20200714

तित्राको मुखै बैरी : प्रधानमन्त्री ओली आफ्नो खाडल आफै खन्दै, नेपाल भित्रै पनि आलोचना, बिजेपीले गर्‍यो भ्रत्सना

राम र सीता
प्रधानमन्त्री केपी शर्मा ओलीले पौराणिक पात्र भगवान् राम र उनको जन्मभूमि अयोध्याबारे गरेको टिप्पणीको व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ।
मङ्गलवार साँझ प्रकाशित विज्ञप्तिमा उसले प्रधानमन्त्री ओलीको भनाइ "कुनै राजनीतिक विषयसँग सम्बन्धित नभएको" र "कसैको भावनामा आघात पुर्‍याउने उद्देश्यले नगरिएको"मा जोड दिएको छ।
नेपाली भाषाका आदिकवि तथा नेपाली भाषारामायणका रचियता भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा सोमवार आयोजित एउटा कार्यक्रममा बोल्दै ओलीले रामको वास्तविक जन्मभूमि अयोध्या नेपालमै भएको र राम नेपाली राजकुमार भएको टिप्पणी गरेका थिए।
उनको उक्त भनाइपछि नेपाल र भारतमा तरङ्ग उत्पन्न भएको थियो।
धेरैले उक्त दाबीलाई पुष्टि गर्ने तथ्य र प्रमाण नभएको बरु सीमा विवादका कारण चिसिएको नेपाल-भारत सम्बन्धमा अझ नकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरेका छन्।
उनकै दलका नेता वामदेव गौतमले प्रधानमन्त्रीले आफ्नो मन्तव्य फिर्ता लिनुपर्ने र जनतासमक्ष आत्मालोचना धारणा व्यक्त गरेका थिए।
यो विज्ञप्ति "क्षति नियन्त्रण गर्ने उद्देश्य" सहित आएको एक भूतपूर्व परराष्ट्रमन्त्रीले बीबीसीलाई बताएका छन्।
यो Twitter पोस्ट छोड्नुहोस्, 1
Twitter पोस्ट समाप्त, 1

अरू के भन्यो मन्त्रालयले?

राम र उनीसँग जोडिएका स्थानबारे विभिन्न किंवदन्ती र सन्दर्भहरू भएको उल्लेख गर्दै मन्त्रालयले प्रधानमन्त्री ओलीले त्यस विषयमा तथ्य पत्ता लगाउन रामायणमा आधारित विशाल सांस्कृतिक भूगोलबारे थप अध्ययन र खोजको महत्त्वबारे सामान्य रूपमा प्रकाश पारेको दाबी गरेको छ।
केपी शर्मा ओली
तस्बिरको क्याप्शन,
केपी शर्मा ओली
उक्त अभिव्यक्ति अयोध्याको महत्त्व र यसको सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्न उद्यत नभएको मन्त्रालयको दाबी छ।
प्रत्येक वर्ष विवाह पञ्चमीमा भारतको अयोध्याबाट नेपालको जनकपुरमा जन्त आउने परम्परा अद्यापि विद्यमान भएको र दुई वर्षअघि नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्रालयले नेपाल र भारत तथा त्यहाँका जनताबीच परापूर्वकालदेखि सांस्कृतिक सम्बन्ध भएको जनाएको छ।
दुई वर्षअघि जनकपुरस्थित जानकी मन्दिरनजिकै आयोजित एउटा कार्यक्रममा नेपाल प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएका थिए
तस्बिरको क्याप्शन,
दुई वर्षअघि जनकपुरस्थित जानकी मन्दिरनजिकै आयोजित एउटा कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएका थिए

प्रधानमन्त्रीको भनाइमा मन्त्रालयको स्पष्टीकरण किन?

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका विपक्षी दलका नेता प्रकाशशरण महतले यो विज्ञप्तिले प्रधानमन्त्रीको विवादास्पद भनाइका कारण हुन सक्ने क्षति नियन्त्रण गर्ने प्रयास गरेको बताएका छन्।
जनकपुरमा
तर प्रधानमन्त्रीजस्तो व्यक्तिले बोलिसकेको अवस्थामा "भ्वाङ टालिन गाह्रो हुने" उनको धारणा छ।
"प्रधानमन्त्रीले देशको प्रतिनिधित्व गर्नुहुन्छ र उहाँको अभिव्यक्तिलाई देशको अभिव्यक्ति मानिन्छ। त्यसकारण यस्ता संवेदनशील विषयमा हचुवाको भरमा बोल्नुहुँदैन," उनले बीबीसीका संजीव गिरीसँग भने।
"अध्ययन गरिरहेको मान्छेले 'यस्तो पनि छ' भन्न मिल्छ। तर प्रधानमन्त्रीजस्तो मान्छेले यस्तो विषयमा एकै तालमा निष्कर्षमा पुगेको जस्तो गर्नुहुँदैन। यसले सम्बन्धमा जटिलता बढाउँछ।"
अप्रमाणित, तिक्ततापूर्ण कुराहरू र गैरकूटनीतिक भाषाको प्रयोगले जटिलता थप्ने हुँदा राष्ट्रिय स्वार्थमा योगदान नपुग्ने महतको भनाइ छ।

ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू धर्मग्रन्थ रामायणमा वर्णन गरिएको अयोध्या नेपालमा रहेको र राम पनि नेपालमा जन्मिएको भनी गरेको दाबीले उनकै पार्टीभित्र तरङ्ग उत्पन्न गरिदिएको छ।
भारतको सत्तारूढ दल भाजपाका प्रवक्ताले ओलीको अभिव्यक्तिको निन्दा गरिसकेका छन्।
उनको अभिव्यक्ति सुनेर कैयौँ नेताहरू अचम्म परेका छन्। तिनै मध्येका एक नेकपा स्थायी समिति सदस्य बेदुराम भुसाल भन्छन्, "त्यो सुनेपछि म आफैँ अचम्मित भएको छु। प्रधानमन्त्रीलाई कसले बोल्न लगाउँछ?"
" अनावश्यक विषयमा बोल्न लगाएर, को हो त्यहाँ सल्लाह दिने, केही बुझिँदैन।"
पार्टी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गरेका उनी वरिष्ठ नेता माधव नेपाल पक्षधर हुन्।
प्रधानमन्त्री निकटस्थहरूले विभिन्न अनुसन्धान र प्रमाणहरूबाट प्रधानमन्त्रीको दाबी पुष्टि हुने तर्क गरेका छन्।

'प्रधानमन्त्रीलाई फसाए'

तर नेता भुसाल यदि कुनै नयाँ तथ्य पत्ता लागेको हो भने पनि अनुसन्धानको निष्कर्ष प्रकाशित गरेर सरकारले निर्णय गर्ने प्रक्रिया अपनाउनुपर्ने ठान्छन्।
"कुनै एक जनाले लेख लेखेर त हुँदैन। अकाट्य तथ्यमा आधारित हुनुपर्छ। आधार भए पनि सार्वजनिक रूपमा बोल्नुअघि त्यसबारे कसरी जाने भनेर एउटा टुङ्गो गरेर जानुपर्छ।"
आफ्नो ठम्याइ सुनाउँदै भुसाल प्रतिप्रश्न गर्छन्, "हजारौँ वर्षदेखि अयोध्या त्यहाँ (भारतमा) हो भनेर मान्छे बसेका छन्। कुन चाहिँ फन्टुसले मैले अनुसन्धान गरेँ भनेर उहाँलाई बोल्न लगायो, फसायो। नत्र यस्तो कुरा पनि बोल्न हुन्छ?"
प्रधानमन्त्री
तस्बिरको क्याप्शन,
प्रधानमन्त्री
नेकपाका विदेश विभाग उपप्रमुख राम कार्कीलाई पनि प्रधानमन्त्रीको अभिव्यक्ति उपयुक्त लागेको छैन। उनका भनाइमा राम र अयोध्याको प्रसङ्ग इतिहासभन्दा पनि मिथक हो।
यो विश्वासको कुरा मात्रै भएको भन्दै उनी तर्क गर्छन्, "त्यसैले राजनेताहरूले त्यस्तो विषयमा नबोल्दा राम्रो हुन्छ। अरू कसैले आफ्नो ज्ञान प्रकट गरेको भए राम्रो हुन्थ्यो।"
प्रधानमन्त्री ओलीले पार्टी स्थायी समिति बैठक चलिरहेका बेला यसअघि भारततर्फ लक्षित गर्दै सरकार ढाल्न चलखेल गरिरहेको आरोप लगाए र त्यसमा स्वर मिलेको भन्दै पार्टीका नेताहरूतर्फ पनि सङ्केत गरेका थिए।

ओलीको ताजा 'वाणी-बम'

पार्टी बैठकमा त्यसको चर्को आलोचना भयो र प्रधानमन्त्रीको राजीनामा मागियो।
नेता राम कार्कीले 'पार्टीका नेताहरूले त्यो अभिव्यक्ति असान्दर्भिक भनेको' प्रसङ्ग उल्लेख गरे र त्यसलाई प्रधानमन्त्रीले राम्ररी ग्रहण गरेको नदेखिएको बताए।
प्रधानमन्त्रीको अघिल्लो अभिव्यक्तिपछि चर्किएको विवादकाबीच बैठक स्थगित छ।
यही बेला प्रधानमन्त्रीले दिएको यस पटकको अभिव्यक्तिलाई भारत लक्षित अर्को 'वाणी-बम'को रूपमा लिइएको छ।

आत्मालोचनाको माग

नेकपाका अर्का नेता वामदेव गौतमले लेखेका छन्ः "राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु।"
वामदेव गौतम
ओलीसँग अयोध्याबारे पहिला पनि कुरा भएको स्मरण गर्दै उनले प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत् सम्बन्धमा अनुसन्धान र तथ्य सङ्कलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी ओलीलाई अनुरोध गरेका छन्।
सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन्।
उनले भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही भनेर भनेको उल्लेख गरिएको छ।
अर्को भारतीय समाचार संस्था आइएएनएसले लेखेको समाचारमा ओलीको भनाइलाई 'स्तब्ध पार्ने बयान' भनेर उल्लेख गरिएको छ।
नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएका बेला आएको उनको अभिव्यक्तिलाई देशभित्रै मानिसहरूले विश्वास नगरिरहेको भनेर उसले लेखेको छ।
एनडिटीभी डट कममा प्रकाशित समाचारमा ओलीको अभिव्यक्तिले 'रामका अनुयायीहरूलाई उत्तेजित पार्ने ‍देखिएको' लेखिएको छ।

राष्ट्रवादको प्रदर्शन र भारतसँगको सम्बन्ध

कतिपयले पछिल्ला दिनमा सरकारको काम र प्रधानमन्त्रीको अभिव्यक्ति भारतविरुद्ध लक्षित रहेको र त्यसमार्फत् 'राष्ट्रवादी छवि' प्रदर्शन गर्ने उद्देश्य लुकेको अर्थ लगाउने गरेको पाइन्छ।
तर पार्टीका विदेश विभाग उपप्रमुख कार्की भन्छन्, "उहाँको आफ्नो जुन शैली छ, त्यही शैलीले होला। व्यवहारमा त्यस्ता कुराहरूले राष्ट्रवादलाई प्रवर्धन गर्छ कि गर्दैन भन्ने सबैले विचार गर्नुपर्छ।"
लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा जारी गरेपछि रुष्ट भारतलाई प्रधानमन्त्रीले उसको प्रतीक चिह्नबारे गरेको अभिव्यक्तिले थप चिढ्याएको थियो। हालैका दुईवटा अभिव्यक्तिले त्यो तिक्तता झनै बढाउने देखिन्छ।
त्यसमा सहमत स्थायी समिति सदस्य भुसाल भन्छन्, "दुई देशबीचको कूटनीतिक सम्बन्धमा नकारात्मक प्रभाव नै पार्छ। विवाद बढाउने नै भयो नि।"

नेताकै प्रश्न: कस्तो तन्त्र?

तर प्रधानमन्त्री पक्षका नेताहरूले ओलीको भनाइको प्रतिरक्षा गर्दै आएका छन्।
पछिल्लो प्रकरणमा प्रधानमन्त्रीको भनाइको समर्थनमा उभिएका नेता कृष्णगोपाल श्रेष्ठले आलोचकहरूमाथि प्रहार गर्दै फेसबुकमा लेखेका छन्, "अयोध्या नेपालमै भएकोले त्यहीँ जन्मेको रामलाई नेपाली भन्दा विक्षिप्त भई…बरबराउने केही आफूलाई नेपाली हुँ भन्ने नेपालीलाई के भन्ने? (राम जन्मभूमि नेपाल)।"
तर प्रधानमन्त्रीका अर्का आलोचक स्थायी समिति सदस्य भीम रावलले 'सीमा मिचिएको, तराईका बस्ती डुबानमा परेको एवम् कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाएर भारतसँग कुरा गर्नुपर्ने' भन्दै विषयान्तर गर्न खोजेको टिप्पणी गरेका छन्।
यो Twitter पोस्ट छोड्नुहोस्, 1
Twitter पोस्ट समाप्त, 1
उनले ट्वीटमा भनेका छन्, "देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो?"
*********
एक प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्र र बाहिर चर्को आलोचना भएको छ।
भारतीय समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई 'राजनीतिक विवाद उक्साउने' भन्दै भारतलाई 'चोट पुर्‍याउने आश्चर्यजनक कदम' भनिएको छ।
सोही समाचारमा जनाइए अनुसार सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन्।
उनले भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही भनेर भनेको उल्लेख गरिएको छ।
अर्को भारतीय समाचार संस्था आइएएनएसले लेखेको समाचारमा ओलीको भनाइलाई 'स्तब्ध पार्ने बयान' भनेर उल्लेख गरिएको छ।
नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएका बेला आएको उनको अभिव्यक्तिलाई देशभित्रै मानिसहरूले विश्वास नगरिरहेको भनेर उसले लेखेको छ।
एनडिटीभी डट कममा प्रकाशित समाचारमा ओलीको अभिव्यक्तिले 'रामका अनुयायीहरूलाई उत्तेजित पार्ने ‍देखिएको' लेखिएको छ।

देशभित्र चर्को आलोचना

देशभित्रै कतिपयले सीमा विवादका कारण छिमेकी भारतसँगको सम्बन्ध चिसिएको बेला उनको यो पछिल्लो टिप्पणीले दुई देशको सम्बन्ध सुधार्नमा सघाउ नपुग्ने चिन्ता समेत व्यक्त गरेका छन्।
सोमवार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले 'नेपाल सांस्कृतिक रूपमा थिचिएको र तथ्यहरूमा अतिक्रमण भएको' भन्ने टिप्पणी गरेका थिए।
सामाजिक सञ्जालमा केही थोरैले उनको टिप्पणीको समर्थन गरेको पनि देखिन्छ भने केहीले प्रधानमन्त्रीको भनाइप्रति व्यङ्ग्य पनि गरेका छन्।
टिप्पणी गर्नेहरूमा सामाजिक सञ्जालका नियमित प्रयोगकर्ताहरूका साथै विभिन्न पेशाकर्मी लेखक, पत्रकार र राजनीतिक कार्यकर्ताहरू पनि रहेको उनीहरूको परिचयबाट बुझ्न सकिन्छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओलीको भनाईबारे व्यङ्ग्य गर्दै 'नयाँ रामायण श्रवण गरौँ' भन्दै ट्विट गरेका छन्।
यो Twitter पोस्ट छोड्नुहोस्, 1
Twitter पोस्ट समाप्त, 1
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो प्रकरणले नेपाल भारतबीच थप विवाद सिर्जना गर्नेतर्फ प्रधानमन्त्रीको ध्यान गएको जस्तो नदेखिएको भन्दै ट्विट गरेका छन्।
यो Twitter पोस्ट छोड्नुहोस्, 2
Twitter पोस्ट समाप्त, 2
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अङ्ग्रेजीमा ट्विट गर्दै लेखेका छन्: "धर्म राजनीति र कूटनीतिभन्दा माथि छ। यो निकै भावनात्मक विषय हो। बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ। अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छ?"
यो Twitter पोस्ट छोड्नुहोस्, 3
Twitter पोस्ट समाप्त, 3
ओलीको भनाइप्रति आश्चर्य व्यक्त गर्दै ट्विट गर्नेमा उनकै पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याल समेत छन्।
यो Twitter पोस्ट छोड्नुहोस्, 4
Twitter पोस्ट समाप्त, 4
नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले समेत ओलीबाट 'एकपछि अर्को' यस्तो अभिव्यक्ति आउनु 'रहस्यमय' रहेको ट्विट गरेका छन्।
यो Twitter पोस्ट छोड्नुहोस्, 5
Twitter पोस्ट समाप्त, 5
यो Twitter पोस्ट छोड्नुहोस्, 6
Twitter पोस्ट समाप्त, 6

ओलीले के भनेका थिए?

सामाजिक सञ्जालमा निकै फैलिएको ओलीको सम्बोधनको अंशमा उनले रामायणमा उल्लेख भएको देश अयोध्याबारे विभिन्न दाबीहरू गरेका छन्।
"हामी अहिले पनि ठानिरहेका छौँ हामीले भारतका राजकुमार रामलाई सीता दियौँ। भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ। अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन," उनले भनेका छन्।
ओलीले अयोध्या भारतमा रहेको भए त्यहाँका राजाका छोरा विवाहका लागि कसरी जनकपुर आइपुगे भन्ने प्रश्न समेत उठाएका छन्।
"यहाँको जनकपुर वहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ। कल्ले के गर्‍या छ। त्यस बेलाका जमानामा न टेलिफोन, न मोबाइल! कताबाट थाहा होस्! थाहा हुन पनि सम्भव थिएन," उनले भनेका छन्। - BBC Nepali 

1 comment:

  1. इस महान लेख को साझा करने के लिए धन्यवाद, यहां भी आप राजनीतिक समाचार अपडेट पा सकते हैं।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक