20210127

ओली सरकारले गर्‍यो यस्ता निर्णयहरु !


 काठमाडौँ । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७७ लाई खारेज गर्ने निर्णय गरेको छ । हालैका मन्त्रीपरिषद् बैठकका निर्णयहरू आज सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन उपभोक्ता, वन कर्मचारी र वनजन्य उत्पादनसम्बन्धी ठेकेदारको मिलेमतोमा धेरै वन क्षेत्रमा हानी नोक्सानी हुने गरेको पाईएपछि वन संरक्षणका लागि सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७७ लाई खारेज गर्ने निर्णय गरेको बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले सरकारले शताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशित गर्ने निर्णय गरेको र छिट्टै राष्ट्रपतिले सो हुलाक टिकट सार्वजनिक गर्ने जानकारी गराउनुभयो ।

सरकारले नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै जनआन्दोलन र सशस्त्र सङ्घर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख सङ्कलन गरिने मन्त्री गुरुङले बताउनुभयो ।

यसरी विवरण सङ्कलन गरिएकाहरुलार्ई नेपाल सरकारको तर्फबाट सम्मान एवं परिचयपत्र उपलब्ध गराउने सम्बन्धमा मन्त्रिपरिषद्को आगामी बैठकमा प्रस्ताव पेश गर्न परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय भएको सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।

त्यस समितिमा खानेपानी मन्त्री मणिचन्द्र थापा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे सदस्य रहनुभएको छ ।

मन्त्रीपरिषद् बैठकले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति गठन(पहिलो संशोधन) आदेश, २०७७ स्वीकृत गर्ने निर्णय गर्नुका साथै विदेशबाट नेपाल आउने यात्रुहरूको स्वास्थ्य सुरक्षा तथा क्वारेनटिनसम्बन्धी आदेश २०७७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

कोभिडको खोप दिन नेपालमा शुभारम्भ भएकोमा खुसी व्यक्त गर्नुहुँदै सञ्चार मन्त्री गुरुङले आगामी दिनमा थप खोप ल्याउनका लागि विभिन्न मुलुकहरूसँग समन्वय गरी नेपाल सरकार अगाडी बढ्ने बताउनुभयो ।

खोप आइसकेको भए पनि स्वास्थ्य सतर्कता, मापदण्डको पालना गर्न भने छाड्न नहुने सञ्चार मन्त्री गुरुङले सबैमा आग्रह गर्नुभयो ।

सञ्चार मन्त्री गुरुङले भारतबाट प्राप्त कोभिसिल्ड भ्याक्सिन विभिन्न मुलुकबाट स्वीकृत पाएकाले भ्याक्सिनसम्बन्धी अनर्गल हल्लामा नलाग्न पनि अनुरोध गर्नुभयो ।

यसै बिच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो र सन्तुलित बनाउन सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घले आज काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो हुँदै गएको र नेपाल अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्ना कुरा राख्न सक्ने अवस्थामा पुगेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो अधिकारको दाबी गर्न नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरेको उल्लेख गर्नुहुँदै वार्ता र सहमतिका आधारमा भूमि फिर्ता हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको सांस्कृतिक विविधतालाई पहिचानका नाममा विवादको विषय नबनाउन पनि सबैसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले नेपालका सबै राजनैतिक आन्दोलनहरूमा आदिवासी जनजातिको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक