20181218

नत्र झर्ला र खाउँला भन्ने प्रवृत्ति बोकेर ठूला ठूला कुरा गर्नुको कुनै तुक छैन !

- नारायण गाउँले 
शेरबहादुरजीको बारेमा केही लेख्नु अक्षर, समय र उर्जाको व्यर्थ खर्च होजस्तो लाग्छ तैपनि उहाँ त्यस्तो महत्त्वपूर्ण पदमा हुनुहुन्छ, जसको संसदीय प्रजातन्त्रमा 'सरकार'जत्तिकै भूमिका हुन्छ ।
जिब्रो स्पष्ट नचल्नु शारीरिक कमजोरी होला, व्यङ्ग्यको विषय होइन, तर लाग्छ, उहाँका धेरै अवयव चल्दैनन् ।

न उहाँमा भद्रता छ, न भिजन छ, न मिठास छ, न आफ्नो कुरा लेखेरै भए पनि स्पष्टसँग राख्ने क्षमता छ । आजसम्म संसदमा उभिएर सरकारको कुनै एउटा निर्णय या योजनाबारे उहाँले सार्थक, तथ्ययुक्त र प्रभावकारी भाषण या विरोध गर्नुभएको छैन । न आफ्नो दल या सरकारमा हुँदा लिएका नीति र कार्यक्रमबारे 'डिफेन्ड' गर्ने क्षमता उहाँमा छ । उहाँ बारम्बार परीक्षित र असफल प्रधानमन्त्री हो । अझै पनि सत्ता र शक्तिमा टाँसिइराख्न चाहने लालचप्रति कसको मनमा श्रद्धा बाँकी होला ?
विपक्षी दलको नेता संवैधानिक पद हो र जनताको करबाट उसले सेवासुविधा लिएको हुन्छ । कुनै पनि बेला सरकारको नेतृत्व गर्न ऊ तयार हुनुपर्छ र सरकारी कामकारबाहीबाट निराश बनेका जनताको अनुहारमा उत्साह, आशा र सपना जगाउन सक्ने व्यक्तित्व हुनुपर्छ । देशसँग विकल्प छ भन्ने विश्वास जनतामा जाग्नुपर्छ । वेस्टमिंस्टर पार्लियामेन्टमा विपक्षी दलका नेता जेरेमी कोर्बिनलाई हेर्नुभो भने त्यो पदको मूल्य र कर्तव्य थाहा हुन्छ ।
माफ गर्नुहोला, शेरबहादुरजीको व्यक्तित्व हेरेर झन बढ़ी निराशा, फ्रस्ट्रेशन र राजनीतिप्रति वितृष्णा पैदा हुन्छ । उहाँमा कुनै त्यस्तो गुण र क्षमता छैन जसले वर्तमानबाट असन्तुष्ट पुस्तालाई भविष्यको सुन्दर चित्र प्रस्तुत गर्न सकोस् । उहाँकै अनुहार हेरेर पनि सरकारका कतिपय गल्तीहरूमा बोल्ने जाँगर चल्दैन ।
के उहाँको कुनै इंटरभ्यु, भाषण या लेख छ जसले सरकारका अनुत्तरदायी कदमबारे स्पष्ट, तथ्ययुक्त र खोजमूलक प्रतिवाद गरेको होस् ? के उहाँले संसदमा आफ्नो भूमिका निभाउनुभएको छ ?
हिम्मत छ र नैतिक राजनीति गर्ने हो भने कांग्रेसले शेरबहादुरजीलाई विपक्षी दलको नेताबाट बिदाइ गर्न सक्नुपर्छ र भिजनरी, स्पष्टवक्ता, अध्येता युवा नेतृत्व चुन्न सक्नुपर्छ । नत्र झर्ला र खाउँला भन्ने प्रवृत्ति बोकेर ठूला ठूला कुरा गर्नुको कुनै तुक छैन ।

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक