20200814

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २५ हजार ५ सय ५१, मृत्यु हुनेको संख्या ९९ !

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्षेत्रका सम्पूर्ण अस्पताललाई कोरोना कम्तीमा २० प्रतिशत बेड भाइरसका संक्रमितको उपचारका लागि छुट्याउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि छुट्याईएका हव अस्पतालमा बेड अभाव हुन थालेको बताउनुहुँदै निजी क्षेत्रका अस्पताललाई कम्तिमा २० प्रतिशत बेड सुरक्षित राख्न अनुरोध गर्नुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले निजी अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको उपचारका लागि हव अस्पतालहरूले आवश्यक समन्वय गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले काठमाडौ उपत्यका भित्रका अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति विना अन्यत्र रिफर नगर्न समेत आग्रह गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ५ सय ९४ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

यसैगरी आज थप २ सय ४० जना संक्रमण मुक्त भएपछि हाल सम्म १७ हजार ७७ जना संक्रमण मुक्त भएका छन् भने आज थप ४ जनाको मृत्यु भएपछि कोरोना भाइरस संक्रमण पछि मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

कोरोना संक्रमण पछि मृत्यु हुनेमा आज मोरङ र सिराहाका  १–१ जना तथा बाराका २  जना थपिएका छन् ।

हाल सम्म ७७ जना पुरूष र २२ जना महिलाको कोरोना भाइरस संक्रमण पछि मृत्यु भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

 नेपालमा कोरोना सङ्क्रमितको संख्या २५ हजार नाघेको छ । ज्यान गुमाउनेको संख्या ९९ पुगिसकेको छ । कोभिडको सङ्क्रमण बढेसँगै सङ्क्रमितले उपचार नपाउने समस्या पनि थपिदै गएको छ ।


स्वास्थ्य मन्त्रालयले हरेक दिन गर्ने प्रेस बिफ्रिङमा पछिल्लो समय दोहोरिरहने कुरा एउटै छ : ‘उपचारका लागि अस्पतालमा बेड नपाउन सकिन्छ, सङ्क्रमणबाट बच्न व्यक्ति आफैँ सचेत हौँ ।’ 

स्वास्थ्य मन्त्रालयले भने जस्तै जनस्वास्थ्यविद्ले पनि अब उपचार नै नपाउने अवस्था आउन सक्नेतर्फ सचेत गराएका छन् । सङ्क्रमितको संख्या अनुसार स्वास्थ्य पूर्वाधार नहुनु नै प्रमुख समस्या बन्न सक्ने देखिएको छ ।

छैन आवश्यकताअनुसार जनशक्ति, भेन्टिलेटर र आईसीयू

साउन महिना लागेपछि सङ्क्रमितको संख्या झन् ह्वात्तै बढेको छ । गएको बुधवार एकै दिन १० जनाको ज्यान गयो । कोरोनाको गम्भीर बिरामी थप बढ्दै छन् । घना र बाक्लो बस्तीमा कोरोनाको सङ्क्रमण फैलिंदैछ । तर सङ्क्रमित धेरैले उपचार नै पाउन सकेका छैनन् । यो अवस्था अब झन् जटिल बन्ने स्वास्थ्य मन्त्रालयले नै स्वीकारेको छ । 

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर श्रेष्ठ भन्नुहुन्छ – ‘हामीले सोचेभन्दा पनि अवस्था जटिल बन्दै गएको छ । यहि अनुपातमा सङ्क्रमण फैलने हो भने अब भेन्टिलेटर र आईसीयूमा उपचार पाउने सम्भावना नै हुँदैन ।’
अहिले सङ्क्रमितको संख्यासँगै सघन उपचार कक्ष आईसीयू तथा भेन्टिलेटर चाहिने बिरामीको संख्या पनि बढिरहेको उहाँले बताउनुभयो ।  

उहाँका अनुसार अहिले देशभरी दुई हजार छ सय वटा आईसीयू शैया र नौ सय वटा भेन्टिलेटर छन् । यी पनि धेरै काठमाण्डौ उपत्यका केन्द्रित छन् । आईसीयू, भेन्टिलेरसँगै सङ्क्रमितको उपचार गर्न डाक्टरसहित स्वास्थ्यकर्मीको अभाव हुने देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अबको चुनौती र सरकारको तयारी

स्वास्थ्य मन्त्रालयले अहिलेको जटिल अवस्थामा चुनौतीका बाबजुत डाक्टर र स्वास्थ्यकर्मीको परिचालनलाई व्यवस्थापन गर्ने तयारी गरेको दाबी गरेको  छ । मन्त्रालयले जोखिम कम भएका ठाउँका स्वास्थ्यकर्मीलाई सङ्क्रमण फैलिरहेको ठाउँमा ल्याएर उपचार दिने तयारी गरेको छ । 

यस्तै कोरोना महामारीमा खटाउन मन्त्रालयले तालिम पनि दिईएको जनाएको छ । तर मन्त्रलयले भने जस्तो तयारीले मात्रै अब नपुग्ने देखिन्छ । उपचारमा खटिएका केही स्वास्थ्यकर्मीलाई नै सङ्क्रमण भएको छ भने अग्रपङक्तिमा खटिएका अन्यलाई पनि सङ्क्रमणको जोखिम उच्च छ  । कोरोनाको सङ्क्रमण देखिएको सुरुकै दिनमा तयारी गर्न सरकार चुकेको जनस्वास्थ्यविद् बताउँछन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनी गम्भीर लक्षण देखिन थालेलगत्तै अस्पतालको आईसोलेशन  वा भेन्टिलेटरमा जाने बिरामी बढेकाले तत्काल आईसोलेशन बढाउनु पर्नेमा जोड दिनुहुन्छ । तर, बिरामीलाई तत्काल उपचारमा पुर्याउन सरकार गम्भीर भएको देखिंदैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारी भने आवश्यकता अनुसार सरकारी र निजी दुवै अस्पतालका उपलब्ध भएसम्मका पूर्वाधार  तयार गर्ने दाबी गर्नु हुन्छ ।

बिरामीको बर्गीकरण गर्ने तयारी

सङ्क्रमणदर बढेपछि सरकारले बिरामीको बर्गीकरण गर्ने तयारी समेत गरेको छ । सामान्य बिरामीलाई स्वास्थ्य मन्त्रालयले घरमै आईसोलेशनमा बस्न आग्रह गर्दै आएको छ । जटिल समस्या देखिएकालाई मात्रै अस्पतालमा उपचार गराउने सरकारको तयारी छ । अब सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर सामान्य बिरामी घरकै आईसोलेशनमा बस्न सक्छन् ।

स्वास्थ्य परीक्षण पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण छ भने मात्र गराउनु पर्छ । नतिजा पोजेटिभ आयो तर अवस्था सामान्य छ भने घरमै आईसोलेशनमा बस्नुपर्छ ।  त्यसका लागि सङ्क्रमितहरुले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । 

घरमै कसरी बस्ने त आइसोलेशनमा ?

पर्याप्त प्रकाश आउने र हावा खेल्ने कोठालाई आईसोलेशन बनाउन सकिन्छ । 

उपचारको अवधिभरी कोठाबाट बाहिर जाने गर्नु हुँदैन । 

खानपानमा विशेष ध्यान  दिनुपर्छ भने पर्याप्त मात्रामा पोषिलो झोलिलो खानु पर्छ ।

आफूले प्रयोग गरेका भाँडा राम्ररी धोई पखाली गरी सुकाएर मात्रै पुनः प्रयोग गर्नुपर्छ ।

शौचालयल र स्नान गृह छुट्टै बनाउनुपर्छ । तर यो सम्भव नभए आफूले प्रयोग गरेपछि निर्मलीकरण गर्नु पर्छ ।

ढोका, चुकुल, टेबल लगायतका वस्तुलाई  नियमित निर्मलीकरण गर्नुपर्छ ।

हात धुने साबुन र पानीको व्यवस्ता गरी बेलाबेलामा हात धोइरहनु पर्छ ।

सङ्क्रमितको हेरचाहका लागि प्रत्यक्ष हेरचाहमा खटिने व्यक्तिले मेडिकल मास्क पयोग गर्नुपर्छ ।

बच्चा गर्भवती, सुत्केरी र जेष्ठ नागरिकलाई सङ्क्रमितबाछ टाढा राख्नुपर्छ ।

सङ्क्रमितको दिनमा तीन पटकसम्म ज्वरो नाप्ने गर्नुपर्छ ।

परिवारका सदस्यले दिनको दुई पटक सङ्क्रमितको स्वास्थ्य अवस्थाकाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउने गर्नुपर्छ । 

यस्तै सङ्क्रमितलाई सास फोर्न गाह्राे भए, अनुहार निलो भए, छाती दुखे वा अन्य कुनै जटिल अवस्था देखिए तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क  गर्नुपर्छ ।

स्वास्थय मन्त्रालयले अहिलेकै अवस्था जसरी बिरामी बढे उपचार गर्न नसकिने भन्दै घरमै आईसोलेशनमा बस्न आग्रह गरेको छ । अहिलेकै अवस्था झैँ बिरामी बढ्दै गए सरकारले तयारी गरेको आईसोलेशन र भेन्टिलेटरले थेग्दैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारी भन्नुहुन्छ – ‘हो, यसैगरी बिरामी बढिरहे सबैलाई आईसोलेशन वा भेन्टिलेटरमा उपचार सम्भव हुँदैन । अहिले नै अधिकांश अस्पताल भरिसकेका छन् । अब कोरोना सङ्क्रमणलाई रोक्न व्यक्ति आफैँ नै सचेत हुनुपर्छ ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक