम्रा सान्तीका दुतले, अस्तिनै आफैले आफैलाई सान्तीका लागि नोबेल पुरस्कार टक्र्याईवरी ,कुम हल्लाई सकेका हुन्थे । कहाँ नोबेल पुरस्कार पाइन र पाउनुपर्छ भन्दै ल्याङल्याङ गरेर बसीरन्थे र !
अब कुरो गरौं मनुवाको विपरीत मनोबिज्ञानको । जसरी मनुवा जातलाई, आफ्ना सानातिना र तुच्छ काम पनि उल्कै महान लाग्छ । त्यसको ठिक बिपरित, आफुले गरेका भंयकर भयंकर गल्ती र अपराध, भ्रष्टाचार र नातावादहरु चाहिँ तुच्छ र साधारण लाग्छ । ७ दिन कब्जियतले ग्रस्त भएको मनुवा प्रजातीलाई आफ्नै उधरवायु नगनाए जस्तो , यीनलाई आफ्नै पाद पनि सुभाषित लाग्छ । आफ्ना गन्धे पादबारे ती अनेक कुतर्क झिकेर त्यसलाई मखमली बनाउन खोज्छन ।
वाईडबडीको कुरो गरम्न । यो वाईडबडी के कसो होला सिरिमान भनेर कसैके सोध्यो भने उत्तर आउदैन । उत्तर दिनपर्ने कुर्षीमा बसेको सिरिमान लाउडा र धमिजाको गन्दे इतिहास कोट्याएर पाद्न थाल्छ । दुर्गन्ध माथी पाद, तपाईं आफै कल्पना गर्नुस वातावरण कस्तो भयो होला ? सिरिमान निर्मलालाई यसो न्याय ……भन्न खोज्यो सिरिमानको सिरि पित्ले ताउलो ताते जसरी तात्छ । साँडेका जस्ता आँखाले खाउला जस्तो गरेर हेर्छन । चुईक्क बोल्दैनन् ।
हे महापुरुष यो यसुकी छोरीको कार्यक्रम …… भनेर भन्यो , गिर्जानी गा हुन । सुशील नि गा हुन । भन्न थाल्छन ।
हैट ! मनुवाले आफ्नो आङको भैंसी देख्दैन भनेको यहि रहेछ । अर्काको आङको जुम्रामाथी लाखौं उखान टुक्का फुराउने दिमागले पनि ,आफ्नो आङको चाहिँ भैंसी पनि नदेख्दो रहेछ । यस्तो बिचित्र बिर्यबाट सिर्जित बिचित्र प्रजातीको मनुवालाई सन्तेको कोटि कोटि प्रणाम । जय हो बिचित्र मनुवा ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक