20191018

केही उम्मेदवारहरुले जितेको तर गैर आवासीय नेपाली सङ्घ (NRNA) ले हारेको काठमाडौं सम्मेलन : निर्मम आत्म समीक्षा होस ।

- रामप्रसाद खनाल   
गैर आवासीय नेपाली सङ्घ ( NRNA ) को भर्खरै सम्पन्न काठमाडौं सम्मेलनमा २५ सय प्रतिनिधिहरूको भोटले केही उम्मेदवारहरूले जित्नु
त भयो तर नेपाल बाहिर विदेशमा रहेका करिब एक करोड नेपालीहरूको छाता संस्था गैर आवासीय नेपाली सङ्घ (NRNA) ले यस पटक नैतिक रूपमा नराम्ररी हारेको हामीले टुलुटुलु हेर्न बाध्य भयौँ । यद्यपि गैर आवासीय नेपाली सङ्घ (NRNA) को सम्पन्न निर्वाचनमा विजयी हुने कुमार पन्तजी सहित सबै "भाग्यमानी" हरू र निर्वाचनमा सहभागी कुल आचार्यजी सहित सबै उम्मेदवारहरूलाई औपचारिकताकै लागि सही - हार्दिक बधाई ।

नेपाली काँग्रेसको भगिनी संस्था जन सम्पर्क समिति र नेकपाको भगिनी संस्था प्रवासी नेपाली मञ्चको नाङ्गो नाचमा नेपालमा भएको यो सम्मेलनमा गैर आवासीय नेपाली सङ्घ (NRNA) को छाती माथि नेकपा र काँग्रेस मात्र उफ्रिएनन्, अरू भुरे दलले पनि उफ्रिने प्रयास गरेको छर्लङ्गै देखियो । सामाजिक सञ्जालहरूमा त्यो स्पस्ट रूपमा छताछुल्ल भयो । उम्मेदवारहरूले हायात होटेल भित्र र बाहिर केही बलवानहरूका काँधमा चढेर चुनाव अगावै बाजागाजा सहित जुलुस, नाराबाजी, जितको जुन पूर्वाभ्यास गर्नुभयो तपाईँहरू त दङ्ग हुनुहुन्थ्यो होला अर्काको काँधमाथि तर त्यो देख्ने कसैले पनि राम्रो र सहज मानेनन् बरु तपाईँहरूको "स्तर" निर्धारण गर्न सबैले पाए । नेपालको फोहोरी राजनीति र उतैको सबै अनुसरण गर्दै गरेका तपाईँहरूको कारण हामी गैर आवासीय नेपाली सङ्घ (NRNA) का वास्तविक सदस्यहरूको शीर निहुरिएको मात्र छैन गैर आवासीय नेपाली सङ्घ (NRNA) उठ्नै नसक्ने गरी थला परेको छ ।


एयरपोर्टको काउन्टर तोडफोड देखी पाँचतारे होटेल भित्रको तोडफोड, असभ्य र अभद्र व्यवहारले नेपालको फोहोरी राजनीतिलाई मात्र सम्झाएन हामी नेपाली चन्द्रमामा पुगे पनि सुध्रिनेवाला छैनौँ भन्ने गलत सन्देश फेरि एकपटक प्रवाह भएको छ जुन लाजमर्दो कुरा हो ।

गैर आवासीय नेपाली सङ्घ (NRNA) ले विदेशमा रहेका करिब एक करोड नेपालीहरूको नेतृत्व गर्दै उनीहरूको हकहितको लागि काम गर्नुपर्नेमा, उनीहरूलाई नेपाल सँग जोड्ने, विदेशमा सिकेको सिप, आर्जन गरेको आयलाई नेपालमा लगानी गरी गैर आवासीय नेपाली र नेपाल राष्ट्र दुबैलाई फाइदा पुर्‍याउन भूमिका निर्वाह गर्नु पर्नेमा, ती सबै विषयलाई गौण बनाउँदै केबल पदका लागि छिनाझम्टि गर्दै गरेको कुरूप दृश्य देख्दा कुन गैर आवासीय नेपाली वा नेपालमा बस्ने नेपालीको मन कुँडिएन होला र !

नेपालका भ्रष्ट नेता, दल र तिनकै हनुमानहरूको सिको गर्ने गैर आवासीय नेपाली सङ्घ (NRNA) आजको आवश्यकता हुँदै होइन तर यथार्थमा भयो त्यस्तै । त्यसै कारण गैर आवासीय नेपाली सङ्घ (NRNA) का संस्थापक उपेन्द्र महतो स्वमयले सम्मेलन बहिष्कार गर्नु पर्ने अवस्था आयो । मान्नुस् या नमान्नुस् यो निकै लाजमर्दो घटना हो गैर आवासीय नेपाली सङ्घ (NRNA) का लागि ।

सम्मेलनमा गम्भीर रूपमा छलफल गरिनुपर्ने दोहोरो नागरिकताको कुरा, गैर आवासीय नेपाली सङ्घ (NRNA) को पहलमा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गरी दुबै पक्षको हित हुने कुरा, गैर आवासीय नेपाली सङ्घ (NRNA) र नेपाल सरकारबिच गरिने, गर्न सकिने सहकार्यका कुरा, बिदेशमा सिकेको सिप, आर्जन गरेको आयलाई नेपालमा कसरी व्यवस्थित लगानी गर्ने भन्ने कुरा लगायतका सान्दर्भिक विषयमा मौन यो सम्मेलन कर्मकाण्डी मात्रै बन्नु र हनुमानहरूको काँधमा चढ्न आत्तुरहरुको एक सूत्रीय निर्वाचन नाराले गैर आवासीय नेपाली सङ्घ (NRNA) को सपना, स्थापनाकालमा यसले सोंचेका सोचहरू माथि तुसारापात गरेको छ । गैर आवासीय नेपाली सङ्घ (NRNA) को उद्देश्य, नीति, कार्यक्रम माथि खेलबाड भएको छ ।

काठमाडौँ सम्मेलनमा जुन जात्रा र तमासा देखाइयो त्यो अक्षम्य छ यद्यपि निर्वाचित कार्य समिति, निर्वाचनमा खडा भएका उम्मेदवार देखी सबै पक्षले गल्ती कमजोरी प्रति क्षमा माग्दै गैर आवासीय नेपाली सङ्घ (NRNA) लाई हामी एक भएर अगाडी बढाउँछौँ । गल्ती कमजोरी सुधार गर्छौँ भनेर यसका आम सदस्यहरूलाई मात्र होइन बाहिर रहेका पक्ष र नेपाल सरकारलाई समेत यसले विश्वास दिलाउने प्रयास गरेन भने यो गैर आवासीय नेपाली सङ्घ (NRNA) नाममा मात्र सीमित हुनेछ । यसको विकल्प खोज्ने काम सुरु भैसकेको परिस्थितिमा गैर आवासीय नेपाली सङ्घ (NRNA) ले आफूलाई सुधारेर जाने वा पुरै सकिने नयाँ नेतृत्वले आत्म समीक्षा गरोस् ।

विदेश जाने बित्तिकै गैर आवासीय नेपाली सङ्घ (NRNA) को नेतृत्वमा जान रहर गर्ने रहरालुहरूको लर्को हेर्दा के देखिन्छ भने जो मान्छे आफू राम्रो सँग खुट्टा टेकेको छैन, आफ्नै रोजीरोटीको राम्रो ब्यब्स्ठा गर्न नसकेर भौँतारिरहेका छ त्यस्ता मान्छेहरू प्रवासी नेपाली मञ्च र जन सम्पर्क समिति नामका नेपालका दलका विदेशमा रहेका भातृ सङ्गठनको आडमा उम्मेदवारी दिने र जित्ने गरेका छन् । अनि त्यस्ता बाट गैर आवासीय नेपाली सङ्घ (NRNA) को भविष्य के हुन्छ आफै अनुमान गर्नुस् ।

कथामाडौँ सम्मेलनको जात्रा र तमासा देखे पछि त्यही बेलै मैले स्टाटसमा लेखेको थिएँ - उपेन्द्र महतोको नेतृत्वमा NRNA स्थापना भयो त्यो जरुरी थियो । जिबा लामिछाने र शेष घलेले NRNA लाई मल जल गरे, अगाडि बढाए त्यो पनि ठिक थियो तर भवन भट्टजीको पाला देखी NRNA लाई राजनीतिकरण गरेर ठुलो गल्ती मात्र गरिएन नेपालको फोहोरी राजनीतिमा मज्जाले मुछियो र आर्यघाट पुर्‍याइयो । अहिले काठमाडौँ सम्मेलनमा जे देखियो त्यसले NRNA आर्यघाटमा जलिरहेको महसुस भयो ।

धेरै सङ्घ संस्था खोल्ने, पदका पछाडि दौडिने प्रवृत्तिको विरोध गर्ने म आज खुलेरै भन्दै छु यो NRNA बाट अहिले विदेशमा बस्ने करिब एक करोड NRN को भलाइ होला, यिनीहरूले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्लान, केही गर्लान, गर्न देलान भन्ने आशा माथि ठुलो तुसारापात भयो । अब विकल्प सोच्नै पर्छ । NRNA लाई नै सुधार्न सकिने कुनै सम्भावना यदि बाँकी छन् भने त्यसमा पनि छलफल गरौँ । म संसार भर रहनुभएका NRN मित्रहरूलाई, नव निर्वाचित साथीहरूलाई र सबै पक्षलाई अब छलफल सुरु गर्न हार्दिक आह्वान गर्दछु । म कुनै पनि पदमा नरही बाहिर बसेर त्यो विकल्पलाई साथ दिन र सहयोग गर्न तयार छु । यो मैले किन भनिरहेको छु भने हामी विदेशमा रहेका नेपालीहरूलाई तन मन र धन सबै कुरामा नेपाल सँग जोडी नै पर्छ, नेपालमा हामीले केही गर्नै पर्छ, नेपाल आमाको र त्यो माटोको लागि हामीले केही योगदान दिनै पर्छ, त्यो हाम्रो परम कर्तव्य र धर्म हो भन्ने कुरामा म क्लियर छु । आउनु होस खुलेर छलफल गरौँ । राजनीतिको र पनि प्रवेश हुन नपाओस् । नेपाली मन र पनका साथ अग्रसर हुन म सबैमा विनम्रताका साथ अनुरोध गर्दछु । स्मरण रहोस् NRNA संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्मेलन त्यसै बहिष्कार गरेका छैनन् । यो कुरा आज प्रस्तुत लेखमा पुनः दोहोर्‍याउँदै छु । आगे तपाईँहरूकै जो मर्जी ।
- अक्टोबर १८, २०१९, भर्जिनिया, अमेरिका

**************************************************

बडा दशैं सकियो, शुरु भयो तिहारको रमझम: खेल्ने होइन त देउँसी भैलो तपाईं पनि हामी सँगै ?

    


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक