20200218

दिल्लीका केजरीवाल, पत्ता साफ कङ्रेसआइ, भाजपा र नेपालको राजनीति !

Image may contain: Ram Prasad Khanal, smiling, selfie and closeup- रामप्रसाद खनाल 

दिल्लीका एक जना सामान्य जागिरे युवा अरविन्द केजरीवालले संसारभरकै महाशक्ति राष्ट्र मध्येको एक भारतको राजधानी दिल्लीमा गएको आठ वर्ष यता उल्का मच्चाइरहेका छन् । सुरुमा कसैले नपत्याएका एक जागिरे युवा आम आदमी पार्टी खोलेर मात्र होइन काम गरेर देखाएर चर्चामा छन् । चर्चामा मात्र छैनन् तेस्रो पटक भारतीय राजधानी नयाँ दिल्लीमा उनको एक छत्र राज भएको छ । उनी तेस्रो पटक मुख्य मन्त्री बन्दै गर्दा भारतमा एक छत्र गरिरहेका प्रधानमन्त्री मोदी, उनको पार्टी भारतीय जनता पार्टी (बिजेपी) र लामो विरासत बोकेको पार्टी कङ्ग्रेस आइको पुरै पत्ता साफ भएको छ ।

सरकारी स्कुलको सुधार, खानेपानी र बिजुली महसुलमा निम्न आय भएका जनतालाई भारी सुविधा, प्रदूषणमा कमी, जनताको सहभागीतामा निर्णय र जनभावना अनुरूप काम गरेर केजरीवाल दिल्लीका मात्र होइनन संसारकै अहिले हिरो भएका छन् । शक्तिशाली प्रधानमन्त्री मोदीलाई यदि टाउको दुखाई छ भने केजरीवालका कारण छ । अचम्मको कुरा त के छ भने बिजेपी र कङ्ग्रेस आइका समर्थकले पनि केन्द्रीय चुनावमा उनीहरूकै पार्टी लाई मतदान गरे पनि दिल्लीमा उनीहरूले पनि केजरीवाल र उनको पार्टी आम आदमी पार्टी लाई भोट दिए । त्यो कुरा मत परिणामले पुष्टि गर्‍यो ।

अब लागौँ नेपालतिर ।

नेपालको कुरा सुरु गर्नुभन्दा पहिलै स्पष्ट गरौँ । केजरिवालको कुरा गर्दै गर्दा र नेपाली राजनीतिको कुरा गर्दा यो पङ्क्तिकारलाई प्रतिगमनकारी, राजाबादी, अमेरिकामा बसेर नेपालको कुरा गर्ने, तिमीलाई के अधिकार ? या वा भन्दै गाली गर्ने एकथरी दल र दलेका दासहरूको ओइरो लाग्न सक्छ म सचेत छु त्यसमा । म कुनै पनि राजनीतिक पार्टी वा नेताको झोले, दास होइन र हुने पनि छैन तर राजनीतिबाट अलग भए पनि म देश दुनियाँको
बारेमा अलिकति जानकारी र चासो राख्ने एउटा सचेत मान्छे, पत्रकारिताको विद्यार्थी र कलाकार भने पक्कै हुँ । त्यस कारण नेपालका सन्दर्भमा पनि म लेख्छु, बोल्छु र बोलिरहनेछु किनकि म त्यही नेपाली माटोको उपज हुँ । त्यसो गर्न पाउने मेरो अधिकारलाई कुनै दलेहरुले कुण्ठित गर्न पाउँदैनन् । सत्य तितो हुन्छ । दोहोर्‍याएर भन्छु - अर्कालाई लुट्ने, कुट्ने, अपहरण गर्ने, खसी बोका काटे जस्तै काट्ने, आतङ्क सिर्जना गरेर राज्य कब्जा गर्ने अपराधीहरू भन्दा, अर्काका टाउको छिनाएर बनेका कथित नेता भन्दा, देश र जनता लुट्ने दिल्लीका बिल्लिहरु भन्दा, पिर्का, कुर्सी र टेबुलमा चढेर जनताले तिरेको करमा लाजै नमानी सलामी खाने र सिंहदरबार गाउँ गाउँमा भन्दै आफै राजा महाराजा बनेका कथित नेता रूपी भ्रष्ट कुपात्रहरू भन्दा, तिनै कुपात्रहरूका दल र दलेहरु भन्दा राजतन्त्र हजार गुणा राम्रो थियो, राजाहरू हजार गुणा राम्रा थिए, हामीले मुर्दावाद भन्दै नारा लगाएको पञ्चायत व्यवस्था हजार गुणा राम्रो र जबाफदेही थियो ।


यो भन्न राजाबादी हुनै पर्दैन । अहिले हरेक जनताको मुख मुखमा छ । राजतन्त्र र पञ्चायतले भन्दा यदि राम्रो काम गरेका भए म र म जस्ता करिब तीन करोड जनताले पनि भन्न पाउने थियौँ - ती भन्दा यी ठिक । तर मलाई भन्नुस् त ती भन्दा यी ले के ठिक गरेका छन् ? जनता लाई लोकतन्त्र, गणतन्त्रको साँचो अनुभूति भएको छ र ? के यस्तै हुन्छ र लोकतन्त्र गणतन्त्र ??

भ्रष्टाचार पहिले भन्दा अहिले बढी छ । जता हेर्नुस् लुट छ । करले जनताको ढाड सेकेको सेकै छ । अन्याय अत्याचार पहिले भन्दा अहिले बढी छ । नियम कानुन सानालाई मात्र भएको छ । ठुलालाई चैन, सानालाई ऐन भएको छैन भने भन्नुस् । हरेक पार्टी भित्र गुट उपगुट छ । सरकारले जनतालाई सरकारको अनुभूति नै गराउन सकेको छैन । विकास निर्माणको कुरा निजी क्षेत्रबाट र विदेशी सहयोगमा जे भएको छ त्यत्ति मात्र हो सरकारी क्षेत्रमा के भएको छ, देख्नुभएको छ ?

सरकारले असाधारण काम गरेको छ भन्छन् प्रधानमन्त्री । म देशै भरी डुलेँ जनता कहीँ पनि खुसी छैनन् भन्छन् प्रधानमन्त्रीकै मित एवम् पार्टीका कार्यकारी अध्यक्ष । प्रमुख प्रतिपक्ष देख्नुभएको छ कहाँ छ ? कुन दुलोमा छ ? आफूले मन्त्री पाए गणतन्त्र ठीक, नपाए संवैधानिक राजतन्त्र भन्दै छेपाराले रङ फेरे जस्तै फेर्ने हिन्दुवादी नेता कमल थापाको रा.प्र.पा, त्यही राजतन्त्रले मनोनीत गरी गरी परिचय बनाइदिएका थापा, राणा, लोहनीहरू अबसरबादको चास्नीमा चुर्लुम्म डुबेको देख्नुभएको छैन भने भन्नुस् ! विहार वा दिल्ली नछिरे सम्म र भारतीय राजदूतावासको आदेश नआए सम्म चुँ नबोल्ने र आदेश आए पछि सीमा पारी गएर वारी नेपाल पट्टी ढुङ्गा मुढा गर्ने मधेसवादी दलहरूको बारेमा अझै पनि कुनै भ्रम बाँकी छ र ??

हरेक दिन दुई देखी तीन हजार नेपालीहरू रोजगारीका लागि विदेश जान्छन् । हरेक दिन जसो विदेशबाट बन्द बाकसमा लास हरू भित्रिन्छन् । करिब तीन करोड जनसङ्ख्या मध्ये एक करोड जति विदेशमा खुन र पसिनाले पैसा साट्दैछन । उनीहरूकै खुन र पसिनाबाट आर्जित रेमिट्यान्सले मुलुक धानिएको छ । आठ वटा सरकार र गाउँ गाउँ पुर्‍याइएका आठ सय भन्दा बढी सिंहदरबारहरूमा पिर्का, कुर्सी र टेबुल माथि चढेर छोटे राजाहरूलाई सलामी दिन पनि रेमिट्यान्सकै भर छ । बेरोजगारी बढेको बढै छ । कृषि प्रधान देश बाँझो देशमा परिणत हुँदै छ । जन प्रतिनिधिहरू ठेकेदार, बजेट उनिहरुनै बनाउँछन् र डोजरको बिल बनाएर आफै बजाउँछन् ।

राजतन्त्र, गणतन्त्र, लोकतन्त्र, निरङ्कुशतन्त्र जे जे तन्त्र भए पनि संसारका कयौँ मुलुकले विकासमा फड्को मारेका छन् । निरङ्कुश कम्युनिस्ट शासन भएको देश चीन हेर्नुस् विकासमा कहाँबाट कहाँ पुग्यो । राजतन्त्र भएका बेलायत देखी साउदी अरब सम्म हेर्नुस् त्यहाँ विकास कसरी भएको छ । जे तन्त्र नाम दिएता पनि खाने मुखलाई जुँगाले छेक्दैन ।

गर्न चाहने हो भने र भिजन हुने हो भने देश बन्न बेर लाग्दैन तर हाम्रो नेपालको गति हेर्नुस् र भन्नुस् के यही गतिले नेपाल अगाडि जान सक्छ ? ल राणा काल खत्तम भो केही गरेन । मान्दिम पञ्चायत झनै खत्तम केही गरेन । राजतन्त्र सामन्ती तन्त्र यसले झन् देश बर्बादै पार्‍यो यो पनि मान्दिम । तर सधैँ राणाले खाए, पञ्चायतले खायो, राजाहरूले खाए भन्ने हामीले २०४६ साल पछि हेरौँ र भनौँ त देश कसले बढी खायो ??

२०४१ सालको कन्सेप्ट, २०४७ सालमा अन्तरिम प्रधानमन्त्री किशुनजीले घोषणा गर्नुभएको मेलम्ची खाने पानी परियोजना आज सम्म पुरा भयो ? ल राजा महेन्द्र तानाशाह, खत्तम राजा ! उनले उनको कार्यकालमा बनाएका राजमार्गहरू बाहेक अहिलेकाले कुनै थपे त ? थप्न त परै जाओस मर्मत संहार राम्रो सँग गर्न नसक्ने हिजडाहरुले महेन्द्रलाई गाली गर्नुको कुनै तुक छ ?? उनको शिक्षा नीति, उनले गरेका सुधार, उनको जस्तो भिजन छ त अहिले ?? पृथ्वी नारायण शाह जसले नेपाल एकीकरण गरे र हामीलाई नेपाली बनाए तर अहिलेका भस्मासुरहरु तिनै पृथ्वी नारायण शाहका सालिक भत्काउने, उनलाई थुक्ने भन्दा बाहेक के नै गर्न सक्यौ ? जोगाउन सक्यौ नेपाली भूभाग ? जोगिए कालापानी ? जोगिए नालापानी ? कहाँ गयो हाम्रो ग्रेटर नेपाल ? उत्तर छ ?

तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए, गल्ती गरे ल त्यो पनि मान्दिम हामीले तर उनले कति वर्ष शासन गरे ? के के गल्ती गरे ? दिल्लीले भनेको नमान्नु नै उनको अवसानको कारण भयो तर के उनले कुनै राष्ट्रघाती काम गरे ? हरेक कुरा सोध्न दिल्ली गए अहिलेका जस्तै ??
उनले जे गल्ती गरे गल्तीको सजाय देऊ तर नाना थरी गाली गरेर र भूतपूर्व भैसकेका राजा लाई देखाएर तिमीहरूले छुट पाउँछौ त अब पनि ? कहिले सम्म दोष उनको टाउकोमा थुपार्छौ र तिमीहरू पानी माथिको ओभानो बन्छौ ? उत्तर छ ??

कहाँ गए हाम्रा कागज कारखाना ? कहाँ गयो बाँसबारी छाला जुत्ता कारखाना ? कहाँ गए चिनीमिलहरु ? कहाँ गए सिमेन्ट उद्योग र कपडा कारखाना हरू ? कौडीको मूल्यमा बेचेर कसले खायो ? निजीकरण गरेर तर कसले मार्‍यो ? खोइ हाम्रो ट्रलीवश ? खोइ हाम्रो जनकपुर जयनगर रेलवे ? ४३ वटा नाफामा गैरहेका संस्थान बेचेर झ्वाम्म पार्ने को ? दिल्लीका बिल्ली बनेर देश कमजोर र बर्बाद पार्ने को ?? यी र यस्ता प्रश्न गर्दा ठेली बन्छन् तर हिजडाहरु पानी माथिका ओभाना बन्छन् । तिनै हिजडाहरुलाई नेता मानेर दासहरू जय जयकार भन्छन् । कठै मेरो देशको दुर्भाग्य !

मेरो देशले प्राकृतिक सुन्दरता पायो, भौगोलिक विविधता पायो, हिमाल पहाड तराई सबै कुरा पायो तर आज सम्म एउटा असल नेता पाएको छैन त्यो धुर्ब सत्य हो । र ओली, प्रचण्ड, नेपाल, खनाल, देउवा, भट्टराई लगायत सबैले प्रधानमन्त्री पाए तर देशले वास्तविक र असल प्रधानमन्त्री पाएन । दिवङ्गत भैसकेका प्रधानमन्त्रीहरूका बारेमा यहाँ चर्चा गर्न आवश्यक लागेन किनकि चर्चायोग्य त्यस्तो इतिहास खोइ कसले नै रच्यो र ?

समग्रमा कुरा गर्दा २०४६ साल यता जो जो सत्तासीन भए काँग्रेस, एमाले, माओवादी, राजा, मिलीजुली सबै असफल भए र केही अघि सम्मको दुई तिहाइ र अहिलेको स्पष्ट बहुमतको सरकार पनि सफल भयो भन्ने कुनै आधार छैन । यो सत्य हो अहिलेको सरकार कुरा गर्न, उखान टुक्का हालेर जनता हँसाउन, जोक गर्न भने धेरै नै सफल छ । चार पटक प्रधानमन्त्री बनेका शेर बहादुरजीले नेतृत्व गरेको हालको प्रमुख प्रतिपक्ष त झन् बेहाल अवस्थामा पुगेको छ । छ कि छैन काँग्रेस भन्ने कुरा शेर बहादुरको अन्तर मनलाई थाहा होला जनताले मेसो पाउन छाडेका छन् अहिले । इतिहासमै काँग्रेस यति बिघ्न कमजोर र लाचार भएको यो पहिलो पटक होला ।

माथि प्रस्तुत गरिएका तथ्यहरू सबैका आँखा अगाडि छर्लङ्ग छन् । समस्या मात्र देखाउनु भन्दा अब समाधानका उपाय तिर लागौँ ।

वर्तमान ओली प्रचण्डको नेकपा र सरकारको दुई वर्षको कार्यकाल हेर्दा यिनीहरूको चटक बाहेक अरू केही नदेखिए पछि, शेर बहादुर नेतृत्वको काँग्रेस छ कि छैनको अवस्थामा पुगे पछि, कमल थापा, पशुपति शमशेर, लोहनीहरूको रा.प्र.पा.को अबसरबादी पन र विगत देखे पछि, लैनचौर बादी मधेसवादी दलहरूको नुनको सोझो देखे पछि, आफ्नी छोरी दिल्लीमा लगेर पढाउने, जनताका छोराछोरीलाई बन्दुक बोकाएर सडाउने बाबुराम र उनको मधेसवादी दलमा पलायनता देखे पछि जनताका लागि अब यिनीहरूलाई बाइ बाइ गर्दै नयाँ विकल्पमा जाने बाहेक अर्को विकल्प छँदै छैन । एकै पटक यो फोहोरी राजनीतिको सञ्जाल र जन्जाल तोडेर नयाँ विकल्प जन्माउनु सजिलो पक्कै छैन तर जन्माउनुको पनि विकल्प रहेन ।

अब रबिन्द्र मिश्र, डा. सुरेन्द्र केसी, रवि लामिछाने, सूर्यराज आचार्य, देब प्रकाश त्रिपाठी, उज्ज्वल थापा, ओम प्रकाश अर्याल, बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, विष्णु भट्टराई, अर्जुन प्रसाईँ, ज्ञानेन्द्र शाही देखी सबै खाले स्वतन्त्र, बुद्धिजीवी देखी लिएर सबै दलहरूमा भएका योग्य र इमानदार नेता कार्यकर्ताहरू एक भएर, दिल्लीमा केजरिवालले जस्तै सामाजिक मुद्दाहरू, जनजीविकाका सवालहरूलाई सम्बोधन गर्ने, कोठा भित्र बसेर केटाकेटी खेले जस्तो फेसबुकको लाइभ वा युट्युबको लाइभबाट बाहिर निस्केर जनताको घर दैलोमा जाने, केजरिवालले जस्तै जनताको बिचमै बसेर राजनीति गर्ने र तीन वर्ष पछि हुने चुनावमा अहिलै देखी केन्द्रित हुने, काठमाडौँमा पत्रकार सम्मेलनमा होइन जनताका घर दैलोबाट पत्रकार सम्मेलन गर्ने हो भने दिल्ली र केजरिवाल प्रकरण दोहोरिन सक्छ नेपालमा पनि । यदि पुरै नेपालभर एक साथ यस्तो अभियान छेड्न सकिन्न भने केजरिवालले दिल्लीलाई फोकस गरे जस्तै क्षेत्र विशेषलाई फोकस गरेर चुनावमा केन्द्रित हुने कार्य गर्नु जरुरी छ ।

नेकपा भित्र सबै बेइमान छैनन्, काँग्रेस भित्र पनि सबै बेइमान छैनन् । अबसरबादी रा.प्र.पा होस वा कुनै पनि दल भित्र केबल बेइमान मात्र छैनन् राम्रा असल मान्छेहरू त्यहाँ पनि छन् तिनीहरूलाई अपत्यारिलो विश्वास दिलाउन सके तिनीहरू पनि वैकल्पिक शक्ति निर्माणको अभियान मा लाग्न सक्छन् । अहिले विकल्प नभएर मात्र हो विकल्प हुने हो र विश्वास हुने हो भने उनीहरू त्यहाँ बाट उम्किन तयार छन् । यो नै आजको राजनीतिक विकल्प हो ।

तर, फेरी पनि विकल्पका नाम मा हिजोका तिनै भ्रष्ट, लुटेरा, हत्यारा, अपराधीहरूलाई नै दाँया बायाँ बोक्ने, राजनीति नबुझेका टेक्नोक्र्याटहरु मात्र राखेर काठमाडौँमा चिच्याएर मात्र राजनीति गर्छु भन्ने हो भने युट्युबरहरुको भ्युज बढाउने र जुकेरबर्गको फेसबुकलाई खुराक पुर्‍याउने मात्र काम हुने छ । जुट्ने भन्दा फुट्ने रोगले सतायो यता पनि भने सम्झिनुस् यो विकल्प पनि फेल हुने छ । नेपालमा यही असफल कम्युनिस्ट र काँग्रेस राज चलिरहने छ । देश सुध्रिएको हामीले मात्र होइन हाम्रा नाति पनातिले पनि देख्न पाउने छैनन् ।

देश सबैभन्दा ठुलो कुरा हो । देशको माटोको कशम खाएर एक पटक सबैले सोँच्नु पर्ने अवस्था आएको छ । यदी समय मै सोँचिएन भने याद गर्नुस् - रहौंला हामी नेपाली कहाँ नेपालै नरहे ! दु:ख अरुले पाउने होइन हामी नेपालीनै पाउने छौं । हाम्रा सन्ततिहरुले पाउने छन । दिनहुँ हजारौँ बिदेश धाउने छन र बिदेशबाट बन्द बाकसमा लाशहरु आउने छन ।  सबैलाई चेतना भया ।

- फेब्रुअरी १८, २०२०, भर्जिनिया अमेरिका

***********

कृष्ण महरा सर निर्दोष ! 

प्रचण्ड निर्दोष
बाबुराम निर्दोष
कृष्ण महरा सर निर्दोष
अग्नि सापकोटा निर्दोष
बालकृष्ण ढुङ्गेल निर्दोष
प्रचण्ड बाबुराम
र अरू थुप्रै छोँटे प्रचण्डहरूको
ठाडो आदेशमा
त्यसैलाई नियम कानुन भन्दा माथि ठान्दै र मान्दै
सोझा साझा निमुखा मान्छे
खसी बोका काटे जस्तै काट्ने आततायीहरू
सबै निर्दोष !
झापामा टाउको छिनाउनेहरू निर्दोष
उनीहरूकै शासन
उनीहरूकै भाषण
उनीहरूकै आसन
सानालाई ऐन
ठुलालाई चैन
दल र दलेका
भागबन्डाका न्यायाधीश
कानुनका नौ सिङ
रोशनीहरू जन्मन्छन्
हुर्किन्छन्
बौलाउँछन्
अकालमा मर्छन्
निर्मलाहरू भूत बन्छन्
चोरहरू चोरी गर्छन्
पुलिसले समाए सामान फिर्ता गरी साधु बन्छन्
दुई बर्षमै असाधारण काम गरेँ प्रधानमन्त्री भन्छन्
देशै भरी डुलेँ कोही खुसी छैनन् कार्यकारी अध्यक्ष भन्छन्
प्रतिपक्षीहरु तिनैका थाङ्ना बन्छन
यी सब कुरा हेर्दै जनता
यसैलाई नयाँ नेपाल भन्छन् !
यस्तो देख्दा पनि जनता जिउँदा लास बन्छन् !

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक