20210114

प्रचण्ड माधवले देउबालाई प्रधानमन्त्री सहित मागे अनुसार दिन तयार भए पछि देउबाको बोली फेरिँदै !

 पर्वत / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने कुरामा विश्वास नलागेको बताएका छन्। बिहिबार पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोल्दै देउवाले प्रजातन्त्रलाई नै खतरा हुने गरी प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री ओलीले चुनाव नगराउने बताएका हुन् । ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको देउवाको भनाइ छ।  सर्वोच्चमा विचाराधीन रहेको मुद्दाबारे सडकमा आन्दोलन गरेर यो गर वा ऊ गर् भन्ने दबाव कांग्रेसले नदिने उनले प्रष्टाए ।प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गरेका छन्। तर प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

संसद पुनःस्थापना हुँदा वा नहुँदा दुवै अवस्थामा राजनीतिक लाभको सन्निकट उभिएका देउवाको ‘दुवै हातमा लड्डु’ छ । संसद पुनःस्थापना भएपनि प्रतिनिधिसभाको अंकगणितले देउवालाई पाँचौ पटक मुलुकको ‘प्रधानमन्त्री’ बनाउन सक्छ ।

कारणवश संसद पुनःस्थापना नभए निर्वाचनबाटै पार्टीले सरकारको नेतृत्व हासिल गर्नसक्ने देउवाको बुझाई छ । पार्टीभित्र र बाहिर अनेक टिप्पणी भएपनि नेपाली राजनीतिको ‘रिमोट’ घुम्दैफिर्दै देउवाकै हातमा पुगेको छ ।

प्रधानमन्त्री ओलीले चालेको संसद विघटनको कदमबाट नेकपा विभाजनको संघारमा पुग्नु देउवाका लागि लाभको विषय हुँदै हो । संसद पुनःस्थापना भए ‘चुनावी सरकारको नेतृत्व सुम्पने’ आश्वासन पनि देउवाले पाएकै छन् ।

प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रहरु मार्फत देउवालाई संसद पुनःस्थापना भए सरकारको नेतृत्व वा आसन्न निर्वाचनमा सहकार्यको प्रस्ताव पठाइसकेका थिए । बुधबार मात्रै संसद विघटनको विरुद्धमा रहेको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले पनि देउवालाई अफर गरे ।

देउवासंग वार्ताका लागि प्रयास गरेको लामो समयपछि दाहाल र नेपाल बुधबार साँझ बुढानिलकण्ठस्थित देउवा निवास पुगे । जहाँ उनीहरुले देउवालाई ‘सडकदेखि सत्तासम्म, आजदेखी भोलीसम्म’ को लाभको अफर गरे ।

बैठकमा सहभागि नेता रमेश लेखकका अनुसार नेकपा दाहाल–नेपाल पक्षले संसद पुनःस्थापनाको लागि संयुक्त आन्दोलन गर्न सहमत भए संसद पुनःस्थापनापछि प्रधानमन्त्री बनाउने अफर देउवासामु राखेका छन् ।

त्यस्तै अहिले आन्दोलनमा सहकार्य गरे निर्वाचन नै हुने अवस्थामा पनि देउवालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर गठबन्धन गर्न सकिने अफर गरिएको छ । नेकपाको दुवै पक्षबाट प्राप्त अफरमा देउवाले ‘सिग्नल’ दिइसकेका छैनन् । नेपाल प्रेसका अनुसार यद्यपि संयुक्त आन्दोलन गर्ने प्रस्ताव देउवाले ठाडै इन्कार गरेका थिए । ‘हामी संयुक्त आन्दोलनमा जाँदैनौ । अदालतको आदेश मान्छौं । संसद पुनःस्थापना भए पुनःस्थापित संसदभित्रको सम्भावनाहरु खुला छन् । संसद पुनःस्थापना नभए चुनावको सम्भावना पनि खुल्लै छ’, देउवालाई उधृत गर्दै लेखकले भने ।

भेटका दौरान दाहाल र नेपालले स्थानीय तहदेखि, प्रदेश हुँदै केन्द्रीय सरकारसम्म दीर्घकालीन सहकार्यको प्रस्ताव राखेका थिए ।

आमनिर्वाचनको जनमतका कारण प्रमूख प्रतिपक्षको रुपमा खुम्चिएको अपजस देउवाले पाएकै थिए । पार्टीभित्र र बाहिरबाट देउवाको भूमिकामाथि प्रश्न गरिएको थियो । यद्यपि ‘घुम्दै फिर्दै रुम्जाटार’ भनेजस्तो देउवाकै सामु राजनीतिको चक्र घुमिरहेको छ ।

देउवाका सामु नेकपाको दुवै पक्षबाट गरिएका अफरहरुको खात छ । यद्यपि देउवा तत्कालै यसमा अल्मलिने पक्षमा छैनन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा राजनीतिक प्रलोभनका पछाडी कांगे्रस नेतृत्व नकुद्ने बताउँछन् ।

‘जनमतको कदर नगरी संसद विघटन गराउनुमा नेकपाको दुवै पक्ष दोषी छन् । दुवैतिरका दोषीले अहिले गरेका अफरको अर्थ छैन । कांग्रेस आफ्नै राजनीतिक अडान र अभियानबाट जे प्राप्त हुन्छ त्यसमै सन्तुष्ट हुनेछ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

कांग्रेसभित्र आन्दोलन वा निर्वाचन भन्ने विषयमा बहस जारी छ । बहसकै बीच कांग्रेसले संसद विघटनको कदमविरुद्ध देशव्यापी प्रदर्शन गरिरहेको छ । यद्यपि अदालतको आदेश नै अन्तिम अस्त्र हुने देउवाको बुझाई छ ।

आन्दोलनबाट संसद पुनःस्थापनाको हुने सम्भावना देउवाले कम देखेका छन् । अदालतले पुनःस्थापना गरे संसदमै सत्ताको गणित मिलाउने देउवाको तयारी छ । अदालतबाट संसद पुनःस्थापित नभए ‘कम्युनिष्टहरु विभाजित भएको बेला’ सत्ताको नेतृत्व गर्न पुग्ने शक्ति जनमतबाटै आर्जन हुनेमा देउवा विश्वस्त छन् । यही कारण नेकपाको दुवै खेमासंग सहकार्य नगरी ‘राजनीतिक लाभ’ आर्जनको बाटो देउवाले रोजेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक