20201006

अहिले घरघरमा दशैं कसरी मनाउने भन्ने छलफल जारी छ तर सुरक्षा निकायहरु भने बेग्लै योजनामा !


काठमाडौं / अहिले घरघरमा दशैं कसरी मनाउने भन्ने छलफल जारी छ तर सुरक्षा निकायहरु भने बेग्लै योजनामा छन् । विगतका दशैंहरुमा भन्दा यो बर्षको दशैंमा प्रहरीलाई दोहोरो जिम्मेबारी छ । एकातिर दशैंमा हुनसक्ने सम्भावित चोरी, डकैती, लुटपाट, कालोबजारी नियन्त्रण तथा दुर्घटना जोखिम कम गर्ने दायित्व छ भने अर्काेतिर कोभिड–१९ को महामारी नियन्त्रण गर्ने ऐतिहासिक दायित्व छ ।

नेपालीहरुको ठूला चाड दशैं, तिहार, छठ तथा नेपाल सम्वतमा हुनसक्ने सम्भावित अपराधका घटनाहरु नियन्त्रण गर्न नेपाल प्रहरीले योजना बनाउँदै छ भने कोभिड नियन्त्रणको लागि समेत काम सुरु गरिसकेको छ ।

केही दिन अघि नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीले प्रदेशका डिआइजीहरु तथा महानगरीय प्रहरीका डिआइजीसँग भर्चुअल बैठक गरेर चाडपर्वमा हुनसक्ने अपराध नियन्त्रण तथा कोभिड–१९ को नियन्त्रणमा योजना बनाउन निर्देशन दिनुभएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अब सातै वटा प्रदेशका ७७ जिल्लाबाट प्रहरीले चाडपर्वमा अपनाउने सुरक्षा रणनीति तथा कोभिड–१९ नियन्त्रणमा अपनाउने सुरक्षा रणनीतिको योजना बनाउनेछन् ।

उहाँका अनुसार चाडपर्वमा हुने सुरक्षा सतर्कताको लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा समितिको बैठक बसेर थप सतर्कता कसरी अबलम्बन गर्ने भन्ने बारे निर्णय हुनेछ ।

बैठकमा नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान तथा सशस्त्र प्रहरीको समेत सहभागिता रहनेछ । चाडपर्वमा हुनसक्ने अपराध रोक्न सादा पोशाकका सुरक्षाकर्मी परिचालनदेखि नाकाहरुमा सुरक्षा, ट्राफिक चेकजाँचमा कडाइ हुनेछ ।

काठमाडौैं उपत्यका सहित मुलुकमा प्रमुख शहरहरुमा कसरी सुरक्षा प्रदान गर्ने भन्ने बारेमा प्रदेश प्रहरी तथा जिल्ला प्रहरीले योजना बनाउन सुरु गरेको र असोजको अन्तिमसम्ममा कति प्रहरी परिचालन हुने भन्ने बारे विवरण आउने प्रवक्ता कठायतले भन्नुभयो ।

अरु समयमाभन्दा चाडपर्वको समयमा धेरै दुर्घटना हुने भएकाले यसलाई कम गर्न गणहरुमा रहेका प्रहरीलाई थप परिचालन केही दिनमै हुने उहाँले बताउनुभयो । अहिले उपत्यकामा छिर्नेभन्दा बाहिरीनेहरुको संख्या बढेकाले ट्राफिक व्यवस्थापनमा ध्यान दिएको उहाँले बताउनुभयो । महानगरीय ट्राफिक प्रहरीले नियमित रुपमा चेकजाँच बढाएको र जिल्ला जिल्लामा समेत जिल्ला प्रहरीसँग समन्वय गरेर ट्राफिक प्रहरीले चेकजाँच बढाएको उहाँले स्पष्ट पार्नुभयो ।

‘दशैमा प्रहरीले छुट्टी पाउँदैन, जनताको सुरक्षामा दिनरात खटिन्छ’ एसएसपी कडायत भन्नुहुन्छ । चाडपर्व मनाउन र कोभिड फैलन नदिन प्रहरीको सक्रियता बढेको छ । विभिन्न सिमा नाकाबाट हुनसक्ने अवैध निकासीसँगै कोभिडको जोखिम बढ्ने भएकाले नाकाहरुमा चेकजाँच बढाउने कार्यमा प्रहरीले सकृयता बढाएको उहाँले बताउनुभयो ।

कोभिडको कारणले धेरैको रोजगारी गुमेको अवस्थामा चाडपर्वमा चोरी बढ्न सक्ने भएकाले कसरी सुरक्षा प्रदान गर्ने बारेमा प्रहरीले यसअघिनै रणनीति तयार पारेको र सोही रणनितीको आधारमा कार्य गर्ने उहाँले बताउनुभयो ।

प्रहरीले अब साइकल तथा मोटरसाइकलबाट गस्ती गर्न सुरु गर्ने, काठमाडौं उपत्यकामा ड्रोनको प्रयोग गरेर सुरक्षा अवस्था बारे चेकजाँच गर्ने, घर छाडेर जाँदा प्रहरीलाई खबर गर्न स्थानीय प्रहरीले

माइकिङ गर्ने कार्य सुरु गरेको उहाँले बताउनुभयो । बजारमा कालोबजारी हुन सक्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिरहेको एसएसपी कठायतले भन्नुभयो । बजारमा चहलपहल सुरु भैसकेको अब केही दिनमै प्रहरीले पुर्ण योजना बनाएर काम गर्ने उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यकामा कोभिड नियन्त्रण तथा चाडपर्व विशेष सुरक्षाको कार्य सुरु भैसकेको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले बताउनुभयो । उहाँका अनुसार प्रहरीले योजना बनाइसकेको र केही दिनमा सुरक्षा समितिको बैठक बसेर बृहत् रुपमा सर्कुलर जारी गरेर काम सुरु गर्ने बताउनुभयो । - केशवराज पौडेल / गोप 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक