20201009

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय, कूल संक्रमितको संख्या १ लाख ६ सय ७६ !

 काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकलाख भन्दा माथि पुगेको छ । आज थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएपछि कूल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज विभिन्न ५६ जिल्लाका ७ सय ३२ जना महिला र १ हजार ३ सय २७ जना पुरूषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार आज काठमाडौका १ हजार १ सय १६, ललितपुरका १ सय ६३ र भक्तपुरका १ सय ३० गरी काठमाडौ उपत्यकामा मात्रै १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन् । उपत्यका बाहिर मोरङ्मा ८६, दाङमा ६५, मकवानपुरमा ६९, चितवनमा ५१, बाँकेमा ४५ र काभे्रमा ४० जना संक्रमित थपिएका छन् ।

अन्य जिल्लामा भने आज थपिएका संक्रमितको संख्या ३० भन्दा कम रहेका छ । यसैगरी आज थप १ हजार ६ सय ८० जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । योसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको र संक्रमण मुक्त हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमण मुक्त हुन बाँकी २७ हजार ५३ सक्रिय संक्रमितमध्ये १५ हजार ८ सय ७७ जना आफ्नै घरमा आइसोलेसनमा रहेको र ११ हजार १ सय ७६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि ६ सय पुगेको छ ।

आज १ महिला र ९ पुरूष गरी थप १० जनाको मृत्यु भएपछि हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज सुनसरीमा ३, झापा, काठमाडौ र रूपन्देहीमा २–२ तथा ललितपुरमा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएको व्यक्ति आइसोलेसनमा नबसेको पाईए कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले संक्रमण पुष्टि भएको व्यक्ति नियमपूर्वक आइसोलेसनमा नबसेको पाईए पक्राउ गरी ६ महिनाको कैद सजाँय सम्म हुन सक्ने बताउनुभयो ।

प्रवक्ता गौतमले संक्रमणको शंका लागि परीक्षणका लागि स्वाब दिएका व्यक्ति समेत परीक्षणको नतिजा नआउँदा सम्म आइसोलेसनमा बस्नुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक