20190803

विश्वविद्यालयमा दलिय भागबन्डा बन्द गर : साझा पार्टी

विभिन्न विश्वविद्यालयमा रिक्त हुँदै गरेका उपकुलपति लगायतका पदाधिकारीको नियुक्ति पुन: दलीय भागभन्डामा हुने भन्ने समाचारप्रति साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको छ।

विश्वका संवृद्ध मुलुकहरुको राष्ट्र निर्माणको ईतिहासमा गुणस्तरिय उच्च शिक्षाको केन्द्रिय भुमिका रहेको छ। विश्वविद्यालयको गुणस्तर र प्राज्ञिक उन्नयनका लागि प्राज्ञिक स्वतन्त्रता, व्यवस्थापकीय स्वायत्तता, उत्कृष्टता र क्षमताको आधारमा पदाधिकारी र प्राध्यापकको नियुक्ति लगायतका आधारभुत मान्यताको अबलम्वन अनिवार्य छ। नेपालमा भने केही दशकदेखि विश्वविद्यालयका महत्वपूर्ण पद राजनीतिक दलका कार्यकर्तालाई दिईने ‘पुरस्कार’का रुपमा उपयोग हुँदै आएको लज्जाजनक स्थिति छ।

यस्तो स्थितिमा अब उप्रान्त दलिय सम्बद्धता र भागभन्डाका आधारमा विश्वविद्यालयका कुनै पनि पदमा नियुक्त नगर्न सरकारलाई साझा पार्टी खबरदारी गर्दछ। उपकुलपति लगायतका नियुक्ति प्राज्ञिक योग्यता, क्षमता र उत्कृष्ठताका आधारमा हुने सुनिश्चितताका लागि निष्पक्ष र पारदर्शि कार्यविधी अपनाउन सरकारलाई साझा पार्टी
आग्रह गर्दछ।

यो कुनै साँघुरो दायराको निर्णय नभई युवा पुस्ता र राष्ट्रकै भविष्य निर्धारण गर्ने बिषय हो भन्ने साझा पार्टीको ठहर छ। त्यसैले दलिय भागबन्डाको विरोधमा सरकारमाथि दवाव सिर्जना गर्नका लागि विद्यार्थी समुदाय, वुद्धिजिवी, नागरिक समाज, सञ्चारकर्मी र आम जनतामा साझा पार्टी हार्दिक अनुरोध गर्दछ। नियुक्तिसम्वन्धी सरकारका कार्यविधिलाई साझा पार्टीले नजिकबाट नियाल्ने र त्यो दलीय भागबन्डा कै निरन्तरता भएमा देशव्यापिरुपमा भन्डाफोर अभियान सञ्चालन गरिने समेत हामी सरकारलाई चेतावनि दिन चाहन्छौं।

न्युनतम प्राज्ञिक चेत, क्षमता र निष्ठा बिनाका दलका ‘बरिष्ठ’ कार्यकर्ताले ज्ञानको मन्दिर मानिने विश्वविद्यालयमाथि एक छत्र दाईं गरेका छन्। परिणामस्वरुप वौद्धिक चोरीको पुष्ट्याई भएका पदाधिकारी र प्राध्यापकको नियुक्ति, किनिएको थेसिसबाट डिग्री, प्राध्यापक नियुक्ति परिक्षाको अंकमा केरमेट जस्ता समाचार सामान्य लाग्न थालेका छन्। नेपालको राजनीति हाँक्ने ठुला दलहरुले अपनाएको भागबन्डाको यो घातक प्रवृत्तिले हाम्रो विश्वविद्यालय शिक्षा अहिले मृत्यु शैयामा लम्पसार परेको छ।

ज्ञानको भोक र खोजिमा क्याम्पस पुगेका हाम्रा विद्यार्थिको प्रतिभा र सिर्जनात्मक उर्जालाई एकातिर दलिय भागबन्डामा विश्वविद्यालय छिरेका भ्रष्ट पदाधिकारी र असक्षम प्राध्यापकले निस्तेज पारेका छन् भने अर्कोतर्फ राजनीतिक दलहरूले शिक्षण संस्थाभित्र निर्दोष विद्यार्थीहरूमाथि थोपरेको दूषित राजनीति र युनियनवाजीले सिँगो पुस्ताको भविष्य नै वर्वाद बनाइदिएको छ। न्युनतम गुणस्तरको विश्वविद्यालय शिक्षाका लागि आफ्ना सन्ततिलाई घरखेत बेचेर विदेश पढ्न पठाउन अभिभावकहरु बाध्य छन्। यदि यो प्रवृत्तिलाई बेलैमा परास्त गर्न सकिएन भने यसको दुष्परिणाम हाम्रो समाजले शदियौँसम्म भोग्नु पर्नेछ।

डा. सूर्यराज आचार्य
प्रवक्ता
साझा पार्टी (sajhaparty.org)
मिति: १५ साउन २०७६

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक