20190427

नेताहरूले जनता लाई रैती बनाएर शासन गरिरहेका छन्

- महेश भट्टराई 

परिवर्तनको नाममा हामीहरूले गरेका सङ्घर्ष र उपलब्धिको सत्य तथ्य लेखाजोखा गर्न आवश्यक छ । जब सम्म निष्पक्ष्य रूपले यसलाई समीक्षा गरिँदैन तब सम्म हामीहरूले गर्ने आन्दोलन र सङ्घर्षको नतिजा एउटा चोर फटाहा बाट चाँदीको थाल खोसेर अर्को अझै धूर्त डाँका लाई बुझाउनु हुनेछ । हिजो संविधान र व्यवस्था परिवर्तनको नाममा हाम्रा उपलब्धि भन्दै सडकमा खुसी हुँदै जयजयकारको नारा लगायौ । हिजो गाऊ को झुपडीमा बस्ने गरिब बाबुको स्थिति जे थियो आज ३० वर्ष पछि पनि स्थिति त्यही नै छ । र यस्तै हो भने छोरा र नातिको स्थिति समेत तेहि रहने छ । के यही हो परिवर्तन ?
हो हिजो राजनीतिमा लाग्नै सबै पार्टीका नेताहरूको स्थिति भने पक्कै परिवर्तन भएको छ ।यही ऐना वा घाम झैँ छर्लङ्ग भएको परिवर्तन लाई परिवर्तन मान्नु हुन्छ भने के भनौ !
पैसामा खरिद बिक्री हुन्छ हरेक पदहरू - खसी र बोकाको भाउ लगाए जस्तै । मानिसहरू सबै जसो बिकाऊ मा छन् । रत्नपार्कको सडकमा राखिएका बस्तुहरू जस्तै । मात्र ठिऊ मोल लगाउन सक्नु पर्छ ।

आज बालुवाटार बेचे र टुँडिखेल बेचे, दैनिक जनताहरू लाई खाडीमा बेचिरहेछन् ।आफूहरूले राज गर्न कै लागि राजनीति खराब हो भन्छन् । बडा अध्यक्ष देखि प्रम र राष्ट्रपति सम्म दैनिक विदेश भ्रमणमा जान्छन् र जनताको कर र रेमेट्यान्स रकममा मोज गर्छन् !

एक पछि अर्को कान्ड हुन्छ, समिति गठन हन्छ, सबै सेलाउँछ। खान्छन्, खुवाउँछन्, बोल्नेहरू तो मुखमा पैसा कोची दिन्छन् । सरकार प्रतिपक्ष सबै मिलीजुली तै चुप मै चुप ।

राजा फालै झनै महँगो राष्ट्रपति र हरेक प्रदेशमा छोटे राजा लायौ । त्यो पनि पार्टीले टिका लगाएर राख्ने नमुना पद । योग्यता के, काम कर्तव्य के ? के काम छ यो पदको ? म त औचित्य नै देख्दिन ।

प्रधानमन्त्री पनि पार्टीले टिका लगाउने पद । करोडौँ रकमको चलखेल । न त कुनै योग्यता,अनुभव न त कसैको डर कर, मनोमानी पद ।
मेरो बिचारमा जब सम्म प्रत्यक्ष निर्वाचित
प्रधानमन्त्री हुँदैन तब सम्म ऊ जनता समक्ष उत्तरदायी हुन सक्दैन । जुन कुरा संविधान मै परिवर्तन गर्न जरुरी छ ।

नत्र अहिले कै ठुला कहिलिएका काँग्रेस र कम्युनिस्ट भन्ने पार्टीहरू निचोरेर हाम्रो त के कुरा नातिहरूको पाला सम्म आलो पालो राज गरी रहनेछन् ।
यी पार्टीहरू योग्यता र क्षमता विदेशीले लेखेको संविधान र खिलराजले गरी दिएको चुनाबले देखाइले देखाई सकेको छ ।
हिजोको टेबलफोन चलाउनेहरू हरेक वर्ष अपडेट भई रहने स्मार्टफोन र एप्सहरू चलाउन अयोग्य छन् । विकासको ए बि सम्म नजान्ने र नबुझ्नेहरूले विकास गफ र भाषण गरेको सुहाउँदैन ।

भगभगे,उखाने, माने ..... जो सुकै आउन पार्टी वा प्र म को पद वा सरकार बदलिँदैमा केही हुनेवाला छैन । किनकि यी सबै पार्टीहरू फरक फरक नाममा खाने बेलामा एक भई मिलीजुली खाने स्यालहरू हुन । जुन कुरा विगत निर्वाचनमा मिलीजुली चुनाव र खरिद बिक्री बाट आफैले प्रमाणित गरी सकेका छन् ।नेपालका सबै पार्टीहरू एकै हुन ।

आज व्यवस्थापिकाका सांसदहरू, कार्यपालिकाका मन्त्रीहरू, न्यायपालिकाका न्यायाधीशहरू सबै रत्नपार्कमा दसैँमा राखिएका खसी बोका जस्तै बिक्रीमा छन् ।सर्वोच्च अदालतको न्यायाधीश, सम्पत्ति सुद्दिकरण, भ्रष्टाचार तथा अख्तियार प्रमुख, प्रहरी प्रमुख नै पार्टीका नियुक्ति र पार्टी कै हनुमान भए पछि कसरी कानुनी कारबाही हुन्छ ?
बस सही भाउ लाउनु पर्छ बिचौलिया गद्दार ! बिकाऊ छन् सबै जसो ।

एउटा आफ्नै पार्टी , कार्यकर्ता र महाधिवेशन त राम्रो सँग मिलाएर सञ्चालन गर्न नसक्ने काँग्रेस र कम्युनिस्टहरूले देश चलाउन सक्दै सक्दैनन् । जुन कुरा आफैले पटक पटक प्रमाणित गरी सकेका छन् । अन्य पार्टीहरू च्याखे, धुपौरे, अवसरवादी हरू हुन जसलाई १/२ पद लौ खा भने सी मुन्टो लुकाएर जयजयकार गरी हिड्छन ।

सरकार र पदमा मानिस परिवर्तन त गरौला तर उक्त पदमा आउने मानिस चरित्र, नैतिकता, अनुभव र इमान्दारिता नभए पछि केही हुनेवाला छैन । टाउको नै ठिक नभए पछि अन्य अङ्गहरूको के आस गर्नु ।

जब सम्म राम्रो र असल नियत भएको स्वतन्त्र असल मानिस प्रधानमन्त्री हुन सक्दैन तब सम्म देश विकास हुन सक्दैन । जुन संविधान संशोधनबाट मात्र सम्भव छ ।

नत्र यी पार्टी र नेताहरूले जीवनभर जनताहरू लाई जनावर जस्तै बाँधेर खरिद बिक्री गरेर राख्नेछन् ।

जनतालाई निःशुल्क पाउनु पर्ने शिक्षा र स्वास्थ्यमा समेत व्यापारीकरण र माफिया करण गर्नेहरूले आफ्नो खुट्टामा बन्चरो कसरी हान्लान् ?

भ्रष्टाचार विरोधी अभियान्ता, नागरिक समाज र बुद्धिजीवीहरू मिलेर एक समूह गठन गरी २०१७ साल यताको सबै राजनैतिक, कर्मचारी र व्यापारी र धनाढ्ययहरू सम्पत्ति छानबिन गर्ने र अकुच संप्पत्ती राष्ट्रियकरण गर्ने ।अनि केही वर्षको लागि सैनिस शासन लगाएर सबैलाई जेल कोच्नै र शान्त भए पछि पुन निर्वाचन गर्ने ।

सैनिक शासन सँग जनता डराउनु हुँदैन । डर त राजनैतिक पार्टी र नेताहरू लाई लाग्नु पर्छ । किताब पढेको सैनिक शासन र विश्व परिवेश भन्दा नेपाली सेनाको इतिहास र छवि फरक छ । हो केही भ्रष्टाचारीहरू सेना भित्र पनि छन् । तर भ्रष्ट नेताहरू ठिक पार्ने यो नै एक नमिठो अन्तिम विकल्प हो । असहमत हुनेहरू मित्रहरू नत्र कसले र कसरी कारबाही गर्ने कानुन मिचाहा यी छाडा राँगा, स्याल र ब्वाँसाहरू लाई ? के विकल्प छ ? पोखरी नै बिषले भरिए पछि २-४ गिलास पानी होइन पोखरी नै सफा गर्नै पर्छ ।

के विप्लव समूहले गेटहरूमा पड्काउने दुईचार बम वा एम्बुस वा नेपाल बन्दले यत्रो ठुलो अराजकतालाई समाधान गर्न सक्ला र ? यिनहरू लाई टुँडिखेलमा लगी उल्टो पारेर जलाउनु पर्ने तर टुँडिखेल नै पो बेचेर खाई सके ! अख्तियार देखि न्यायालयसम्म न्याय र कारबाहीको बाटो सबै सबै बन्द भई सक्यो ! गर्ने के ?

नत्र यो देशमा केही हुने वाला छैन । प्रजातन्त्र, समाजवाद, साम्यवाद, गणतन्त्र भन्दै दैनिक मुख फेर्दै नारा लगाउने पार्टी र नेताहरूले जनता लाई रैती बनाएर शासन गरिरहेका छन् र अनन्त काल सम्म गरिरहने छन्।

अल्पकालीन होइन, दिर्घकालीन समाधान खोज्नु पर्छ !

रैती भएर बाच्ने कि नागरिक ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक