20200702

एउटा कविता - "बतासे काका र ब्वाँसो"

रात बिरात
झुक्क्याएर सिकार गर्न माहिर
एउटा जङ्गली ब्वाँसो
जङ्गलबाट गाउँ पस्यो
गाउँमै बस्यो
बस्तीमै बस्यो
गाउँलेले सम्झिए
ब्वाँसो अब गाउँलेसँग झिम्मियो
फेरी सिकार गर्दैन होला
तर सिकार गर्न माहिर ब्वाँसो
अँधेरी रातमा,
सिकार गर्न निस्किन्छ अहिले
हिजो पल्ला घरे दाइलाई बितायो
आज वल्ला घरे दाइ बिताउँदै छ
ब्वाँसो पनि कहिले आफ्नो भएथ्यो र ?
उता पनि बितायो
यता पनि बिताउँदैछ
उ अब फेरी,
गाउँ कब्जा गर्ने चिताउँदै छ !
उसको दिमाग
कब्जा र सिकारले भरिएको छ

एक हुल मान्छे
ब्वाँसाकै पछाडि छन्
हिंजोका बतासे काका जस्तै
थाहा पाउने होलान्
काकाले झैं आफै सिकार बनेपछि
"अब मैले खाने पालो तेरो हो" भनेपछि !
जसरी बतासे काकाले अहिले
दोस्रो पटक थाहा पाए !!
ब्वाँसाका तारिफमा
काकाका खोँकाइहरु
ओहो के कुरा गर्नु
मित लगाएर हिँडे
प्रित लगाएर हिँडे
"हग्नेलाई भन्दा देख्नेलाई लाज"
मुखै फोरेर भन्थे मान्छेहरु
तर उ बेला सुन्या भए पो !
नारिएर हिँडेका ति पलहरु
एकैछिनका खहरे भलहरु
सबै सबै सम्झिँदा
मुटु चसक्क दुखेर आउँदा
मुटुकै अस्पताल धाउँदा
कसले सोध्ने काकाको ब्यथा
के थाहा उनको मन भित्रको कथा
ब्यहोरा सकिएका काका पनि के कम
खसाक खुसुक गर्थे ब्वाँसो सँग
ब्वाँसो भए पुग्छ मलाई
अरु किन चाहियो ? भनेकै हुन
आफ्ना गाउँलेबाट टाढा बनेकै हुन
पहिला मातिनु मात्तिए
अहिले बल्ल आत्तिए
तर कर्मको फल भोग्नै पर्छ
जे गर्छ अब ब्वाँसाले गर्छ
बुझे हुन्छ गाउँलेहरु,
काका मात्र होइन
तिमीहरु पनि ढिलो चाँडो
मुटुको अस्पताल धाउनै पर्छ
१२ बर्षमा खोलो फर्केर
फेरी त्यहीँ आउनै पर्छ !
अति गरे हुन्छ खती
भन्थे बुढा पाका
यति हुँदा पनि नबुझ्ने ??
होइन तिमी के भाका ??

- रामप्रसाद खनाल, June 02, 2020 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक