20200724

कोरोना महामारी सुरु भएयता विदेशमा ज्यान गुमाएका ४७४ नेपालीमध्ये २१६ नेपालीको शव चार्टर्ड उडानमार्फत स्वदेश ल्याइयो

unn.prixa.netजेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि ल्याउन थालिएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार कोरोना महामारी सुरु भएयता विदेशमा ज्यान गुमाएका ४७४ नेपालीमध्ये २१६ नेपालीको शव चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ । लकडाउन सुरु भएदेखि अहिलेसम्मको अवधिमा खाडी र मलेसियासहित अन्य देशमा १५ महिला र ४५९ पुरुष गरी ४७४ जना नेपालीको विभिन्न कारणले ज्यान गएको थियो । अन्तर्राष्ट्रिय उडान बन्द भएर शव ल्याउन नपाएपछि कतिपय मृतकका आफन्तले भने परदेशमै सदगतका लागि अनुमति दिएका छन् ।


आफन्तको सहमतिमै १६५ जना नेपालीको गन्तव्य देशमै सदगत गरिएको बोर्डले जनाएको छ । अब खाडी र मलेसियासहित विभिन्न देशमा ९४ नेपालीको शव बाँकी छन् । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोकेपछि विशेषगरी धेरै नेपाली कार्यरत खाडीका देश र मलेसियामा नेपालीको शव पनि रोकिएको थियो ।

गएको जेठ ३२ गतेदेखि सरकारले लकडाउनकै बीचमा विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान पठाउन थालेपछि भने त्यही जहाजमा नेपालीका शव पनि ल्याउने गरिएको हो ।

कुन देशबाट कति शव आए, कति बाँकी ?
यो अवधिमा सबैभन्दा धेरै साउदीमा नेपालीको ज्यान गएको छ । साउदीमा मात्रै यो अवधिमा १७१ जना नेपालीले ज्यान गुमाएका छन् । यसमध्ये ७३ जना नेपालीको शव नेपाल ल्याइएको छ । लामो समयसम्म आफन्तको शव कुर्नपर्दा ४० जना मृतकका आफन्तले भने साउदीमै सदगतका लागि अनुमति दिएकाले उतै अन्त्येष्टि गरिएको छ । साउदीमा मात्रै अझै ५८ जना नेपालीको शव स्वदेश ल्याउन बाँकी छ ।

यस अवधिमा साउदीपछि सबैभन्दा धेरै मलेसियामा नेपालीले ज्यान गुमाएका छन । मलेसियामा ज्यान गुमाएका ८४ नेपालीमध्ये ६७ जना नेपालीको शव नेपाल ल्याइएको छ भने ८ जनाको शव उतै अन्त्येष्टि गरिएको छ । अब ९ जना नेपालीको शव मलेसियामै रहेको बोर्डले जनाएको छ ।

मलेसियापछि ज्यान गुमाउने नेपालीको सङ्ख्या धेरै यूएईमा छ । यूएईमा यो अवधिमा ८० जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये १२ नेपालीको शव स्वदेश ल्याइएको छ भने ५८ जनाको यूएईमै अन्त्येष्टि गरिएको छ । यूएईमा अब १० जना नेपालीको शव बाँकी छ ।

यूएईपछि ज्यान गुमाउने नेपालीको सङ्ख्या कतारमा धेरै रहेको छ । कतारमा यो अवधिमा ७४ जनाको ज्यान गएको छ । उनीहरुमध्ये ४७ जनाको शव स्वदेश ल्याइएको छ भने २५ जनाको उतै अन्त्येष्टि गरिएको छ । कतारबाट अब २ जना नेपालीको शव बाँकी रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कतारपछि खाडीको अर्को देश कुवेतमा २२ नेपालीले यो अवधिमा ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये ९ नेपालीको शव स्वदेश ल्याइएको छ भने १० जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ । कुवेतमा अब ३ नेपालीको शव बाँकी रहेको छ । खाडीकै अर्को देश बहराइनमा यस अवधिमा १० नेपालीको विभिन्न कारणले ज्यान गएको छ । यसमध्ये विभिन्न चार्टर्ड उडानले ६ शव स्वदेश ल्याएका छन् भने ४ जनाको बहराइनमै अन्त्येष्टि गरिएको छ ।

ओमानमा भने यो अवधिमा दुई जनाले ज्यान गुमाएका छन् । दुईमध्ये १ जनाको ओमानमै अन्त्येष्टि गरिएको छ भने एक नेपालीको शव स्वदेश ल्याइएको छ ।

यसैगरी नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियामा यो अवधिमा ८ नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ५ जनाको कोरियामै अन्त्येष्टि गरिएको छ भने ३ जनाको शव त्यहाँ बाँकी रहेको बोर्डले जनाएको छ ।

रोजगारीका लागि अरु देशमा पुगेका २३ नेपालीले पनि यस अवधिमा ज्यान गुमाएका र उनीहरुमध्ये १४ जनाको सम्बन्धित देशमै अन्त्येष्टि गरिएको छ भने ९ जनाको शव बाँकी रहेको बोर्डले जनाएको छ । खाडीका ६ देश मलेसिया र अन्य विभिन्न देशमा गरी अब ९४ जना नेपालीको शव बाँकी रहेको छ ।

यी शव पनि नेपाली लिन गएका जहाजले क्रमशः ल्याउने बोर्डले जनाएको छ । शव ल्याउन ढिलो हुँदा आफन्तले सम्बन्धित देशमै अन्त्येष्टिको लागि अनुमति दिने क्रम पनि भैरहेको बोर्डले जनाएको छ । आफन्तको शव कुरिरहेकाको हकमा भने मिलेसम्म सक्दो छिटो शव स्वदेश ल्याउनका लागि बोर्ड र सम्बन्धित देशमा रहेका नेपाली नियोगबीच समन्वय भैरहेको छ ।

नेपालसम्म आएका शव बोर्डले निःशुल्क घरसम्म पुर्‍याइदिने गरेको छ । उज्यालोका अनुसार आफन्त शव बुझ्न काठमाण्डौसम्म आउन नसकेको अवस्थामा बोर्डले नै विमानस्थलमा शव बुझेर घरसम्म पुर्‍याइदिने गरेको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक