20190401

बारा पर्सा हावाहुरी: प्रभावित गाउँहरू उजाड, पीडित अन्योलमा

- माधुरी महतो, बीबीसी नेपाली सेवा

हावाहुरी
Image captionहावाहुरीमा आफन्त र घरवार गुमाएकाहरू भावविह्वल देखिन्थे
म सोमवार सुरूमा बाराको पुरैनिया पुगेँ। त्यहाँ पुग्दा गाउँमा केही पनि बाँकी नरहेजस्तो उजाड देखिन्थ्यो।
घर, रुख, पोल सबै ढलेका थिए। मानिसहरू अरूको घर भत्किएको अवस्था कस्तो छ, उपचारका लागि को को अस्पताल जान पाए वा कोही घरमै फसिरहेका छन् कि भनेर खोजी गरिरहेका थिए।
हावाहुरीमा परि आफन्त गुमाएकाहरू घरमै रोइरहेका थिए। वृद्धवृद्धा अनि बालबालिकाहरू पनि रोइरहेका देखिन्थे।
त्यहाँ पुग्दा अचम्म लागेको चाहिँ त्यहाँ छेउछाउका अरू गाउँहरूमा कतै क्षति पुगेको थिएन।

अन्योल

पुरैनिया सहित अति प्रभावित बाराको फेटा, भरवलिया, र चैनपुरमा मानिसहरू अब के खाने र के लगाउने भन्ने अन्योलमा देखिन्थे।
गाउँमा भित्र्याउने बेला भएको गहुँ सबै असिना पानीले नष्ट गरेको छ। मानिसहरूले रातभरी डरका कारण सुत्न नसकेको बताएका छन्।
रातिदेखि नै उद्धारका लागि खटिएका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू पनि गाउँमा मानिसहरू र बचेका सरसामान निकाल्न लागि परेका छन्।
कति घरबाट खानेकुराहरू निकालिँदै थियो भने कति घरबाट लत्ताकपडा झिकिँदै थियो।
हावाहुरी

सिमेन्टका घर पनि लडे

केहीले चाहिँ आफ्नो घरमा जोगिएको खानेकुरा समूहमै बाँडेर पनि खाइरहेका थिए।
चाहे फुसको घर होस् वा सिमेन्टको, घरहरू सबै भत्किएका छन्।
ती क्षेत्रमा घरहरू ढल्नुका साथै सानादेखि ठूला सबै रुखहरू जरैसम्म उखेलिएर ढलेको देखिन्छ।
मानिसहरू घटनामा के भयो कसरी भयो भन्ने अन्योलमै देखिन्छन्। तिनीहरूले रातभरि डरका कारण सुत्न नसकेको बताएका छन्।
धेरै ठाउँमा बिजुलीका खम्बा ढलेका छन्। त्यस क्षेत्रमा बिजुली आपूर्ति बन्द छ।

अस्पतालमा चाप

बिरामीको चाप बढी भएको वीरगञ्जस्थित नारायणी उप-क्षेत्रीय अस्पतालमा पुग्दा शय्या मात्र नभई भित्र बाहिरका खाली ठाउँमा पनि घाइतेहरू उपचारका लागि पर्खिरहेका थिए।
त्यस्तै दृश्य न्यासनल मेडिकल कलेजमा पनि देखिन्थ्यो।
घाइतेहरूको अवस्था दयनीय छ। हावाहुरीको डर मानिसहरूको अनुहारमा अझै देखिन्छ।
अस्पतालमा भर्ना भएका र बोल्न सक्ने अवस्थामा रहेका बिरामीहरू आफ्ना आफन्तहरूलाई के भइरहेको छ भनेर चिन्तित छन्।
उनीहरू घरको अवस्था के छ, आफन्तहरू कहाँ बसिरहेका छन् भन्ने प्रश्नहरू चिनजानका मानिसलाई सोधिरहेका थिए।
हावाहुरी
Image captionहावाहुरीले पक्की घरहरू समेत भत्काएको थियो

उपचार

तीमध्ये केही उपचार गरेर घर फर्किएका छन् भने धेरै चाहिँ उपचाररत छन्।
बिरामीमध्ये केहीको टाउको, खुट्टा, पेटलगायतमा चोट लागेको देखिन्छ।
र, ती अधिकांश आफ्नै घरभित्र रहेका बेला घाइते भएका हुन्।
बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरूसँग कुरा गर्दा उनीहरूले ६ सय भन्दा बढी घाइतेहरू उपचारका लागि अस्पताल आएको बताएका थिए।
विभिन्न संघसंस्थाले राहतका सामग्री लिएर गइरहेका देखिन्छन्।
आइतवार साँझ आएको ठूलो हावाहुरीले बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएको छ। बेलुकी आधा घण्टा चलेको हावाहुरीले बाराको पुरैनिया, भरबलिया लगायतका गाउँहरूमा वितण्डा मच्चाएको थियो।
सोमवार बिहान उद्वार र राहत कार्य हुदै गर्दा गाउँहरू खण्डहरजस्ता देखिएका थिए।
हावाहुरी
Image captionहावाहुरीका कारण खासगरी बाराका चैनपुर, भरवलिया, फेटा र पुरैनिया खण्डहरमा परिणत भएजस्तो देखिएको पीडितले बताएका छन्
हावाहुरी
Image captionहावाहुरी र असिना रोकिएपछि उद्धार कार्यमा जुटेका सुरक्षाकर्मीको मानिसहरूले मुक्तकण्ठले प्रशंसा गरिरहेको हाम्री संवाददाता माधुरी महतोले बताएकी छन्
हावाहुरी
Image captionहावाहुरीका कारण वृद्धवृद्धा र बालबालिकालाई बढी असर परेको बताइएको छ
हावाहुरी
Image captionखासगरी फुसका घरहरूमा धेरै क्षति भएपछि त्यस्ता घर भएकाहरू घरवारविहीन हुन पुगेका छन्
हावाहुरी
Image captionघाइतेको सङ्ख्या धेरै भएपछि अस्पतालमा सय्या अभावमा भुइँमै राखेर उपचार गरिँदैछ
हावाहुरी
Image captionस्थानीयवासिन्दाका अनुसार हावाहुरी यति शक्तिशाली थियो कि त्यसले कच्ची मात्रै नभई पक्की घर पनि भत्काएको थियो
हावाहुरीतस्वीर कपीराइटSHRAWAN SHAH
Image captionहावाहुरीले घरभित्रका भाँडाकुँडा छताछुल्ल बनाएपछि खाना पकाएर खाने अवस्था नरहेको पीडितले बताएका छन्
हावाहुरीतस्वीर कपीराइटSHRAWAN SHAH
Image captionहावाहुरीका कारण ज्यान गुमाएका मानिसहरूलाई छिमेकीले सान्त्वना दिने गरेका छन्
हावाहुरी
Image captionभौतिक क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि पीडितहरूले भकारीमा भएका धान लगायतका अन्न छरिएको बताएका छन्

बारा पर्सा हावाहुरी: कसरी आयो नेपालको पूर्वी तराईमा विनाशकारी हावाहुरी

हुरी
आइतवार साँझ आएको हावाहुरीले नेपालको पूर्वी तराईका दुई जिल्लामा धनजनको ठूलो क्षति भयो।
सोमवार बिहान बारामा कम्तीमा २९ जनाको र पर्सामा एक जनाको मृत्यु भएको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बीबीसीलाई बताएका छन्।
गृहमन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार छ सयभन्दा बढी व्यक्तिहरू घाइते भएका छन्। मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ।
साँझ साढे सात बजेदेखि सुरु भएको हावाहुरी झन्डै आधा घण्टासम्म चलेको थियो।
हावाहुरीले माटोबाट बनेका कच्ची घरहरूमा क्षति पुर्‍याएको थियो। बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ।
शक्तिशाली हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधनहरूलाई पल्टाइदिएको थियो।

हावाहुरीको पूर्वानुमान गरिएको थिएन?

मौसमविद्हरू चैतदेखि जेठसम्मको समय नेपालमा प्रिमन्सुन गतिविधि हुने बताउँछन्।
हुरी
त्यसैले अपराह्नपछि जुनसुकै बेला हावाहुरी आउने सम्भावना हुन्छ।
आइतवार बिहान मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो।
तर यति ठूलो क्षति पुर्‍याउन सक्नेगरी हावाहुरी आउने अनुमान आफूहरूले नगरेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्याल बताउँछन्।
Presentational white space

कसरी आयो हावाहुरी?

अर्यालका अनुसार स्थानीय वायुको प्रभाव र भारतको मध्यप्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुँदा हावाहुरीले शक्तिशाली स्वरूप लिएको देखिन्छ।
उनी भन्छन्, "स्थानीय वायुकै प्रभावले बादल धेरै बनेर एकैचोटि तल खनिँदा हावाहुरी सिर्जना भयो।"
तर जल तथा मौसम विभागका मौसमविद्का अनुसार स्थानीय वायुको प्रभाव उच्च भएकाले पूर्वानुमान संयन्त्रमा सचेत गराउनेगरी कुनै सङ्केत देखिको थिएन।
अर्याल भन्छन्, "स्थानीय वायुको प्रभाव तल्लो भेगमा आकलन गर्न हाम्रो प्रणालीले सकेन।"
Presentational white space
भारतको मौसम पूर्वानुमान निकायले चाहिँ नेपाली सीमा जोडिएका बिहार तथा पश्चिम बङ्गाल राज्यमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्न सक्ने बताएको थियो।

के छ पूर्वानुमान?

नेपालको मौसम पूर्वानुमान महाशाखाले सोमवार दिउँसो नेपालका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ।
उसका अनुसार पहाडी भेगको केही स्थानमा र पूर्वी तराई भेगका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना देखिन्छ।
बारा र पर्सामा विनाशकारी हावाहुरीले पुर्‍याएको क्षति
सोमवार राति भने पूर्वी नेपालमा आंशिकदेखि सामान्य बदली रहने, पश्चिम र मध्यनेपालका पहाडी भूभागमा आंशिक बदली हुने र अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।
तर पूर्वी नेपालका केही मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना भने उसले जनाएको छ।
भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले सोमवार पनि बिहारमा मेघगर्जन हुने र ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्ने जनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक