20190422

हमलामा ज्यान गुमाउनेको सङ्ख्या २९० पुगेको छ भने पाँच सय जनाभन्दा बढी घाइते !

श्रीलङ्का

तस्वीर कपीराइटGETTY IMAGES
श्रीलङ्कामा आइतवार एउटा अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा शृङ्खलाबद्ध विस्फोटनहरू गराइएको अधिकारीहरूले बताएका छन्।
यसअघि श्रीलङ्काली सरकारले स्थानीय जिहादी समूह न्याश्नल तौहिद जमातको हात रहेको र विदेशबाट त्यसले सहयोग पाएको बताएको थियो। हमलामा ज्यान गुमाउनेको सङ्ख्या २९० पुगेको छ भने पाँच सय जनाभन्दा बढी घाइते भएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार सोमवार मध्यरातदेखि देशभरि आपत्‌काल घोषणा गरिनेछ।
प्रहरीले शृङ्खलाबद्ध छापा मारी २४ जनालाई पक्राउ गरेको छ।
मन्त्रिपरिषद्‌का प्रवक्ता रजित सेनारत्नेले भने, "हामीलाई लाग्दैन कि यो देशमा सीमित एउटा समूहका मानिसहरूले मात्रै हमला गराएका हुन्।"
"एउटा अन्तर्राष्ट्रिय समूह छ जसको सहयोग विना ती हमलाहरू गराउन सम्भव थिएन।"
श्रीलङ्कातस्वीर कपीराइटREUTERS
त्यसपछि जारी एउटा वक्तव्य अनुसार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हमलाकारीहरूको अन्तर्राष्ट्रिय सम्बन्धबारे पत्ता लगाउने कार्यमा सघाउन विदेशी सहयोगका लागि अपील गर्नेछन्।
आइतवार प्रधानमन्त्री रनिल विक्रमसिङ्घले सुरक्षा निकायलाई आक्रमणबारे जानकारी प्राप्त भए पनि त्यसमाथि आवश्यक कदम नचालिएको बताएका थिए।
सरकारका अनुसार मङ्गलवार राति आठ बजेदेखि कर्फ्यू लगाइनेछ।

आक्रमण कसरी भयो?

आइतवार बिहान पौने नौ बजेतिर थोरै समयभित्र छवटा विस्फोटका घटनाबारे विवरण बाहिर आए।
बाटिकालोआको नेगोम्बो र कोलम्बोको कोच्चिकाडेस्थित तीनवटा गिर्जाघरमा इस्टर पर्व मनाउने क्रममा विस्फोट भए।
राजधानी कोलम्बोस्थित साङ्ग्रीला, किङ्ग्सबरी र सिनामन ग्राण्ड होटलमा पनि विस्फोट भए।
अधिकारीहरूका अनुसार आत्मघाती हमलाकारीले विस्फोट गराएका थिए।
श्रीलङ्कातस्वीर कपीराइटREUTERS
घटनापछि प्रहरीले छापा मारेको दुवै ठाउँमा विस्फोट भएको थियो।
एउटा छापा देहिवालामा मारिएको थियो भने अर्को देमातागोडामा जहाँ तीनजना अधिकारी मारिए।

हमलाकारी को थिए?

हमलामा कसको हात छ भन्नेबारे अड्कलबाजी बढ्दो छ र सरकारले हमलापछि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ।
कोलम्बोस्थित बीबीसीका आजम अमीनले अधिकारीहरूलाई उद्धृत गर्दै बताए अनुसार हमलाकारीहरू "अतिवादी इस्लामवादी समूहको हिस्सा" भएको ठानिएको छ।
एकजना उच्च अधिकारीले सरकार र गुप्चतर निकायलाई दोष दिन नहुने बीबीसीलाई बताए।
राष्ट्रपति सिरिसेनाका चिफ अफ स्टाफका अनुसार एउटा वा दुइटा आक्रमण हुन सक्नेबारे यसै महिनाको शुरूतिर सूचना प्राप्त भएको थियो।

पीडित को को छन्?

हमलामा मारिनेमध्ये अधिकांश श्रीलङ्काली भएको ठानिएको छ, जसमध्ये इस्टर पर्व मनाइरहेका इसाईहरू पनि छन्।
विदेश मन्त्रालयका अनुसार मारिनेमध्ये ३५ जना विदेशी नागरिक रहेका छन्।
त्यसमध्ये डेनिश अर्बपति एन्डर्स होज पोभल्सनका तीनजना बालबालिका पनि रहेको परिवारका एकजना प्रवक्ताले बीबीसीलाई पुष्टि गरे।
  • अमेरिकाको पनि नागरिकता भएका कम्तीमा पाँचजना ब्रिटिश
  • एकजना पोर्चुगलका र छजना भारतीय
  • टर्कीका दुईजना इन्जिनियर
  • चीन र अस्ट्रेलियाका दुई-दुईजना
  • जापान र नेदरल्यान्ड्सका एक-एकजना

श्रीलङ्काको समकालीन इतिहास

सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि श्रीलङ्कामा केही छिटपुट हिंसाका घटनाहरू हुने गरेका थिए।
बौद्ध र मुस्लिम समुदायबीच हिंसा चर्किँदा गत वर्ष मार्चमा त्यहाँ राष्ट्रिय सङ्कटकाल घोषणा भएको थियो।
अल्पसङ्ख्यक तमिलहरूका लागि छुट्टै राज्य माग गर्दै २६ वर्ष युद्ध गरेको तमिल टाइगर्सलाई सरकारी फौजले हराएपछि त्यहाँको गृहयुद्ध सकिएको थियो।
उक्त गृहयुद्धमा ७० देखि ८० हजार मानिसहरू मारिएको ठानिन्छ।

श्रीलङ्कामा धर्म

श्रीलङ्काको मुख्य धर्म थेरवादी बौद्ध धर्म हो।
पछिल्लो जनगणनाका अनुसार देशमा उक्त धर्म मान्नेहरू ७०.२ प्रतिशत छन्।
बहुसङ्ख्यक सिंहला समुदायले बौद्ध धर्म मान्छ।
A general view showing the damages after an explosion hit Kingsbury Hotel in Colomboतस्वीर कपीराइटEPA
देशको कानुनमा पनि उनीहरूलाई प्राथमिकता दिइएको छ र संविधानमा पनि विशेषाधिकार दिइएको छ।
श्रीलङ्कामा १२.६ प्रतिशत हिन्दू र ९.७ प्रतिशत मुस्लिम जनसङ्ख्या रहेको छ।
सन् २०१२ को जनगणना अनुसार त्यहाँ करिब १५ लाख इसाईहरू रहेका छन्। त्यसमध्ये अधिकांश रोमन क्याथोलिक सम्प्रदायका हुन्। - BBC

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक