20200616

चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २०

India Can Defeat China in a War By Following Beijing's Korean War ...लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको छ: भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान
इलाकामा सङ्घर्ष विराम भएको छ, जहाँ दुवै पक्षबीच भिडन्त भएको थियो।

बि.बि.सी का अनुसार भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको छ। मङ्गलवार केही अघि भारतले गलवान क्षेत्रमा भएको भिडन्तमा सेनाका एक वरिष्ठ अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको पुष्टि गरेको थियो।

योसँगै उक्त घटनामा ज्यान गुमाउने भारतीय सैनिकहरूको सङ्ख्या २० पुगेको छ। चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन। भारतीय पक्षले यो घटनामा गोली नचलेको दाबी गरेको छ। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ।

चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेशमन्त्रालयले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको जनाएको छ। भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो।
दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो। चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ। सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन। गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो।

भारत र चीनको सिमानामा भएको हिंसक झडपबारे टिप्पणी गर्दै भारतले चिनियाँ पक्षका कारण हिंसा भएको र त्यो रोक्न सकिने थियो भनेको छ।

यो घटनाबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पत्रकारहरूको प्रश्नको जबाफ दिँदै भनेका छन्, "६ जुनमा वरिष्ठ कमाण्डरहरूबीच राम्रो कुराकानी भएको थियो र त्यसमा तनाव कम पार्ने प्रक्रियामा सहमति भएको थियो। त्यसपछि त्यहाँस्थित कमाण्डरहरूको बैठकका सिलसिलापनि चलेको थियो ताकि सो सहमतिलाई लागु गराउन सकियोस्।"

"हामीलाई आशा थियो सबै सहज हुनेछ तर चिनियाँ पक्ष यो सहमतिबाट पछि हट्यो।"

चिनियाँ पक्षले एकतर्फी रूपमा मौजुदा स्थिति बदल्न खोजेपछि १५ जुनको बेलुकी एउटा हिंसक झडप भएको उनले भनेका छन्।

"दुवै तर्फ हताहती भएका छन् जुन यदि चिनियाँ पक्षले उच्चस्तरमा बनेको सहमति पालना गरेको भए रोक्न सकिन्थ्यो," उनले भने।
उक्त घटनालाई लिएर चिनियाँ पक्षले भारतीय पक्षलाई दोष लगाएको छ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार एकजना चिनियाँ सैन्य प्रवक्ताले भारतीय सेनाले 'वाचा तोडेर' सोमवार बेलुकी गाल्वान उपत्यकामा सिमानाको वास्तविक नियन्त्रण रेखा नाघेको अनि उक्साहटपूर्ण हमला गरेका कारण झडप र हताहती भएको मङ्गलबार बताएका छन्।

चिनियाँ जनमुक्ति सेनाको पश्चिम क्षेत्रीय कमाण्डका प्रवक्ता कर्नेल जाङ् शुइलीले गाल्वान उपत्यका क्षेत्रमा सधैँ चीनको सार्वभौमसत्ता रहेको भन्दै भारतीय सिमा फौजले दुवै देशबीच भएको सहमतिको गम्भीर उल्लंघन गरेको, सैन्य कमाण्डर तहमा भएको सहमति तोडेको तथा दुई सेनाको सम्बन्ध र दुई देशका जनताको भावनामा नोक्सानी पुर्‍याएको उल्लेख गरेका छन्।

उनले भारतले सबै किसिमका उक्साहटपूर्ण काम रोक्नुपर्ने र चिनियाँ पक्षसँग 'आधाबाटोमा मिल्नुपर्ने' अनि वार्तामार्फत् समस्या समाधानको सही मार्गमा फर्कनुपर्ने बताएका छन्। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक